Monday, December 8, 2014

भित्रिन थाले ‘अबैध हतियार’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरीको महोत्तरी गाविस पर्सा पुल नजिक दुई जना व्यक्तिलाई पेस्तोल सहित पक्राउ गरेको भोली पल्टै सोही गिरोहका अन्य थप तीनजनालाई योजनाबद्ध तरिकाले फिल्मी शैलीमा जनकपुरको विद्यापति चौकबाट पक्राउ गरिएको छ । महोत्तरीमा हतियार सहित पक्राउ परेका महोत्तरी गाविस ९ सनोखरा बस्ने २० वर्षीय रहमतुल्ला नदाफ र वीरेन्द्र यादवलाई अंचल प्रहरी कार्यालयले १५ मंसिर २०७१ मा पक्राउ गरेको थियो । १६ मंसिरमा पत्रकार सम्मेलन गरी अञ्चल प्रहरी कार्यालय जनकपुरले सार्वजनिक गरे लगतै सो हतियारलाई लिन आएका अन्य तीन जना व्यक्तिहरुलाई योजनाबद्ध तरिकाले फिल्मी शैलीमा अंचल प्रहरी कार्यालय जनकपुरबाट खटिएका प्रहरीले एक एक गरी पक्राउ गर्न सफल भएको हो । 
पत्रकार सम्मेलन लगतै प्रहरी नियन्त्रणमा रहेका विरेन्द्र यादवलाई सिरहा विष्णुपुर निवासी संजय यादवले आफू सामान लिन आएको तिमी कहां हो भनेपछि प्रहरीको निर्देशन अनुसार विरेन्द्र यादवले आफू विद्यापति चौकको चिया पसल अगाडि रहेको ठेगाना दिएर बोलाउन लगाएको थियो । आधा घण्टापछि अंचल प्रहरी कार्यालयका घुमुवा प्रहरीले उनलाई पक्राउ गरे । 
प्रहरीको अप्रेशन ः नियन्त्रणमा लिईसकेका हतियार
 सप्लायरलाई अर्को हतियार लिने मानिसले फोन गर्दै ।
प्रहरीको ट्रयापमा एक पछि अर्को हतियार
 ओसार पोसार गर्ने व्यक्तिहरु पक्राउ परेका थिए ।
 
त्यसपछि विरेन्द्र यादवलाई जनकपुर ८ बजरंग चौक निवासी बाल्मिकी भगत र कृष्णकुमार चौधरीले फोन गरेपछि प्रहरीकै निर्देशनमा तिनीहरुलाई पनि विद्यापति चौकको एक चिया पसल अगाडि बोलाइयो । उनीहरु आएपछि प्रहरीले पक्राउ गरेको  थियो । बाल्मिकी भगतलाई पक्राउ गर्ने क्रममा प्रहरीले संजय यादव लिएर आरोपीलाई चिन्नका लागि विद्यापति चौकमा लगेका थिए । 
हतियार ढुवानी गर्ने आरोपमा पक्राउ परेका बाल्मिकीलाई रमेश भन्ने व्यक्तिले विद्यापति चौकबाट हतियार लिएर संजय यादव संग रामानन्द चौक आउ भनेर पठाएका थिए ।  
अंचल प्रहरी कार्यालय जनकपुरका वरिष्ठ प्रहरी उपरिक्षक सुरेश केसीले भारतको सितामढी वस्ने एक जना अपरिचित व्यक्तिले विरेन्द्र यादवलाई सो हतियार जनकपुरमा संजय यादवलाई दिनु र संजय यादवले बाल्मिकी भगत संग विद्यापति चौकबाट रमेश कहां रामानन्द चौक पुरयाउनु थियो भनेर बताएका थिए । 
फेरी रामानन्द चौकबाट संजय यादव र रमेश लहान गई त्यहांबाट रमेश एक्लै काठमाडौ गई ओम यादवको जिम्मा लगाउने गरि हतियार सप्लाईको योजना रहेको कुरा अनुसन्धानबाट खुल्न आएको उनले बताए । ओम यादव संजय यादवको नातामा पर्ने दाजु रहेको प्रहरीको भनाई छ । पत्रकार सम्मेलनमा एसएसपी केसीले पक्राउ परेका युवकहरु पेशेवर नभई भरियाको रुपमा मात्र प्रयोग भएको बताए । उनले अहिले केहीदिन देखि आधुनिक हतियार पक्राउ पर्ने क्रम शुरु भएको छ तर आगामी केही दिन झन अत्याधुनिक हतियारहरु फेला पर्न सक्ने समेत भने । 
अवैध हतियार सहित पक्राउ परेका
जानकी मेडिकल कलेजका
चालक सुशिल प्रसाद यादव ।
सुरुमा पक्राउ परेका विरेन्द्र यादव र रहमतुल्लाह नादाफको साथबाट दुई थान अमेरिकन पेस्तोल, चार राउन्ड गोली, म्याग्जीन दुई थान र दुई थान साइकल बरामद गरिएको थियो ।
अञ्चल प्रहरी कार्यालय जनकपुरबाट खटिआएको विशेष प्रहरी टोलीले गएराति ७ बजे जलेश्वर(जनकपुर सडकखण्ड अन्तर्गत पिपरा बजारबाट घर जांदै गरेको अवस्थामा महोत्तरी गाविस(  स्थित पर्सा पुलबाट दुवै युवकलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । पिपरा बजारबाट कापी किनेर घर फर्किने विरेन्द्र यादवलाई भारतीय एकजना अपरिचित व्यक्तिले सो हतियार दिएर जनकपुरमा संजय यादवलाई दिन लगाएका थिए । संजय यादव र विरेन्द्र यादव दुवै परिचित थिए, केही महिनाअघि जनकपुरमै पढने क्रममा संगै बस्दै आएका थिए । पक्राउ परेका युवकसँगै रहेका अर्का साथी स्थानीय सिकिन्द्र पासवान प्रहरीलाई देख्ने बित्तिकै फरार भएका थिए । पक्राउ परेका सबै युवक विद्यार्थी हुन् । विरेन्द्र यादव, रहमतुल्लाह नादाफ, संजय यादव, बाल्मिकी भगत सहितका आरोपी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी हुन् भने कृष्णकुमार चौधरी पनि विद्यार्थी नै हो । 
पिस्तोल सहित १ जना पक्राउ 
१२ मंसिर २०७१ मा जनकपुर १४ स्थित रजौलमा  हातहतियार रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको टोलीले एक थान पिस्तोल, गोलीको खोका, एक थान खुडा सहित सुशिल प्रसाद यादवलाई रजौल स्थितबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । पक्राउ परेका यादव धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेजमा चालकको काम गर्छन ।
यसरी हेर्ने हो भने विगतका वर्षहरु झैं अहिले पनि हतियारहरु बरामद हुन थाल्नुले समाज असुरक्षित रहेको संकेत गर्दछ । खास गरी जसरी हतियार ओसार पोसारमा यूवा विद्यार्थीहरु प्रयोग भईरहेका छन् त्यसले निश्चय पनि संगठित अपराध तर्पm संकेत गर्दछ । अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रमुख समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश केसी भन्छन,“ अवैध हातहतियारहरु साना देखि ठुला अपराधसम्ममा प्रयोग गर्ने गरिएको छ । संगठित अपराधका लागि पनि ती साना हतियारहरु प्रयोग हुनेगरेको छ । कसैले पैसा बोकेर एक ठाउँबाट अर्को ठाउँ गइरहेको बेला पैसा लुट्नका लागि, कसैलाई हत्या गर्नका लागि, व्यक्ति अपहरण गर्नका लागि, कसैले कसैलाई सुपारी दिएर हत्या गराउनका लागि जस्ता जघन्य अपराधहरुका लागि ती साना हतियारहरुको प्रयोग भईरहेको छ । यी सारा कार्यहरु केका लागि गरिन्छन् भने अन्ततः ठोकिने भनेको पैसामै हो ।”
जनकपुर अञ्चलमा अपराधको वढ्दो ग्राफ ।
अञ्चल प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको असोज महिनासम्ममा १ सय १९ जना मानिस हातहतियार तथा खरखजाना मुद्दा अन्तरगत पक्राउ परिसकेका छन् । पछिल्लो तीन वर्षमा धनुषामा ४१, महोत्तरी २४, सर्लाहीमा ४०, सिन्धुलीमा २, दोलखामा २ र रामेछापमा ४ जना व्यक्ति पक्राउ परेका छन् । चालु आर्थिक वर्ष असोज महिनासम्म धनुषामा ४ र सर्लाहीमा २ जना व्यक्ति हातहतियार मुद्दामा पक्राउ परेका छन् । यसरी हेर्ने हो भनेपनि अवैध हातहतियारको प्रयोग धनुषा, महोत्तरी र सर्लाही मै वढी हुने गरेको छ भने यस अञ्चलको अन्य तीन पहाडी जिल्ला सिन्धुली, दोलखा र रामेछापमा न्यूननै प्रयोग भएको पाइन्छ । 
गम्भीर अपराध पनि तीन जिल्लामै वढी
पछिल्लो ३ आर्थिक वर्षको गम्भीर प्रकृतिको अपराधलाई विश्लेषण गर्ने हो भने पनि तराईकै तीन जिल्ला धनुषा, महोत्तरी र सर्लाहीमा वढी भएको पाइन्छ । अञ्चल प्रहरी कार्यालय जनकपुरधामले उपलब्ध गराएको तथ्याङ्क अनुसार धनुषामा  ५७ जनाको, महोत्तरीमा ४६ जनाको, सर्लाहीमा ४४ जनाको, सिन्धुलीमा २६ जनाको, दोलखामा २१ जनाको र रामेछापमा १८ जनाको हत्या भएको छ । आर्थिक वर्ष २०६८ देखि २०७० सम्म क्रमशः धनुषामा २०,१७, २० गरी कुल ५७ जना, महोत्तरीमा २२, १३, ११ गरी कुल ४६, सर्लाहीमा १७,१३,१४ गरी कुल ४४ जनाको हत्या भएको देखिन्छ । त्यसैगरी आर्थिक वर्ष २०६८ देखि २०७० सम्ममा ज्यान मार्ने उद्योग मुद्दामा क्रमशः धनुषामा १२, १४, २९ गरी ५५ जना, महोत्तरीमा ६, १३,१३ गरी ३२ जना, सर्लाहीमा १०, १८,५ गरी कुल ३३ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । ज्यान मार्ने उद्योगमा सिन्धुलीमा ३ वर्षमा १८, दोलखामा २१ र रामेछापमा ५ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । त्यसैगरी व्यक्ति अपहरण मुद्दामा क्रमशः तीन वर्षमा धनुषामा ३,१,५ गरी ९ जना, महोत्तरीमा ४,३,४ गरी ११ जना, सर्लाहीमा ३,१,३ गरी ७ जना विरुद्ध मुद्दा चलाइएको छ । दोलखा र रामेछापमा अपहरणको मुद्दा नै दर्ता भएको देखिँदैन भने सिन्धुलीमा तीन वर्षमा जम्मा ३ जना विरुद्ध मुद्दा दर्ता गरिएको पाइन्छ ।
लागु औषध मुद्दामा पनि तराईकै ३ जिल्लामा वढी मुद्दा दर्ता भएको पाइन्छ । तीन वर्षमा क्रमशः धनुषामा ५७, ५९ र ४१ गरी १ सय ५७ जना, महोत्तरीमा क्रमशः १७, २१, ३६ गरी कुल ७४ जना, सर्लाहीमा २०, ३५ र ३४ गरी कुल ८९ जना विरुद्ध लागु औषधको मुद्दा दर्ता गरिएको छ । त्यसैगरी तीन वर्षमा सिन्धुलीमा जम्मा ४ जना, दोलखामा २ जना विरुद्ध लागु औषधको मुद्दा दर्ता गरिएको भएपनि रामेछापमा त्यसको एउटा मुद्दा पनि दर्ता भएको छैन । उक्त तथ्याङ्कले पनि के देखाउछ भने लागु औषधमा तराईको तीन जिल्ला मध्ये धनुषामै सबैभन्दा वढी व्यक्ति विरुद्ध मुद्दा दर्ता गरिएको छ । चालु आर्थिक वर्ष २०७१÷०७२ को तथ्याङ्क अनुसार पनि धनुषामै सबैभन्दा वढी मुद्दा चलाइएको छ । धनुषामा १७ जना, महोत्तरीमा १२ जना, सर्लाहीमा १० जना विरुद्ध लागु औषधको मुद्दा दर्ता गरिएको छ । सिन्धुलीमा १ जना विरुद्ध मुद्दा चलाइएपनि दोलखा र रामेछापमा लागु औषधको मुद्दा दर्ता भएको छैन ।
शनिबार सबैभन्दा वढी अपराध
अञ्चल प्रहरी कार्यालय जनकपुरधामले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६८÷०६९ मा १ हजार ३ सय २ थान, २०६९÷०७० मा १ हजार ३ सय ४५ र २०७०÷०७१ मा १ हजार ७ सय ३१ गरी पछिल्लो ३ वर्षमा कुल ४ हजार ३ सय ७८ थान मुद्दा दर्ता भएको छ । उक्त तथ्याङ्कमा प्रत्येक वर्ष अपराधको संख्या वढेको पुष्टि हुन्छ । दिनको हिसावले हेर्ने हो भने प्रत्येक वर्षमा शनिबारको दिन वढी अपराध भएको तथ्याङ्क देखिन्छ । आर्थिक वर्ष २०६८÷०६९ मा शनिबार १ सय ६७, आइतबार २ सय १७, सोमबार १ सय ९७, मंगलबार १ सय ८२, बुधबार १ सय ८४, विहिबार १ सय ८० र शुक्रबार १ सय ७५ थान मुद्दा दर्ता भएको देखिन्छ । त्यसैगरी आर्थिक २०६९÷०७० मा शनिबारको दिन सबैभन्दा वढी २ सय २३ थान मुद्दा दर्ता भएको देखिन्छ । आइतबार १ सय ९९, सोमबार १ सय ८८, मंगलबार १ सय ७६, बुधबार १ सय ९३, विहिबार १ सय ७९ र शुक्रबार १ सय ८७ मुद्दा दर्ता भएको पाइन्छ । त्यसैगरी आर्थिक वर्ष २०७०÷०७१ मा शनिबार २ सय ८२, आइतबार २ सय ५१, सोमबार २ सय ३२, मंगलबार २ सय ५३, बुधबार २ सय ३४, विहिबार २ सय १८ र शुक्रबार २ सय ६१ थान मुद्दा दर्ता भएको देखिन्छ । यसरी समग्रमा हेर्ने हो भने शुक्रबार देखि आइतबार सम्म वढी आपराधिक गतिविधि हुने गरेको देखिन्छ । नेपालमा शुक्रबार आधा समय कार्यालय मात्र संचालन हुन्छ, शनिबार विदा हुन्छ र आइतबार कार्यालय खुल्ने पहिलो दिन भएका कारण यी तीन दिनमा सबैभन्दा वढी अपराध हुने गरेको देखिन्छ ।
तीन वर्षमा फरार प्रतिवादीहरु पक्राउ परेको विवरण 
आर्थिक वर्ष २०६८ देखि २०७० सम्म जनकपुर अञ्चल मातहतका प्रहरी इकाईहरुले कुल २ हजार १ सय ३५ फरार प्रतिवादी रहेकोमा १ हजार ५ सय २४ जनालाई पक्राउ गर्न सफल  भएपनि ६ सय ११ जना प्रतिवादीहरु हालसम्म फरारै रहेको पाइन्छ । धनुषामा ८ सय ३९ जना फरार प्रतिवादी रहेकोमा ६ सय ३५ जना ३ वर्षमा पक्राउ परेका छन् भने २ सय ४ जना फरार रहेका छन् । महोत्तरीमा ४ सय ७२ जना फरार प्रतिवादी रहेकोमा ३ सय ४ जना पक्राउ परेका छन् भने १ सय ६८ जना फरार रहेका छन् । त्यसैगरी सर्लाहीमा ३ सय १२ जना फरार प्रतिवादी रहेकोमा २ सय ३४ जना पक्राउ परेका छन् भने ७८ जना फरार रहेका छन् । त्यसैगरी सिन्धुलीमा १ सय ८५ जना फरार प्रतिवादी रहेकोमा १ सय ३२ जना पक्राउ परेका छन् भने ५३ जना फरार रहेका छन् । रामेछापमा १ सय १९ जना फरार प्रतिवादी रहेकोमा ७९ जना पक्राउ परेका छन् भने ४० जना फरार रहेका छन् ।  र, दोलखामा २ सय ८ जना फरार प्रतिवादी रहेकोमा १ सय ४० जना पक्राउ परेका छन् भने  ६८ जना फरार रहेका छन् । यसरी माथिको तथ्याङ्कलाई विश्लेषण गर्दा फरार प्रतिवादीहरुको संख्या धनुषामै वढी रहेको र पक्राउ प्रतिशत पनि अन्य जिल्लाहरुको तुलनामा धनुषामै वढी रहेको पाइएको छ । धनुषामा पक्राउ प्रतिशत ७५.६८, महोत्तरीमा ६४.४०, सर्लाहीमा ७५, सिन्धुलीमा ७१.२५, रामेछापमा ६६.३२ र दोलखामा ६७.३० रहेको छ ।


२०७१ मंसिर २१ गते आईतबार

No comments:

Post a Comment