Monday, January 5, 2015

५२ विघा क्षेत्रलाई संरक्षण गर्न पुरातत्व विभागको निर्देशन

धनुष महोत्सवमा बनाइएको 
जनक दरबारको मुर्ति सहितको प्रतिमा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर सहरसँग नजिकै टाँसिएर रहेको बेंगा शिवपुर गाविस वडा नं. ७ स्थित जानकी मन्दिरको अधिनस्थ रहेको ५२ विघा क्षेत्रलाई संरक्षण गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय अन्तरगतको पुरातत्व विभागले जिल्ला प्रशासन कार्यालय धनुषालाई निर्देशन दिएको छ । पुरातत्व विभागका अधिकृत भाष्कर ज्ञवालीको हस्ताक्षरित पत्रमा उक्त ५२ विघा क्षेत्रमा माटो खन्ने क्रममा पुरानो इट्टा सहित केही माटोको भाडाहरु प्राप्त भएको जानकारी भएपछि पुरातत्व विभागबाट स्थलगत निरीक्षण गर्दा उक्त स्थल पुरातात्विक महत्वको देखिएकोले थप अध्ययन, अनुसन्धान तथा परिक्षण उत्खनन नभएसम्म उक्त क्षेत्रको संरक्षण गरिदिनुहुन निर्देशनानुसार अनुरोध गरिएको उक्त पत्रमा उल्लेख छ । ७ मंसिर २०७१ मा शिवगढी ५२ विघा क्षेत्र संरक्षण समितिलाई बोदार्थ गरि जिल्ला प्रशासन कार्यालयलाई पुरातत्व विभागले निर्देशन सहितको पत्राचार गरेको भएपनि पुष १४ गतेमा आएर मात्र आफुहरुलाई थाहा भएको र अब उक्त क्षेत्रलाई संरक्षण गर्नुपर्छ, संरक्षण समितिका सचिव नरेश यादवको भनाई छ । 
उक्त जग्गामा गत मंसिरमा शिव धनुष महोत्सवको अवसर पारी ठुलो मेला लगाइएको थियो । बर्षौ देखि अतिक्रमण र बेवास्ताको शिकार बनेको उक्त जग्गामा धनुष महोत्सव आयोजन गरी जनक दरबार बनाउने निर्णय गरिएको थियो ।
शिवगढी ५२ विगहा क्षेत्र संरक्षण समितिको आयोजनामा ७ मंसिरबाट सुरु भई १३ मंसिरमा सम्पन्न भएको उक्त मेलामा १ सय ५५ फिट लामो धनुषको मुर्ती, राजर्षी जनकले हलो जोत्दा सीताको उत्पति भएको मुर्ति, सीताको जन्मदेखि स्वयम्वर सम्मको माटोको कुल ५२ वटा मुर्तीको प्रतिमा बनाईएको थियो । 
द्वन्द्वको सकारात्मक रुपान्तरण
५२ विघा क्षेत्र संरक्षण गर्न पुरातत्व विभागले 
जिल्ला प्रशासन कार्यालय धनुषालाई गरेको पत्राचार ।
नेपाल सरकारका एक जना प्रभावशाली मन्त्रि भौतिक, पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले जनकपुर सहरको एकिकृत सहरी विकास परियोजनाका लागि आवश्यक पर्ने ल्याण्ड फिल साइटका लागि धनुषाको बेंगा शिवपुर ७ स्थित ५२ विघा जग्गा प्रस्ताव गरे पछि गैर कांग्रेस दलहरु सम्मिलित मोर्चा विरोधमा उत्रिएको थियो ।
एकिकृत सहरी विकास परियोजनाको लागि प्राविधिक टोलीले धनुषाको फुलगामा स्थित मनियारी चौटीमा रहेको जग्गालाई स्वीकृत गरी गठी संस्थान सँग जनकपुर नगरपालिकाको कार्यालयले सम्झौता गरिसकेको अवस्थामा मन्त्री निधिले कुनै पनि हालतमा उक्त स्थानमा ल्याण्ड फिल साइट बन्न नदिने चेतावनी दिएपछि जनकपुरमा राजनीतिक दलहरु दुई धु्रवमा विभाजित भएका थिए । अनि खेल सुरु भयो विरोध र समर्थनको ।
मधेस केन्द्रित राजनीतिक दलहरुका जनकपुर नगर समिति स्तरीय संयन्त्रले मन्त्री निधिको प्रस्ताव विपरित सुरु गरेको आन्दोलनले मुर्त रुप लिन नसकिरहेको अवस्थामा नेपाली कांग्रेसकै संस्थापन पक्ष र पुर्व मेयर वजरंग साह समेत मन्त्रि निधि विरुद्ध ओलिए । यति मात्र होइन, सत्ता साझेदारी गर्ने नेकपा एमालेका केही केन्द्रिय र जिल्ला स्तरीय नेताहरु समेत सहभागी भए पछि मन्त्री निधिलाई थप चुनौती वढ्दै गयो । त्यसपछि एकिकृत नेकपा माओवादीका पोलिट व्यूरो सदस्य समेत रहेका नेता रामचन्द्र झाले उक्त मोर्चाको नेतृत्व गर्न थालेपछि मन्त्रि निधिको प्रस्ताव विरुद्धको उक्त आन्दोलनले झन उचाई लियो ।
त्यसपछि २३ साउनमा औपचारिक रुपमै तिनीहरु वैठक राखी उक्त स्थानमा ल्याण्ड फिल साइट हुनु भएन, धार्मिक स्थान भएकाले धार्मिक कार्य मात्र हुनु पर्ने भनेर निर्णय नै गरे । २७ साउनमा तिनीहरुको वसेको वैठकले उमेश यादवको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरियो । उपाध्यक्षहरुमा  रामबाबु यादव, विनोद साह, शिवशंकर यादव, नबल यादव, भगवान दत्त साह, सचिवमा नरेश यादव, सह सचिवमा महेश साह, सुरेन्द्र दास, कोषाध्यक्षमा रामबरण यादव, प्रवक्तामा संजीव कुमार झा सुरज, सदस्यहरुमा वैद्यनाथ यादव, दिपेन्द्र यादव, पाण्डव यादव, नविन यादव, जयनारायण यादव, विनोद गामी, वृजु दास, श्याम पुर्वे, सहदेव मुखिया, महन्थी साह, लक्ष्मेश्वर यादव, सुरेन्द्र प्रसाद साह, शिवकुमार यादव सहित २५ सदस्यीय समिति गठन गरियो । सोही दिन एउटा संस्था दर्ता गरी जनताद्वारा संस्थागत रुपमै संरक्षण गर्ने निर्णय समेत गरियो ।
त्यसपछि ६ भदौमा संस्थाको विधान बनाई दर्ता गर्ने र १६ सदस्यीय सल्लाहकार समिति बनाउने उक्त संरक्षण समितिले निर्णय गर्यो । निर्णयानुसार सल्लाहकारहरुमा एमाले नेता श्रीप्रसाद साह, फोरम लोकतान्त्रिकका नेता रामगोविन्द यादव, विक्रम पजियार, श्रीराम साह, प्रा.रामचन्द्र यादव, विजय कुमार चौधरी, रामस्वार्थ यादव, रामानन्द पजियार, विन्देश्वर साह, चन्द्रेशेखर प्रसाद साह, देवेन्द्र यादव, कैलाश जैन, पञ्चलाल दास, गंगाराम यादव  चयन गरियो ।
त्यसपछि १८ भदौमा बसेको संरक्षण समितिको वैठकबाट शिवपुर गढीमा हजारौं वर्ष पुरानो शिलापत्र, भाँडा कुडा लगायत पुरातात्विक महत्वका सामग्रीहरु इँट्टा, खपरा तथा माटोका भाँडाकुडाहरु पटक पटक विगतमा पनि प्राप्त भएकाले पुरातात्विक उत्खन्नका लागि पुरातत्व विभाग र गठी संस्थानको केन्द्रित कार्यालयमा डेलिगेशन जाने टोलीको नामावली समेत चयन गरियो । साथै २० असोजमा विरोध जुलुस र विरोध सभा गर्ने समेत निर्णय गरे ।
२४ भदौमा रामगोविन्द यादव, नरेश यादव, संजिव झा लगायतको टोली पुगेर ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका सामग्रीहरु उत्खनन तथा संकलनका लागि पुरातत्व विभागमा निवेदन दर्ता गराए ।
१२ भदौमा संरक्षण समितिको बसेको बैठकबाट गरिएको निर्णयानुसार ५२ विघा जग्गाको जग्गा नाप नक्सा छुट्याउने सम्बन्धमा प्रधानमन्त्री, राष्टूपति, गुठी संस्थान केन्द्रित कार्यालय, सहरी विकास मन्त्रालय, स्थानीय विकास मन्त्रालय, भुमि सुधार कार्यालय, एकिकृत शहरी विकास परियोजना इकाई जनकपुर तथा परियोजना प्रमुख लगायतका सरोकारबालाहरुलाई ज्ञापन पत्र बुझाइयो ।
त्यसपछि एकिकृत सहरी विकास परियोजनाको ल्याण्ड फिल साइटका लागि ‘स्वाइल टेस्ट’ गर्नका निम्ति त्यहाँ पुग्न खोजेका सहरी विकास मन्त्रालयका सचिव तथा परियोजनाका प्रमुख ५२ विघामा जान लाग्दा संरक्षण समितिले पुलचौकमा चक्काजाम गरी चौविसै घण्टे धर्ना दिएपछि उनीहरु ‘स्वाइल टेस्ट’ नगरिकन फर्किन बाध्य भए । संरक्षण समितिले तिनीहरुलाई कालो झण्डा समेत देखाएका थिए ।
अनि त्यसपछि ११ असोजमा महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु बनाइयो । अर्थ समितिमा उमेश यादव, प्रचार प्रसारमा राम गोविन्द यादव, स्वागत तथा सत्कारमा श्रीप्रसाद साह, सुरक्षा तथा स्वयमसेवक परिचालनमा देवचन्द्र यादव, कथा प्रवचनमा जयनारायण यादव, मुर्ती तथा धनुष निर्माणमा विजय कुमार चौधरी, भोजन तथा खानामा रामवरण यादव, आवासमा सहदेव मुखिया, यातायात परिचालनमा रामबाबु यादव, अनुगमनमा नरेश यादव, मेला व्यवस्थापन समितिमा वृजु दास, प्राविधिक व्यवस्थापनमा सुरेन्द्र दास, अतिरिक्त क्रियाकलापमा सुरेन्द्र दास क्रमशः संयोजक बनाइयो । त्यसैगरी कार्यालय सचिवमा शिव कुमार यादव र जिवछ यादवलाई नियूक्त गरियो ।
त्यसपछि ५ कार्तिकमा हनुमान ज्यन्तीको शुभ शाइत पारी धर्मध्वजको स्थापना तथा भुमी पुजन समेत गरियो । १६ कार्तिकमा पुरातत्व विभागबाट धनपति घिमिरेको संयोजकत्वमा मन्जु थापा भण्डारी, रमेश यादव, गीता भण्डारी सहितको ५ सदस्यीय टोली आएर उत्खनन गरी इँटा, मानवको हड्डी, भाँडा कुडा लग्यो । र, प्रतिवेदन तयार  गरी बुझाइने र उक्त क्षेत्रलाई संरक्षण गरी राख्न बताइयो ।
२३ कार्तिकमा २२ दलका केन्द्रिय नेताहरुले उक्त ठाउँमा जनक दरबार निर्माण गर्ने कार्यका लागि सिलान्यास पनि गरिसकेका छन् । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो, तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, संघीय समाजवादी पार्टीका उपाध्यक्ष रिझवान अन्सारी लगायत २२ दलका केन्द्रिय नेताहरुले जनक दरबार निर्माणका लागि सिलान्यास समेत गरिसकेका छन् ।
मिथिला महात्मयका अनुसार जनकपुरको पुर्व र उत्तर कोणलाई इष्ट देवको स्थान मानिएको हो । राजा दधिचिको हड्डीले बनेको शिव धनुष परशुरामका मार्फत राजा जनकको दरबारमा ल्याइएको थियो । उक्त धनुष राख्ने पुजा कोठा ५२ विघा नै रहेको मानिएको छ । धनुष यज्ञ हुँदा कस्तो भएको थियो होला भन्ने टेलर देखाउनका लागि उक्त धनुष महोत्सव आयोजन गरिएको संरक्षण समितिका सल्लाहकार राम गोविन्द यादवको भनाई छ । संरक्षण समितिले अब अस्ट द्रव्य (सुन, चाँदी, पितल, तामा लगायत) सबाकिलो, सवा मन, सहित हिन्दु धर्माव्लम्बीहरुबाट सहयोग मागि उक्त अष्ट द्रव्यबाट निर्मित धनुष बनाउने अठोट समेत लिई सकेका छन् । 
रामानन्द सागरद्वारा निर्मित भारतीय टेली श्रृङ्खला रामायणमा देखाइएको जनक दरबार जस्तै निर्माण गर्न एक जना आर्किटेक्ट इन्जिनियरसँग समेत कुराकानी भईरहेको यादवले बताए । चाँडै सर्वपक्षिय अन्तरक्रिया गरी कस्तो मोडेलको जनक दरबार निर्माण गर्ने भन्ने कुराको टुङगो लगाइने यादवले बताए । अहिले मिथिला बाटिकाको समेत कुरा चलेको छ । त्यसको लागि ५० लाख रुपैयाँ दिने दाता समेत तयार भईसकेको छ । त्यसैगरी रामदेव बाबाको एउटा टोली दरबार निर्माणका लागि हजारौं श्रमिक निशुल्क उपलब्ध गराउने प्रतिवद्धता गरेको यादवले बताए । हुन त धेरै भु माफियाहरु पनि चलखेल गर्न सुरु गरेको हुनाले केही चुनौती अवश्य नै खडा हुने भएपनि संरक्षण समिति त्यसको लागि तयार   रहेको उनले बताए ।
यसरी हेर्ने हो भने मन्त्री निधि र मन्त्री निधिका विरुद्ध जसरी धनुषामा एकिकृत सहरी विकास परियोजनाको सेनिटरी ल्याण्ड फिल साइटका लागि फुलगामामा हुन नदिएर मन्त्री निधिले जितेको देखिएपनि मन्त्री निधिले नै प्रस्ताव गरेको ५२ विघामा हुन नदिएर २२ दलको जित भएको र मन्त्री निधिको हार भएको अवस्था सहजै देखिन्छ । तर, अब उक्त ठाउँमा जनक दरबार निर्माण हुने हो कि ल्याण्ड फिल साइट निर्माण हुने हो, त्यो हेर्न बाँकी नै छ । यति मात्र होईन उक्त विवाद कहाँ गएर टुङ्गिने हो वा झन चर्किदै जाने हो भन्ने यकिन हुन सकेको छैन ।





२०७१ पौष २० गते आईतबार

No comments:

Post a Comment