Wednesday, May 28, 2014

गंगासागर सफाई अभियान जनकपुर विकासमा बीजबिन्दु त होईन ? -रोशनकुमार झा

 
रोशनकुमार झा

गंगासागरको एक कुनामा प्रहरीहरु खटेका छन् । अर्को कुनामा नेपाली सेना छन् । बीचमा नागरिक समाजका व्यक्तिहरु । त्यस्तै एउटासमूहमारहेका महिलाहरु पनि कोदालो उठाएका छन् । युद्धस्तरमा काम भईरहेको छ, मानौ कुनै उत्सवको तयारी भईरहेको होऊन । विवाहपञ्चमी, रामनवमी, छठ वा त्यस्तै कुनै पर्वको बेलाको जस्तै । तर यो कुनै धार्मिक उत्सव भने होईन । यतिकैमा एक व्यक्ति आउँछन् र एउटा भाँडोमा ‘जुस’ खन्याउन थाल्छन् । यो ‘जुस’ गंगासागर सफाईमा खटिएका अभियानीहरुको लागि कसैले पठाईदिएका छन् । अर्को तर्फबाट एक जना पानीका ‘कार्टुन’हरु ल्याउँदैछन् । कसले ल्याउँदैछन् भन्ने कुरा धेरैैलाई थाहा छैन, धेरैले वास्ता पनि गरेको छैन । तर सबैले त्यो पानी तिर्खाएको बेलामा खाईरहेका छन । हो गंगासागर सफाई अभियान मेलामय भएको छ । जहाँ सबैले ‘धार्मिक आस्थाजस्तै’ दानपुन्य गर्ने अवसर पाएका छन । यो दान आर्थिक होईन, भौतिक हो । श्रमदान हो । 
उता पानीबाट फोहर निकाल्ने क्रममा एक जना प्रहरीको खुट्टा काटिएको छ । जुनियर रेडक्रसका एक टोली उता लाग्छन् संगै छन् नेपाल पत्रकार महासंघ धनुषाका पुर्व सभापति रामाशिष यादव । आज गंगासागर सफाई अभियान, जनकपुर सफलतापुर्वक ११ सप्ताह पुरा गरेको छ । 
पत्रकार ध्रुवकुमार झा, कलाकार घनश्याम मिश्र, युवा नेता सरोज मिश्रा, युवा अभियानकर्मी तनवीर आलमलगायतकाहरु पेखरी भित्र पसेर फोहर निकाल्दैछन् । गंगा दशहरासम्म गंगासागरलाई नुहाउनयोग्य बनाउनु यस अभियानको लक्ष्य हो । 
Clean Janakpur, Green Janakpur अभियान अन्तर्गत क्बखभ ज्ष्कतयचष्अब िएबिअभक नाम दिएर सुरु गरिएको अभियानले जनकपुरमा एउटा आन्दोलनको रुप लिएको छ । केहि सिमित व्यक्तिहरुको सत्प्रयासबाट सुरु भएको यो अभियान अहिले जनकपुरको साझा अभियान बनिसकेका छन । 
जनकपुरको चर्चित ‘वेलकम होटल’का मालिक विजय झुनझुनवालाले, चिया गफमा गंगासागर प्रदुषित भएको कुरा उठाउँछन् । र यसको संरक्षण गर्न पाईला चाल्नु पर्ने प्रस्ताव राख्छन् । नेपाल पत्रकार महासंघ धनुषाका पुर्व सभापति रामाषिश यादवले यस प्रस्तावलाई मुर्तरुप दिनुपर्ने भन्दै योजना बनाउन थाल्छन् । मानवअभिकारकर्मी विजय दत्त तत्काल गंगासागरको सफाई अभियानकैरुपमा सुरु गर्नु पर्ने भन्दै सबै क्षेत्रसंग समन्वय गर्न थाल्छन् । यता मानव अधिकारकर्मी अधिवक्ता राजकुमार महासेठ कोदालो उठाउँछन् र सुरु हुन्छ, प्रसिद्ध गंगासागरको सफाई सम्बन्धी अभियानरुपी महायज्ञ । यस यज्ञमा आहुति दिने सामानहरुको सरञ्जाम गर्न जनकपुर अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक शिव लामिछानेले । उनीसंगै आएका प्रहरीहरुले सफाई गरिरहेको हेर्दा भगवान रामचन्द्रले लंका जाने क्रममा बनाउन लगाएका रामसेतु निर्माणका लागि खटेका बाँदरहरुको कल्पना आउन थाल्छ । 
अहिले गंगासागर सफाई अभियानमा पत्रकार, महिला समूह, व्यापारी, सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, मानव अधिकारकर्मी, नागरिक समाज, विद्यार्थीलगायत सबै क्षेत्रका व्यक्तिहरु क्रियाशील भएका छन । प्रत्येक शनिवार हुने सफाई अभियानमा सयौंको संख्यामा मानिसहरुको उपस्थिती हुन थालेका छन । कसैलाई बोलाईँदैन, कसैलाई काममा लगाईँदैन, सबैले आफुले सक्ने जति काम गर्छन्, आफुले हेरेजति काम गर्छन । काम गर्न नसक्नेहरु पोखरीको डिलमा बसेर अभियानकर्मीहरुको हौसला बढाउँछन् स हरहर महादेव, र जय जानकीको गुँजले वातावरण छिन छिनमा थर्कमान हुन्छ । मन  अह्लादित बन्ने गरेको छ । 
गंगासागर सफाई अभियान पछिल्लो समयमा विद्यालयहरुमा पस्न थालेको छ । जनकपुरका ठुला विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई सरसफाईप्रति चेतना जगाउनु, उनीहरुलाई अभियानमा सरिक गराउनु र उनीहरुलाई सुन्दर जनकपुर निर्माणका लागि उत्प्रेरित गर्नु अभियानको उद्देश्य हो । यसबाट भावी पुस्ताले जनकपुर पुनर्निमानमा संलग्न हुने विश्वास लिईएको छ । सरसफाई अभियानको विद्यालय पस्ने कार्यक्रमले सफलता पाउन थालेको छ । विद्यार्थीहरु बैनर, प्लेकार्ड लिएर गंगासागरको डिलसम्म पुग्छन् । सरसफाई गर्छन । र त्यसैगरि ¥याली गर्दै फर्कन्छन । उनीहरु गंगासागर पोखरीको छेऊछाउमा भएका घरहरुमा पनि पस्छन् । गंगासागर सफा गर्नु पर्ने आवश्यक्ता बोध गराउँदै फोहर पोखरीमा नफाल्न आग्रहगर्छन । यसै अभियानको प्रतिफल हो गंगासागर सफा हुँदैछ । 
गंगासागर सफाई अभियानकोमुख्य विशेषता हो की यो स्वस्फुर्तरुपमा सुरु भएको छ । यो ‘डोनर’द्वारा गरिने प्रायोजित कार्यक्रम होईन । यो पुर्ण ‘भोलुन्टरीज्म’मा आधारित छ । अभियानीहरु अन्तस्करणको आवाज सुनेर, अभियानको सुरुवात गरेका छन । थपिएका अभियानीहरु पनि आत्माको आवाज सुनेरै सरिक भएका छन । सरसफाईमा प्रयोग हुने सामानहरु विभिन्न व्यक्तिहरुले किनि दिएका छन् । कतिपय अभियानीहरु घरबाटै बोकेर ल्याउँछन् । सरसफाईमा आउनेहरुलाई सम्मानको भावले हेरिन्छ । नआउनेलाई सार्वजनिकरुपमा अह्वान गरिन्छ । कुनै प्रचार छैन् । कुनै तामझाम छैन् । न नामको लोभ छ न दामकै लोभ । अभियानको सुत्रपात गर्नेहरुलाई खानलाउन पुगेकै छ । अभियानीहरुमा समर्पण र निरन्तरता छ । यो विशुद्धरुपमा अभियान हो । यसको कुनै संगठन छैन । तर संगठितरुपमा काम हुन्छ । 
गंगासागर सफाई अभियानको अर्को चरणमा पण्डितहरुसंग अन्तक्र्रिया गरिनेछ । उनीहरुलाई गंगासागरमा निर्माल नफाल्न लगाउन आग्रह गरिनेछ । त्यस्तै ‘गंगा आरती’ गर्ने योजना पनि हो अभियानको । गंगासागरको डिलमा ‘लाईटीङ्ग’ गर्नका लागि नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरिएको छ । यस्ता अनेक योजनाहरु छन् जुन अभियानले बनाएकोछ र सबै योजनाहरु कर्यान्वयन हुने जनकपुरबासीले आशा गरेका छन् । अभियानका मुख्य हर्ताकर्ताहरुको छवि तथा उनीहरुको स्वार्थहीन क्रियाकलापले उनीहरुमाथिको विश्वास बढ्दैछ । 
जनकपुर अन्धकारपुर्ण नगरी हो । बहुदल आएपछि जनकपुरको विकास अधोगति तिर उन्मुख हुन थालेको जानकारहरु बताउँछन् । अझ मधेश आन्दोलनले जनकपुरलाई विकासको सवालमा ५० वर्ष पछाडी धकेलिदिएको छ । जनकपुर पुनर्निर्माणको प्रतिक्षामा काकाकुल भएका छन् । यस्तो परिस्थितीमा झरी भएर आएका छन् जनकपुर नागरिक समाजका यी एक दर्जन अगुवाहरु । यसले जनकपुरवासीमा एउटा आशाको सञ्चार गरेका छन् । युरोप पुनर्निर्माण काललाई ईतिहासमा ‘रिनाशा’ भनेर बुझिन्छ । त्यसही ‘रिनाशा’को सञ्चार जनकपुरमा त हुन लागेको छैन ? सम्भव छ, यी अगुवाहरुले विगतम आर्जनको प्रतिष्ठा, यिनीहरुको जनकपुरमा रहेको प्रभाव र उनीहरुको संकल्पले जनकपुरमा राम्रो दिन आउन थालेको संकेत गरेको छ । जनकपुरको आकाशनै फाटेको समयमा एउटा कुनाबाट रफु गर्ने कामको सुरुवात भएको छ ।
अहिलेको आवश्यक्ता भनेको यो अभियानलाई अरु पोखरी तिर विस्तार गर्नु हो । पोखरीको सफाई तथा संरक्षणको काम पुरा भए जनकपुरको आधा कायाकल्प आफै हुनेछ । जनकपुरको सौन्दर्य भनेकै यहाँका पोखरी र मठमन्दिरहरु हुन । त्यसपछि यो अभियानलाई अरु क्षेत्रतिर पनि बढाउँदै लानु पर्छ । दोस्रो चरणमा जनकपुरका व्यापारिक प्रतिष्ठानका बोर्डहरु मैथिली भाषामा लेखाउने अभियान सुरु गरियो भने उत्तम हुनेछ । जनकपुर मिथिलाको केन्द्र हो र यहाँको हरेक कुराहरु मैथिली भाषामा भएमात्र यसको पहिचान जोगिनेछ । Clean Janakpur, Green Janakpur  Save / Historical Janakpur अभियानले जनकपुरको विकासमा क्रान्ति ल्याउने आशासहित । अस्तु ।


२०७१ जेष्ठ ११ गते आईतबार

No comments:

Post a Comment