Monday, December 26, 2016

जनकपुरको स्वास्थ्य क्षेत्रमा बढ्दो अराजकता ९० प्रतिशत स्वास्थ्य संस्थाहरु अवैधानिक, सम्बन्धित निकाय मौन

जनकपुर अञ्चल अस्पताल रोडमा रहेका अवैधानिक
 स्वास्थ्य संस्था तथा स्वास्थ्य क्लिनिकहरु ।
अजय अनुरागी
जनकपुरधाम...........
धनुषामा अवैधानिक रुपले निजी क्षेत्रका अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक तथा प्याथोलोजीहरु संचालित रहेको भएपनि जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले कारवाही गरेको छैन । बर्षौं देखि त्यस्ता गैरकानुनी तथा अवैधानिक स्वास्थ्य संस्थाहरु जनकपुरमा संचालनमा रहेका छन् । मानवको जनस्वास्थ्यसँग खेलवाड गर्दै आएका ती स्वास्थ्य संस्थाहरुलाई कारवाही गरी सिज नगरेको कारण नै आज यस्तो अवस्था आएको छ कि जनकपुरका ९० प्रतिशत भन्दा वढी स्वास्थ्य संस्थाहरु अवैधानिक पाईएको छ । यसरी कारवाही नगरिँदा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख सच्चिदानन्द देव र दर्ता तथा अनुगमन गर्ने जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरले ती अवैधानिक स्वास्थ्य संस्था संचालकहरुबाट मोटो रकम मासिक कमिशन खाने गरेको हो कि भन्ने आशंका पनि स्थानीयवासीहरुले गर्न थालेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाको अभिलेख अनुसार जिल्लामा १० वटा स्वास्थ्य क्लिनिक, १० वटा पोलिक्लिनिक, ५ वटा डेन्टल क्लिनिक, ३ वटा अल्टूासाउण्ड तथा इमेजिङ सेन्टर र १० वटा स्वास्थ्य क्लिनिक मात्र दर्ता भएको पाइन्छ । जब कि जनकपुरमा त्यस्ता स्वास्थ्य संस्थाहरु दिन प्रति दिन खुलिरहेका छन् । जनकपुर सिटी हस्पिटल, जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर, राम जानकी अस्पताल, जनकपुर अर्थोपेडिक अस्पताल, मिथिलाञ्चल सिटी अस्पताल, केयर मेडिकल सेन्टर प्रा.लि., गोदावरी मोर्डन हस्पिटल, धनुषा हस्पिटल र बछार प्रसुति केन्द्र गरी कुल १० वटा अस्पताल तथा नर्सिङ होम मात्र जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाबाट दर्ता गराई अनुमति लिई व्यवसाय संचालन गरेको पाइन्छ । तर, जनकपुरमा डा.किरण यादवले संचालन गरेको समर हस्पिटल, डा.प्रिया रंजनले संचालन गरेको आर्या एण्ड कियोर अस्पताल, डा.राघवेन्द्र झाले संचालन गरेको ओम दिघायू हस्पिटल, डा.निलम चौधरीले संचालन गरेको आस्था हस्पिटल, डा.नागेन्द्र प्रसाद यादवले संचालन गरेको आराध्या हस्पिटल लगायत दर्जनौं निजी क्षेत्रका अस्पताल तथा नर्सिङ होमहरु विना दर्ता अवैधानिक तरिकाले संचालनमा रहेको पाइन्छ ।
त्यसैगरी डेन्टल क्लिनिक तर्फ डा.अजय साहले संचालन गरेको अप्पन डेन्टल चेम्बर्स, डा.संजन ठाकुरले संचालन गरेको द डेन्टल होम, डा.विजय प्रसाद साहले संचालन गरेको सिता डेन्टल क्लिनिक, डा.उमेश कुमार यादवले संचालन गरेको धनुषा डेन्टल क्लिनिक र डा. सोनम गुप्ताले संचालन गरेको साँई अर्थोडेन्टिक एण्ड कस्मेटिक डेन्टल क्लिनिक गरी मात्र कुल ५ वटा डेन्टल क्लिनिकहरु दर्ता भई संचालन भएको पाइएको छ । यसका अतिरिक्त करिब ४ दर्जन भन्दा वढी डेन्टल क्लिनिकहरु तथा अस्पतालहरु अवैधानिक रहेका छन् ।
राम जानकी डेन्टल हस्पिटल, नेपाल डेन्टल हस्पिटल, नेपाल एण्ड फिजियो डेन्टल अस्पताल, माँ भगवती डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर जस्ता डेन्टल अस्पतालहरु दर्ता नै नगरी संचालित छन् । त्यस्तै डेन्टल तर्फ मात्रै थुप्रै चिकित्सकहरुले संचालन गरेको स्वास्थ्य क्लिनिक पनि अवैधानिक रहेको पाइएको छ । जनकपुर अञ्चल अस्पतालमा कार्यरत सबैभन्दा सिनियर चिकित्सक डा. शशी ठाकुर, नेपाल डेन्टल एसोशिएशन धनुषाका अध्यक्ष डा.रविन्द्र कुमार पाण्डे, डा.कुन्दन मिश्रा, जानकी डेन्टलका संचालक डा. अनिता राय, जनकपुर डेन्टलका संचालक डा. कपिलदेव यादव, राजदेवी डेन्टल क्लिनिकका संचालक डा.राजिव शर्मा, पोलियन डेन्टलका संचालक डा.मुकेश पाण्डे, नर्सिङ डेन्टल केयरका संचालक डा. ऋषिकेश प्रताप साह, संजिवनी डेन्टलका संचालक डा.संजय गुप्ता लगायतले संचालन गरेको डेन्टल क्लिनिकहरु पनि जनस्वास्थ्यमा दर्ता नै नगराई  गैरकानुनी ढंगले संचालनमा रहेको पाइन्छ । त्यसैगरी लक्की डेन्टल, जनसेवा डेन्टल क्लिनिक, प्रियासी डेन्टल क्लिनिक, नेपाल डेन्टल हाउस, मिथिला डेन्टल केयर सेन्टर, बजरंग डेन्टल, सुयोग पोलिक्लिनिक एण्ड डेन्टल क्लिनिक, डा.विरेन्द्र कुमार साहद्वारा संचालित विरेन्द्र डेन्टल केयर सेन्टर, डा.संजिव कुमार यादवद्वारा संचालित अन्नपुर्ण डेन्टल क्लिनिक, डा. निमु यादवद्वारा संचालित मुस्कान डेन्टल क्लिनिक पनि अवैधानिक छ । जिल्लाको ग्रामिण क्षेत्र अन्तरगत तारापट्टीमा सोनाक्षी डेन्टल, विरेन्द्र बजारमा स्माईल डेन्टल, ढल्केवरमा ढल्केवर डेन्टल, महेन्द्र नगरमा क्षिरेश्वर डेन्टल, चिरायू डेन्टल, प्रभात डेन्टल गरी  ४ वटा डेन्टल क्लिनिक, सपहीमा श्रीराम डेन्टल, धनुषाधाममा दुईवटा डेन्टल क्लिनिकहरु दर्ता नगरी अवैधानिक रुपले संचालनमा रहेको छ । राजदेवी डेन्टल केयरका संचालक डा.शैलेन्द्र कुमार महतो अहिले नक्कली सर्टिफिकेट रहेको आरोपमा निलम्बित भएको पाइन्छ । त्यसैगरी स्रोतका अनुसार डेन्टल तर्फ डा.संजिव कुमार यादव, डा.दिपेन्द्र साह, डा.विरेन्द्र कुमार साहको एनएमसी नम्बर पनि रहेको छैन । स्रोतका अनुसार उनीहरु चिकित्सकका लागि आवश्यक प्रमाण पत्र नरहेको तथा डाक्टरको अध्ययन कोर्षको परीक्षा नै पास नभएकाले एनएमसी प्राप्त नगरेको भएपनि उनीहरु जनकपुरमा उपचार गरिरहेको पाइन्छ । डा. प्रविन मिश्रको डेन्टल क्लिनिक जनकपुरमा संचालित छ । तर, उनी काठमाण्डौमा मात्र उपचार गर्छन् । तै पनि उनको क्लिनिकमा डा.रामस्नेही साहले उपचार गरिरहेको बताइन्छ ।
पोलिक्लिनिक तर्फ हेर्ने हो भने जनकपुर १२ मा डा.रुद्रनारायण झाद्वारा संचालित संजिवनी मेडिकल एण्ड सेफ मदरहुड सेन्टर प्रा.लि., धनुषाधाम ३ मा निराजन कुमार यादवद्वारा संचालित राजाराम यादव मेमोरियल पोलिक्लिनिक प्रा.लि., क्षिरेश्वरनाथ ६ मा रघुनाथ साहद्वारा संचालित एएसआरबि हेल्थ केयर एण्ड डायगनेस्टिक सेन्टर प्रा.लि., विरेन्द्र बजार ४ मा डा.मुन्द्रिका पटेलद्वारा संचालित उत्तम पोलिक्लिनिक, जनकपुर ब्रम्हपुरीमा डा.महेश महासेठद्वारा संचालित नवजीवन हेल्थ केयर प्रा.लि., जनकपुर १० मा डा.पियूश कुमारद्वारा संचालित प्रिसा पोलिक्लिनिक, जनकपुर ८ मा रामकृपाल सिंहद्वारा संचालित राजदेवी पोलिक्लिनिक, जनकपुर ८ मा निता जयसवालद्वारा संचालित मिहिलाल सिटी स्कयान पोलिक्लिनिक, डा.जितेन्द्र कुमार यादवद्वारा लक्ष्मिनिया बजारमा संचालित देव पोलिक्लिनिक र जनकपुर रामानन्द चौकमा जयन्ती कुमारी साहद्वारा संचालित शिवगुरु प्राथमिक उपचार पोलिक्लिनिक गरी कुल १० वटा पोलिक्लिनिकहरु मात्र जिल्लामा दर्ता भएको पाइन्छ । यसका अतिरिक्त संचालित रहेका दर्जनौं पोलिक्लिनिकहरु अवैध छन् । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरका अनुसार अहिले रहेको १० वटा पोलिक्लिनिकहरु मध्ये डा.रुद्रनारायण झाले पहिले १५ बेडको अस्पताल र डा.महेश महासेठले २५ बेडको अस्पताल दर्ता गराएका थिए । तर, ती अस्पतालहरुको भवन भुकम्प प्रतिरोधात्मक नरहेकाले अस्पतालबाट पोलिक्लिनिकमा झारिएको हो । मुख्य कुरा के हो भने अस्पतालमा बेड सिट, बेड संख्या आदि तय गरी विरामीलाई भर्ना गरी चौविसै घण्टा उपचार प्रदान गरिन्छ । तर,पोलिक्लिनिकहरुमा एक ठाउँबाट ओपिडी सेवा, ल्याव सेवा, एक्स रे सेवा, अल्टूासाउन्ड, इन्डोस्कोपी, खोप सेवा, परिवार नियोजन सेवा, प्रसुति सेवा लगायतका सेवाहरु मध्ये कम्तिमा ५ वटा सेवाहरु प्रदान गरिनुपर्ने हुन्छ । र, पोलिक्लिनिकमा विरामीलाई भर्ना गरी उपचार गराउन पाइन्न । तर, जनकपुरमा संचालित कतिपय पोलिक्लिनिकमा मापदण्ड विपरित विरामीहरुलाई भर्ना  गरी उपचार समेत गर्ने गरिएको छ । त्यसको अनुगमन समेत हुन सकेको छैन ।
स्वास्थ्य क्लिनिक तर्फ हेर्ने हो भने रामानन्द चौकमा शम्भु प्रसाद यादवद्वारा संचालित शान हेल्थ केयर, अस्पताल रोडमा डा. जामुन प्रसाद सिंहद्वारा संचालित संकट मोचन बाल क्लिनिक, अस्पताल रोडमै डा.राजेश कुमार साहद्वारा संचालित मिथिला हार्ड एण्ड डायनोस्टिक सेन्टर, ब्रम्हपुरीमा डा. रामकिशोर साहद्वारा संचालित पार्वती हार्ड सेन्टर, जनकपुर २ डा.कल्पना बछारद्वारा संचालित बछार प्रसुति सेवा केन्द्र, अस्पताल रोडमा डा. अरुण कुमार गुप्ताद्वारा संचालित अमृत क्लिनिक, डा.सुरेन्द्र कुमार सिंहद्वारा संचालित काव्य क्लिनिक, डा.दिपक गुप्ताद्वारा संचालित सिता बाल क्लिनिक, डा.रामविनय चौधरीद्वारा संचालित आरबि अर्थोक्लिनिक र डा. अनिल कुमार ठाकुरद्वारा संचालित अर्थोपेडिक तथा टूमा सेन्टर मात्र जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा दर्ता भएको पाइन्छ ।
नेपाल चिकित्सक संघ धनुषामा मात्रै डेढसय भन्दा वढी चिकित्सकहरु सदस्य छन् । त्यसैगरी नेपाल डेन्टल संघ धनुषामा २३ जना भन्दा बढी चिकित्सकहरु सदस्य छन् । यसरी हेर्ने हो भने प्रत्येक बर्ष २० देखि २५ जनाको संख्यामा जनकपुरमा नब चिकित्सकहरुको प्रवेश हुने गरेको छ । समग्रमा भन्ने हो भने करिब ३ सयको हाराहारीमा जनकपुरमा चिकित्सकहरुले स्वास्थ्य क्लिनिक संचालन गरेका छन् । तर, ती सबै स्वास्थ्य क्लिनिकहरु दर्ता नै नगरी संचालित छन् ।
त्यसैगरी जनकपुरको अस्पताल रोडमा डा.जितेन्द्र कुमार मण्डलद्वारा संचालित लक्की अल्टूासाउन्ड एण्ड इमेजिङ सेन्टर, डा.महेश महासेठद्वारा संचालित ग्यास्टूो केयर एण्ड इन्डोस्कोपी सेन्टर र कृष्ण कुमार महतोद्वारा संचालित डायमण्ड अल्टूासाउन्ड इमेजिङ सेन्टर मात्र दर्ता भएको छ । यसका अतिरिक्त जनकपुरमा संचालित अल्टूासाउन्ड तथा इमेजिङ सेन्टरहरु विना दर्ता कै संचालित छन् । कतिपय अल्टूा साउन्डका संचालकहरुले मोटो रकम लिएर प्रसुतिहरुको गर्भमा रहेको भ्रुणको पहिचान गरेर बताउने गरेका छन् । जो कि कानुन विपरित हो ।
जनकपुरमा ३ सय भन्दा वढी प्याथोलोजीहरु संचालित छन् । चिकित्सकहरुले लेखेको जाँच परीक्षणका लागि ती ल्यावहरु संचालित छन् । तर, विडम्बना कस्तो छ भने जनकपुरको अस्पताल रोडमा सुनिल कुमार मण्डलद्वारा संचालित सुनैना प्याथोलोजी मात्र जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता गरिएको छ । अरु सबै प्याथोलोजीहरु अवैधानिक हुन । चिकित्सकहरुले पनि मोटो रकम कमिशन लिने गरेका छन् । एक्स रे जाँचका लागि जनकपुरमा थुप्रै एक्स रे सेन्टरहरु संचालित रहेपनि एउटा पनि दर्ता गरिएको छैन ।
विना दर्ताको औषधि पसल
नेपाल औषधि व्यवस्था विभागको तथ्याङक अनुसार हाल उक्त विभागमा दर्ता भई नियमनको दायरामा लगभग १७ हजार औषधि दर्तामा रहेको, २१ हजार औषधि विक्रेता तथा वितरक, १२४ स्वदेशी औषधि उत्पादक तथा ३ सय विदेशी उत्पादक स्वीकृत रहेका छन् । जनकपुर अञ्चल औषधि व्यवसायी संघ धनुषाका अनुसार यस अञ्चल अन्तरगत करिब ४ सय ३७ औषधि विक्रेताहरु दर्ता गरी संचालित छन् । जसमध्ये ७० वटा विक्रेताहरु थोक विक्रेताको रुपमा रहेको तथा बाँकी खुद्रा विक्रेताको रुपमा रहेका छन् । नेपाल औषधि व्यवसायी संघ धनुषाका पुर्व अध्यक्ष तथा बर्तमान केन्द्रिय सदस्य गणेश प्रसाद साहका अनुसार यस अञ्चल भरी करिब २ हजार औषधि विक्रेताहरु छन् । ती विक्रेताहरु दर्ता नै नगरिकन वा अनुमति नै नलिईकन संचालित छन् । त्यसमा पनि जनकपुरमा के पाइएको छन् भने डि फामेर्सी बि फार्मेसी गरेका विक्रेताहरुले आफ्नो नाउँमा औषधि विक्रेताको अनुमति लिए पनि त्यो अनुमति पत्रलाई भाडामा लगाउने गरेका छन् । यति मात्र होइन, जनकपुरमा संचालित कतिपय औषधि पसलहरुमा औषधि व्यवस्था विभागमा दर्ता नगरिएका औषधिहरु, प्रतिबन्ध लगाइएका औषधिहरु, औषधि उत्पादकहरुद्वारा नमुनाका लागि वितरण गरिएका औषधिहरु पनि गैरकानुनी तरिकाले बेच्ने गरेका छन् । औषधि पसलहरुको बेथिती कतिसम्मको छ भने जुन व्यक्तिले अनुमति पाए ती व्यक्ति मरिसकेको भएपनि तीनको नाममा तिनका पारिवारिक सदस्यहरुले पसल चलाईरहेका छन् । प्रशिक्षण प्राप्त गर्नेले मात्र वा अनुमति प्राप्त गरेको व्यक्तिले मात्र औषधि बेच्नुपर्ने हो । तर, तिनका श्रीमति, छोरा, छोरी वा अन्य पारिवारिक सदस्यहरुले औषधि पसलमा औषधि बेचिरहेको पाइन्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख सच्चिदा नन्द देवका अनुसार जनकपुरमा स्वास्थ्य क्षेत्रको अवस्था अत्यन्तै अराजक छ । पटक पटक दर्ता गराई अनुमति लिई स्वास्थ्य संस्था संचालन गर्न भनेपनि गरिएको छैन । अब केही दिन भित्रै स्थानीय प्रशासनको मद्दत लिई  अनुगमनको संयूक्त टोली बनाई अनुगमन गरिनेछ र दर्ता वा अनुमति विना संचालनमा रहेको स्वास्थ्य संस्थाहरुलाई कारवाही गरिनेछ ।
स्वास्थ्य मन्त्रालयको कडा निर्देशन
स्वास्थ्य मन्त्री गगन थापा जनकपुर भ्रमणमा आएको बेला विना दर्ता संचालित सबै खाले स्वास्थ्य संस्था माघ ३० भित्रमा दर्ता गरी अनुमति लिन निर्देशन दिएका छन् । त्यस भन्दा बाहेक विना दर्ता संचालित हुने त्यस्ता स्वास्थ्य संस्थाहरुलाई बन्द गरिने मन्त्री थापाले प्रष्ट रुपमा चेतावनी समेत दिएका छन् ।
सुशासन(व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४५ बमोजिम नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका, २०७० को दफा ३ मा कसैले पनि यस निर्देशिका बमोजिम अनुमति नलिई स्वास्थ्य सेवा संचालन गर्न नपाइने व्यवस्था गरेको छ । ८ मंसिर २०७३ मा स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत कृष्ण प्रसाद सुवेदीद्वारा स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयूर्वेद विभाग, राष्टिूय जनस्वास्थ्य प्रयोगशाला, क्षेत्रिय स्वास्थ्य निर्देशनालयहरु धनकुटा, हेटौडा, पोखरा, सुर्खेत, डोटी र सबै जिल्लाका जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालयहरुलाई गरिएको परिपत्रमा कडा रुपमा निर्देशन दिइएको छ । स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट गरेको अनुगमनको क्रममा केही स्वास्थ्य संस्थाहरुले अनुमति नलिई वा अनुमति पत्र नविकरण नगराई गैरकानुनी रुपमा स्वास्थ्य संस्थाहरु संचालन गरेको देखिन आएकोले यसका नियमन गर्ने शिलशिलामा ‘स्वास्थ्य संस्थाहरुले संचालन अनुमति लिए नलिएको सम्बन्धमा अनुगमन टोलीद्वारा स्थलगत रुपमा अनुगमन गर्ने कार्य गरिरहेको हुँदा यो आदेश जारी हुनुभन्दा अघिकै मितिमा निवेदन दर्ता भई प्रक्रियामा रहेका स्वास्थ्य संस्थाहरुका बाहेक अर्को आदेश वा निर्देशन जारी नहुँदासम्म अन्यनयाँ स्वास्थ्य संस्था दर्ताको लागि निवेदन नलिने र संचालन अनुमति पनि नदिने’ भन्ने नेपाल सरकार स्वास्थ्य मन्त्री स्तरको मिति ७ मंसिर २०७३ मा निर्णय भएकोले सबै मातहतका निकायबाट उल्लेखित निर्देशनको कडाई साथ पालना गर्न गराउन भनिएको छ ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत कृष्ण प्रसाद सुवेदीद्वारा क्लिनिकल अभ्यास रोक लगाउने सम्बन्धमा नेपाल मेडिकल परिषद, नेपाल नर्सिङ परिषद, नेपाल आयूर्वेद परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल फार्मेसी परिषदलाई परिपत्र मार्फत निर्देशन गरिएको छ । ८ मंसिर २०७३ मा स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा बाट जारी गरिएको उक्त परिपत्रमा के भनिएको छ भने यस मन्त्रालयले गरेको अनुगमनको क्रममा केही स्वास्थ्य संस्थाहरुले अनुमति नलिई वा अनुमति पत्र नविकरण नगराई स्वास्थ्य संस्थाहरु संचालन गरेको देखिन आएको छ । त्यस्ता अनुमति नलिई वा अनुमति नविकरण नभएका स्वास्थ्य संस्थाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेतले क्लिनिकल अभ्यास गर्ने गरेको पाइएकोेले त्यस्ता गैरकानुनी रुपमा संचालन गरिएका स्वास्थ्य संस्थाहरुमा त्यस परिषद अन्तरगत दर्ता भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई क्लिनिकल अभ्यास नगर्न र नगराउन स्वास्थ्य मन्त्री स्तरको ७ मंसिरमा निर्णय भएको छ ।
निजी तथा गैरसरकारी स्वास्थ्य संस्था, अस्पताल, नर्सिङ होम आदि स्थापना तथा संचालन नीति मापदण्ड एवम पुर्वाधारका निर्देशिका बमोजिम पुर्वाधारहरु पुरा गरेर जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा दर्ता गराई अनुमति प्राप्त गरी संचालन गर्नुपर्ने कानुनी प्रावधान छ ।
यसका अतिरिक्त उक्त संस्थाको काम गर्ने आयकर कट्टी गर्न योग्य जनशक्तिको आय कर स्वयम त्यस संस्थाले कट्टा गरी सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा दाखिला गरिनुपर्ने, प्रत्येक महिनाको मासिक प्रतिवेदन जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाउनुपर्ने, स्वास्थ्य मन्त्रालयको नीति, नियम तथा निर्धारित मापदण्ड अनुसार ती सेवा संचालन नभएको पाइएमा जुनसुकै समयमा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले स्वीकृति रद्द गर्न सक्ने कानुनी प्रावधान छ ।

२०७३ पौष १० गते आईतबार

No comments:

Post a Comment