Monday, May 27, 2013

‘द एक्सक्लुसिभ’ सँगको मेरो अनुभव



सन्तोष सिंह

‘द एक्सक्लुसिभ’ दुई वर्ष पुरा गरेर तेश्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्षको यात्रामा केहि पाइला म पनि साथमा हिडेको छु । मेरो पत्रकारिता र एक्सक्लुसिभ यात्राको सानो अनुभव छ । शिक्षाको विद्यार्थी भएर पत्रकारिता गर्नु मेरो लागि चुनौतीहरु अझै बाँकी नै रहेको मेरो बुझाइ छ । तर पाँच वर्षे शिशु पत्रकारिताको यात्रामा महत्वपुर्ण क्षण र एक्सक्लुसिभको अनुभव पिडादायि नै छ । जनकपुरमा थालनी गरेको पत्रकारिता मेरो लागि अविस्मरणिय छ । अध्ययनका लागि गाउँबाट जनकपुर पस्न साथ मेरो लक्ष्य पत्रकारिता गर्ने बन्यो । २०६१ सालमा एसएलसी दिएर २०६२ सालमा जनकपुर बस्न थाले पछि यहाँ छापा पत्रकारिताले राम्रै स्थान पाएको थियो । कक्षा १२ पढदा यहाँ सञ्चालन भएका एफएमहरुमा पस्ने जमर्को गरें । तर म सफल हुन सकिन । पटक पटकको प्रयास सफल हुन सकेन । जनकपुरमा लगभग ८ एफएम पछि खुलेको मिथिलाञ्चल एफएमबाट पत्रकारिता शुरुवात गरें । मेरो पत्रकारिता गर्ने रहर पुरा भयो । तर उद्येश्य भने पुरा हुन सकेन । म छापा पत्रकारितामा आएँ । छापाको दुई वर्ष अनुभव भए पछि म अपराध र समाजको रिर्पोटिङ्ग गर्न चाहन्थे । जुन क्षेत्रमा  सिकाउने काम यस एक्सक्लुसिभका सम्पादक तत्कालिन मिथिलाञ्चल विशेष दैनिक तथा मिथिलाञ्चल एफएमका कार्यकारी सम्पादक अजय अनुरागीले भरपुर सहयोग गर्नु भयो । साथीहरुले मलाई काम गर्न हौसाए । अपराध र समाजको रिपोर्टिङ्ग गर्ने उद्येश्यले पत्रकारिता सिकेको मिथिलाञ्चल छोडेर एक्सक्लुसिभमा आएको थिएँ । यहाँ सम्मको यात्रामा नवल सर हँुदै अजय अनुरागि र सुरेश यादव संगको मेरो सम्बन्ध प्रगाढ भयो ।

एक्सक्लुसिभमा काम गर्नु मेरो लागि सामान्य थिएन । दैनिक छापामा काम गरेको अनुभव यहाँ अपुग भयो । तर अजय सरको सल्लाहमामा लगातार काम गर्न थालें । पहिलो पृष्ठमा बाइलाइन समाचार छाप्ने रहर संगै पत्रकारिताको उद्येश्य पुरा हुन थाल्यो । शिक्षा, अपराध, समाज संगै यहाँ मलाई खेल र मनोरञ्जन समाचार लेख्न एक पेज नै छुट्याइयो । जुन पेज भर्नु भन्दा पनि पाठकलाई स्वाद दिनु मेरो लागि चुनौति थियो । तर अजय सर र अनिल दाईको सल्लाहमा अघि बढदै जाँदा प्रकाशक राजु चौधरीबाट समेत मैले माया पाएँ । यहाँ मैले लेखेको समाचारको  पहिलो टारगेट युवा पुस्ता हुन्थ्यो । खेलकुदको समाचार निरन्तर लेखेकै कारण द एक्सक्लुसिभको सहयोगले खेलकुद तथा संस्कृति विकास कोषले प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कार पाएँ ।
एक्सक्लुसिभमा आउने खोराक एक साता अघि नै तय हुन्थो । जिम्मेबारी बाँडफाड हुन्थ्यो । यहाँ डेस्कबाट समाचर तोकेर गर्न लागउनु भन्दा पनि म बाट नै यो साता के(के गर्ने सम्पादक अनुरागी सरले सोध्नु हुन्थ्यो । मैले रोजेको विषयमा नै सहयोग पाउँथे । यहाँ काम गर्दा आज सम्म गर्व नै गरेको छु । मालिकको दवावमा आफैले लेखेको समाचारको खण्डन छाप्नु परेको छैन । न त कसै सामु झुक्नु परेको छ । त्यहि नै मेरो लागि एक्सक्लुसिभको ठुलो साथ हो । समाचारमा फलोअप गर्ने सिकाई मैले यहाँबाट नै सिकेको छु । समग्रमा भन्ने हो भने एक्सक्लुसिभले पत्रकारितामा खोज गर्न मलाई सिकायो । यहाँ काम गर्दा मैले कहिल्यै तनाव झेल्नु परेन । समयमा तलव र समयमा काम गर्ने वातावरण पाए पछि म सन्तुष्ट थिएँ । तर पत्रकारितामा लागे पछि सबैको राष्टिूय सञ्चार माध्यममा पस्ने रहर हुन्छ । जुन मौका मैले जनकपुरबाट पाउन सकिन । र, म महोत्तरी हुदै सर्लाही आएँ । तर एक्सक्लुसिभको साथ भने छोडेको छैन । विभिन्न स्थानमा रहेर पनि पनि यहाँ मैले काम गर्ने मौका पाएको छु । मौका संगै छापिएको समचारको प्रभावले मलाई खुसि बनाएको छ । एक्सक्लुसिभ सप्ताहिको दुई वर्ष पुरा भएको अवसरमा पाठकले यस पत्रिकालाई मन पराएर मेरो समाचारलाई मन पराइदिनु भएको धन्यवाद दिन चाहन्छु ।

No comments:

Post a Comment