Monday, December 26, 2016

धुर्मुस सुन्तलीले बनाउने मुसहर बस्तीको कथा व्यथा

शैलेन्द्र महतो
जनकपुरधाम............
हास्य व्यंग्य कलाकार तथा  समाजसेवी धुर्मुस(सुन्तलीले बुधबार तेश्रो चरणमा एकीकृत नमुना बस्ती बनाउने घोषणा गरेका महोत्तरीको बर्दिबास मुसहर वस्तीको कथा व्यथा कम छैन । त्यस वस्तीमा रहेका पचास घरपरिवारका मुसहरहरु वर्षौदेखि अत्यन्त गरिबीमा दयनीय जीवन बाँचिरहेका छन् ।
पूर्व पश्चिम राजमार्गमा पर्ने महोत्तरीको बर्दिबास, छोटो समयमै विकासको दिशाले कोल्टो फेरेको छ । तर त्यही बर्दिबास नगरपालिका २ भित्र पर्ने बर्दिबास बजारदेखि मात्र करिब दुई किलो मिटर दक्षिणको दुरीमा रहेका मुसहरहरुको दिनचर्या जस्ताको त्यस्तै छ । प्रायः गरी सबैको  माथिबाट खर र परालले छाएको सानो ओत लाग्ने झुपडी बाहेक धनसम्पतिको नाममा केहि पनि छैनन् । सानै ओत लाग्ने घरमा भान्छा , सुत उठ , गाईबस्तु बाँध्ने गोठ सबै थोक गरी जीवन व्यथित गर्ने बाध्यता छ । 
१०५ वर्षकी मरनी सदाको पीडा , एउटै सानो ओत लाग्ने छाप्रोमा बित्दै छ जिन्दगी
एक सय ५ वर्षकी एकल महिला मरनी सदा रुँदै यसरी भन्नुभयो “फोँटो मात्रै खिच्न आउछ । बुढी कसरी खान्छ,बाँच्छ, मर्छ त्योदेखि कसैलाई कुनै मतब छैन ।” उहाँको एउटै सानो ओत लाग्ने छाप्रो छ । तीन पुस्तादेखि मरनी ब्राखो बाँध्ने घरमै भूइमै कठिनाइपूर्ण जीवन विताउँदै आएकी छन् ।  सानो छाप्रोमा कठियांग्रिदो जाडोमा प्लाष्टिकको बोरा ओढेर परालको ओछ्यानमा उहाँ सुत्ने गर्नु हुन्छ । चिसो मौसममा शरीरमा च्यातिएको झुत्रो पेटीकोट र चोलो मात्र दैनिक लगाउने उहाँको लुगा हो । 
छाप्रोको बेरा भत्किएर चिसो हावासंगै चलिरहेको शितलहर उहाँको छाप्रोको आरपार हुन्छ । तर उहाँको दिन र रात त्यसमै वित्छ । उहाँ रोगले थला परेको १५ वर्षभन्दा बढी वितिसक्यो । उठ्न र हिड्न सक्नु हुन्न । मात्र हातको सहाराले घस्रेर घर भित्र र बाहिर आंगनीमा आउन सक्नु हुन्छ । श्रीमान  वितेको तीस वर्षभन्दा बढी वितिसक्यो । ३६ वर्षका कान्छा छोरा बिरबल सदा चार महिना अघि जण्डीसले च्यापिए पछि आर्थिक समस्याले उपचार गराउन नसक्दा मृत्यु भयो । कान्छा छोराको दुई लालाबला छ ।
कान्छी बुहारी मुन्नी सदा जंगलबाट दाउरा टिपेर बेचेर ल्याएको दिन घर चल्छ हैन भने भोकै सुत्नु पर्ने बाध्यता रहेको मरनी पीडा सुनाउनु हुन्छ । कयौं दिन र रात भोकै सुत्ने गरेको मरनी बताउनु हुन्छ । जेठो छोरा रामजी सदा छुट्टिएर बसेको वार्षौ भयो । जेठाछोरा बुहरारीले हेरबिचार नगर्ने गरेको उहाँको भनाई छ । मरनीको तीन जना छोरी छन् । सबैको बिहेबारी भई आ आफ्नो घर गईन् । हेरबिचार गर्ने एक मात्र बुहारी मुन्नी छिन् ।
उहाँले यस पटक आफु नगरपालिका कार्यालयमा पुग्न नसक्दा समाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गर्नुभयो । वृद्धभत्ताबाट पनि लुगाफाटो किन्थे केहि राहत हुन्थ्यो तर त्यो पनि सायद आफ्नो भाग्यमा नभएको मरनीको दुखेसो छ । आफु जस्ती बुढीलाई भग्वानले पनि किन ठाउँ नदिएको भन्दै उहाँले भन्नुभयो “ अव भग्वानले मलाई लग्दा नि हुन्थ्यो ।” 
मिश्रीलालको दुःख 
मुसहर वस्तीका का ५० बर्षीय मिश्रिलाल सादाको घरपरिवारमा छोराछोरी आफै लगायत १० जना सदस्य छन् ।  वर्र्षौंदेखि उनका परिवारका  १० जना सदस्य एउटै छाप्रोमा रात काट्दै आएका छन् । उहाँले भन्नु हुन्छ ‘ बर्षाको बेला घर चुहिएर रातभरी उठेरै सबपरिवार रात काट्नु पर्छ । अहिले जाडो लाग्दा ओड्ने ओछ्याउने नहुँदा परालमै सुत्छौं । परालकै गुन्द्री ओड्छौं । घरमै चुलोमा खाना पकाउँदा आगो लागने डर हुन्छ ” । यसरी नै आफ्ना पुस्ता वर्षौदेखि जीवन काट्दै आएको मिश्रलालको भनाई छ । आफु जंगलबाट दाउरा टिपेर बेचेर र ज्यालामजदुरी गरि घरपरिवार जेनतेन चलाउँदै आएको उहाँ बताउनु हुन्छ ।
टुटेर खस्नै लागे झगरुको घर
झगरु सदाको घर खस्ने अवस्थामा छ । सानो टालीले छाएको छानो घरको बनेरी भाँचिएर अलिक अड्किएको छ । कति बेला खसेर सपरिवार चेपिने ठेगान छैन । तर पनि उनका परिवारका चार जना सदस्य त्यही जीर्ण घरमा रात विताउँछन् । खाना खान्छन् र सुख दुःखका कुरा गर्छन् । दैनिक ज्याला मजदुरी गरी झगरुको परिवार चल्छ । झगरुले भन्नुभयो“ज्याला मजदुरी नगरे साँझ चुलो पनि जल्दैन । यो घरको मर्मतसम्भार कसरी गरु ।” मरनी , मिश्रीलाल र झगरु एउटा सानो उदाहरणका पात्र मात्र हुन् । उनीहरु जस्तै केहि कम र केहि बढी सबैका दुःखका कथा व्यथा र जीवन चर्या उस्तै छ । 
मुसहर किन पछि परे ?
महोत्तरीको बर्दिबास अहिले निकै चर्चाको ठाउँ बनेको छ । मधेश आन्दोलनपछि बर्दिबास रातारात चमिकन पुग्यो । त्यपछि बर्दिबास(सिन्धुली (काठमाँडौको विपी राजमार्गलेपनि बर्दिबासको नाम पछिल्लो समय चर्चामा ल्याएको छ । बर्दिबासबाट ६ घण्टामै पूर्वी मधेशबाट  राजधानी पुग्न दु्रत मार्गको प्रवेश बार्दिबासबाटै हुने भएपछि यति खेर बर्दिबास चर्चामा छ । यति हुँदा हुदैं पनि  बर्दिबास  चोक भन्दा ढेड किलो मिटर दक्षिणमा रहेको मुसहर बस्तीको अवस्था कहालि लाग्दो छ । बर्दिबासको सबै स्थानमा राज्यको सुख सुविधान पुगेपनि  दलित मुसहरहरुको पहँुचमा राज्यको सुविधा पुगेको छैन । दिन भरी पसिना बगाएर मालिकको महल ठडिएपनि उनीहरुको सुत्ने घर भने पराले झुपडी छन् ।
प्रजातन्त्र प्राप्तिका पछिल्ला दिनहरुमा आन्दोलन गर्ने, संगठित हुन सक्ने र आफ्नो समुदायको हितमा जनता ओराल्न सक्नेकै कुरा राज्यले सुन्न बाध्य भएको देखिन्छ । तर, मुसहर समुदाय यस हिसाबले अघि बढ्न नसक्दा राज्यका अवसरमा उनीहरुको पहुँच हुन नसकेको जिल्लाका पाका पत्रकार गोपाल बराल बताउँछन् ।राजनीतिक जागरण, सामाजिक सचेतना, शिक्षा र नागरिकका अधिकारबारे अनभिज्ञ हुँदा मुसहरहरु राज्यको आँखामा पर्न नसकेका पत्रकार बरालको भनाई छ ।
पछिल्लो एक वर्षको अवधिमा केहि परिवर्तन
पछिल्लो एक वर्षको अवधिमा अत्यन्त दयनीय मुसहर बस्तमा केहि परिवर्तण आएको छ । समाजिक अभियन्ता तथा पत्रकार राजकरण महतोले दुई वर्ष अघिदेखि त्यस मुसहर वस्तीलाई लक्षित गर्दै समाचार लेख्दै आउनुभएको थियो । तर त्यसबाट पनि केहि सुनुवाई भएन । केहि परिवर्तण भएन । एक वर्ष अघि यहि मौसममा पूर्वपश्चिम सरसफाई अभियानको क्रममा नेपालका हाँस्य व्यंग्य कलाकार तथा वरिष्ट समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बर्दिबासमा आउँदा पत्रकार महतोले नजिकै रहेको मुसहर बस्तीमा एक पटक भ्रमण गर्न अग्रह गर्नुभएको थियो । त्यस पश्चात मुसहर वस्तीमा धुर्मुस सुन्तली पुगेदेखि सरसफाई लागयतको विभिन्न अभियानहरु सञ्चालन हुँदै आएको छ । एक वर्ष अघि त्यस वस्तीमा सडकबाटो , विद्यालय, खानेपानी , शौचालय थिएन । तर पत्रकार समाजसेवी र धुर्मुस सुन्तलीको अभियानले अहिले वस्तीमा सडकबाटो बनेको छ । चार महिना अघि विद्यालय बनेको छ । त्यस बस्तीमा सामुहकि र व्यक्तिगत शौचालय निर्माण भएको छ । चार दिन अघि मात्र त्यस वस्तीमा झण्डै ६० वार्ष पश्चात पानी पुगेको छ । यसले गर्दा अहिले मुसहरह वस्तीको मुहार केहि फेरिएको छ ।  
धुर्मुस सुन्तलीले एकीकृत नमुना बस्ती बनाउने घोषणाले मुसहरहरु हर्षित 
पछिल्लो एक बर्ष यता सामाजिक काममा सक्रिय रहेका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेपछि बर्दिबासको मुसहरहरु हर्षित भएका छन् । बुधबार एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर मुसहर बस्ती निर्माणमा सम्पूर्ण सहयोगी मनसँग अपिल गरे लगतै मुसहरहरुको अनुहारमा आशाको करिण पलाएको छ । 
भूकम्प पीडितका लागि दुईवटा एकीकृत नमूना बस्ती निर्माण गरेर चर्चा कमाएका उनीहरुले मधेश र पहाडको समाजिक सद्भावको गाँठो बलियो बनाउन बर्दिबासको मुसहर बस्ती निर्माणमा गर्ने घोषणा गर्नु भएको छ । पूर्व(पश्चिम राजमार्ग  सरसफाइका क्रममा गत बर्ष धुर्मुस(सुन्तली यस मुसहर बस्तीमा पस्नु भएको थियो । तराई (मधेसमा बसोबास गरेका दलितहरु मध्य मुसहर जाति सबै भन्दा गरिव र विपन्न मुसहर समुदाय हो ।
भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् । सिताराम कट्टेल धुर्मुसले उज्यालोसंग कुरा गर्दै भन्नुभयो “ एक वर्ष अघि त्यस बस्तीमा पुग्दा मुसहरहरुको अवस्था देखेर भावुक भएका थियौं । त्यहीँ बसोबास गर्ने अन्य समुदायहरुको कति सबल छन् । तर त्यहि मुसहर बस्ती कति पिछडिएका र पीडामा बाँचिरहेका छन् । त्यसैले हाम्रो रोजाईमा दुई वटा बस्ती निर्माण पश्चात तेश्रो त्यहि मुसहर वस्ती नै परेको छ ।” 
उहाँले अव १० ।१५ दिन भित्रै एकीकृत नमुना बस्ती निर्माणको काम शुरु गर्ने  र आउँदो बैशाख १ गते भित्र बनाएको घर मुसहर समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो । आफुहरुसमेत त्यस बस्ती निर्माणको लागि लग्ने र सम्पूर्ण सहयोगीहातहरुको सहयोगले बस्ती निर्माण हुने उहाँको भनाई छ । 
कुल ४ करोड ७८ लाख लगानीमा निर्माण हुने मुसहर एकीकृत बस्तीका लागि फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैयाँ खर्च गर्ने धुर्मुश(सुन्तली फाउण्डेशनका परियोजन संयोजक अर्जुन न्यौपानेले बताउनुभयो । जीर्ण छाप्रो फेरीने थाहा पाएका मुसहर समुदायमा कल्पनासमेत नगरेको खुसी छ । तीन पुस्तादेखि पराले झुपडी फेरीने खबरले मुसहरु निकै खुसी छन् । उनीहरुले बुधबार साँझ बस्तीमा दिपावली गर्दै खुसियाली मनाएका छन् ।
स्थानीय कारी सदाले भन्नुभयो ‘ हाम्रो घर बन्छ ,भनेर हामीले जीवनमा कहिले सोंचेकै थिएन । हामी गरिवको जीवन यस्तै हो भनेर दुःखलाई पचाएर बस्यौं । अब हाम्रो पनि अरुको भन्दा राम्रो घर बन्ने भयो ।’ हाम्रो खुसीको सिमा छैन । ”
 जंगलबाट दाउरा ल्याएर जिवीका चलाउने सुनिता सदाले आफुहरुको हाम्रो घर बन्ने खुसीले हामीमा आशाको किरण पलाएको बताउनुभयो । त्यस्तै स्थानीय मनिषा सदाले भन्नुभयो ‘हाम्रो दुःख बुझ्ने पनि कोही छन् । अब नयाँ घरमा सब परिवार खुशीले बस्छौं ।’ अहिले मुसहर वस्तीमा चर्चाको कुरै यिनै हुन् । मुसहरहरुले भन्दैछन् अरुले त के भग्वानले पनि हाम्रा दुःख बुझ्न सकेनन् । तर भग्वान भन्दा ठुला भग्वान हाम्रा लागि धुर्मुस सुन्तली नै छन् । जसले हाम्रो सुखको लागि उहाँले हाम्रा घाउमा मलहम पट्टी लगाउन उभिनुभो । सबैको मनमा उत्साह छ । कल्पना गरिहेका छन् एउटा सुन्दर बस्तीको ।
धुर्मुस सुन्तलीलाई मुसहर बस्ती बनाउन एकै जनाले दिए ४० लाख
 तेस्रो एकीकृत वस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ। प्रकाश कोइरालाको लुरेन्स कन्टूक्टीङ एण्ड जेनेरल क्लीनीङ कम्पनीको तर्फबाट एकीकृत नमुना मुसहर वस्ती निर्माणका लागि उक्त सहयोग प्राप्त भएको हो । आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।
नेफ्टा अवार्डमा सहभागी हुन पुगेका हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई आउने खबर पाएकाले सहयोग हस्तान्तरणका लागि आफू आएको कोइरालाले बताएका छन्। उनले भने, ‘धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग खेर गएन। त्यसैले तेस्रो वस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण गर्न कतारबाट दुबई आइपुगेको हुँ ।’
उनले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ६ लाख रुपैँया नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए ।  फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफूलाई निकै प्रफुल्लित तुल्याएको बताएका छन् । 
मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको वस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन्। उनले भनिन, ‘हामीले आँट गरेका छौँ, सहयोगी हातहरुको साथले हाम्रो पाइला अघि बढाउन मद्धत गर्ने छन् ।’ आफ्नो ठाउँबाट सकेको सहयोग गर्न उनले अपिल पनि गरेकी छन् ।

२०७३ पौष १० गते आईतबार
 


 


No comments:

Post a Comment