Saturday, May 18, 2013

शिक्षक सेवा आयोगका प्रतिस्पर्धीमा भएका मनोवैज्ञानिक त्राश र त्यसबाट उत्पन्न प्रभावको व्यवस्थापन

उमेशलाल कण

वर्तमान तीब्र रुपले परिवर्तित युगमा कुनै राष्टूमा भएका विकासका कार्यक्रमहरुको सञ्चालनमा शिक्षाले कुन स्थान पाएको छ ? परिवर्तित संसारिक आवश्यकतामा त्यााहाका शिक्षा प्रणालीले कतिसम्म योगदान गर्न सफल भएको छ ? शिक्षाकर्मीहरुमा कतिसम्म पेशागत गुणहरुको विकास भएको छ ? विद्यालय शिक्षाको व्यापकता, गुणवत्ता, व्यवहारिकता, सान्दर्भिकता, जीवनोपयोगीताको अवस्था कस्तो रहेको छ ? यी र यस्ता अन्य सन्दर्भहरुको प्रयोग गरी राष्टूको विकासात्मक अवस्थालाई आाकलन गर्ने परम्परा रहेको छ । नेपालको शिक्षा प्रणालीको प्रभावको लेखाजोखा गर्दा शिक्षाका विविध पक्षहरु मध्ये शिक्षक र पाठ्यक्रमको स्थान महत्वपूर्ण हुन्छ । पाठ्यक्रमलाई योग्यताको आधारमा बुझी सम्झी कक्षाकोठामा आधुनिक प्रविधिहरुको प्रयोग गरेर शिक्षाका वास्तविक कार्यक्षेत्रमा गई प्रत्यक्ष सरोकारवालाहरुको आवश्यकतालाई ख्याल गरी आफ्नो जिम्मामा रहेका कार्यहरु सम्पादन गर्न शिक्षकको व्यवस्था गरिएको छ । शिक्षकलाई निष्पक्ष छनौट नगरी प्रभावकारी शिक्षा प्रणालीको विकास सम्भव हुन सक्दैन । नेपालमा शिक्षक छनौट प्रक्रिया दशकौं देखि लम्बित भएको अवस्थाले शिक्षाका कार्यहरुमा प्रभावकारिता आउन नसकेको वास्तविकता हाम्रा सामु छन् । विद्यालय प्रति विद्यार्थी आकर्षित भएका छैनन् । अभिभावक पनि विद्यालयमा भएका कार्यकलापहरुमा स्वस्फूर्त किशिमले सहभागी भई रहेका छैनन् । यस्ता नकारात्मक अवस्थालाई बुझ्दा कर्मठ, योग्य, दक्ष, सक्षम शिक्षकको आवश्यकतालाई मनन् गरी राष्टूले महत्वपूर्ण कार्यलाई अगाडी सारेको छ ।
शिक्षक छनौट प्रक्रियामा शुद्धता, निष्पक्षता ल्याउन संसारमा भएका असल अभ्यासहरुको अनुकरण भएको छ, जस अन्तर्गत दाहोरो छनौटका प्रक्रियालाई अगाडी ल्याई पहिलो छनौटमा अध्यापन अनुमति पत्रको परीक्षा र दोस्रो चरणको छनौटमा मुख्य प्रतिस्पर्धा गराईन्छ । दोस्रो चरणको प्रतिस्पर्धात्मक छनौट कार्यमा लिखित, अन्तर्वार्ता एवम् प्रयोगात्मक ( आवश्यक भए ) परीक्षाको प्रावधान रहेको छ । उक्त शिक्षक छनौटका लागि निर्धारण भएका परीक्षा प्रणालीमा सबै भन्दा वढी भार ओगटेका लिखित परीक्षा आगामी ९, १० र ११ जेठमा परीक्षाको कार्यक्रम शिक्षक सेवा आयोगले निर्धारण गरी सूचना सार्वजनिक गरि सकेको छ । यस प्रकारको कार्य प्रणालीको सुनिश्चितता हुनु आफैमा एउटा विश्वसनिय आधार तयार गरेको छ । यसमा अधिकांश नवयुवा पुस्ताहरु होमिएका छन् । यस प्रकारका तयारीे अभ्यासमा रहेका प्रतिस्पर्धीहरमा विभिन्न भ्रमात्मक विचारहरु ( अविश्वसनिय तथ्यहरु ) आई सकेर प्रतिस्पर्धीहरुको मनोवललाई उचाल्नुको सट्टा उनीहरुमा अधिकाधिक मनोवैज्ञानिक त्राशहरु वढाएको छ । यसलाई बढी भन्दा बढी समाधान गर्न प्रतिस्पर्धी आफै संलग्न हुनु पर्ने आवश्यकता रहेको छ । परीक्षार्थीको रुपमा आफुमा रहेका अनुभव ज्ञान तथा व्यवहारहरुलाई उच्चतम प्रदर्शन गर्नका लागि आवश्यक सघन अध्ययनको आवश्यकता सबै प्रतिस्पर्धीले बुझ्नु अनिवार्य रहेको छ । लिखित परीक्षामा क्रमैसित वस्तुगत बहुबैकल्पिक प्रश्न, छोटो उत्तरात्मक प्रश्नहरु, लामो उत्तरात्मक प्रश्न तथा समस्या समाधानमूलक प्रश्नहरुको तयारीलाई निम्न ढााचामा राखेर अध्ययन भण्डारण गर्न सक्ने प्रतिस्पर्धी आफुलाई सफलताको सूचीमा राख्न सफल हुन सक्दछन् । लिखित परीक्षामा रहेका प्रश्नहरुको आफ्नै विशेषताहरु रहेका छन्, जस्तै: बहुबैकल्पिक प्रश्नको भार सबै भन्दा कम भएर पनि यसले विस्तृत विषयवस्तुका क्षेत्रलाई ओग्टेको हुन्छ । यसमा भएका विश्वसनीयता रहेको आधारमा सघन गहिराई क्षेत्रका विषयवस्तुहरुको अध्ययन अनिवार्य रहेको छ । यसलाई कुशल समाधान गर्न प्रतिस्पर्धीहरुले हालसम्म अध्ययन अभ्यास गरेका महत्वपूर्ण तथ्यहरुलाई पटक पटक स्मरण गरी एउटा संगठित संरचनामा राख्नु अनिवार्य भएको छ, यस्ता प्रश्न विगार्दा मूल्याङ्कनकर्ताको दृष्टिकोण नकारात्मक हुने प्रबल सम्भावन रहन्छ । बस्तुगत बहुबैकल्पिक प्रश्नलाई ठीक हिसाबमा मिलाउन निम्न आधारलाई एउटा प्रतिस्पर्धीले बुझ्नु आवश्यक छ ।
निर्मित प्रश्न, सोधी सकेका प्रश्नहरु पढनु भन्दा सम्बन्धित विषयवस्तुका विश्वसनीय प्रकाशनबाट  प्रकाशित पुस्तक ( मूल पुस्तक ) मा भएका विषयवस्तुहरुको शुद्धता परीक्षण गरेको आधारमा अध्ययन भण्डारण गर्न सक्ने सक्षमता भएका प्रतिस्पर्धीको रुपमा आफुलाई स्थापित गर्न सक्नु पर्दछ । प्रश्न  पढनु भन्दा विषयवस्तुको गहनतम अध्ययन गरेको आधारमा आफै प्रश्न वनाएर त्यसको अधिकतम अभ्यास गरेको आधारमा विषयवस्तुमा आफ्नो दक्षता अभिवृद्धि गर्नु पर्ने अनिवार्य भएको छ । वस्तुगत प्रश्नको समाधान गर्न सक्नुको अर्थ विषयवस्तुको बहुआयामिक पक्षहरुको वारेमा स्पष्ट हुनु बुझाउाछ । विषयगत छोटो र लामो प्रश्नहरुको उत्तरमा आवश्यक पक्षहरुलाई समावेश गरी समुचित उत्तर लेख्ने अभ्यास भएमा यसलाई उच्चाङ्कका लागि उपयुक्त बनाउन सकिन्छ । विषयगत प्रश्नको उत्तरमा प्रश्नले मागेका सन्दर्भलाई नछुटाइकन लेख्ने अभ्यास गर्नु पर्ने अनिवार्य अवस्था रहेको छ । विषयगत प्रश्नको उत्तर लेख्दा सर्बप्रथम प्रश्नले उजागर गरेको पक्षलाई परिचयात्मक खण्डमा लेखेर उत्तर लेख्न प्रारम्भ गर्नु पर्ने हुन्छ । कुनै प्रश्नमा भएका पक्षहरुको उत्तरको वारेमा केही थाहा नभएको अवस्थामा त्यस्ता प्रश्न लेख्नु भन्दा नलेखनु नै ठीक हुृन्छ । अनावश्यक लम्बेतान गर्नु भन्दा थाहा भएका प्रश्नहरुको उत्तर लेख्ने तिर ध्यानलाई केन्द्रित गर्नु प्रभावकारी हुन सक्छ । विषयगत प्रश्नको उत्तरलाई प्रश्नमा भएका अंक विभाजनलाई पनि ख्याल गर्नु अत्यन्तै बुद्धिमानी भएको देखिन्छ । विषयगत प्रश्नलाई कम महत्व दिई सन्दर्भ भन्दा बाहिर गई लेख्दा पनि ठीक हुन्छ भन्ने धारणा भएका प्रतिस्पर्धीहरुको मूल्याङ्कन कम हुने सम्भावना उच्च हुन्छ । आजको सन्दर्भमा विभिन्न व्यावसायीक प्रबन्धको आधारमा सस्तो सहयोगी केन्द्रको रुपमा स्थापित भएका ( कोचिङ्ग कक्षा ) केन्द्रहरुमा प्रश्न एवम् त्यसको संवेदनशीलतालाई पटक्कै ख्याल नगरी पाठ्यांश भन्दा बाहिरका सन्दर्भमा गएर जथाभावी प्रश्नको निर्माण गरेर अभ्यास गराउने चलनले गर्दा पनि प्रतिस्पर्धीहरुको धारणात्मक विचलन भई उनीहरुलाई सही मार्गमा डोऱ्याउने अवस्था निश्चित भएको छैन जस्तो अनुभुती हुन्छ । अन्तत: शिक्षक सेवा आयोगको दोस्रो छनौट प्रक्रियामा आफूलाई अब्बल सावित गर्न यसमा संलग्न विभिन्न आधारहरुको वारेमा सुस्पष्ट भई प्रत्येक आधारहरुको वारेमा सघन छलफल एवम् अन्तरक्रियाको आधारमा छानिएका ज्ञान सीपलाई स्पष्ट खाकामा राखी प्रस्तुत गर्ने शैलीको विकास हुनु अनिवार्य भएको छ । प्रतिस्पर्धीहरुमा संकुचित भावले गर्दा पनि एकले अर्कोलाई कुनै विषयवस्तु आदान प्रदान गर्न चााहदैनन् । यस्ता नकारात्मक अभ्यासहरुवाट टाढा राखी आफुमा भएका कमीकमजोरीलाई समयमै सच्चयाउन सकियो भने आफ्नो स्थान सुनिश्चित गर्न सफलता प्राप्त गर्न सकिन्छ ।
प्रतिस्पर्धामा सफलताका बाधकहरु निम्न हुन सक्छन्, जसलाई समयमा नै व्यवस्थापन गर्न सकियो भने सही मार्गमा आफूलाई डोऱ्याउन सफल हुन सहयोगी सद्धि हुन सक्छ । केही सम्भावित बाधक पक्षहरु निम्न हुन सक्छन्, जस्तै: कमजोर स्तरका प्रश्न जसमा मुद्दाहरु उल्लेख भएको हुन्छ जसको उत्तर कुनै एउटा उत्तरलाई संकेत गर्न नसक्ने खालका हुन्छन्, तयारीका लागि कम महत्वका शीर्षकमा वढी समय खपत गर्नु र महत्व भएका सन्दर्भमा पटक्कै अभ्यास नगर्नु, प्रमाणिक पुस्तक लेख तथा रचना भन्दा टाढा गई अनुपयोगी अभ्यासमा आफूलाई केन्द्रित गर्नु, प्रश्न घोक्नु तथा विषयवस्तु बिर्सनु, कम समयमा धेरै सिकाइको अपेक्षा गर्नु, अनावश्यक छलफलमा बढी उर्जा खपत गर्नु र समूहमा आफूलाई बढी जान्ने देखाउन अवावश्यक ढिप्पी कस्नु जस्ता अनावश्यक प्रयाशले सफलता भन्दा पनि अन्य मार्गमा धकेल्ने कार्य निश्चित हुन्छ भन्ने तथ्य बुझ्न आवश्यक छ । यस प्रकार यस्ता बाधक पक्षहरुलाई आफ्नो अनुकुलता प्रतिकुलतालाई निर्धारण गरी समयमा नै सचेत भई तयारीमा पूर्णता ल्याउनु पर्ने आवश्यक भएको छ ।


No comments:

Post a Comment