Monday, December 8, 2014

धनुषामा अपाङ्गहरुको विजोग

कलेजबाट फर्किदै अपाङ्ताको शिकार एक विद्यार्थी ।
कलेज र विद्यालयका कक्षा कोठाहरु
हालसम्म पनि अपाङ्ग मैत्री हुन सकेको छैन ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरका अशोक दत्त चर्चित तथा लोकप्रिय व्यक्ति हुन । कुनै बेला उनी भलिवलका राष्टिूय स्तरका खेलाडी थिए । बाजा समेत बजाउने गर्थे । गित समेत लेख्ने गर्थे । तर, पाँच वर्ष अघि उनी सबारी दुर्घटनामा परेर हातको अपाङ्गताका शिकार हुन पुगे । पत्रकार समेत रहेका दत्त, दुर्घटना भएपछि करिब तीन वर्षसम्म कुनै कामै गर्न सकेनन् । बल्ल आएर लामो उपचार पश्चात केही कामहरु गर्न थालेको, कलम उठाएको भन्दै उनी भन्छन,“सपाङ्ग भएर जे गर्न सकिन्थ्यो त्यो अब अपाङ्ग भएर गर्न सकिँदैन । धेरै जोस र जाँगर थियो, केही गर्छु भनेर, तर, सामथर््य नै घटेपछि उत्साहमा कमि आउनु स्वाभाविक हो । तर अहिले फेरी कलम उठाएको छु ।” दैनिक जीवन चर्यामा पनि अरुको मद्दत लिनुपर्ने हुनाले अपाङ्ता भएपछि को कष्टलाई शव्दमा व्याख्या गर्न सकिन्न, जीवनभर अब त्यो कष्ट मेटिनेबाला छैन, दत्तको भनाई थियो ।
अपाङ्ग समाज जनकपुरका अध्यक्ष समेत रहेका ३५ वर्षिय शत्रुधनलाल कर्ण व्हील चेयरमा चढ्छन् । ८÷९ वर्षकै उमेरमा उनी पोलियोको शिकार भए । सिढीमा उनी चढ्न सक्दैनन् । शौचालय जाँदा पनि धेरै कठिनाईको सामना गर्नुपर्छ । अब कष्ट नै जीवन भएपनि अपाङ्ता भएकाहरुको हक अधिकारको लागि लड्छु भनेर उनी लागि परेका छन् ।
जनकपुर नगरपालिका १२ निवासी रामअशिष साह जिल्ला पशु सेवा कार्यालय धनुषामा अधिकृत पदमा उनी लामो समय देखि कार्यरत छन् । व्हील चेयर चढ्ने साह ६ महिनाकै उमेरमा पोलियोको शिकार भए । एक साल अघि उनको सरुवा विरगञ्जमा गरिएको छ । आफु विरगञ्ज गएर काम गर्न नसक्ने अवस्था भएकाले आफ्नो सरुवा थमौटी गर्न विभागसम्म अनुरोध गर्दा वरु राजीनामा दिए हुन्छ भनेर चेतावनी दिने गरेको उनको भनाई छ । एक त बाँच्न गाह्रो त्यसमा पनि सरुवा नगरिदिन अनुरोध गर्दा पनि कसैले सुनुवाई गरिरहेको छैन उनको गुनासो छ ।
यी त अपाङ्ता भएकाहरुको केही उदाहरण मात्र हुन । अपाङ्ता भएका व्यक्तिहरुको जीवन अत्यन्त कष्टप्रद छ । धनुषामा १ हजार २ सय ६९ पुरुष र ६ सय ७ जना महिला गरी कुल १ हजार ८ सय ७६ जनाले महिला तथा बालबालिका कार्यालय धनुषाबाट अपाङ्ताको परिचयपत्र हालसम्म लिएका छन् । जसमध्ये ६४ महिला र १ सय ५२ जना पुरुष गरी कुल २ सय १६ जना पुर्ण अशक्त अर्थात ‘क’ वर्ग, २ सय ५३ महिला र ४ सय ८८ पुरुष गरी कुल ७ सय ४१ जना अति अशक्त अर्थात ‘ख’ वर्ग, २ सय ३५ महिला, ५ सय २६ पुरुष गरी कुल ७ सय ५८ जना मध्यम अशक्त ‘ग’ वर्ग र ५५ महिला, १ सय ६ पुरुष गरी कुल १ सय ६१ जना सामान्य अशक्त ‘घ’ वर्गको अपाङ्ताको परिचय पत्र प्राप्त गरेका छन् । जिल्लामा धेरै अपाङ्ता भएका व्यक्तिहरुलाई अपाङ्ताको परिचय पत्र लिनुपर्छ र अपाङ्ताको लागि नेपाल सरकारले विभिन्न सेवा र सुविधाहरु उपलब्ध गराएको जानकारी अभावका कारण थुप्रै अपाङ्ता भएका व्यक्तिहरुले परिचय पत्र नलिएका कारण धनुषामा यति नै अपाङ्ता भएका व्यक्तिहरु छन् भनेर भन्न सकिने अवस्था छैन । उक्त संख्या भन्दा धेरै वढी मानिसहरु अपाङ्ताको शिकार भएको हुन सक्छ ।
अपाङ्ता परिचय पत्र लिनका लागि अपाङ्ता भएको व्यक्तिहरुले सम्बन्धित गाविसहरुको जनकपुर अञ्चल अस्पतालको अपाङ्ता भएको सिफारिस पेश गर्नुपर्ने हुन्छ । आवेदन फारमका साथ साथै जन्म दर्ता प्रमाण पत्र, बुवाको नागरिकताको प्रमाण पत्र, अपाङ्ता देखिने एक फोटो, पासपोर्ट साइजको दुईवटा फोटो र आफ्नो नागरिकताको प्रमाण पत्रको प्रतिलिपी सिफारिस समितिमा पेश गर्नुपर्ने हुन्छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विकास समितिको योजना अधिकृत, जिल्ला जनस्वास्थ्य कार्यालयको अधिकृत, राष्टिूय अपाङ्ग महासंघ नेपालमा आवद्ध संघ संस्थाको एक प्रतिनिधि सदस्य रहने गरेको र महिला विकास अधिकृत सदस्य सचिव रहेको परिचय पत्र सिफारिस समितिले अपाङ्ताको परिचय पत्र वितरण गर्ने गर्छन् ।
नेपाल सरकारद्वारा राजपत्र मार्फत प्रकाशित ‘अपाङ्गताको परिभाषा तथा अपाङ्गपनको निर्धारण’
नेपाल सरकारले अपाङ्ग संरक्षण तथा कल्याण ऐन २०३९ को दफा ३ को उपदफा ९१० को प्रयोजनको लागि सोहि दफाको उपदफा ९२० वमोजिम गठित समितिको सिफारिश बमोजिम
अपाङ्गताको परिभाषा तथा अपाङ्गपनको निर्धारणू सम्वन्धमा देहायबमोजिमको मापदण्ड तोकेको छ ।
१. अपाङ्गताको परिभाषा
शरीरका अंगहरु र शारीरिक प्रणालीमा भएको समस्याको कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणका साथै सञ्चार समेतवाट सिर्जना भएको अवरोध समेतले दैनिक क्रियाकलाप सामान्य रुपमा संञ्चालन गर्न एवं सामाजिक जीवनामा पूर्ण सहभागी हुन कठिनाई हुने अवस्थालाई अपाङ्गता भनिन्छ । अझै प्रष्ट सग भन्नु पर्दा (शरीरको ज्ञानेन्द्रियजन्य वा आङ्गिक प्रणालीमा आएको कार्य सीमितता, अवरोधले सृजना गरेको सहभागिताको वञ्चितीकरण र विभेदजन्य अवस्थाले सृजना गरेको सामाजिक बहिष्करण जस्ता कारणहरुको संयुक्त असरबाट सृजित वातावरणलाई अपाङ्गता मानिन्छ र यस्तो वातावरणमा रहेका व्यक्तिहरुलाई अपाङ्गता भएका व्यक्ति भनिन्छ ।
२. अपाङ्गताको वर्गीकरण
अशक्तताको गंभिरताको आधारमा अपाङ्गताको वर्गीकरण ः परिचय पत्रका आधारमा
क. पूर्ण अशक्त अपाङ्गता
दैनिक कृयाकलाप संपादन गर्न निरन्तर अरूको सहयोग लिँदा पनि कठिनाई हुने अवस्थालाई पूर्ण अशक्त अपाङ्गता मानिनेछ जस्ले रातो रगंको परिचय पत्र प्राप्त गर्दछन ।
ख. अति अशक्त अपाङ्गता
वैयक्तिक क्रियाकलापहरू सम्पादन तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर अरुको सहयोग लिनुपर्ने स्थितिलाई अति अशक्त अपाङ्गता मानिनेछ जस्ले निलो रगंको परिचय पत्र प्राप्त गर्दछन ।
ग. मध्यम अपाङ्गता
भौति सुविधा, वातावरणीय अवरोधको अन्त्य, शिक्षा र तालिम भएमा अरूको सहयोग लिएर वा नलिइकन निरन्तर दिनचर्या र सामाजिक क्रियाकलापहरूमा सहभागि हुन सक्ने अवस्थालाई मध्यम अपाङ्गता भनिन्छ जस्ले पहेलो परिचय पत्र प्राप्त गर्दछन ।
घ. सामान्य अपाङ्गता
सामाजिक तथा वातावरणीय अवरोध नभएमा आँफै नियमित दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थालाई सामान्य अपाङ्गता मानिनेछ जस्ले सेतो रगंको परिचय पत्र प्राप्त गर्दछन ।
अपागंता भएका वाल वालीकाहरुको लागि शिक्षा क्षेत्रमा भएका नितिगत ब्यवस्थाहरु
सरकारी शैक्षिक संस्थाहरुमा प्राथमिक देखी उच्च तह सम्म निःशुल्क शिक्षाको ब्यवस्था
निशुल्क शिक्षा ः कुनै पनि अपांगता भएका ब्यक्तिले नेपाल राज्य भित्र स्थापना भएका सरकारी अर्ध सरकारी शिक्षण संस्थाहरुमा फाराम दस्तुर, परीक्षा दस्तुर, मासीक शुल्क, खेलकुद शुल्क आदी कुनै पनि किसिमको शुल्क नतिरीकन पढ्न पाउने अधिकारलाई निःशुल्क शिक्षाको अधिकार भनिन्छ । यो अधिकार नेपाल अधिराज्य भर स्थापित अधिकार हो ।
अपांगता भएका ब्यक्तिहरुका लागी शैक्षिक छात्रवृत्तिको ब्यवस्था
शैक्षिक छात्रवृत्तिको वर्गिकरण र प्राप्त गर्ने आधार 
पहिलो श्रेणी ः प्रति महिना रु.२५०० का दरले १० महिनाको रु २५,००० ( हिमाली क्षेत्रका लागि मात्र ) ।
पहिलो श्रेणि ः प्रति महिना रु.२,००० का दरले १० महिनाको रु २०,००० ( अन्य क्षेत्रका लगि ) ( आवासिय सुविधा दिनु पर्ने वा आवासिय ब्यवस्था गरि अध्ययन गरिरहेका सवै किसिमका अपागंता भएका वाल वालीकाहरु यो सुविधा लिन योग्य हुने छन ) ।
दोस्रो श्रेणी ः प्रति महिना रु ५०० का दरले १० महिनाको रु ५,००० ( विधालय आवतजावत गर्न सहयोगि र सहायक साधन दुवै आवस्यक पर्ने वाल वालीकाहरु यो सुविधा लिन योग्य हुनेछन ।
तेस्रो श्रेणी ः प्रति महिना रु ३०० का दरले १० महिनाको रु ३,००० ( सहयोगिको आवस्यक नपर्ने तर साधनको प्रयोग गरि आफै विधालय आवतजावत गर्ने वाल वालीकाहरु यो सुविधा लिन योग्य हुनेछन ) ।
चौथो श्रेणी ः प्रति महिना रु १००।०० का दरले १० महिनाको रु १,००० ( सामान्य खालका सवै किसिमका अपागंता भएका वाल वालीकाहरु यो सुविधा लिन योग्य हुनेछन ) ।
नोट ः यि माथिका सवै सुविधाहरुको उपभोग गर्न नेपाल सरकार महिला वाल वालीका कार्यलय द्धारा जारि गरिएको अपागंता परिचय पत्र अनिवार्य लिएको हुनु पर्नेछ ।
परीक्षामा १ घण्टा ३० मिनेट थप समय उपलब्ध गराउनु पर्ने ब्यवस्था
अपांगताका कारण शारीरिक अंगमा आएको कार्य सिमितता वा आंगिक क्रियाशिलतामा आएको ढिलाईका कारण कुनै अपांगता भएका विद्यार्थीले सामान्यतया परीक्षाका लागी तोकिएको समय भित्र परीक्षा दिन भ्याउदैन र केही थप समय दिन आवश्यक छ भन्ने ठहर भएमा त्यस्ता अपांगता भएका विद्यार्थीलाई वढिमा एक घण्टा तिस मिनेट
१ घण्टा ३० मिनेट समय उपलब्ध गराउनु पर्ने ब्यवस्था छ ।
परीक्षामा सहयोगीको ब्यवस्था
शारीरिक रुपमा अपांगता भई हात नचल्ने वा हात नभएका तथा दृष्टिविहिनताका कारण स्वयं परीक्षा लेख्न नसक्ने भएमा त्यस्ता परीक्षार्थिहरुका लागी परीक्ष दिदा सहयोगी राख्न पाउने ब्यवस्था छ ।
शैक्षिक संस्थाहरु अनिवार्य रुपमा अपांगता मैत्रि वनाउनु पर्ने ब्यवस्था
हरेक शैक्षिक संस्थाका भवन, खेलमैदान, कक्षाकोठा, खानेपानीका धारा, शौचालय तथा शैक्षिक प्रणाली अपांगता मैत्रि वनाउनु पर्ने कानुनी प्रावधान छ । यति भएमा मात्र सवैका लागी शिक्षा र सहश्राब्दि लक्ष्य सन २०१५ साकार हुन सक्छ ।
त्यसैगरी रोजगारीको क्षेत्रमा अपाङ्ता भएकाहरुका लागि ५ प्रतिशत सिट आरक्षण गर्नुपर्ने हुन्छ । निजामती सेवा, शिक्षक सेवा लगायत अन्य निजी क्षेत्रहरुमा समेत रोजगारीको लागि ५ प्रतिशत सिट आरक्षण गरिनुपर्ने नेपालमा कानुनी व्यवस्था छ ।
त्यसैगरी आवागमनका लागि आन्तरिक हवाई यात्रामा निर्धारित भाडामा ५० प्रतिशत भाडा छुट गर्नुपर्ने व्यवस्था छ । एउटा विमानमा एक जना अपाङ्तालाई सिट आरक्षण गर्नुपर्ने हुन्छ । त्यसैगरी सार्वजनिक सडक यातायातमा समेत निर्धारित भाडामा ५० प्रतिशत भाडामा छुटका साथै अपाङ्ताका लागि सिटको आरक्षण गर्नुपर्ने हुन्छ ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत स्थानिय निकायबाट पुर्ण अशक्त अपाङ्ता भएका व्यक्तिहरुलाई १ हजार रुपैयाँ र आंसिक अपाङ्ता भएका व्यक्तिहरुको लागि रु. ३ सय रुपैयाँ मासिक भत्ताको व्यवस्था मिलाइएपनि ग र घ वर्गको अपाङ्ताका लागि भत्ताको व्यवस्था गरिएको छैन । यसका साथै निःशुल्क स्वास्थ्य उपचार र सरकारी अस्पतालहरुमा अपाङ्ता भएका व्यक्तिहरुका लागि शैयाको आरक्षण गर्नुपर्ने कानुनी व्यवस्था छ । यसका अतिरिक्त आयकरमा सामान्य विवाहित व्यक्तिलाई रु. २ लाखसम्म आयकर नलाग्ने व्यवस्था झै अपाङ्ता भएका व्यक्तिहरुका लागि रु. ३ लाख सम्म बार्षिक आय भएमा आयकर नलाग्ने व्यवस्था छ ।
कानुनको कितावमा जे सुकै व्यवस्था भएपनि सामाजिक सुरक्षा भत्ता बाहेक र हवाई यात्रा बाहेक अन्य कुनै पनि किसिमको सुविधा धनुषाका अपाङ्ता भएका व्यक्तिहरुले नपाइरहेको अपाङ् समाज जनकपुरका अध्यक्ष शत्रुधन लाल कर्णको आरोप छ ।


२०७१ मंसिर २१ गते आईतबार

No comments:

Post a Comment