Monday, January 20, 2014

धनुषामा एसपी बंजाडे देखि सुवेदी सम्मको यात्रा



अजय अनुरागी
जनकपुरधाम............


५ फागुन २०६४ देखि २७ भदौ २०६५ सम्म धनुषामा प्रहरी प्रमुखको रुपमा रहेका छविलाल बंजाडे जोशीको कार्यकालमा सशस्त्र समुहहरुको आतङ्कले जडो गाड्न मात्र सफल भएन, मौलाउँदै गयो । यति सम्म कि त्यसताका एक जना सशस्त्र समुहका कमाण्डर आकाश त्यागी भनिने राम यादवलाई प्रहरीले संरक्षण मात्र गरेनन, अपराधका लागि परिचालित नै गरिएको हल्ला समेत चल्यो । त्यतिबेलाका घुमुवा प्रहरीको भुमिका पनि अत्यन्तै शंकास्पद थियो । गाउँ घरमा हुने डकैती, व्यापक तस्करी र मान्छेको अपहरणमा समेत घुमुवा प्रहरीको संलग्नता हुने गरेको स्वरहरुपनि धनुषामा सुनिए । सशस्त्र समुहको चन्दाका लागि आएको धम्कीबारे प्रहरीलाई जानकारी दिँदा उल्टै त्यो खबर सशस्त्र समुहकहाँ पुग्ने गथर््यो । त्यसपछि मान्छे अपहरण हुँदा प्रहरीको सहयोग लिनुको साटो सकुशल रिहाका लागि फिरौति रकम बुझाउन बाध्य भए, धनुषाबासी ।
धनुषाका विगतका प्रहरी प्रमुख सर्वेन्द्र खनाल

    यति मात्र होइन, घुमुवा प्रहरीहरुले जवरजस्ती निर्दोष मानिसहरुलाई पक्राउ गरी आफैले हतियार भिराएर हातहतियार तथा खरखजाना मुद्दामा फसाउने र लाखौं रुपैयाँ लिएर छोडिदिने प्रहरीको धन्दा नै बन्यो । त्यसताकाका एक जना घुमुवाका इन्चार्जका अनुसार जिल्ला प्रहरी कार्यालयमा मासिक लाखौं रुपैयाँ बुझाउनै पर्ने एक किसिमको कडा आदेश जारी हुन्थ्यो । तोकिएको रुपैयाँ नबुझाउँदा अरुलाई उक्त जिम्मेवारी दिइने चेतावनी पनि दिइन्थ्यो । त्यसकारण उक्त रुपैयाँ असुलीका लागि प्रहरीले अपराधिक गिरोहहरुसँग मिलेर अपराधलाई बढावा दिइएको थियो ।
धनुषाका विगतका प्रहरी प्रमुख दिनेश अमात्य
अवैध रुपमा जिल्लाका प्रायः जसो ग्रामिण क्षेत्रहरुमा मदिरा भठ्ठी संचालित थिए । एकै पटक विषाक्त मदिरा सेवन गरेर दुई दर्जन भन्दा वढी मान्छेहरुले ज्यान गुमाएको दर्दनाक घटना सर्वसाधारणको मानस पटलमा अझै ताजा नै रहेको छ । व्यापक आलोचना भएपछि बंजाडेको सरुवा भयो । त्यसताका रुपैयाँ तलदेखि माथिसम्म पु¥याइन्थ्यो । संक्रमणकालको बहाना र मधेस विद्रोहका कारण केही पनि गर्न नसकिएको बताउने बंजाडेकै कार्यकालमा संविधानसभाको निर्वाचन गराउने दायित्व थियो । शान्तिपुर्ण र हिंसा रहित निर्वाचन सम्पन्न गराउन बंजाडे भने सफल भए । उनको कार्यकालको त्यो नै महत्वपुर्ण कार्य थियो । त्यसपछि २७ भाद्र २०६५ देखि ३ मंसिर २०६५ सम्म प्रहरी प्रमुखका रुपमा माधव प्रसाद जोशीले धनुषामा कार्यभार सम्हाले । करिब ६७ दिन मात्र उनी यहाँ बसेका कारण अपराध नियन्त्रणमा कुनै ठोस भुमिका निर्वाह गर्न सकेनन् ।
धनुषाका विगतका प्रहरी प्रमुख हरिबहादुर पाल
 ९ मंसिर २०६५ मा प्रहरी प्रमुखको रुपमा यादव राज खनाल धनुषा आए । इमान्दार छविका खनालको कार्यकालमा जनकपुरका एक जना महिला पत्रकार उमा सिंहको हत्या भयो । देश विदेशका पत्रकारहरु आन्दोलित भए । छानविन गर्दै जाँदा उमाकी भाउजु ललिता सिंहलाई पक्राउ गरियो । धनुषा निर्वाचन क्षेत्र नं. ५ मा संविधानसभाको उपनिर्वाचन गराउने प्रमुख दायित्वलाई उनले सफलता पुर्वक सम्पन्न गरे । तर, अपराधिक गतिविधिमा भने खासै कमी आउन सकेन । उनको कार्यकालमा पनि सशस्त्र समुहका केही व्यक्तिहरुलाई इन्काउन्टर गरियो । ३२ साउन २०६६ मा उनको सरुवा भयो । र, १० भाद्र २०६६ देखि १९ मंसिर २०६६ सम्म संजय सिंह बस्नेत प्रहरी प्रमुखको रुपमा धनुषा आएका थिए । यादव राज खनालले शान्ति सुरक्षा व्यवस्था मिलाउन गरेको प्रयासलाई उनले निरन्तरता दिन सकेनन् । घुमुवा राजले झनै प्रश्रय पायो । सशस्त्र समुह र विभिन्न अपराधिक गिरोहहरुको समुह झन सक्रिय भयो ।
धनुषाका विगतका प्रहरी प्रमुख पुरुषोत्तम कँडेल
  
    ८ चैत्र २०६६ मा खडकाको सरुवा भयो । देशैभरी जनकपुरमा अत्यन्तै असुरक्षा वढेको महसुुस हुन थालेपछि प्रहरी प्रधान कार्यालयले पत्रकारहरुको जारी आन्दोलनकै दौरान ८ मंसिर २०६६ मा सर्वेन्द्र खनाललाई धनुषा प्रहरी प्रमुखको रुपमा पठायो । पत्रकारहरुको आन्दोलनलाई साम्य पार्दै खनालले आफ्नो कार्यकाल अगाडी बढाए । प्रहरी प्रतिको जनताको वढ्दो अविश्वासलाई कम गर्नु चुनौति पनि थियो, खनाल सामु । खनालले नेपालमै प्रहरी संगठनमा एक उदाहरणीय कार्य गरे । धनुषाका तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको मधेसका सशस्त्र समुहहरुसँग साँठगाँठ रहेको प्रमाण सहित कारवाहीका लागि प्रहरी प्रधानकार्यालयमा  प्रतिवेदन पठाए । गृहमन्त्रीको निर्देशन अनुसार न्यौपानेलाई निलम्बन गरि छानविन अगाडी वढाइयो । छानविनका क्रममा समेत न्यौपाने दोषी ठहर भएपछि प्रहरी प्रधान कार्यालयले डिएसपी न्यौपानेलाई कारवाही स्वरुप एक पद घटुवा गरी इन्सपेक्टरमा झारीदिए । नेपाल प्रहरीको इतिहासमा नै कुनै अधिकृत स्तरका कर्मचारीलाई घटुवा गरिएको त्यो पहिलो घटना थियो । त्यसपछि खनाल प्रति विस्तारै धनुषावासीको विश्वास जाग्यो । खनालले अवैध मदिरा भठ्ठीहरुमा आफै गएर तोड्ने देखि मदिरा नस्ट गर्ने अभियान नै चलाए । टूाफिक व्यवस्थापनका लागि नोपार्किङ छुट्याए । यसका अतिरिक्त सर्वदलिय, सर्वपक्षिय अन्तरक्रियाहरु गर्दै गए । यूवा क्लवहरु र संघ संस्थासँगको सम्बन्धलाई अगाडी वढाए । उनको कार्यकालमा पनि धनुषामा हत्याको क्रम भने रुकेन । राजन मुक्ति समुहले मान्छे हत्याको श्रृङ्ख्लावद्ध सिलसिलेबार सुरुवात भयो । सोही क्रममा भुमिगत समुहका दुई जनाको इन्काउन्टर गरियो । एक किसिमले राजन मुक्ति समुह र प्रहरी बीच आमने सामनेको यूद्ध जस्तै थियो । मान्छे हत्या हुँदा नगरवासी झन त्रसित हुन थाल्यो ।
धनुषाका विगतका प्रहरी प्रमुख बसन्त कुमार पन्त ।
४ असोज २०६७ मा खनालको सरुवा हुँदा नगरवासी दुखि भएका थिए । कुनै प्रहरी अधिकृत जाँदा त्यसअघिसम्म सम्मानित गर्ने घटना देखा परेको थिएन । तर, खनाललाई जनकपुरका यूवा क्लवहरुले सम्मानित गरेका थिए । जनकपुरमा चौतर्फी चर्चा भइरहेको थियो खनालको । अब आउने प्रहरी प्रमुखको लागि खनालको छाप मेटाउनु सामान्य चुनौति थिएन । ११ असोज २०६७ देखि ३१ जेष्ठ २०६८ सम्म करिव ८ महिनाको कार्यकालमा दिनेश अमात्य पनि खनालले कोरेको बाटोमा हिड्ेका थिए । अमात्यले आफ्नो कार्यकालमा फरार प्रतिवादीहरुलाई पक्राउ गर्न अप्रेशननै चलाए । करिब तीन दर्जन भन्दा वढी फरार अभियुक्तहरुलाई पक्राउ गरी कानुनको कठघरामा उभ्याए । उनको कार्यकालमा पनि मान्छे हत्या भयो । जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लालकिशोर झाको जनकपुरमा गोली हानी हत्या गरियो । उक्त घटनामा प्रहरी उपरीक्षक अमात्यले तत्कालै विजुली सिंह भन्ने राकेश पाण्डे, रकि भन्ने शिवकुमार ठाकुर र सुनिल अधिकारी यादवलाई पक्राउ गरे । उनीहरुको बयानबाट झाको हत्याको मुख्य योजनाकार रत्नसागर मन्दिरका महन्थ वैकुन्ठ दास वैष्णव रहेको सार्वजनिक भयो । वैकुण्ठ दास फरार भए । अमात्यको कार्यकालमा घटना त भयो तर घटनाको अनुसन्धान भने सफल तरिकाले गरिन्थ्यो । अमात्यले त्यसबेला पनि द एक्सक्लुसिभलाई भनेका थिए,‘कुनै पनि समाजलाई अपराध मुक्त नै बनाउन सकिन्न । तर अपराधलाई न्युन गर्न भने सकिन्छ । अपराध हुनु ठुलो कुरा होइन, अपराध भईसकेपछि सफल अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउनुपर्छ ।’ उनले अर्को महत्वपुर्ण कुरा के पनि भनेका थिए भने,‘हिंसालाई क मगर्नका लागि प्रति हिंसामा म विश्वास गर्दिन्ँ । मान्छेलाई जिवितै पक्राउ गर्नु पर्छ र उसको अपराधलाई सावित गर्नुपर्दछ ।’ उनको प्रष्ट संकेत के थियो भने सशस्त्र समुहले मान्छे हत्या गरिरहेका छन भने विगतकै प्रहरी प्रमुखहरु जस्तो म पनि इन्काउन्टरको बाटो अख्तियार गर्दिनँ् ।
    सुरक्षा व्यवस्था सुदृढ गर्ने तथा अपराध नियन्त्रण र अनुसन्धानमा विज्ञान प्रवृधिको अनिवार्यता महसुस गर्दै अमात्यले जनकपुरका व्यवसायी र नागरिकबाट आर्थिक सहयोग जुटाई जनकपुर नगरपालिकाका विभिन्न स्थानहरुमा सिसिटिभी क्यामरा जडान पनि गरेका थिए ।
धनुषाको हालका प्रहरी प्रमुख उत्तम राज सुवेदी ।
    १ अषाढ २०६८ मा आएका हरिबहादुर पाल २२ मंसिर २०६८ सम्म धनुषा प्रहरी प्रमुखको रुपमा रहे । पालको कार्यकालमा आउँदा सम्म प्रहरी माथि हुने राजनीतिक दवाव र दलाली संस्कृतिलाई हटाउन उनी सफल भए । उनले पनि अमात्य जस्तै फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिए । २२ मंसिर २०६८ मा पुरुषोत्तम कँडेल धनुषामा आए । प्रशासनिक भन्दा पनि बौद्धिक व्यक्तित्व रहेका कँडेलको समयमा १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चौक स्थित शान्तिपुर्ण आन्दोलनमा बम विस्फोटन भयो । उक्त विस्फोटनमा परि पाँच जना सर्वसाधारणले ज्यान गुमाउनु परेको थियो भने ३२ जना घाइते भएको थियो ।
    २५ असोज २०६९ मा बसन्त कुमार पन्तले धेरै प्रतिवद्धता गरेपनि विगतका फरार अपराधिहरुलाई उनले पक्राउ गर्न सकेनन् । धनुषामा उनलाई गफाडी प्रहरी प्रमुखको रुपमा लिइयो । पन्त विदेश भ्रमण गएको बेला २४ जेष्ठ २०७० देखि १० अषाढ २०७० सम्म ठाकुर राम बर्तौला आए । १४ साउन २०७० देखि हालसम्म धनुषामा  प्रहरी प्रमुखको रुपमा उत्तम राज सुवेदी कार्यरत छन् ।
    प्रहरी उपरीक्षकहरुलाई सघाउने प्रहरी निरीक्षकहरु क्रमशः हरि खतिवडा, प्रकाश मल्ल, सन्तोष खड्का र गोविन्द पुरीको भुमिकालाई पनि नगरवासीले सराहनीय मानेका छन् । तर प्रहरी निरीक्षक भुवनेश्वर तीवारी र अभय जोशीको भुमिकालाई शंकास्पद रुपमा हेर्ने गरेका छन् । त्यसैगरी डिएसपीको रुपमा जगदीश पोखरेल, नरेन्द्र उप्रेती र सन्तोष सिंह राठौड लाई राम्रो रुपमा लिएका छन भने टेक बहादुर गुरुङ कतिपय मुद्दामा विवादित देखिएका थिए ।  
२३ मंसिर २०६६ मा श्याम खडका धनुषा प्रहरी प्रमुखका रुपमा आए । उनी आएको तीन महिना पनि नहुँदा फागु पुर्णिमाको दिन संचार उद्यमी अरुण सिंघानियाँको दिन दहाडै गोली हानी हत्या गरियो । पत्रकारहरु फेरी आन्दोलित भए । उच्च स्तरीय छानविन समिति गठन भयो । तर उक्त समितिले बनाएको प्रतिवेदन हालसम्म सार्वजनिक हुन सकेको छैन भने, हत्या किन र कसले ग¥यो त्यो पनि सार्वजनिक गर्न सकेनन् । यद्यपि उक्त घटनाको जिम्मेवारी अर्जुन सिंह भन्ने मुकेश चौधरीले लिएका थिए । उक्त घटना सेलाउन नपाउँदै उनको कार्यकालमा स्टेशन प्रहरी चौकीका इन्चार्ज स.ई.बाबुराम झाले भारत विहारको मधुवनी की एकजना महिलालाई जवर्जस्ती करनी गरेको आरोप लाग्यो । प्रहरीका विरुद्ध धनुषा(४ का तत्कालिन सभासद संजय साह स्टेशन प्रहरी चौकीमा धर्नामा बसे । उक्त क्रममा प्रहरीको लाठि चार्ज र बुट प्रहारबाट धनुषाका आधा दर्जन भन्दा वढी पत्रकारहरु पनि घाइते भए । अनि पत्रकारहरु पनि आन्दोलित भए । परिणाम स्वरुप धनुषाका सुरक्षा प्रमुखहरुको सरुवा भयो ।
मिति ः २०७०/१०/०५

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete