Monday, May 27, 2013

भ्रुण तस्करीको गोरखधन्दा


अजय अनुरागी

जनकपुरमा चिकित्सकहरुले अवैध भ्रुण हत्या गर्दै आएको विभिन्न कालखण्डमा समाचार पुष्टि भएपनि प्रशासनिक कारवाही नहुँदा तिनीहरुको गोरखधन्दा अझ विकराल रुपमा विस्तार हुँदै गएको छ । ती चिकित्सकहरुको गिरोहले कानुनलाई लत्याउँदै लिङ्ग पहिचान गरि अवैध भ्रुण हत्या, मानव शरीरको अङ्ग प्रत्यारोपन देखि लिएर अव भु्रण तस्करीको गोरखधन्दालाई आफ्नो आय आर्जनको मुख्य स्रोत नै बनाउन थालेका छन ।  जसको पछिल्लो उदाहरण हो, जनकपुरमा भ्रुण तस्करीका लागि फालिएको आठ वटा बच्चाहरुको बरामदी ।
प्रहरीको लापरबाहिका कारण जनकपुरमा अबैधरुपमा गर्भपतनको नाममा भु्रण हत्या गर्ने प्रबृति बढदै गएको छ । यसको नाजायज फाईदा उठाउदै एका तिर चिकित्सक र स्वास्थयकर्मीहरु मालामाल भएका छन भने जनकपुरमा भु्रण तस्कर पनि सक्रिय रहेको जेष्ठ ९ गते बिहिबार साुझ देखिएको  घटना पछि यस्तो खुलासा भएको हो ।
प्रसुति गृहमा अबैध गर्भपतनको क्रममा जनकपुरकी डा. निलम चौधरीले लिङ्ग काटेर फालेको घटना सेलाउन नपाउँदै भ्रुण हत्याको अर्काे रहस्य सार्बजनीक भएको छ । जनकपुर स्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर अगाडि कपाल मोचनीसरमा प्लास्टिको डब्बामा बन्द गरि फालिएको अबस्थामा भेटिएको ८ वटा मृत भ्रुणले यति खेर निकै चर्चाको पाएकोे छ । बरामद गरिएको उक्त ८ वटा मृत भ्रुणहरुको प्रकृति हेर्दा त्यसलाई मेडिकल प्रयोजनकै लागि पहिले देखि नै प्रिजर्भ गरेर राखिएको हुन सक्ने आशंका चिकित्सकहरुको छ । बन्द गरिएको डब्बा बाहिर मृतक भ्रुणको तौल र उमेर समेत लेखिएको हुनाले मेडिकल प्रयोजनका लागि पहिले देखि नै यस्ता क्रियाकलाप हुने गरेको आशंका गरिएको छ । प्रायः जसो शिक्षण अस्पतालहरुमा विद्यार्थीहरुलाई प्रयोगात्मक पढाईका निम्ति मृतक भ्रुणहरु ‘स्पेसिमेन’ को रुपमा राख्ने गरिएको हुन्छ । ती शिक्षण अस्पतालहरुले प्रति भ्रुण रु. ५० हजार सम्म किन्ने गर्छन । अर्को आशंका के पनि देखिन्छ भने जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर एउटा अनुसन्धान गर्ने स्वास्थ्य संस्था भएका कारण अनुसन्धान गर्न कै लागि ती भ्रुणहरु राखेको हुन सक्ने तथा डा. निलम चौधरी प्रकरणले चर्चा पाएको अवस्थामा प्रहरी प्रशासन द्धारा छापामारी हुन सक्ने आशंकाका आधारमा अतालिएर फाल्न लगाएको हुन सक्ने अर्को आशंका व्यक्त गर्न सकिन्छ । वा केही महिना अगाडि मात्र संचालन भएको जानकी हेल्थ केयरलाई बदनाम गराउनका निम्ति अवैध गर्भपतन गर्ने÷गराउने अन्य नर्सिङ होमहरुले फाल्न लगाई षडयन्त्र गरेको हुन सक्ने आशंका पनि गर्न सकिन्छ । त्यसै गरी कतिपय मुलुकहरुको होटेलहरुमा भ्रुणको डिस विक्री गरिने हुँदा उक्त भ्रुणहरु तस्करी कै लागि प्रयोग हुने गरेको आशंका पनि यथावत छ । यद्यपि उक्त सम्पुर्ण आशंकाहरुको पुष्टि हुन बाँकी छ । देउताको उपाधी पाएका चिकित्सकहरु अब ज्यानमारा यमराजको उपाधी प्राप्ति गर्न तल्लीन रहेका बेला फैलदैगरेको ती गोरखधन्दाका सम्राज्यलाई प्रहरीले पर्दाफास गराउलान की नगराउलान भन्ने प्रश्न यथावत छ ।  उक्त आशंकाहरुमा  विश्वस्त धनुषाका प्रहरी उपरीक्षक बसन्त कुमार पन्त भन्छन,“जसरी मृत भ्रुणहरु डिब्बामा प्याक गरेर, लेबलिङ गरेर एउटा अस्पतालको छेउमा  फालिएको अवस्थामा बरामद गरियो, उक्त भ्रुणहरु नेपालमै वा भारतमा मेडिकल प्रयोजनका लागि उपयोग गर्ने प्रष्ट अनुमान लगाउन सकिन्छ । ती भ्रुणहरुको तस्करी हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । ” हुन त धनुषा प्रहरीले अनुसन्धानको प्रकृया अगाडी बढाई सकेको छ ।स्वास्थ्य संस्था, अस्पताल, क्लिनिक तथा नर्सिङ होम लगायतका क्षेत्रहरु अन्तरगत सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । अनुसन्धानको क्रममा प्रहरीले कतिपय चिकित्सकहरुको राय लिने क्रमलाई अगाडी बढाएको छ । उक्त घटनामा संलग्न को(को हुन, कसरी त्यहाँ राखिएको हो, कुन प्रयोजनका लागि राखिएको हो भन्ने रहस्यको पर्दाफास अहिले सम्म  प्रहरीले गर्न सकेका छैनन । उक्त घटनाबाट एउटा कुरा प्रष्ट के देखिन्छ भने जनकपुरमा अवैध तरिकाले अधिकार प्राप्त नरहेका चिकित्सकहरुले भ्रुण हत्या गर्ने गर्दछन । अनैतिक यौन सम्बन्धबाट रहन गएको गर्भ र लिङ्ग पहीचान गरि भ्रुण हत्या गर्ने बढदो क्रम सगंै  भ्रुण तस्करहरु पनि सकृय  रहेको जनकपुरको यो घटनाले सार्बजनीक भएको छ ।
नेपाल परिबार नियोजन संघ, मेरी स्टोप्स सेन्टर र जनकपुर अञ्चल अस्पतालमा सुरक्षीत गर्भपतन  गराउने  मात्र मान्यता पाएपनि  यस्ता अबैध  कारोबारमा संलग्न कारोबारीह यहाको निजी अस्पताल, क्लीनिक, स्वास्थय सस्ंथा र झोले स्वास्थयकर्मीले खुलेआम गर्भपतन गरिरहदा समेत स्थानिय प्रहरी प्रशासन मौन रहेको छ ।  प्लास्टिको डब्बा भित्र प्रिजर्भ गरि राखिएको अबस्थामा भेटिएको भ्रुण कसले, किन र कुहाबाट ल्याएको र यस्ता घटनामा संलग्न रहेकाहरुलाई   कानुनको दायरामा ल्याउने हो की, वा डा. निलम चौधरीलाई कारबाहि गर्न कुनै चासो नदेखाएको जस्तै औपचारिक्तामा मात्र सिमित राख्ने हो प्रहरीको अगामी  कामकारबाहिले नै बताउनेछ ।
५ वर्षमा धनुषामा ११ हजार गर्भपतन
विगत ५ वर्षमा जनकपुरमा सुरक्षित गर्भपतन गराउनेहरुको आधिकारिक संख्या ७ हजार ५ सय ४४ छन भने यसको ठीक आधा असुरक्षित गर्भपतन गराउने गरेको सम्बन्धित निकायको दावी छ । जस अन्तर्गत विगत ५ वर्षमा मेरी स्टपस सेन्टरमा ५५३९ , परिवार नियोजन संघमा १८५५ र जनकपुर अञ्चल अस्पतालमा १ सय ५० सुरक्षित गर्भपतन गराईएको छ । ठीक त्यसैगरी झण्डै त्यसको आधा गाउँघरका अर्ध चिकित्सक, क्वोक्स र औषधि पसल संचालकहरुले असुरक्षित गर्भपतन गर्ने गरेको सम्बन्धित निकायको दावी छ । यसरी सुरक्षित र असुरक्षित दुवै गर्भपतनको आंकडालाई जोडने हो भने धनुषामा विगत ५ वर्षमा ११ हजार संख्या हुन पुग्छ । खास गरी लोक लाजका कारण बदनाम हुने डरले पनि ग्रामिण क्षेत्रका महिलाहरु सिमाबर्ती भारतका जयनगर, बासोपट्टी,मधुवनी, दरभंगा, सितामढी, सुरसंड लगायतका ठाउँमा गएर अत्यधिक रुपैयाँ खर्च गरेर असुरक्षित गर्भपतन गर्ने गरेका छन । सम्बन्धित निकाय स्थानीय प्रशासनले ती अवैध काम गर्ने व्यक्तिहरुलाई कारवाही नगर्दा तिनीहरुको मनोबल झन बढेको हो । परिवार नियोजन संघ जनकपुरका बरिष्ठ शाखा प्रवन्धक राम बहादुर कार्की भन्छन,“ सुरक्षित गर्भपतन गराउनेहरुमा कतिपय अविवाहीत, श्रीमान् बैदेशिक रोजगारमा गएको १ वर्ष वितिसक्दा पनि अन्य व्यक्तिसँग गरिएको अबैध सम्बन्धबाट हुने गर्भवती महिलाहरु पनि आउने गरेका छन । तर त्यस सम्बन्धि हामी सम्पुर्ण रुपले गोप्नीयता कायम राख्छौ ।” अधिकांश गर्भपतन हुनेमा छोरी नै रहने गरेको छ ।
सरकारले १२ हप्तासम्मको गर्भ गर्भपतन गराउने मान्यता दिएपछि धेरैजसो महिलाले सरकारद्धारा मान्यताप्राप्त स्वास्थ्य संस्थामा गएर गभ्र्र पतन गराउने गरेका छन्, तर गोपनियताका नाममा र लाजले गर्दा अझै पनि केही महिलाले सरकारबाट स्वीकृति नपाएका निजी मेडिकल  हलमा महँगो शुल्क तिरेर अवैध रूपमा गर्भपतन गराउँदै ज्यान जोखिममा पार्ने गरेका छन् ।  गर्भपतनलाई कसैले पनि परिवार  नियोजनको साधन बनाउन नहुने उनको सुझाव छ ।  कतिपय महिला आफूले प्रयोग गरेको अस्थायी साधन असफल भएर  पनि गर्भपतन गराउन आउने गरेका छन्, तर यस्तो केस कमै हुने उनको अनुभव छ । कम उमेरमा र उमेर ढल्किएपछि गर्भपतन गराउँदा  स्वास्थ्यमा पनि नकारात्मक असर पर्छ ।
गर्भपतनको वैधानिकता
महिला अधिकारकर्मीहरूको लामो अन्दोलनपश्चात् सरकारल्े १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन दिने मान्यता दिएको हो । २०६०  सालमा सुरक्षित गर्भपतन सेवा(प्रक्रिया ऐन लागू भएपछि गर्भपतनले वैधता पाएको हो ।  महिलाको चाहनाबिना आकस्मिक गर्भ रहेका १२  हप्तासम्मको गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ । यदि गर्भवती महिलाको मानसिक सन्तुलन ठीक नभएको एवं हाडनाता करणी भै  गर्भ रहे १८ हप्तासम्मको गर्भपतन गर्न सक्ने कानुनी व्यवस्था छ । अहिले सरकारले जिल्ला अस्पताल, मेरी स्टोप सेन्टर तथा नेपाल परिवार नियोजन संघलाई सुरक्षित गर्भपतन गराउन स्वीकृति दिएको छ, तर  पनि अज्ञान एवं लाजका कारण निजी मेडिकल हल तथा क्लिनिकहरूमा गएर असुरक्षित गर्भपतन गराउँदा समस्या आएपछि उपचारका लागि  जिल्ला अस्पताल तथा मेरी स्टोप सेन्टरमा आउने बिरामीहरू पनि भेटिएका छन् । सुरुमा लाजले गर्दा पहिले महँगो शुल्क तिरेर निजी मेडिकल  हलमा गर्भपतन गराउने अनि पछाडि धेरै रगत बग्ने, तल्लो पेट दुख्ने, पाठेघर राम्रो सफा नभएको जस्ता समस्या लिएर महिलाहरू आउने  गरेको बताउँछन् । कुनै पनि कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । सरकारले सुरक्षित गर्भपतन ऐन ल्याएपछि पीडामा परेका महिला तथा युवतीहरूलाई गोप्य र सुरक्षित रूपमा समाजमा पुनस्र्थापना हुने बाटो खोलेको त छ नै, अनिच्छित गर्भ रहे अधिकारको प्रयोग गर्न पनि पाएका छन्  तर त्यससँगै विकृति पनि भित्रिँदैछ । सन्तान करले होइन, रहरले जन्माऊँ भन्ने नारा आफंैमा राम्रो भए पनि कतिपय अविवाहित युवतीले  यसलाई परिवार नियोजनकै साधनका रूपमा लिएर जीवनलाई नै जोखिममा धकेल्दै आएका छन् । परिवार नियोजन संघ धनुषाका वरिष्ठ शाखा प्रवन्धक रामबहादुरकार्की भन्छन,“विवाहितहरूले श्रीमान्  लिएर आउँछन्, अविवाहितहरू साथीसँग आउँछन । श्रीमान् खोई भन्दा बताउन चाहँदैनन्, अन्कनाउँछन् ।” सुरक्षित गर्भपतन सेवा(प्रक्रिया (२०६० आएपछि गर्भपतन गराउन खुकुलो भएकाले त्यसको सदुपयोग वरदान सावित भए पनि केहीका लागि भने यसले विकृति ल्याएको कार्की  बताउँछन ।
गर्भपतन रहर होइन, बाध्यता
 १६ वर्ष पार गरेकी महिलाले कसैको मञ्जुरीविना पनि ३ हप्तासम्मको गर्भपतन गराउन आउने कानुनी व्यवस्था छ । त्यसो त कानुनले बलात्कार वा हाडनाता करणीका कारण गर्भ रहेको अवस्थामा  १८ हप्ता र गर्भवतीले बच्चालाई जन्म दिएको अवस्थामा गर्भवती वा जन्मिने शिशुको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्ने  चिकित्सकको सिफारिस भएको अवस्थामा गभपर्तन गराउन पाउने हुन्छ, तर जुनसुकै अवस्थामा सूचीकृत चिकित्सकले स्वीकृत संस्थामा मात्र  गभपर्तन गराउन पाउने भनिएको छ । परिवार नियोजनसंघमा डा. दिपेन्द्र कुमार यादव, गिता कुमारी राय, मेरी स्टप सेन्टरमा डा. दिपेन्द्र कुमार गोहीबार र अनोखा कुमारी झा र जनकपुर अञ्चल अस्पतालमा गरी जम्मा ६ जना मात्र सुचीकृत छन । त्यसैगरी जनकपुर अञ्चल अस्पतालका डा.विरेन्द्र साह, डा.विजयकुमार सिंह, डा. कल्पना बछाड र डा. प्रभु साह गरी ४ जना सुचिकृत छन । हाल नेपालको ७५ वटै जिल्लामा ३ सय ५२ वटा सरकारी तथा गैरसरकारी अस्पताल र स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान  गरिरहेको छ । सुरक्षित गर्भपतन गर्न नेपालमा भ्यानुल भ्याकुम एस्पिरेशन (एम.भी.ए.) अर्थात् प्लास्टिकमा क्यालुनाद्धारा खालि पारिएको  सिरिन्जको मद्दतले गरिने गर्भपतन सेवासँगसँगै एम.ए. अर्थात् मेडिकल एबोर्सन (औषधीद्धारा गरिने गर्भपतन) सञ्चालनमा आएको छ । यी दुवै  सेवा अधिकांश सरकारी अस्पताल तथा केही गैरसरकारी स्वास्थ्य संस्थामा उपलब्ध छ, तर गर्भपतन सेवा दिने संस्था र चिकित्सक दुवै  सूचीकृत हुनुपर्छ ।

No comments:

Post a Comment