Monday, May 27, 2013

‘द एक्सक्लुसिभ’ तटस्थताको कसीमा उभिन सफल


जितेन्द्र झा 


द एक्सक्लुसिभ साप्ताहिकको म ग्राहक होइन,  तर पनि लगभग सबै अंक मसँग सुरक्षित हुनुपर्छ । दुई चार अंक कागजी रुपमा त बाँकी पीडीएफ फाइल । काठमाडौं बसाइ भएकाले मैले पत्रिका मेलबाटै पढ्न बाध्य पनि छु । जनकपुरबाटै पत्रकारिता शुरु गरेकाले जनकपुरका कुनै पनि पत्रिका मलाई आकर्षित गर्छ । यस्तोमा हरेक साता मेरो इनबक्समा आउने द एक्सक्लुसिभको म नियमित पाठक नै छु ।
विज्ञापनकै लागि नयाँ वर्ष, दशैंतिहार र छठ पर्व जस्ता अवसर विशेषमा पत्रिका निकाल्ने प्रवृत्तिमाझ एक्सक्लुसिभले आफूलाई फरक पंक्तिमा उभ्याएको छ । मैले त मेलबाट नियमित पाउने गरेको छु, त्यसैले पत्रिका नियमित प्रकाशित हुन्छ भन्नेमा विश्वस्त हुन सकिन्छ । नेपाल प्रेस काउन्सिलको वर्गीकरणको सूचीमा पत्रिकाको नाम लेखाउन र सरकारी कोषबाट केही रकम हात पार्नका लागि मात्र पनि धनुषामा दर्जनौं कोठे पत्रिका प्रकाशन भइरहेका छन् । ती पत्रिका पढ्न प्रेसमै पुग्नु पर्ने हुनसक्छ । पाठकको हात मै नपुग्ने एकथरी नामधारी पत्रिकाहरुका बीचमा थोरै समयमा पनि नियमितताले एक्सक्लुसिभलाई चिनाउने अवसर दिएको छ । आगामी दिनमा यही प्रवृत्तिलाई अझ दृढ बनाउन सके पत्रिकाले थप उचाइ लिन सक्छ ।
एक्सक्लुसिभले केही स्थानीय मुद्दालाई राम्रै महत्व दिएर प्रकाशन गरेको म सम्झिन्छु । अपराधिक घटना होउन् वा विकासे वजेटमा अनियमितता, यी विषयमा जनतालाई सुसूचित गराउन यसले खर्चेका शब्दहरुको मूल्यांकन गरिनुपर्दछ । पत्रिका समाजको ऐना हुन्छ, पत्रिका जहाँबाट प्रकाशित भइरहेको छ त्यहाँको त्यसको वास्तविक चित्रण हुनै पर्छ ।
त्यस्तै स्थानीय प्रतिभाहरुलाई चिनाउनका लागि शुरुका अंकमा गतिलै प्रयास भएको थियो । गायन, संगीत, खेलकुद, विज्ञान लगायतका विभिन्न विधामा जनकपुर क्षेत्रबाट प्रतिभाहरु उदाइरहेका छन् । उनीहरुले स्थानीय मिडियाले कति स्थान दियो मलाई थाहा नहुन सक्छ । तर त्यस्ता केही प्रतिभाहरुका फोटो र जानकारी यस पत्रिकामा छापेर यसले ती नयाँ पुस्तालाई पनि जोड्ने प्रयास ग¥यो जुन सराहनीय छ । चियापसलमा देश विदेशका गतिविधिबारे टिकाटिप्पणी गर्ने एउटा वर्ग विशेषका लागि पत्रिकाका अन्तरवस्तु केन्द्रीत हुनु हुन्न । सामाजिक उत्तरदायित्वको बोध गरी मिडियाले समाजको सर्वांङगीन हित हुने नीति अबलम्बन गर्न सक्नु पर्छ ।
साप्ताहिक पत्रपत्रिकाको एउटा विशेषता कुनै निश्चित मुद्दाको गहिराइ सम्म पुग्नु र त्यसका अन्तरकुन्तरलाई खोतलेर आम जनतालाई बताउनु पनि हो । यस पत्रिकाले यस ध्येयका साथ अधिकांश अंकमा कुनै न कुनै विषयमा गहिराइमा पुग्ने कसरत गरेको पाइन्छ । त्यस्ता मुद्दा उठाउँदा यसले आफूलाई सन्तुलित राख्ने प्रयास गरेको पनि म सम्झिन्छु । मिथिला बम काण्डको दोषी को भन्ने समाचारमा आरोप लागेका दुई पक्ष र प्रहरी समेतको भनाइहरु आएका थिए । यसले तटस्थताको कसीमा उभ्याउन सहज हुन्छ पत्रिकालाई ।
शब्दमात्र महत्वपुर्ण छैन, यद्यपि शब्दलाई ब्रम्ह भनेरै व्याख्या गरिन्छ । कुनै एउटै तस्वीर, कार्टुन पनि धेरै नै अर्थवान हुनजान्छ, समयपरिस्थितिले । एक्सक्लुसिभले तस्वीर कार्टुनलाई पनि यथोचित स्थान दिएर पत्रकारिताका बहुआयामिक पक्षमध्ये केहीलाई समेटने प्रयास गरेको छ । पत्रिकामा केही त्रुटिपनि निरन्तर दोहोरिने गरेको छ । जस्तै वाक्य सङ्गति नै नहुनु, शब्दका हिज्जे गलत लेखिनुलगायतका भाषिक अशुद्धता । एकदुई अंकमा मात्र भएको भए मानवीय कमजोरी मान्न सकिन्छ तर जहिल्यै यस्तो त्रुटि गर्नु राम्रो मानिन्न । अर्को पेज लेआउटमा ध्यान दिइनुपर्छ । खानाको स्वाद कस्तो छ भन्दा पनि कसरी पस्किएको हो त्यो महत्वपुर्ण हुन आउँछ । पत्रिकालाई पठनीय बनाउन केही प्राविधिक सुधार नितान्त आवश्यक छ ।
अनलाइन पत्रिकामा र धेरै बिक्ने राष्टिूय दैनिकमा प्रकाशित भइसकेका लेखहरु यस साप्ताहिकमा छापिएका छन् । स्थानीय स्तम्भकारहरुलाई नै त्यो स्थान उपलब्ध गराएको भए पाठकप्रति न्याय हुने थियो कि ? तर प्रकाशित सामग्री पुनः प्रकाशन गर्नु नै हुन्न भन्ने होइन । विशिष्ट महत्वका खबर, विचार, विश्लेषणहरु साभारका रुपमा प्रकाशित गर्नुलाई स्वभाविक मान्न सकिन्छ ।

काठमाडौं बासस्थान बनाएका टाउके नेताको अन्तरवार्ताले नै पुरा पृष्ठ भरिएका देखिन्छन् । मेरो बुझाइमा यसलाई अलि परिमार्जन गर्न सकिन्छ । शीर्ष भनाउँदा ती नेताहरु जहाँ जे गए नि बोलिरहन्छन् र समाचार बनिरहन्छ । कुनै खास मुद्दामा थोरै मात्र अन्तर्वार्ता राख्ने बाँकी सामग्री अनुसन्धानमुलक र विश्लेषणात्मक सामग्री राख्दा पत्रिकाको ओज बढ्ने थियो कि ? त्यस्तै क्षेत्रीय र स्थानीय मुद्दालाई उठाएर अन्तर्वार्ता गर्दा पनि हुन्छ । किनभने काठमाडौं केन्द्रीत अधिकांश संचारमाध्यमले क्षेत्रीय मुद्दालाई कम महत्व दिन्छन्, दिएपनि पूर्वाग्रहीपनबाट ग्रसित भएर । जनकपुरबाट निस्किने पत्रिकाले जनकपुर र सो क्षेत्रको आवाज र मुद्दालाई केन्द्रसम्म पु¥याउने ध्येयका साथ पनि केही सामग्री दिनु पर्छ । यसले पुलको काम गर्न सक्छ । आमसंचारका साधन पत्रिकाले यो दायित्व झन् जिम्मेवार भइ निर्वाह गर्न पनि सक्छ । पृष्ठ मात्र भर्नु छ भने अन्य धेरै विकल्प पनि छन् ।
पत्रिकामा जनकपुरको माटोको वासना आउन सकोस् त्यसका लागि गृहकार्य गरिनुपर्छ । विश्व प्रसिद्ध व्यक्तित्वलाई चिनाउनु पर्छ तर जनकपुरलगायत सो क्षेत्रका महत्वपुर्ण व्यक्तिलाई बिर्सनु भएन । उनीहरुलाई कसले चिनाइदेला त ? यो पनि एउटा सचेत पत्रकारले सोच्नै पर्छ । राजनीतिक संक्रमणबाट गुज्रिरहेको नेपालमा पत्रपत्रिकामा राजनीतिक समाचारको चाहिने भन्दा बढी भएको आरोप लाग्ने गरेको छ । पाठकलाई सामाजिक, आर्थिक, शैक्षिक विषयका खुराक दिएमा पत्रिकाले वृहत्तर रुचिका पाठकलाई आकर्षित गर्न सक्छ ।
पत्रिकामा पाठकसँग दोहोरो संवाद कायम गर्नका लागि पनि निश्चित स्थान छुट्याइनुपर्छ । व्यापार, शिक्षा, कृषि, अर्थ, स्वास्थ्य, जीवनशैली जस्ता विभिन्न क्षेत्रका फिचरलगायतका सामग्री समेट्न प्रयास गरिनुपर्छ । पत्रिकाको ब्लग केही दिन अघि मात्र देखेँ, विश्व सूचना सञ्जालमा आफ्नो स्थान बनाउन वेवसाइट राम्रो माध्यम हुनसक्छ ।
पत्रिकाको उत्तरोत्तर प्रंगतिको कामना ।

No comments:

Post a Comment