Monday, December 8, 2014

सामान्य विवादमा पनि हत्या गर्ने प्रवृति वढ्दो

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
घाँस काटेको विषयलाई लिएर धनुषाको बहेराबेला(१ की ५५ वर्षकी कागतीदेवी यादवको हसियाले रेटेर हत्या गरियो । गएको ३० कार्तिक २०७१ मा दिउँसो खेतमा घाँस काट्न गएको बेला यादवको हत्या भएको थियो । घाँस काट्नै गएका बहिरीफुलगामा(७ का रजिना खातुन र गोलिया खातुनले आफ्नो खेतमा घाँस काटेको भन्दै कागतीदेवीलाई गालि गरेका थिए । त्यही विषयमा विवाद हुँदा रजिना र गोलियाले कागतीदेवीको शरीरको विभिन्न भागमा हँसियाले रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक भागिरथ रेग्मीको भनाई छ ।
गाउँलेका अनुसार दुवैजनाले यादवको बाँया आँखासमेत झिकेर शवलाई कसैले नदेख्ने गरि लुकाएका थिए । यादव घाँस लिएर घर नफर्केपछि खोजि गर्दा  दुई दिन पछि १ मंसिरमा बिहान शव फेला परेको थियो ।
हत्यामा संलग्न रहेको आरोपमा रजिना खातुन पक्राउ परेको भएपनि हत्यामा संलग्न भनिएकी गोलिया खातुन फरार भएकी छन् । घटना विषयमा अनुसन्धान भैरहेको   जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
सामान्य विवादका कारण श्रीमतिको हत्या
धनुषाको देवपुरा रुपैठा ७ का रामबाबु महत्तोले ५ भदौ २०७१ मा आफ्नै श्रीमति सन्जु देवी महत्तोलाई घाँटी थिची हत्या गरेका थिए । राति ११ बजे घरायसी विवादका कारण उनले आफ्नो श्रीमतिको हत्या गरेको थियो । रामबाबुले २ वटा विहे गरेका थिए । मृतक सन्जु देवी महत्तो पहिलो श्रीमति र सिवानी महत्तो दोस्रो श्रीमति थिइन । दुई वटा श्रीमतिलाई घरमा राख्दा सधैं घरायसी विवाद हुने गथर््यो । आफुलाई राम्रोसँग राख्नु पर्यो नत्र भने बहु विवाह मुद्दा दर्ता गरी जेल पठाईदिन्छु भनेर जेठी श्रीमतिले घुर्की दिईरहेको कारण आवेशमा आई रामबाबुले जेठी श्रीमतिलाई घाँटी थिची हत्या गरेका थिए ।  अहिले रामबाबु महत्तो जलेश्वर जेलमा थुनामा छन् ।
एक हजार रुपैयाँका लागि वृद्धको हत्या
जनकपुर नगरपालिका १५ स्थित रामपुरका ५५ वर्षिय गोल्वा भन्ने गोलाई खत्वेलाई एक हजार रुपैयाँको लागि ४ जनाले कुटपिट गरी हत्या गरे । १२ भदौ २०७१ मा सोही ठाउँका धर्मेन्द्र साह, सुरेन्द्र मण्डल, पवन नायक र सिकिन्दरले खत्वेको हत्या गरेको थियो । गोलाई खत्वेका छोरा रामदुलार खत्वेले धनुषाका तुल्सीयाही ७ खत्वैया टोलका भरत साहसँग रु. २ हजार सापटी लिएको थियो । जसमध्ये रामदुलारले रु. १ हजार फिर्ता गरिसकेको थियो र बाँकी रहेको १ हजार असुली गर्नका लागि ती ४ जना उनको घर पुगेका थिए । पैसा भरतलाई नै दिन्छु भनेर भनेपछि तिनीहरुका बीच विवाद उत्पन्न भई लाठी र चिरपटले दुई पक्ष बीच कुटाकुट हुँदा  वृद्ध गोलाई खत्वेको मृत्यु भएको थियो ।
नालाको विवादमा हत्या
धनुषाको ठाढीझिझा वडा नं. १ मा नालाको पानी बगेको विषयमा भएको विवादमा परि एक व्यक्तिको हत्या गरियो । २४ जेष्ठ २०६८ मा जागे भन्ने जागेश्वर गोइतले घर बनाइरहेको अवस्थामा सडकमा वगेको पानीलाई नालामा राख्न भन्ने विषयमा सोही गाउँका लेलवा भन्ने जोगेन्द्र गोइतका परिवारमा झगडा भएको थियो । जागेश्वर गोइतकी श्रीमति, उसका छोराहरु रामेश्वर गोइत र सुजित गोइत र अर्को तर्फ लेलवाका श्रीमति जुगेश्वरी देवी, उसकी छोरी अनिता भन्ने कारी गोइत र उसका छोरा बैद्यनाथ गोइत, सन्तोष गोइत बीच झगडा भएको थियो । उक्त झगडाकै क्रममा जोगेन्द्र गोइतकी छोरी अनिता भन्ने कारी गोइतले खेतमा घाँस काट्ने हँसिया लिएर सुजित कुमार गोइतलाई पेटमा घोपेपछि सुजितको मृत्यु भएको थियो । उक्त घटनामा तत्काल अर्को पक्षका सबै व्यक्तिहरुलाई पक्राउ गरिएपनि पछि अनिता बाहेक सबैलाई रिहा गरिएको थियो । अदालतमा समेत अनिता भन्ने कारी गोइतले आफुले हत्या गरेको स्वीकारेपछि अदालतले समेत अनितालाई जन्मकैदको सजाय आदेश गरिसकेको छ । अहिले उनी जलेश्वर कारागार शाखामा कैदी बन्दी छिन् ।
यसरी हेर्ने हो भने सामान्य विवादमा पनि मानिसले आफ्नो आवेशलाई नियन्त्रण गर्न नसकेपछि ठुलो दुर्घटना निम्तिन जान्छ र मानिसको हत्या गर्न समेत पछि पर्दैनन् । ती मानिसहरु बास्तवमा पेशेवर अपराधि हुँदैनन् तर, रिसको आवेगमा आएर मान्छेको हत्या समेत गर्ने जघन्य अपराधमा सहभागी हुने प्रवृति समाजमा वढ्दै गएको छ ।


२०७१ मंसिर २१ गते आईतबार

No comments:

Post a Comment