Tuesday, July 16, 2013

वैदेशिक रोजगारीको खतरनाक परिणाम टुट्दैछ परिवार, वढ्दैछ एचआइभी संक्रमण


अजय अनुरागी
जनकपुरधाम............
नेपालबाट बैदेशिक रोजगारमा नेपाली नगएको सायदै कुनै बस्ती होला । मध्य तराईका परिवेशमा २० वर्ष अगाडी भारतको पंजाब रोजगारीका लागि जानु भन्दा खाडी मुलुकको रोजगार हाल नजिक भएको नेपाली कामदारहरुले महसुश गर्दै छन् । पंजाब काम गरेर २ वर्ष बसेर पनि थौरै पैसा लिएर घर फर्किनु पर्थ्यो तर खाडीमुलुकमा ६ महिना मै इच्छाए अनुसार कमाएर घर आएर पुनःकाममा फर्किन्छन् । बैदेशिक रोजगारमा जानेहरुलाई अभिभावकले राम्रो कमाई गरेर धेरै बचाउनु भन्छन् भने घरका अन्य सदस्य उनिहरुबाट बिभिन्न कोसेलीको प्रस्ताव राख्छन् । तर बैदेशिक रोजगारमा गएका कामदारहरु पैसा कमाएर  घर परिवारका लागि कोसेली मात्र लिएर फर्किदैन्न । आज भोलि उनिहरुले डरलाग्दो जिवाणु शरिरमा कोसेलीको रुपमा ल्याउन थालेका छन् । जुन एकबाट दूइ पछि सिङ्गो परिवार नै उक्त कोसेलीको चपेटामा पर्छन।
बैदेशिक रोजगारबाट फर्किनेहरुले कोसेलीमा जिवाणु ल्याउन थाले पछि मुलुकमा एड्स रोगिका बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् । वैदेशिक रोजगारीमा गएकाहरु शिक्षा र चेतनाको अभावमा एड्स रोगको जीवाणु बोकेर आउने गरेकाले रोगीको संख्या बढ्दै गएको लामो समय बैदेशिक रोजगारमा बिताउनेहरुको अनुभव छ । धनुषामा मात्र एचआईभी संक्रमितको संख्या सयमा गणना हुन थालेको छ । वैदेशिक रोजगारीमा गएकाहरुलाई प्राणघातक रोग एड्सको बारेमा सचेत नगराएकै कारणले गर्दा पनि नेपालमा एडस विकराल समस्याको रुपमा चिनिन थालिएको छ । शिक्षा र चेतनाको अभावमा बेरोजगारी समस्याले गर्दा विदेशिएकाहरुले असुरक्षित यौन सम्पर्क राख्ने गरेका कारण एचआईभी संक्रमितको संख्या बढेको पाइन्छ । धनुषा र सिरहामा परिवारका सम्पुर्ण सदस्य अढाइ वर्षे नाती देखि ६० वर्षीय हजुरबुवा सम्म एचआईभीको जोखिममा रहेको छन् । एचआइभी÷एडस को जोखिममा रहेकाहरुलाई निशुल्क स्वास्थ्य परिक्षण र औषधी बितरण गर्दै आएका जनकपुर अञ्चल अस्पताल स्थित स्वेच्छिक परामर्श तथा सुचना केन्द्रको तथ्याङ्क अनुसार धनुषा र महोत्तरी एचआइभीको उच्च जोखिममा रहेको छ ।
२०६५ बैशाख २३ गते देखि सेवा शुरु गरेको परामर्श तथा सुचना केन्द्रमा हालसम्म ३ सय ५५ जनाले सेवा लिदै आएका छन् । सेवा लिनेहरुमा अधिकांश २५ देखि ४० वर्ष सम्मका छन् केन्द्र प्रमुख प्रदिप साहले भन्छन,“ ३ सय ५५ मध्ये पुरुष २ सय ४० जना र महिला १ सय १२ जना छन । जस मध्ये १३ जना बालबालिकाहरु रहेको छ । यिनिहरु मध्ये करिब २ सय जनाले एआरटी (भाइरस रोक्ने औषधी) सेवा लिने गरेको छ । जसमध्ये फरक फरक समयमा २९ जनाको मृत्यु भइसकेको साहले जानकारी दिए ।
राष्ट्रिय एडस तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा  जनकपुर अञ्चल अस्पतालले सञ्चालन गर्दै आएको परामर्श तथा सुचना केन्द्र मार्फत मासिक करिव १० हजार देखि २० हजार रुपैयाँ पर्ने सम्मको सेवा एचआइभी पिडीतहरुले निशुल्क लिने गरेकोे केहि समय अगाडी सम्म भारतबाट औषधी किनेर सेवन गर्दै आएका महोत्तरीका एक जनाले नाम नखुलाउने शर्तमा द एक्सक्लुसिभलाई बताए ।
एआरटी सुबिधा लिनेहरुलाई महिनामा एक पटक स्वास्थ्य परीक्षणका लागि र नियमित औषधी लिन अस्पताल आउनु पर्छ प्रमुख साहले जानकारी दिए । दैनिक ९० रुपैया पर्ने २ वटा औषधि सेवन गर्नु पर्छ  उनले भने( जुन यहा निशुल्क दिईन्छ । केन्द्रबाट ५ जना पुरुष र २ महिला गरी ७ जना भारतीय नागरिकले समेत निशुल्क सेवा लिदै आएका छन् । जनकपुर अञ्चल अस्पतालमा रहेको उक्त सेवा केन्द्रमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा,उदयपुर र सिन्धुलीका एचआइभी पिडीतहरु निशुल्क सेवा लिदै आएका छन् । माथिको तथ्याङकले के पनि बताउँछ भने विगतमा एचआइभी पोजेटिभ प्रायः जसो महिलामा हुने गथर््यो तर अहिले महिलाको तुलनामा पुरुषको संख्या वढी देखिएको छ । साहका अनुसार २७ अषाढ २०७० मा ६५ वर्षीय नागरिकमा समेत एचआइभी पाइएको छ । श्रीमतिको निधन भएको तथा भारतमा काम गरिरहेका उक्त व्यक्तिको असुरक्षित यौन सम्पर्कले गर्दा एचआइभी भएको हो ।
असुरक्षित यौन सम्पर्क नै एचआइभीको मुख्य कारण
बैदेशिक रोजगारमा गएकाहरुले अस्थायि यौन साथि बनाएर यौन इच्छा मेटाउँछन । उनीहरु हतारमा राखेको शारिरीक सम्पर्क पछि आफ्नो स्वास्थ्य जाँच नगराई नेपाल फर्किना साथ श्रीमती वा पुनः अरु संग शारिरीक सम्बन्ध बनाएर एचआइभी एक व्यक्तिबाट अनेकमा सर्ने गरेको एक गैर सरकारी संस्थामा कार्यरत कर्मचारीले बताए । यो जिवाणु सरेको तीन महिना पछि मात्र जाँच गरी पता लगाउन सक्ने भएकोले पनि जिवाणु एक व्यक्ति बाट अर्को व्यक्तिमा सजिलै सर्ने क्रम दिन दिनै बढदै गएको छ  । तर हाल घर मै बस्ने श्रीमती बाट बिदेशबाट फर्केका श्रीमानमा एचआइभी जिवाणु सर्न थालेको घटना बाहिर आउन थालेको गैर सरकारी संस्थाका कर्मचारीको भनाई छ । उनका अनुसार श्रीमान बैदेशिक रोजगारमा गएकी श्रीमतीले यौन इच्छा पुरा गर्न पर पुरुष संग शारिरीक सम्बन्ध बनाउन थाले पछि यो समस्या देखा परेको हो । यस्ता घटनाको उदाहरण जनकपुर नगरमै रहेको उनको भनाई थियो । धनुषा र महोत्तरीका २÷३ जना व्यक्तिले त आफु एचआइभी पोजेटीभ रहेको जानकारी हुँदा हूँदै पनि १७÷१८ वर्षीया केटी संग विवाह गरेको बाट पनि असुरक्षित यौन सम्पर्कले गर्दा नै एचआइभी  हुनेको संख्यामा बृद्धि भएको मान्न सकिन्छ । एचआइभी जिवाणु बिभिन्न कारणले शरिर भित्र प्रवेश गर्दा एडस लाग्छन तर तराईको परिवेशमा ड्रग्स प्रयोग कर्ता तथा अन्य व्यक्तिहरुमा एचआइभी जिवाणु न्युनरुपमा देखिएको र उनिहरु पनि यौन व्यपार या बैदेशिक रोजगार बाट फर्केको हुन्छ । स्वेच्छिक परामर्श तथा सुचना केन्द्रका एक चिकित्सकले बताए । महत्वपुर्ण कुरा के हो भने हिजो सम्म एचआइभी लुकाउने व्यक्तिहरु अव खुलेर आफु एचआइभी संक्रमित भएको ले उपचार गराउन आएको बताउन थालेको केन्द्रका प्रमुख साहले बताए । तर जनकपुरका केही प्रतिष्ठीत व्यक्तिहरु समेत संक्रमित भएका  र उनीहरु आफु एक्सपोज नहुने बताउने पनि रहेको साह बताउँछन । केन्द्रमा उपचार गराउन आउने व्यक्तिको सम्पुर्ण विवरण गोप्य राख्ने गरिन्छ ।  जनकपुरमा डा. गौराङ मिश्रले उपचार गर्छन । यहाँ करिव ९ जना चिकित्सहरुले ए.आर.टी.(एन्टी रेट्रो थेरापी) को प्रशिक्षण लिएका छन । तराईका एचआइभी पोजेटिभ देखिएका व्यक्तिहरु शिक्षा र जनचेतनाको अभावमा समयमै रगत परिक्षण नगराउदा एक व्यक्ति बाट अर्को व्यक्तिमा सर्ने क्रम बढेको चिकित्सकले बताए । एचआइभी रोकथाम तथा नियन्त्रणको क्षेत्रमा दर्जनौ गैर सरकारी संस्थाले कार्य गरेपनि नाम तथा संख्या नखुलाउने सहमति उनिहरु बिच भएकोले संस्थाको तर्फबाट सञ्चारकर्मीलाइ कुनै जानकारी दिन मानेको छैन । गैर सरकारी संस्थाहरुले रोेकथाम तथा नियन्त्रण भन्दा पनि उनिहरुको सहयोग लिएर  सर्वेक्षण गरी रिर्पोट बनाउनु बाहेक केहि गर्न नसकेको धनुषा ढल्केबरका एक जना एचआइभी पिडीतले आरोप लगाए ।
वैेदेशिक रोजगारीेले टुट्दै छ परिवार
    रुपैया कमाउन श्रीमान विदेश गए पछिको आम्दानी, एक्लोपना र बढ्दो सामाजिक खुलापनका कारण पारिवरिक सुख गुमाएका विकृति समाजमा भयावह रुपमा बढ्दै गएको छ । पछिल्लो समयमा पुरुषहरु वैदेशिक रोजगारीमा जाने क्रमसँगै पारिवारिक विखण्डन झन बढेको छ । परस्पर छुट्टिएर रहँदा युवा दम्पतीमा आउने अनेकन विचलनबाट तिनीहरुका बालबच्चा मानसिक दबाबमा मात्र परेका छैनन्, बच्चाको हत्या समेत गरेका घटना देखिएको छ । धनुषाको उमाप्रेमपुर(७ बस्ने २५ वर्षिय भुरनी देवी साह आफ्नै काका ससुराको छोरा देवर संग स्थापित गरेको यौन सम्बन्ध पश्चात छोरी जन्मिएको ७ महिना पछि घाँटी थिची हत्या गरेर अहिले महोत्तरी स्थित जलेश्वर कारागारमा पछुताइहेकी छिन् । भुरनीका श्रीमान प्रदिप साह वैदेशिक रोजगारीका लागि खाडी मुलुक गए पछि काका ससुराको छोरा २१ वर्षीय देवर शिवा साह सँग भुरनीको शारिरीक सम्बन्ध स्थापना भए पछि गर्भ ठहरियो । त्यस पछि भुरनीका सासुले आफ्ना छोरालाई फोन गर्दा विदेशमै रहेका छोराले घरबाट निस्कासित गर्न लगाउँछ । घरबाट निष्काशित भई बच्चा जन्माउने काका ससुराको छोरा देवरका घरमा भुरनी पुग्छिन । तर त्यहाँ पनि तिनले शरण पाइनन् त्यति बेला सम्म उक्त बच्चाका वुवा शिवा पनि विदेशिन्छन् । बच्चा जन्मिएको ७ महिना पछि काका ससुरा रामसोगारथ साह र भुरनीले मिलेर ३१ जेष्ठ २०६८ राती ९ बजेको समयमा बच्चाको घाँटी थिची मारेका थिए ।  बच्चा मरे पछि उमाप्रेमपुर वडा नं (५ को अमारी नदीमा गाडेकी थिइन् । प्ति विदेशिएका कतिपय पत्नीहरुको स्वच्छन्द जीवन शैली र उनीहरुको आर्थिक श्रोतलाई दुरुपयोग कतिपय पुरुषहरुको नियतका कारण घर विग्रेका छन्, लाखौं सम्पति सहित पत्नी वेपत्ता समेत भएका छन् जनकपुरमा । महिला सेल धुनषाकी प्रहरी सहायक निरीक्षक सुभद्रा आले भन्छिन, “सम्पति लिएर वा नलिएर बालबच्चा छाडी वेपत्ता भएका भनेर उजुरी पर्ने महिला मध्ये धेरै जसो दोश्रो विवाह गरेर बसेका छन् । वैदेशिक रोजगारमा गएकाहरु पत्नि पिडीत भएको उजुरी नै अधिकांश रुपमा आउन थालेको छ, कतिपय त समाजमा आफू बदनाम हुने डरले पनि उजुरी नगरेको हो ।”
    गाउँघरका सोझो महिलालाई एक्लोपनाको फाइदा उठाउँदै गाउँका अल्लारे ठिटाहरु भावनात्मक प्रेमजालमा फसाएर शारिरीक सम्बन्ध स्थापना गरे पश्चात चम्पत हुने परिपाटी भीषण रुपमा बढ्दै गएको छ । महिला अधिकारकर्मी अधिवक्ता रेखा झा भन्छिन, “पुरुषहरु विहे गरेर वैदेशिक रोजगारमै जानु भएन, महिलाहरु पनि सति सावित्री हुँ भनेर आफूलाई कमाण्ड र कन्टूोलमा राख्न नसक्ने हुनाले उक्त समस्या देखिएको हो । विदेशिएका लोग्नेहरुले पनि आँखामा पट्टी बाँधेर श्रीमतीको नाउँमा पैसा पठाउनु भएन, पठाएको पैसा घर श्रीमती कसैसंग नभएर अर्को तेश्रोले सम्पतिका साथ(साथ इज्जत पनि लुट्ने गरेका छन् ।”
    पुरुष र महिला दुवैजनाको मन्जुरीमा स्थापित गरिएको शारिरीक सम्बन्धमा नेपालको कानुन पनि मौन देखिएकाले समाजले खास गरी महिला अधिकारकर्मीहरुले त्यसता महिलाहरुलाई काउन्सलिङ गर्नु आवश्यक देखिन्छ । पति र पत्नी बीच शारिरीक सम्बन्ध हुँदै गर्दा सम्म प्रेम र भावनात्मक सम्बन्ध पनि अगाडी बढ्दै गर्छ तर उक्त सम्बन्धमा ग्याप भए पछि विज्ञानको हिसाबले पनि यौन आवश्यताको तृष्ण मेटाउन विकल्प खोज्नु स्वभाविकै हो भन्दै एकीकृत नेकपा माओवादकिा नेता रामचन्द्र मण्डल भन्छन, “सामाजिक रीति रिवाजले उक्त कार्यलाई नाजायज ठहराए पनि राज्यले वेरोजगारी समस्या समाधान गरि दिएको खण्डमा उक्त समस्या समाधान हुन सक्छ ।”
    उमेर पुगिसके पछि रोकेर पनि नरोकिने शारिरीक भोकको पुर्ति त गरिहाल्छ तर मुख्यतः बेरोजगारी समस्या समाधान नहुँदा त्यसको दोषी राज्य नै रहेको फोरम लोकतान्त्रिककी सुनिता दासको भनाई छ । विदेशमा गएकाहरुले पनि घरको अभिभावक आफ्ना आमा(वुवालाई नमानेर श्रीमतीलाई नै मान्न थाले पछि उक्त विकृति भयावह रुपमा बढ्दै गएको छ । सिनुरजोडा(१ सोहीनीका ८० वर्षिय महानन्द मिश्र भन्छन्, “विदेशबाटै आफ्ना श्रीमतिका लागि मोबाइल र रुपैया पठाउनु, हाट(बजार पनि आइमाई आफै गर्नु, आमा(बुवाको अनुशासनमा तिनीहरु नवसेपछि उक्त कुरीति फैलिएको हो ।” पर पुरुष सँग सम्बन्ध स्थापना भए पछि गर्भपतनका लागि गाउँमै रहेका स्वास्थ्यकर्मीहरुले मोटो रकम असुल्ने गरेका छन् । यति मात्र होइन, सामाजिक लोक(लाज बचाउनका निम्ति धनुषाका महिलाहरुबाट सीमावर्ती विहारको जयनगर, मधुवनी, उमगाँव, बासोपट्टी, सुरसण्ड, दरभंगा समेतका डक्टरहरुले गर्भवतन वापत मोटो रकम कमाउने गरेका  छन् ।
    बालबच्चा हुर्किन लागेको अवस्थामा महिलाहरु आफूलाई सामाजिक रुपमा बढी बन्धनमुक्त, स्वतन्त्र र चञ्चल अनुभव गर्छन् । सामान्यतः ३५ वर्ष पछि हुने हर्मोनहरुको उचारचढावले यौन चञ्चलता बढाउँछ । यस अवस्थामा उनीहरु हठी हुनुका साथै सजिलै सित बहकिन्छन् पनि एक चिकित्सकको भनाई छ ।
    कतिपय अवस्थामा परिणामप्रति सचेत रहँदा रहँदै जैवीक अवाशयकताले पनि विवाहोत्तर पर(पुरुष संग यौन सम्पर्कका लागि उक्साउँछ । फेरी समाजमा रहेका व्यक्तिहरु प्नि डरले कसैलाई केही भन्न सक्ने अवस्था नरहेको कारण उक्त समस्या बढेको हो । समाजमा संयुक्त परिवारको ढाँचा न्यूण नै भइरहेको बेला केटाको विवाह भए पश्चात एकलै बस्ने परिपाटी बढ्दै जानुले पनि उक्त विकृति देखिएको हो । समाजका अगुवाहरुले, सम्बन्धित सरोकारवालाहरुले समय रहदै उक्त विकृति हटाउने उपायको खोजी गरी तत्कालै ठोस पाइला अगाडी नबढाए त्यसले समाजमा झन विकराल रुप लिने निश्चित छ ।

मिति ः २०७०-०३-३०

No comments:

Post a Comment