Monday, December 26, 2016

भवन निर्माण तथा विकासका लागि अर्बौंको बजेट प्रक्रिया सुस्त गतिमा अगाडी बढ्दा बजेट फ्रिज हुने डर

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाले चालु आर्थिक बर्षमा विकास निर्माणका लागि २ अर्ब ४ करोड ४२ लाख ४७ हजार ८ सय ६० रुपैयाँ खर्च गर्ने भएका छन् । विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना अन्तरगत भवन निर्माण, सार्वजनिक निर्माणका लागि २ करोड ८७ लाख ६९ हजार ४ सय, भन्सार सुधार कार्यक्रम अन्तरगत भवन निर्माणका लागि ६३ लाख ५२ हजार, आवास व्यवस्था कार्यक्रम अन्तरगत १६ करोड ९२ लाख ८९ हजार ९ सय ६०, सघन सहरी विकास कार्यक्रम अन्तरगत १ अर्ब ६१ करोड ५१ लाख ८५ हजार, भवन निर्माण संहिता सरकारी भवन निर्माण अन्तरगत  १ करोड ६३ लाख ३५ हजार, नमुना एकिकृत बस्ती विकास कार्यक्रम (तराई(मधेस(पहाड(हिमाल) अन्तरगत सार्वजनिक निर्माणका लागि ५ करोड ५९ लाख ३५ हजार, एकिकृत जिल्ला स्वास्थ्य कार्यक्रम अन्तरगत भवन निर्माणका लागि १३ करोड २७ लाख ५० हजार, अयूर्वेद सेवा कार्यक्रम अन्तरगत भवन निर्माणका लागि २९ लाख ५० हजार, पुनर्निमाण तथा पुनस्र्थापन कार्यक्रम अन्तरगत भवन निर्माणका लागि १ करोड ६६ लाख ८१ हजार ५ सय गरी कुल २ अर्ब ४ करोड ८२ लाख ४७ हजार ८ सय ६० रुपैयाँ खर्च गर्ने भएको छ । डिभिजन कार्यालय धनुषाले उक्त रकम धनुषा, महोत्तरी र सर्लाही गरी ३ जिल्लामा खर्च गर्नेछन् ।

विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना
विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना अन्तरगत जिल्लामा सामुदायिक भवन निर्माण, मन्दिर निर्माण, मन्दिर परिसर सुधार, सडक स्तरोन्नति, पुस्तकालय निर्माण, पिसिसी सडक र नाला निर्माण, समशान घाट निर्माण, महजिद निर्माण लगायतका कार्यक्रमहरु रहेको छ । विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना अन्तरगत धनुषाको क्षिरेश्वर नगरपालिका वडा नं. १ स्थित सामुदायिक भवन निर्माण, क्षिरेश्वर नगरपालिका वडा नं. ४ कुमरौलमा सामुदायिक भवन निर्माण, सुगा मधुकरही ५ मा सामुदायिक भवन निर्माण, तुल्सीयाही निकास वडा नं. ८ मा संगम सामुदायिक भवन निर्माण, दुहवी ६ मा क्रियापुत्री भवन निर्माण, क्षिरेश्वर नगरपालिका १० मा औरहा सामुदायिक भवन निर्माण, मंगलपुर ३ मा सामुदायिक भवन निर्माण, क्षिरेश्वर नगरपालिका  ६ स्थित कबिर कुट्टी भवन निर्माण, लक्ष्मिनिया बजारमा कबिर कुट्टी भवन निर्माण, अन्दुपट्टी ९ मा सामुदायिक भवन निर्माण, जनकपुर १४ मुजेलिया पश्चिम टोलमा सामुदायिक भवन निर्माण, तुल्सीयाही जब्दी ६ मा सामुदायिक भवन निर्माण, धनौजी गाविस ६ मा सामुदायिक भवन निर्माण, लक्ष्मीनिया बजारमा सहिद कामेश्वर कुशेश्वर स्मृति भवन निर्माण, बनिनियामा सामुदायिक भवन निर्माण, सिनुरजोडा ६मा पुस्तकालय भवन निर्माण, मिथिलानगरपालिका ढल्केवर ६ मा सामुदायिक भवन निर्माण, जनकपुर १४ स्थित ओम शान्ति मिथिला बाटिका भवन निर्माण, दुहवी १ स्थित सहिद सरोज प्रसाद कोइराला अतिथिगृह निर्माण, अन्दुपट्टी ८ कटरैत बडकाटोलमा सामुदायिक भवन निर्माण, बहेडाबेला ६ मा सामुदायिक भवन निर्माण, मिथिलेश्वर निकास गाविस ललियाटोल स्थित सरस्वती यूवा क्लवको अधुरो भवन निर्माण, जनकपुर ९ स्थित हनुमान मन्दिर परिसर निर्माण सुधार कार्य, सपही ८ स्थित विपी सामाजिक सेवा केन्द्रको भवनमा पुस्तकालय तथा सभा हलको तल्ला थप गर्ने कार्य, जनकपुर उपमहानगरपालिका स्थित महाराज सागर पगलाबाबा धर्मशाला निर्माण, तुल्सीयाही निकास ९ स्थित प्राचिन दुर्गा मन्दिर र ठाकुर पोखरी परिसर मर्मत सुधार, क्षिरेश्वर नगरपालिका अवस्थित प्रहरी कार्यालयको सामुने देखि क्षिरेश्वर मावि चन्द्रपुर, रमदैया, सपही हुँदै निकाल गाउँसम्मको सडक स्तरोन्नति, गोपालपुर गाविसको प्रस्टोकी गाउँ देखि चौहर्वा गाउँ हुँदै ठेरा गाउँको पश्चिम छेउ हुँदै जमुनिया गाउँ हुँदै बेंगा गाउँसम्मको सडक स्तरोन्नति, सपही र अगिलेशवा गाउँहरुको बीच हुँदै गएको हाईवे बाट अगिलेशवा गाउँ हुँदै सिटीइभिटीद्वारा निर्माणाधिन पोलिटेक्निक इन्स्टिच्यूट हुँदै गजरिया गाउँ सम्मको सडक स्तरोन्नति, जनकपुर उपमहानगरपालिका १ रेल्वे लाईन शिवपथ रोड देखि पुलचौक सम्म पिसिसी र नाला निर्माण, मिथिला नगरपालिका वडा नं. ३ स्थित जम्काभेट पुस्तकालय निर्माण गर्ने योजना रहेको छ ।

त्यसैगरी जनकपुर उपमहानगरपालिका वडा नं. १५ रामपुर स्थित डिहवार स्थान मन्दिर परिसर मर्मत सुधार, जनकपुर १० स्थित चित्रगुप्त सेवा समिति अन्तरगतको सभाहल निर्माण, शान्तिपुरमा धर्म मन्दिरमा धर्मशाला निर्माण, क्षिरेश्वर नगरपालिका ५ स्थित राधाकृष्ण मन्दिर परिसर मर्मत सुधार, जनकपुर ९ डिहवार स्थान स्थित रामजानकी मन्दिर परिसरमा धर्मशाला निर्माण सुधार कार्य, जनकपुर७ स्थित दुधमती समशान घाट निर्माण, शान्तिपुर ९ स्थित दुर्गामन्दिर परिसर सुधार, मिथिलेश्वर निकास ६ स्थित ललियामा शिव मन्दिर परिसर मर्मत सुधार, मिथिलेश्वर निकास ४ स्थित राधाकृष्ण मन्दिर परिसर मर्मत सुधार, मानसिंहपट्टी ७ स्थित रामजानकी मन्दिर परिसर मर्मत सुधार, बनिनिया २ स्थित दुर्गा मन्दिर परिसर मर्मत सुधार, जनकपुर २५ मा तारा स्वर्गद्वारी (मसान घाट)मा पुर्वाधार विकास, लगमा गाडागुठी ९ स्थित हनुमान मन्दिर परिसर मर्मत सुधार, सोही गाउँमा दुर्गा मन्दिर परिसर मर्मत सुधार, पौडेश्वर ५ स्थित पुणेश्वरनाथ मन्दिर मर्मत सुधार, जनकपुर १४ प्रगति नगरमा मन्दिर परिसरमा मर्मत सुधार, तुल्सीयाही १ स्थित महारानी थान परिसर मर्मत सुधार, नगराईन ४ स्थित राघोबाबा मन्दिर परिसर मर्मत सुधार, घोडघास २ स्थित भुईया बाबा मन्दिर परिसर मर्मत सुधार, नगराईन १ स्थित भैरव बाबा मन्दिर परिसर मर्मत सुधार, बहेडाबेला २ स्थित डिहवार थान परिसर मर्मत सुधार, तुल्सीयाही ५ स्थित महजिद परिसर मर्मत सुधार, जनकपुर १६ हर्दिनाथ मन्दिर देखि रेल्वे लाईन सम्म पिसिसी र नाला निर्माण, जटही ८ स्थित दुर्गा मन्दिर परिसर मर्मत सुधार, हंसपुर कठपुल्ला स्थित जमुनामाई मन्दिर परिसर मर्मत सुधार, जनकपुर १२ कुवामा भुतही पोखरी मर्मत सुधार, जनकपुर ८ बालमिकीसर पोखरीको उत्तरी डिलमा अधुरो पक्की घाट निर्माणको योजना रहेको छ ।

जनता आवास व्यवस्था कार्यक्रम
आवास व्यवस्था कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषा मार्फत जनता आवास कार्यक्रमका लागि प्रदेश नं. २ को धनुषा, महोत्तरी र सर्लाही गरी कुल ३ वटा जिल्लाका लागि प्रत्येक जिल्लामा १ हजार घर गरी कुल ३ हजार घर निर्माण गरिनेछ । यसका लागि केन्द्रबाट नेपाली कांग्रेसका नेता तथा सांसद आनन्द प्रसाद ढुङ्गानाको संयोजकत्वमा नेकपा एमालेका नेता तथा सांसद शत्रुधन महतो र सदभावनाका सांसद माधवी रानी साह सदस्य रहने गरी समिति समेत बनाइएको छ । ३ वटै जिल्लामा दलित, अपाङ्ग तथा पिछडिएको समुदायका लागि उक्त कार्यक्रम अन्तरगत घर निर्माण गरिनेछ । २ लाख ५० हजारको लागतमा दुई वटा कोठा, शौचालय सहितको पक्की घर निर्माण गरिनेछ । जग्गा नभएका व्यक्तिका लागि गाविसको सार्वजनिक जग्गामा पक्की घर निर्माण गरिनेछ ।

नेपालको संविधानको धारा ४२ उपधारा (२) मा आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुने व्यवस्था भएकोले राष्टिूय दलित आयोगको सूचिमा सूचिकृत भएका दलित, विपन्न मुसलमान तथा सालवसाली रुपमा नेपाल सरकारले बजेट वक्तव्य मार्फत सम्बोधन गरी समेटने लोपोन्मुख र अतिसिमान्कृत जाती तथा समुदायका विपन्न वर्गहरुलाई आवासको व्यवस्थाको लागि आर्थिक बर्ष २०६६÷०६७ देखि व्यवस्था गरिएको छ ।

जनता आवास अन्तरगत लक्षित वर्गको पहिचान गर्नका लागि विगत देखि सो स्थानमा स्थायी बसोवास गर्दै आएको प्रमाण, जग्गा धनी प्रमाण पुर्जा वा घर जग्गाको तिरो वा शुल्क बुझाएको भए सो सम्बन्धी कागजात वा आफु विगत देखि सो स्थानमा बसोवास गरि आएको भन्ने स्थानीय निकायको सिफारिस, विजुली, धारा वा अन्य सुविधा शुल्क बुझाएको कागज, लाभग्राही बसोवास गर्दै आएको घरको भौतिक अवस्था रहेको छ ।
त्यसैगरी लाभग्राहीको छनौटका लागि लाभग्राहीले हाल प्रयोग गरिरहेको घरको क्षेत्रफल, भुई, गारो तथा छानाको किसिम र प्रयोग भएको जग्गाको क्षेत्रफलको आधारमा प्रदान गरिने बताएको छ । लाभग्राहीको छनौट जिल्ला समन्वय समितिले गर्ने तथा छनौट गर्दा वृद्ध, एकल महिला, अनाथ बालबालिका तथा अपाङ्गता भएका घर मुलीलाई पहिलो प्राथमिकता दिने व्यवस्था गरिएको छ । त्यसैगरी सगोलमा रहेका परिवारले एक आवास मात्र पाउने छन् । उक्त कार्यक्रम साधारणतया १० लाभग्राही परिवार बसोवास भएको स्थान वा बस्तीमा कार्यक्रम कार्यान्वयन गरिने छ । तर, छरिएर बसोवास गरेको डोम, अतिसिमान्तकृत तथा लोपोन्मुख जातीको बस्तीको हकमा यो बन्देज लागु हुने छैन । 

कार्यक्रम कार्यान्वयन स्थल पहिचान गर्दा लक्षित वर्गको घर यथा स्थानमा पुर्ननिर्माण हुनेगरी गरिनेछ । तर, प्राकृतिक प्रकोपको जोखिममा रहेको, बन, सिमाक्षेत्रमा परेको वा कुनै कारणबाट विवादित घडेरी भएको स्थानमा कार्यक्रम कार्यान्वयन गरिने छैन । लाभग्राहीले कुल अनुदानको १० प्रतिशत लागत सहभागिता बापत बेहोर्नुपर्ने हुन्छ । यसका अतिरिक्त आवास एकाई निर्माणका लागि आवश्यक पर्ने जस्तापाता, सिमेन्ट, हुक, कब्जा जस्ता निर्माण सामग्रीहरु निर्माण समितिले र सो समिति गठन नभएकोमा लाभग्राही आफैले खरिद गर्नुपर्ने हुन्छ ।

कार्यालयको लापरवाही र फ्रिज हुने डर
मुख्य कुरा के हो भने ती सबै योजनाहरुका लागि केन्द्रबाट बजेट समेत स्वीकृत भईसकेको भएपनि डिभिजन सडक कार्यालय धनुषाको लापरवाहीका कारण हालसम्म टेन्डर समेत आह्वान गरिएको छैन । अन्तिममा आएर हतार हतारमा मात्र काम गर्ने र काम गर्दा गुणस्तरहीन हुने तथा बजेट समेत फ्रिज हुने अवस्था हुँदा हुँदै हालसम्म टेन्डर आह्वान नगरिनुले शंका उत्पन्न भएको छ ।

गत बर्ष २०७२÷०७३ मा मात्रै डिभिजन सडक कार्यालय धनुषाको १० करोड २६ लाख रुपैयाँ फ्रिज भएको थियो । विशेष भौतिक पुर्वाधार तर्फ भवन निर्माण सुधारको २ लाख २८ हजार ८ सय २२ र सार्वजनिक निर्माण सुधारको ७१ लाख ९० हजार ४६  गरी कुल ७४ लाख १८ हजार ८ सय ६८ रुपैयाँ फ्रिज भएको थियो । त्यसैगरी पूजीगत सुधार तर्फको ४२ हजार ९ सय ९० रुपैयाँ, पुनः निर्माण अन्तरगत भवन निर्माणको ६१ लाख ३३ हजार ८ सय ८४ रुपैयाँ, भन्सार सुधार कार्यक्रम अन्तरगत भवन निर्माणको १ करोड ४९ लाख र सार्वजनिक निर्माणको ३७ लाख ४८ हजार १ सय ९६ गरी कुल १ करोड ८६ लाख ४८ हजार १ सय ९६ रुपैयाँ फ्रिज भएको थियो । त्यसैगरी अन्य योजना अन्तरगत २८ लाख ६५ हजार ४ सय २८, आयूर्वेद सेवा अन्तरगत २८ लाख ६४ हजार ८ सय ३० रुपैयाँ, अन्य योजना अन्तरगत ७२ लाख ६८ हजार ८ सय १९ रुपैयाँ फ्रिज भएको थियो । त्यसैगरी सघन सहरी कार्यक्रम अन्तरगत सार्वजनिक निर्माणको लागि १ करोड १९ लाख २५ हजार ९ सय ८४ रुपैयाँ फ्रिज भएको थियो ।

विगतमा रकमहरु फ्रिज भएझैं यस बर्ष स्वीकृत भएको बजेट तथा योजनाहरु पनि समयमै सम्पन्न हुने वा फेरी पनि विकास निर्माणका लागि आएको रकम खर्च गर्न नसकि फ्रिज त हुने होइन भन्ने जिल्लाबासीमा चिन्ता वढेको छ ।


२०७३ पौष १० गते आईतबार

No comments:

Post a Comment