Sunday, May 26, 2013

क्याम्पस प्रशासकको अक्षमताका कारण राराबमा स्वबियु निर्वाचन नहुने संकेत



अजय अनुरागी

संविधानसभाको निर्वाचन हुने हो वा होइन, भएपनि कहिले हुने हो तिथी मिति नतोकिदा सम्म अन्यौल नै रहेको अवस्था भएपनि विद्यार्थीहरु राजनीतिक सँगै चुनावी माहौलमा व्यस्थ देखिएका छन । अषाढमा संविधानसभाको दोस्रो निर्वाचन गर्नका लागि प्रधानन्यायाधिश खिलराज रेग्मीको नेतृत्वमा गठित चुनावी मन्त्रीपरिषदको सरकारले आगामी मंसिरमा पनि चुनाव गराउलान भन्नेमा जनता विस्वस्त नरहेपनि त्रिभुवन विश्वविद्यालय अन्तरगतका सम्पुर्ण क्याम्पसहरुमा २३ जेष्ठमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावले क्याम्पसहरुको माहौल तातिएको छ । अहिलेसम्मको परिदृष्यलाई देख्दा आ(आफ्नो पक्षका विद्यार्थीहरुलाई भर्ना गराई आ(आफ्नो मतदाता बढाउनका निम्ति अग्रसर मात्र भएका छैनन रात रात भर जागेर भएपनि, नामाङकन शुल्क आ(आफ्नै खल्तीबाट तिरेर भएपनि मतदाता बढाउने होड्मा सबै विद्यार्थी संगठनहरु लागिपरेका छन । कतिपय क्याम्पसहरुमा विद्यार्थी नामाङकन अहिले विवादको मुख्य कारण नै सावित भएको छ । कतिपय क्याम्पसमा त नक्कली तथा फर्जी विद्यार्थी नामाङकन गराइएको भन्दै विभिन्न पक्षहरु बीच झडपसमेतको अवस्था देखिएको छ । उक्त विवादवाट जनकपुरको रामस्वरुप रामसागर वहुमुखी क्याम्पस(राराब) पनि अछुत छैन । १४६ जना विद्यार्थीले प्रवेश शुल्क, आवेदन फारम समेत भरिसकेको अवस्थामा नामाङकनबाट क्याम्पस प्रशासनले बञ्चित गराएको भन्दै आन्दोलित भएका छन । कर्मचारीहरुले सुरक्षा माँग गर्दै सम्पुर्ण शाखाहरुमा तालाबन्दी गरेका छन । राराब क्याम्पसमा विवाद साम्य नहुँदा तत्काल स्वबियुको निर्वाचन स्थगित हुने कगारमा पुगेको छ । त्यसै पनि निर्धारित समय भन्दा तीन वर्ष थप म्याद पाएको बर्तमान स्वबियु निर्वाचन नहुँदा विद्यार्थीहरु थप मर्कामा पर्ने छन । क्याम्पस प्रमुख विष्णु देव यादवको अक्षमताका कारण स्वबियु निर्वाचन समयमै हुन नसक्नु दुर्भाग्य पुर्ण अवस्था हो ।  जेष्ठ ९ गते चुनावका लागि दल दर्ता गर्ने समय भएपनि उक्त समयमा त्यस्तो कुनै कार्य हुन सकेको छैन । क्याम्पस प्रमुख यादव भन्छन,“दल दर्ताका लागि अनौपचारिक प्रयास जारी राखेको छु, केही प्रकृयाहरुलाई छोट्याएर पनि निर्वाचन गराउने आफ्नो उद्देश्य रहेपनि निर्वाचनका लागि मतदाता भर्ना प्रक्रियाको विवादमा  विद्यार्थीहरु बीच सहमति नभएका कारण अन्यौल कायमै छ । ”प्रति विद्यार्थी छात्र शुल्क वापत रु.१०, स्वबियु शुल्क प्रति विद्यार्थी रु.१०, शैक्षिक उनयन कोष प्रति विद्यार्थी रु. १७५ गरी कुल रु. १९५ प्रति विद्यार्थी प्रत्येक वर्ष स्ववियुका लागि विद्यार्थीहरुले तिरेका हुन्छन । विद्यार्थीहरुको समस्या समाधान, हक अधिकार, शैक्षिक वातावरण लगायत सम्पुर्ण समस्या समाधानका लागि तिरिने उक्त रकमबाट स्ववियु पदाधिकारीहरु रजाई गर्दै आएका छन ।
सिद्धान्त र आचरण छोडदै छन विद्यार्थी नेतृत्व
एक समय थियो राराब क्याम्पसको जहाँ पनि शैक्षिक वातावरणलाई लिएर देशै भरी चर्चा हुन्थ्यो । उक्त क्याम्पसका प्रोडक्ट हरेक पेसामा स्थापित हुने गरेका थिए ।  क्याम्पस प्रशासक पनि क्याम्पसमा राम्रो पठनपाठनका लागि अग्रसर रहन्थे । यति मात्र होइन गुरुहरु समेत विद्यार्थीका भविष्यका लागि चिन्तित रहन्थे । स्ववियुका पुर्व सभापति लालकिशोर साह भन्छन,“ राराबमा मैथिली विषयको केन्द्रिय विभाग स्थापनामा डा. धिरेन्द्रको योगदानलाई हामीले कहिल्यै विर्सन सक्दैनौ । यति मात्र होइन विएसि, एमएका विभिन्न विषयहरु खास गरी सोसियोलोजिका लागि हामीले ठुलै संघर्ष ग¥यौ । ” राराबलाई विश्व विद्यालय बनाउने, क्षेत्रिय पुस्तकालय बनाउने जस्ता हाम्रो अजेन्डा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका कारण पुरा हुन सकेन भन्दै साह थप्छन,“जस नपाउने भएपछि विमलेन्द्रले आफ्नो बुवा महेन्द्र नारायण निधिको पावरलाई प्रयोग गर्दै विश्व विद्यालय बन्न दिएनन, क्षेत्रिय पुस्तकालय पनि बन्न दिएनन । ” कुनै बेला त्रिभुवन विश्वविद्यालयका विभिन्न आङ्गीक क्याम्पसहरु मध्ये जनकपुरको राराब क्याम्पस अत्यन्त उच्च प्राथमिकतामा रहने रहन्थ्यो ।  यस क्याम्पसबाट उत्तिर्णहुने जनशक्ति देशकै लागि गौरवशाली हुन्थे, विद्यार्थी राजनीति गरि स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्नेहरु देशलाई नै हाक्ने क्षमता राख्दथे, र हाकेका पनि छन । तर पछिल्ला केही वर्षहरुमा एकातिर उक्त क्याम्पसको छवि धमिलिएको मात्र छैन परीक्षामा चीट चोरी गरेर उत्तिर्ण भएपनि आफुलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सकेको छैन भने अर्को तिर विद्यार्थी राजनीति गर्नेहरुको  नैतिकतामा दिन प्रतिदिन ह्रास आउदै गएको छ । सिद्धान्त र आदर्शका लागि राजनीति गर्ने तत्कालिन विद्यार्थी नेताहरु पढाई र लडाईलाई अगाडि बढाएका थिए । स्ववियुका पुर्व सभापति लाल किशोर साह भन्छन,“हाम्रो पालामा सिद्धान्त, मुल्य, मान्यता र राष्टूका लागि सहादत दिन पनि पछि पर्दैन्थ्यौ, विद्यार्थी नेताहरु कामेश्वर, कुशेश्वर, केशव कोइराला लगायतकाले निरंकुश पञ्चायती व्यवस्था विरुद्ध सहादत नै दिए । तर अहिले राराबको स्ववियु सभापति बन्नेहरु आफुलाई डन, उपसभापति र सचिवले आफुलाई सहायक डनको रुपमा बुझ्नेगरेका छन । ” अहिले विद्यार्थी संगठनहरु कमजोर भएका छन, विद्यार्थीमा राजनीतिक चेतनाको कमि आएको छ, नक्कली हिरोइज्म जसबाट समाजमा कुनै आउटपुट हुँदैन त्यस्ता प्रवृति हावि हुँदै गएको भन्दै पुर्व सभापति दिगम्बर राइ भन्छन,“हाम्रो पालामा विद्यार्थी नेतृत्वहरु सफाई अभियान, बृक्षा रोपन लगायत सामाजिक क्रियाकलापमा समेत सहभागि हुने गथर््यो तर अहिले न त राजनीतिक रुपले नै विद्यार्थी नेतृत्वहरु अगाडि आएका छन न त शैक्षिक माहौल सुधार्ने तर्फ अग्रसर भएका छन ।” राजनीतिक दर्शन, चिन्तन, विद्यार्थीको हक हितका लागि तथा शैक्षिक समस्या समाधान तथा बाताबरण निर्माण वा रचनात्मक क्रियाकलापको विकास गर्ने तिर पहिलेका विद्यार्थीहरु अग्रसर हुन्थे, सिद्धान्त र आदर्शका लागि विद्यार्थीहरु राजनीतिमा होमिन्थे भन्दै स्ववियुका पुर्व उपसभापति प्रफुल्ल राज शर्मा भन्छन,“ अहिले उक्त सम्पुर्ण कुराहरु बाट बिमु्ख भएका राराबका विद्यार्थी नेतृत्वहरु जातिगत हिसावले कसरी स्थापित हुने, अवैध तरिकाले कसरी रुपैया आर्जन गर्ने बाटोतिर अग्रसर भएका छन जुन कि धेरै डर लाग्दो अवस्था हो ।” त्यतिबेला राराब क्याम्पसमा मधेसी मुलका छात्राहरु प्रायः नगन्य मात्रामा रहन्थे तर पहाडी मुलका केही छात्राहरुको उपस्थिति भने रहन्थ्यो भन्दै पुर्व सभापति लाल किशोर साह भन्छन,“ सिन्धुली, रामेछाप, दोलखा लगायतका जिल्लाहरुबाट आउने महिला विद्यार्थीहरुको अभिभावकले ति विद्यार्थीहरुको पठनपाठन, आवाश लगायतका सम्पुर्ण कुराहरुको लागि नेतृत्व समक्ष जिम्मा लगाउथे । तर अहिले आफै लागु औषध शेवन गरी गुन्डा गर्दी गर्ने विद्यार्थी नेताहरुले हाम्रो इज्जत पनि मिट्टीमा मिलाई दियो ।” क्याम्पसमा नयाँ भर्ना लिन आउने विद्यार्थीहरुलाई नामाङकन, कुन फ्याकेल्टी वा कुन विषय पढदा सहज हुने देखि कुनै पनि विद्यार्थीको जुन कुनै समस्याका लागि हरदम तयार रहने विद्यार्थी नेतृत्वहरु माथि समाज, अभिभावक र विद्यार्थी पनि भरोसा गर्दथे । तर अहिलेका विद्यार्थी नेतृत्वहरु उक्त सम्पुर्ण क्रियाकलापलाई तिलाञ्जली दिएर होटल रेष्टुरेन्टहरुमा व्यस्त देखिन्छन । राराब क्याम्पसको यस्तो दुरावस्था हुनुमा विद्यार्थी मात्र जिम्मेवार छैनन, विद्यार्थी नेतालाई परिचालित गर्ने क्याम्पस प्रशासन र त्यहाँ कार्यरत कर्मचारी, प्राध्यापक वर्ग पनि उति नै जिम्मेबार देखिन्छन । क्याम्पसको व्यवस्थापन तथा प्रशासनका लागि नियुक्त गरिने क्याम्पस प्रमुख तथा सहायक क्याम्पस प्रमुखहरुको नियुक्ती नै जातिगत भावना र राजनीतिक उदेश्यले हुने गरेको पाइन्छ । क्याम्पसमा दोहन गरी कसरी मालामाल हुने, त्यस क्रियाकलापमा विद्यार्थी नेतालाई पनि कसरी सामिल गराउने काममा सक्रिय हुने क्याम्पस प्रशासन राराब क्याम्पस दिन प्रति दिन धराशायी हुँदै जानुमा दोषी हुन भन्दै पुर्व उपसभापति शर्मा भन्छन,“ राराब क्याम्पस कार्यरत अध्यापकहरुको जनकपुरमै निजी क्याम्पसहरु सञ्चालित छन, आफ्नो फेवरको विद्यार्थी नेतृत्व युनियनमा नआए भोलीको दिनमा आफ्नो निजी क्याम्पसका लागि खतरा हुन सक्ने कारण स्वबियु निर्वाचनमा संगठनात्मक नेतृत्व भन्दा जातिगत र आफ्नो पोकेटको मान्छेलाई चुनाव जिताउनु आर्थिक, प्रशासनिक लगायत आफ्नै क्याम्पसका विद्यार्थीलाई मतदाता बनाउन भर्ना समेत गराउँनु अन्यन्त दुखद हो । ” २०३६ साल देखि जनकपुरको राराब क्याम्पसमा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ) को प्रारम्भ भएको बर्चश्व २०५१ सालमा समाप्त भयो । २०३६ सालमा नेतृत्व गरेको युवराज खातीको कार्यकाल देखि २०५० साल सम्म बजरंग नेपालीको नेतृत्व सम्म नेविसंघको एक छत्र राज थियो । तर त्यसपछाडि संगठनहरु कमजोर हुँदै गयो र विद्यार्थी नेताहरु राजनीतिक दलको छाता भन्दा स्वतन्त्र रुपमै निर्वाचित भईरहेका छन । स्ववियुका पुर्व सभापति समेत रहेका धनुषा कांग्रेसका सभापति रामसरोज यादव भन्छन,“ ४६ साल पछिको राजनीतिक परिवर्तनमा नेविसंघको भुमिका महत्वपुर्ण थियो तर नेताहरुले नेविसंघलाई अलपत्र छोडयो, राम्ररी व्यवस्थापन गर्न नसकेकै कारण बागी उम्मेदवारहरु खडा हुने संस्कार विकसित हुँदै गएपछि नेविसंघ युनियनको नेतृत्व गर्नबाट बञ्चित हुँदै गयो ।” राराब क्याम्पसमा जातियताको प्रभाव बढदै जानुमा क्याम्पसका प्रशासन देखि तमाम बौद्धिक वर्ग उतिनै दोषी रहेको औल्याउँदै यादव भन्छन,“ विद्यार्थी राजनीति अराजक र अभद्र हुनुमा माओवादीको जनयुद्ध र मधेस आन्दोलन प्रमुख कारक तत्व हो । राजनीति संस्कारको अभाव, विद्यार्थीहरुमा राजनीतिक दलले सिद्धान्तको बारे प्रशिक्षण नदिनु जस्ता कुराहरु सहायक सिद्ध भए । ” तर पुर्व सभापति लालकिशोर साहको बुझाईमा विद्यार्थी नेताहरुलाई गुन्डा बनाउने काम नेपाली कांग्रेसले गर्यो । ४६ सालको परिवर्तन पछि नेपाली कांग्रेस र एमाले सत्ताको हानथापमै लाग्दा एक अर्कोको विरुद्ध विद्यार्थी संगठनलाई उपयोग मात्र गरेनन विद्यार्थीलाई कुलतमा फसाएर गुन्डा नै बनाई दियो ।

No comments:

Post a Comment