Monday, June 9, 2014

सडक निर्माणका लागि धनुषाका दुई क्षेत्रमा करोडौंको लगानी विकासको नाउँमा रकमको दुरुपयोग हुने आशंका

अञ्चल प्रहरी कार्यालय अगाडी थुपारिएको ग्राभल ।
 द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

भौतिक पुर्वाधार तथा यातायात मन्त्रि विमलेन्द्र निधिले धनुषा जिल्लाको सडक निर्माणका लागि करोडौं रुपैयाँ रकम छुट्याएका छन् । आर्थिक वर्ष सकिनै लाग्दा मन्त्रि निधिले आफ्नो संसदीय निर्वाचन क्षेत्र नं. ३ र धनुषा निर्वाचन क्षेत्र नं. ४ का लागि रकम निकासा गरेका छन् । धनुषामा विभिन्न १२ वटा योजनाका लागि २९ करोड १० लाख रुपैयाँ रकम निकासा गरेकोमा निर्माण व्यवसायीहरुले बोल पत्र रकम रु. १७ करोड ४० लाख ७७ हजारमा स्वीकृत गरेका छन् । मन्त्रि निधिले आफ्नो संसदीय क्षेत्र नं.३ मा ८ वटा सडकको लागि र जनकपुर नगरपालिका भित्र ४ वटा पक्की सडक निर्माणका लागि योजना छुट्याएका छन् । डिभिजन सडक कार्यालय, मुजेलिया जनकपुर मार्फत उक्त योजनाहरु मन्त्रि निधिले पारेका छन् । नेपाली कांग्रेसको भागमा परेका मन्त्रालयका मन्त्रीहरुले कार्यकर्ताहरुको सिफारिसमा रकमान्तरण गरेको भन्दै सभासदहरुले संसद अबरुद्ध गर्दै आएका छन । तर, भौतिक तथा निर्माण मन्त्री बिमलेन्द्र निधीको क्षेत्रमा बिकास निर्माण कार्य तिब्ररुपमा भईरहेको छ ।  मन्त्रीको क्षेत्रमा सोचेको भन्दा द्रुतगतिमा बिकास निर्माण भईरहेपनि सोही जिल्लाका अन्य क्षेत्रका बासिन्दाले बिकास निर्माणको अनुभुति गर्न समेत पाएका छैनन । 
धनुषाको धनौजी गाविसमा अहिले जोडतोडका साथ सडक निर्माण कार्य भईरहेको छ । दोस्रो संबिधानसभाको निर्बाचनका बेला बिमलेन्द्र निधीले सब भन्दा बढि मत दिने गाविसमा एक करोड भन्दा बढि रुपैयाको बजेट उपल्बध गराउने गरेको बाँचा अनुसार धनौजीमा बिकास निर्माण भईरहेको छ । बिमलेन्द्र निधी भौतिक तथा निर्माण मन्त्री बनेको तिन महिना नपुग्दै सोचेको भन्दा अकल्पनिय रुपमा बिकास निर्माण भईरहेको गाविसका प्राबिधिक सहायक दिलिप मण्डल बताउछन ।                                     
निर्बाचनको बेला मतदाताले बिकास निर्माणका मुद्धालाई जोडतोडका साथ उठाएपछि धनुषाको निर्बाचन क्षेत्र नम्बर ३ मा अहिले ८२.३६ किलोमिटर सडक निर्माण भईरहेको छ । मन्त्रीको पहलमा आएको थप बजेट बाट   सडकमा माटो पुर्ने र ग्राभेल बिछयाउने कार्यको लागि १३ करोड २१ लाख ३७ हजार भन्दा बढि रुपैयामा ठेकका लगाईएको डिभिजन सडक कार्यालय जनकपुरले जनाएको छ । बिकास निर्माण भईरहेको स्थानमा आयोजनाको नाम, लागत स्टीमेट, निर्माण कम्पनीको नाम र आयोजनाको समयाबधि प्रष्टरुपमा सबैले देखिने स्थानमा अनिबार्य रुपमा बोर्ड राख्नुपर्ने प्राबधान रहेपनि त्यसो नगरेपछि अनियमितताको स्थानिय बासिन्दाले आंशका गरेका छन ।  
जनकपुरको अञ्चल अस्पताल अगाडी थुपारिएको ग्राभल ।
यसका अतिरिक्त जनकपुर नगर भित्र पनि सडक निर्माणको कार्य भईरहेको छ । ऐशियाली बिकास बैंकको श्रृण सहयोग र स्थानिय लगानीमा स्वीकृत भईसकेको ऐकिकृत शहरि बिकास आयोजनाको सडकमा कालोपत्रे गर्नको लागि ४ करोड १९ लाख भन्दा बढि रुपैयामा टेन्डर लगाईएको छ । बिकास निर्माणमा पछि परेको स्थानमा बिकास हुनु राम्रो संकेतको रुपमा लिनु पर्दछ । तर, राज्यका जिम्मेबार व्यक्तीले आफ्नो निहित स्वार्थ पुर्ति गर्नको लागि जिल्ला भित्रकै अन्य निर्बाचन क्षेत्रका जनता संग भेदभाब गर्नुलाई कदापि राम्रो मान्न सकिदैन ।  
सडक योजनाको विवरण
फेचहा देखि नगराइन चौक हुँदै देवडिहा(७, ८, भररिया धनौजी हुँदै इटहर्वा सम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको ४ करोड ५० लाख रकममा रमन÷कमल जेभी, जनकपुरले ४०.२५ प्रतिशत मुनि रहेर २ करोड ६८ लाख ८६ हजारमा ठेक्का लिएका छन् ।
जनकपुर देखि लोहना, झोजी कटैया हुँदै भारतका सिमा नाकासम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको ४ करोड ९० लाख रकममा रमन÷कमल जेभी, जनकपुरले ४०.६५ प्रतिशत मुनि रहेर २ करोड ९१ लाख ८९ हजारमा ठेक्का लिएका छन् ।
लगमा देखि देवडिहा, बहुअर्वा हुँदा लोहनासम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको १ करोड १० लाख रकममा गोल्डेन गुड शेर्पा कन्सटूक्शन, काठमाण्डौले ३७.७८ प्रतिशत मुनि रहेर १ करोड १७ लाख १५ हजारमा ठेक्का लिएका छन् ।
अड्डा टोल भररिया देखि परवाहा रेल्वे स्टेशनसम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको १ करोड ५० लाख रकममा गोरखा कन्सटूक्सन कम्पनी, मन्थली  रामेछापले ४९.०२ प्रतिशत मुनि रहेर ५४ लाख १४ हजारमा ठेक्का लिएका छन् । 
गंगुली देखि नवटोली, देवडिहा गाविस भवन हुँदै विर्तारोड सम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको १ करोड ५० लाख रकममा एटलस इन्जिनियरिङ कन्सटूक्सन कम्पनी, काठमाण्डौले ४०.९२ प्रतिशत मुनि रहेर ९० लाख ५४ हजारमा ठेक्का लिएका छन् ।
जटही देखि मुखियापट्टी मुरहरनिया, बहेडावेला हुँदै मटिहानीसम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको ४ करोड ५० लाख रकममा रमन÷कमल जेभी, जनकपुरले ४०.९० प्रतिशत मुनि रहेर २ करोड ६६ लाख ८४ हजारमा ठेक्का लिएका छन् ।
रामजानकी पथ देखि धनुषा महोत्तरी सम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको २ करोड २० लाख रकममा खानी जग्दम्बा जेभी, काठमाण्डौले ४४.१५ प्रतिशत मुनि रहेर १ करोड २५ लाख ४२ हजारमा ठेक्का लिएका छन् ।
बसहिया देखि बहुअर्वा सम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको १ करोड ७० लाख रकममा एटलस इन्जिनियरिङ कम्पनी काठमाण्डौले ३७.३४ प्रतिशत मुनि रहेर १ करोड ६ लाख ५० हजारमा ठेक्का लिएका छन् ।
जनकपुरको रेल्वे स्टेशन देखि मिल्स ऐरिया, शुभ चौक हुँदै जानकी मन्दिरसम्म माटो, ग्राभल, हयुमपाइप, कलभर्ट र कालोपत्रे पक्की सडक निर्माणका लागि छुट्याइएको १ करोड ९० लाख रकममा रमन कमल जेभी,जनकपुरले ३४.४५ प्रतिशत मुनि रहेर १ करोड ११ लाख २८ हजारमा ठेक्का लिएका छन् ।
जनकपुरको थापा चौक देखि जानकी मेडिकल अस्पताल देवी चौक हुँदै जानकी मन्दिरसम्म कालोपत्रे पक्की सडक निर्माणका लागि छुट्याइएको १ करोड १० लाख रकममा रमन सुगम जेभी, जनकपुरले ३८.५१ प्रतिशत मुनि रहेर ७१ लाख ९० हजारमा ठेक्का लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय देखि तिरुतिया गाछी हुँदै महाविर चौक, पुरानो वस पार्क देखि जिरोमाइलसम्म कालोपत्रे गर्नका लागि छुट्याइएको १ करोड २० लाख रकममा रमन सुगम जेभी जनकपुरले ३९.५७ प्रतिशत मुनि रहेर ७६ लाख ६९ हजारमा ठेक्का लिएका छन् ।
रामानन्द चौक देखि जानकी मन्दिर, जनक चौक, मुरली चौक हुँदै श्याम चौकसम्म माटो, ग्राभल, र कालोपत्रे पक्की सडक निर्माणका लागि छुट्याइएको २ करोड ६० लाख रकममा रोशन कन्सटूक्सन, जनकपुरले १ करोड ५९ लाख ६२ हजारमा ठेक्का लिएका छन् ।
गुणस्तरहीन काम र भ्रष्टाचारको आशंका
डिभिजन सडक कार्यालय जनकपुरद्वारा निर्माण भइरहेको उक्त सडकहरु दुई महिना भित्र सम्पन्न गर्नुपर्ने भनेर सडक कार्यालयले निर्माण व्यवसायीहरुलाई ठेक्का दिएको भएपनि सडक निर्माण कार्यमा व्यापक भ्रष्टाचार हुने आशंका गरिएको छ । आर्थिक वर्ष सकिनै लाग्दा वर्षायाममा माटो र ग्राभलको काममा विगतका वर्षहरुमा पनि व्यापक अनियमितता हुने गथर््यो । डिभिजन सडक कार्यालय जनकपुरका इन्जिनियर दारोगा प्रसादका अनुसार कति रकमको ठेक्का दिइएको हो, ठेक्काका लागि कुन ठेकेदारलाई कति रकम भुक्तानी भयो वा भएन, मन्त्रालयले रकम निकाशा पठायो वा पठाएन त्यसको समेत हालसम्म यकिन हुन नसकेको हो । झन कतिपय योजनाका लागि निर्माण व्यवसायीहरुले टेन्डर स्वीकृत गरेपनि म्याद भित्र सम्झौत ागर्न नआउँदा ठेकेदारहरुको बोलपत्र जमानत रकम समेत झिकाइएको, अन्य निर्माण व्यवसायीहरुलाई सम्झौताका लागि आग्रह गरिएको अवस्था रहेको इन्जिनियर दारोगा प्रसादले बताए । टेन्डर जसरी पनि पार्नुपर्छ उद्देश्यले ठेकेदारहरु जति सुकै विलोमा जानुपरे भएपनि जाने गरेको तर पछि धेरै घाटा हुने डरले सम्झौता समेत गर्न नआउने प्रवृति व्यापक रहेको इन्जिनियर दारोगा प्रसादले बताए । विलोमा गई कबुल गरिएको रकममा काम गर्ने हो भने गुणस्तरहिन काम हुनु स्वभाविक रहेको निर्माण व्यवसायीहरु पनि स्वीकार गर्छन । धनुषा निर्माण व्यवसायी संघका अध्यक्ष विवेक मिश्रका अनुसार बाह्य ठेकेदारहरुको आक्रमण छ, जिल्लामा कामको अभाव भएपछि टर्नओभर देखि लिएर कार्य अनुभवको हिसावले पनि व्यवसायीहरु घाटामा जान सकिने बुझेर पनि विलोमा  ठेक्का लिनुपरेको बाध्यता छ । मिश्रका अनुसार कतिपय काम रेटमै लिएपनि गुणस्तर नहुने र कतिपय विलोमा गएपनि गुणस्तर हुनसक्ने भएकाले गुणस्तर बढ्नु र घटाउनुमा कार्यालयहरुको आर्थिक स्वार्थ महत्वपुर्ण कारकतत्व रहेको हुन्छ । कार्यालयहरुले ठेक्का सम्झौत ागर्ने बेलामा नै कमिशनको प्रतिशत (पिसी) तय गराउँछन । यदि पिसी नदिए कार्यालयले रनिङ विलको समेत झुक्तानी गर्दैनन्, अनावश्यक विवाद खडा गरी समयमा भुक्तानी नै नदिने हुनाले कमिशन दिनुपनि बाध्यता रहेको निर्माण व्यवसायीहरु बताउँछन् । आर्थिक वर्षको सुरुवातमै टेन्डर गर्नुपर्नेमा बैशाख देखि जेष्ठ महिनामा टेन्डर गरिएपछि हतार हतारमा काम गर्नुपर्ने दवाव रहेका कारण पनि गुणस्तरहिन काम हुने गरेको निर्माण व्यवसायी संघका अध्यक्ष विवेक मिश्रले बताए ।


  २०७१ जेष्ठ २५ गते आईतबार

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete