Monday, January 20, 2014

शान्ति सुरक्षाको अवस्थामा सुधार आउने आशा जिल्लावासीमा पलायो


अजय अनुरागी
जनकपुरधाम............
पछिल्ला वर्षहरुमा धनुषामा आतङ्क मच्चाउने सशस्त्र समुहका नाइकेहरु एकपछि अर्को पक्राउ पर्न थालेपछि शान्ति सुरक्षाको अवस्थामा सुधार आउने जिल्लावासीमा आशा पलाएको छ । ६ वर्ष अघि दिन दहाडै मान्छेको हत्या, अपहरण, बम विस्फोट, चन्दा आतङक, धाक धम्की लगायतका आपराधिक गतिविधि सामान्य बनेको थियो । उद्योगी, व्यवसायी, कर्मचारी र सर्वसाधारण त्रसित थिए । सशस्त्र समुहका नाइकेहरुले टेलिफोन मार्फत चन्दा माँग्ने, चन्दा नदिँदा ज्यानै मारिदिने धम्की मात्र होइन, हत्या समेत गर्न पछि नपर्ने सशस्त्र समुहहरुका कारण धनुषामा शान्ति सुरक्षाको अवस्था अत्यन्तै दयनिय बनेको थियो । एक वर्ष अघि मात्र राष्टिूय मानव अधिकार आयोगका केन्द्रिय अध्यक्ष केदारनाथ उपाध्यायले द एक्सक्लुसिभ सँगको अन्तरवार्तामा ‘नेपालमा सबैभन्दा वढी मानव अधिकारको दयनिय अवस्था तराईमा रहेको र तराईमा पनि सबैभन्दा वढी दयनिय अवस्था धनुषामा रहेको बताएका थिए ।’ उपाध्यायको उक्त भनाईले पनि धनुषामा मान्छेको बाँच्न पाउने अधिकार कतिसम्म कुण्ठित भएको थियो, पुष्टि हुन्छ । जनताको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीका जिम्मेवार प्रहरी अधिकृतहरु आफ्नो दायित्व वहन गर्नुभन्दा अवैध तरिकाले पैसा कमाएर जाने प्रवृतिका कारण धनुषाको शान्ति सुरक्षाको अवस्था वदहाली बनेको थियो ।
धनुषाका प्रहरी उपरीक्षक
उत्तम राज सुवेदी ।
वढ्दो अपराधको ग्राफ
२०६३ साल देखि २०७० पौष सम्म कुल ८ वर्षमा जिल्ला प्रहरी कार्यालय धनुषामा कुल ३ हजार १५ थान मुद्दा दर्ता भएका छन् । जस मध्ये १ सय ८० जनाको हत्या, ८७ जनाको हत्या प्रयास, २ सय १७ थान हातहतियार तथा खरखजाना, १ सय ४३ थान चोरी, ६६ थान डाँका, ७ थान खुनडाँका, ६ सय २९ थान केही सार्वजनिक अपराधका मुद्दा, १ सय ७० थान लागु औषधका मुद्दा, ३७ थान अपहरण तथा शरीर बन्धक, ११ थान अपहरण तथा शरीर बन्धक उद्योग, ४० थान जवरजस्ती करनी, ७ थान जवरजस्ती करनी उद्योग, ९ थान विस्फोटक पदार्थ, २ सय ५७ थान सवारी ज्यानका मुद्दा दर्ता भएको पाइन्छ । २०६३ देखि क्रमशः हालसम्म २०,२४,३८,२३,२४,२२,१७ र १२ गरी कुल १सय ८० जनाको हत्या भईसकेको छ । सवैभन्दा वढी २०६५ सालमा ३८ जनाको हत्या भएको देखिन्छ । हातहतियार तथा खरखजाना मुद्दामा २०६३ देखि क्रमशः हालसम्म १६,४२,५६,४२,२२,१७,१४ र ८ गरी कुल २ सय १७ थान मुद्दा दर्ता भएको देखिन्छ । २०६४ साल देखि २०६६ साल सम्म हातहतियार मुद्दा वढे पनि त्यसयत्ता घटेको देखिन्छ । आर्थिक वर्ष २०६३ मा धनुषामा कुल २ सय ७० थान मुद्दा दर्ता भएका थिए । त्यसपछिका वर्षहरुमा अपराधिक घटनाहरुमा वृद्धि हुँदै गयो । आर्थिक वर्ष २०६४ मा ३ सय ८ थान, २०६५ सालमा ३ सय ७९ थान, २०६६ सालमा ४ सय २१ थान, २०६७ सालमा ४ सय ४४ थान, २०६८ सालमा ४ सय ७५ थान र २०६९ सालमा ४ सय ७६ थान मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको देखिन्छ । वर्षै पिछे अपराध वढनुको कारण अपराध गरेका व्यक्ति पक्राउ नपर्दा फरार भई भारतमा लुकिछिपि वसि थुप्र्र्रै अपराध गर्दै गए । तर, प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका थुप्रै कुख्यात अपराधीहरु पक्राउ परेका कारण अबको दिनमा आपराधिक गतिविधिमा समेत कमि आउने धनुषा प्रहरीको आँकलन छ ।
सशस्त्र समुहको गठन सँगै अपराधमा वृद्धि
जिल्ला प्रहरी कार्यालय धनुषा ।
माओवादीको सशस्त्र द्वन्दकालमा जनयूद्धको उतराद्र्धमा तराईमा पनि प्रभावहरु देखा पर्ने थालेका थिए । जनयूद्धका सर्वोच्च कमाण्डर प्रचण्डले मधेसलाई आफ्नो आन्दोलनको रणनीतिक महत्वको क्षेत्र बताउँथे । २०५८ भदौ ५ देखि ८ मा सर्लाहीको वरहथवामा भएको मधेसी राष्टिूय मुक्ति मोर्चाको प्रथम सम्मेलन उदघाटन गर्न आफैं जानुको कारण पनि त्यही थियो,  जुन अर्धखुला कार्यक्रममा उनको पहिलो उपस्थिति थियो । मात्रिका यादव पक्राउ पर्नु भन्दा केही अघि २०६० अषाढमा मधेसी मोर्चाको दोस्रो सम्मेलनले जयकृष्ण गोइतलाई हटाएर मात्रिकालाई अध्यक्ष छान्यो । माओवादी नेतृत्वले रणनीतिक महत्वको मधेस कमाण्ड सम्हाल्ने जिम्मा एमालेबाट माले हुँदै २०५४ सालमा मात्र पार्टीमा आएका गोइत भन्दा पुराना विश्वासिला पोलिट व्यूरो सदस्य मात्रिकालाई दिनु भरपर्दो हुने ठान्यो ।     आफुलाई कार्यकारी पदबाट हटाएर मोर्चाको केन्द्रिय सल्लाहकारमा सिमित गरिएपछि गोइतले केही समर्थक सहित विद्रोह गरे र २०६१ साउन ११ मा ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा’ नामको छुट्टै समुह बनाए । माओवादीबाट छुट्टिएपछि उनको उग्रता वढ्दै गयो । अन्ततः उनले नेपालबाटै अलग्गिएर छुट्टै ‘मधेस राष्टू’ खडा गर्ने पृथकतावादी लक्ष्य अगाडी सारे । त्यसपछि माओवादी छाड्ेका वा त्यहाँ कारवाहीमा परेका कार्यकर्ता या त सोझै गोइतको सशस्त्र समुहमा पुग्न थाले, या नेपाली वा भारतीय सुरक्षा निकायको शरणमा । तर गोइत पनि आफ्नो वरिपरि अराजक दस्ता राख्न चाँहदैन थिए । जव उनले जथाभावी चन्दा संकलन नियन्त्रण गर्न खोजे, उनकै समुहमा फुट आयो । गोइतलाई चुनौती दिँदै उनका पुर्वी क्षेत्र कमाण्डर नागेन्द्र पासवान ‘ज्वाला सिंह’ले २०६३ साउनमा छुट्टै समुह बनाए । सिरहामा केही समय पत्रकारिता समेत गरेका ज्वाला सिंह २०५२ सालमै भुमिगत भएर जनयूद्धमा लागेका थिए । गोइत भन्दा पहिले देखि माओवादी राजनीतिमा लागेका उनले पनि पृथकतावादी नारा नै दिए । ज्वाला सिंहको समुहमा पनि २०६४ अषाढमा फुट आयो र विस्फोट सिंहको नेतृत्वमा अर्को गुट जन्मियो । सोही क्रममा ज्वाला सिंह सँगै चन्दा लिने पार्टीको काम कारवाही सम्बन्धमा कुरा नमिलेपछि पार्टीबाट विद्रोह गरी ७ फागुन २०६५ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुह नामक छुट्टै समुह गठन गरी राजन मुक्तिले संयोजकको रुपमा पहिलो प्रेस विज्ञप्ती जारी गरेका थिए । एवं रीतले अरु थुप्रै स(साना समुह मधेसमा मौलाए ।     ती मध्ये अधिकांशले राजनीतिक नारा दिएपनि अपहरण, लुट, हत्या, हिंसा, रकम असुली लगायतका बहुरङ्गी आपराधिक कृयाकलापमा संलग्न रहे । प्रहरी प्रशासन अस्तव्यस्त रहेको संक्रमणकालीन अस्थिरताबाट तीनले फाइदा उठाएका थिए । उनीहरुले कतिपय मधेसी दल र तीनका नेताहरुबाट संरक्षण पाएको कुरा पनि बेला बेलामा नउठेको भने होइन । ती मध्ये धेरै जसोले सीमापारी भारतीय भु(भागमा वसेर गतिविधि चलाउने छुट पाएका थिए । जसको असर धनुषामा पनि परेको थियो । तर अहिले उत्तम राज सुवेदी प्रहरी प्रमुख भएको बेला तीनै सशस्त्र समुहका कतिपय नाइकेहरु नै पक्राउ परेपछि अहिले सर्वसाधारणले राहत महसुस गर्न थालेका छन् । जसमध्ये चन्दा दिनु परेको व्यापारी, उद्यमी र कर्मचारीहरु भने अत्यन्त खुसी भएका छन् ।

मिति ः २०७०/१०/०५

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete