Monday, January 5, 2015

विद्यार्थीको भविष्य होइन ‘जीवनसँगै खेलवाड’

अजय अनुरागी
जनकपुरधाम............
जनकपुर उपमहानगरपालिका वडा नं. १ मा संचालित संस्थागत विद्यालय आरडी शिक्षा निकेतनमा शनिबार प्रेसरकुकर विस्फोट हुँदा दर्जनौं विद्यार्थीहरु घाइते भएका छन् । शनिबारको दिन विद्यालयमा विदा भएपनि विद्यालयमै खाना पकाईरहेको बेला प्रेसरकुकर विस्फोट भएपछि विद्यार्थीहरु अन्धो हुने खतरामा परेका छन् ।  विस्फोटका कारण उक्त विद्यालयका कक्षा ५ मा अध्ययनरत धनुषा कुम्भकरणका १२ वर्षिय बालकृष्ण यादव, कक्षा २ मा अध्ययनरत धनुषा मोरहाका १२ वर्षिय मुकेश साह, बालाबाखरका ८ वर्षिय एलकेजीमा अध्ययनरत सोनुु यादव, कक्षा २ मा अध्ययनरत कुम्भकरणका अशोक ठाकुर, कुम्भकरणकै एलकेजीमा अध्ययनरत ७ वर्षिय पप्पु यादव, यूकेजीमा अध्ययनरत १० वर्षिय बेलौनीका रियाज नदाफ, यूकेजीमा अध्ययनरत सिरहा वडरा मिर्चैयाका ८ वर्षिय अनित यादव, कुम्भकरणका २ कक्षामा अध्ययनरत अशोक शर्मा, १ कक्षामा अध्ययनरत चिरैयाका प्रसान्त कुमार ठाकुर, चन्दन यादव, साहिल ठाकुर, राजन यादव लगायतका घाइते भएका छन् । जसमध्ये मुकेश साह, बालकृष्ण यादव र अशोक ठाकुर गम्भीर रुपमा घाइते भएका छन् । घाइते हुनेहरुमध्ये प्रायः जसोको आँखामा गम्भीर चोट पुगेको छ भने शरीरका अन्य भागहरुसमेत पाकेको छ । घाइते विद्यार्थीहरुको उपचार विद्यालय नजिकै रहेको धनुषा अस्पतालमा भइरहेको छ ।
आरडी शिक्षा निकेतनमा प्रेसरकुकर विस्फोट हुँदा घाइते भएका विद्यार्थीहरु ।
२०७१ सालको बैशाख महिना देखि संचालनमा आएको उक्त विद्यालयमा कक्षा ५ सम्म पढाई भइरहेको भएपनि जिल्ला शिक्षा कार्यालय धनुषामा हालसम्म दर्ता नभएको उक्त विद्यालयका फाउन्डर समेत रहेका सिरहा वरहरा मिर्चैयाका विनोद यादवले बताएका छन् । दर्ता नभएपनि कम्पनी ऐन तथा नगरपालिकाबाट अनुमति लिईसकिएको उनले दावी गरे ।
कुनै पनि विद्यालय दर्ता नगरिकन संचालनमा रहेको छ भने त्यस्तो विद्यालयहरु अवैध मानिन्छन् ।  नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष मेघनाथ यादव भन्छन,“आरडी शिक्षा निकेतनले कानुन मिचेर अभिभावकहरुलाई ठगेको मात्र छैन, विद्यार्थीहरुको भविष्य होइन जिन्दगीसँग नै खेलवाड गरेको कारण उक्त विद्यालयमा भोली देखि नै जिल्ला शिक्षा कार्यालय धनुषाले ताला लगाउनु पर्दछ ।” धनुषामा आरडी त एक उदाहरण मात्र हुन, धेरै विद्यालयहरु जिल्ला शिक्षा कार्यालयको अनुमति वेगर अवैध रुपमा संचालनमा छन् । पैसा कमाउनका लागि निजी विद्यालयको नाउँमा व्यवसाय संचालन गर्दै आएका त्यस्ता अवैध विद्यालयहरुलाई जिल्ला शिक्षा समितिको बैठक वसी अबिलम्ब खारेजी गरी विद्यालयका संचालकहरुलाई समेत कारवाही गरिनुपर्दछ । जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादव भन्छन,“ महोत्तरीमा अवैध तरिकाले संचालित निजी विद्यालयहरु बन्द भईसकेको भएपनि धनुषामा अनुमति वेगरका थुपै्र निजी विद्यालयहरु संचालित छन् । यस अघिका शिक्षा अधिकारी उपेन्द्र मण्डलले त्यस्ता अवैध विद्यालयहरुलाई कारवाही गर्ने भनेर अभियान नै चलाएको भएपनि जनकपुर सहरमा त्यस्ता विद्यालयहरुको के भयो भन्ने कुरा आफुलाई थाहा नरहेको र थप जानकारी जनकपुरको स्रोत व्यक्ति सुखचन्द्रलाल कर्णलाई सोध्नुपर्ने हुन्छ ।” त्यस सन्दर्भमा स्रोत व्यक्ति सुखचन्द्रलाल कर्णको मोवाइल नम्बर ९८५४०२७०६३ मा सम्पर्क गर्दा उनको मोवाइल स्वीच अफ थियो ।

प्रेसरकुकर विस्फोट भएपछिको अवस्था ।
शिक्षा नियमावली ऐनमा व्यवस्था भए अनुसार कुनै पनि विद्यालयले पुष महिना भित्रमा विद्यालय दर्ताको लागि सम्पुर्ण कागजातहरुको फाइल जिल्ला शिक्षा कार्यालयमा बुझाई एक पटकमा कक्षा १ को अनुमति पत्र पाउँछ । त्यसपछि त्यही कक्षा १ को विद्यार्थी कक्षा २ मा जाँदा कक्षा २ को र अन्ततः ५ वर्षमा कक्षा ५ मा पुगेपछि उक्त विद्यालयले ५ कक्षासम्मको अनुमति प्राप्त गर्न सक्दछ । गत वर्ष तत्कालिन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले अवैधानिक तरिकाले संचालित निजी विद्यालयहरु कति छन् भनेर अनुगमन गर्न लगाउँदा धनुषा भरी मै करिब ३० देखि ३५ वटासम्म निजी विद्यालयहरु विना दर्ता संचालित रहेको पाइएको थियो । अनि जिशिअ मण्डलले ती विद्यालयहरुलाई लिगलाईज गर्नका लागि प्रति विद्यालय ५० देखि ७५ हजार रुपैयाँसम्म घुस लिएर एकैपटक कक्षा १ देखि ५ सम्म अध्यापन गराउन अनुमति दिएको आफुले सुनेको भन्दै नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष मेघनाथ यादव भन्छन,“ शिक्षा नियमावली विपरित तत्कालिन जिशिअ मण्डलले ती विद्यालयहरुलाई एक वर्षमा १ कक्षाको मात्र अपग्रेड गर्नुपर्ने प्रावधानलाई लत्याएर कागज दिएको भएपनि त्यसले वैधता प्राप्त गर्न सक्दैन । भोली देखि नै त्यस्ता विद्यालयहरुलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितिले कारवाही गर्नुपर्दछ ।”
मण्डल ती नै अधिकारी हुन जो अहिले झोले विद्यालय संचालन गराउन र अनुदान दिलाउन लागेको आरोपमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि निलम्बनमा परेका छन् । धनुषामा झोले विद्यालयहरु खारेजी भई राज्यको तर्फबाट प्राप्त गरेको अनुदानको दुरुपयोग गरेको अवस्थामा सो रकम अहिले असुल उपर गराईरहेको भएपनि विद्यालयको अनुमति नै नलिई, पुर्वाधार विना निजी विद्यालय संचालन गर्दै आएकाहरुलाई कुनै पनि किसिमको कारवाही गरिएको छैन ।




२०७१ पौष २० गते आईतबार

No comments:

Post a Comment