Monday, January 5, 2015

रेल्बे विस्तारको कामले गति लिँदै

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मुलुकको एकमात्र रेल सेवाको धमाधम स्तरोन्नति भइरहेको छ । अब निर्माण हुने बडी लाइन (ब्रोडगेज) रेलमा जनकपुरमा स्टेसन रहने छैन । यात्रु चढ्न र ओर्लिन अल्पकालीन विश्राम स्थल (हल्ट) मात्र निर्माण हुनेछ । दुईतर्फका रेल मिलन हुने (जक्सन) भने महोत्तरीको बदिर्बासमा निर्माण हुने छ । तर, बर्दिवासमा जग्गा सर्बेक्षण तथा अधिग्रहणको प्रक्रिया पुरा नभएकोले उक्त कार्य अहिले अवरुद्ध भएको छ ।
भारत सरकारको करिब १० अर्ब रुपैयाँको लागतमा निर्माणाधीन जयनगर (भारत)(जनकपुर(विजुलपुरा र भंगहा (महोत्तरी)(बदिर्बास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा एक दर्जन स्टेसन, हल्ट र जक्सन निर्माणाधीन छन् । रेल सेवा सुरु भएको ८० वर्षदेखि मुख्य स्टेसन रहँदै आएको जनकपुरमा भने अब हल्ट मात्र रहने छ । जनकपुरभन्दा ५ किलोमिटर पश्चिममा अवस्थित कुर्थामा मुख्य स्टेसन निर्माण गरिने छ ।
एक कर्मचारीका अनुसार महुवा कपिलेश्वरवासीको अनावश्यक दबाब तथा असहयोगका कारण जनकपुरमा निर्माण हुने भनिएको स्टेसन कुर्थामा सारिएको हो । महुवा कपिलेश्वरवासीले स्टेसनका लागि आवश्यक जग्गा उपलब्ध गराउन अनावश्यक सर्त राखेर बन्दहडताल गरेका थिए ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका इन्जिनियर तथा साइट प्रमुख विनोदकुमार ओझाका अनुसार स्टेसन निर्माण गर्न कम्तीमा एक हजार ३ सय मिटर लामो जग्गा चाहिन्छ । जनकपुरमा ७ सय मिटर जग्गा अपुग भएकाले स्टेसन अन्यत्र सार्नु परेको हो ।
निर्माणाधीन रेल मार्गलाई दृष्टिगत गरी इनरुवा, खजुरी, बैदेही, कुर्था, पिपराडी, सिंग्याही र भंगहामा स्टेसन निर्माण गरिने छ भने महिनाथपुर, देउरी परवाहा, जनकपुर र लोहारपटीमा हल्ट बनाइने छ । पूर्वपश्चिम राजमार्गस्थित बदिर्बासमा जक्सन रहनेछ ।
सन् २०१७ सम्म रेल स्तरोन्नतिको काम सकिने लक्ष्य लिएर दुई ठेकेदारले प्रारम्भिक कार्य सुरु गरेका छन् । महुवा कपिलेश्वरदेखि सीमावर्ती इनरुवासम्मको करिब २७ किलोमिटरको निर्माण कार्य भारतीय निर्माण कम्पनी नायक इन्फ्रास्टूक्चरले थालेको छ भने महुवा कपिलेश्वरदेखि भंगहासम्मको २२ किलोमिटरको काम नेपाली कम्पनी कालिका रमण कन्स्टूक्टरले सुरु गरेको छ ।
इन्जिनियर ओझाका अनुसार दुवै ठेकेदारले पुराना लिक, टूयाक हटाएर माटो पुर्ने तथा सानाठूला पुलपुलेसा निर्माण गर्ने छन् । माटो र पुल पुलेसाको काम पूरा भएपछि ब्रोडगेज ओछयाउन थालिने छ । स्टेसन निर्माणसमेत सुरु भइसकेको ओझाले जानकारी दिए । भवन निर्माण भने अर्कै ठेकेदारको जिम्मामा छ । सन् २०१७ को अन्तयसम्ममा उक्त परियोजना पुरा गरिसक्नुपर्ने छ । नेपाल सरकारले अहिलेसम्म धनुषा र महोत्तरीमा जग्गा अघिग्रहण गर्दा करिब २३ करोड रुपैयाँ लगानी गरिसकेको साइट प्रमुख ओझाले बताए । महोत्तरीको भंगहा देखि वर्दीवाससम्म विवाद रहेकाले जग्गा अधिग्रहण गरिएको छैन ।
विसं १९९४ को रामजानकी विवाह महोत्सवको दिनदेखि विधिवत प्रारम्भ भएको जनकपुर रेल्वेको निर्माण भारत सरकारको सहयोगमा भएको थियो । भारतका तत्कालीन अंग्रेज शासकले नेपालको तराईको जंगलबाट गोलिया साखु काठ ओसार्न नैरोगेज  रेलसेवा प्रारम्भ गरेका थिए ।
मर्मत सम्भारको आभावमा जीर्ण भएपछि २०५० देखि २०५३ सालको बीचमा भारतको राइट्स नामक कम्पनीले ४ डिजल इन्जिन तथा १८ यात्रुवाहक कोच प्रदान गरेर टाट पल्टिइसकेको रेल सेवालाई पुनः सञ्चालनमा ल्याएको थियो । दुई वर्षदेखि रेल सेवा पुनः बन्द छ ।


२०७१ पौष २० गते आईतबार

No comments:

Post a Comment