Monday, December 26, 2016

जटहीमा सहिद दुर्गानन्द झा प्रसुति गृह आफ्नै कार्यकालमा निर्माण गर्ने स्वास्थ्य मन्त्री गगन थापाको प्रतिबद्धता

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
स्वास्थ्य मन्त्री गगन थापाले धनुषाको जटहीमा सहिद दुर्गानन्द झा प्रसुति निर्माण गृह आफ्नै कार्यकालमा बनाउने प्रतिवद्धता गरेका छन् । ६ पुष  २०७३ मा सहिद दुर्गानन्द झा प्रसुति गृह निर्माण स्थल निरीक्षण गर्ने क्रममा मन्त्री थापाले प्रतिवद्धता जनाएका छन् । नेपालको गणतान्त्रिक आन्दोलनका प्रथम सहिद दुर्गानन्द झाको नाउँमा जटहीमा बाबुराम भट्टराई अर्थ मन्त्री भएको बेलामा सहिद दुर्गानन्द झा प्रसुति गृह निर्माण गरिने घोषणा गरिएको थियो । प्रसुति गृह निर्माणका लागि जग्गा समेत छुट्याईसकेको भएपनि हालसम्म अस्पताल निर्माणका लागि कुनै पनि काम अगाडी नवढेको बेला स्वास्थ्य मन्त्री थापाले १५ दिन भित्रमा प्रक्रियागत औपचारिकता पुरा गरी आफ्नै मन्त्रीको कार्यकालमा उक्त अस्पताल निर्माण गर्ने पटक पटक प्रतिबद्धता दोहोरयाएका थिए ।
उक्त अवसरमा स्वास्थ्य मन्त्री थापाले सहिद दुर्गानन्द झाकी अर्धाङ्गनी काशी देवी झालाई दोसल्ला ओढाई सम्मान गरेका थिए भने मन्त्री थापालाई नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक तथा जिउँदो सहिद ललन चौधरीले सम्मान गरेका थिए । उक्त अवसरमा बरिष्ठ पत्रकार राजेश्वर नेपालीले केही दिन भित्रै सहिद दुर्गानन्द झाको तस्वीर सहितको हुलाक टिकट नेपाल सरकारले जारी गर्ने बताएका थिए । उक्त अवसरमा नेपाली कांग्रेसका नेताहरु ललन चौधरी, प्रवेश चौधरी, रामपल्टन साह, स्थानीय रोहित चौधरी लगायतले आफ्नो धारणा राखेका थिए ।
मन्त्री गगन थापाको मन्तव्यको पुर्णपाठ
आज यस पवित्र भुमिमा मलाई टेक्ने अवसर प्रदान गरिदिनु भएकोमा तपाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सबैभन्दा पहिले म सहिद दुर्गा नन्द झालाई यहाँ पावन भुमिमा उभिएर उहाँ प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु । उहाँको परिवार प्रति सम्मान  प्रकट गर्न चाहन्छु ।
 म नेपाली कांग्रेसको सदस्य हुँ । जतिखेर हामीहरु १४÷१५ बर्षको उमेरमा नेपाली कांग्रेसको सदस्यता लिँदै थियौं, त्यो बेला थाहा पाएको थोरै नामहरु मध्ये दुर्गा नन्द झा पनि हो । हामीलाई सानै देखि २०४६ सालको आन्दोलन भन्दा अगाडी १३÷१४ बर्षको उमेरमा पञ्चायतका विरुद्ध लड्नका निम्ति जति खेर हाम्रो पार्टीका अग्रजहरु हाम्रो विद्यालयहरुमा आउनु हुन्थ्यो, हामीलाई कामेश्वर कुशेश्वर, दुर्गानन्द झा, रामलक्ष्मण आदिको नाम बताउनु हुन्थ्यो, हामीलाई उत्साहित गर्नु हुन्थ्यो । हाम्रो रगत उमाल्नु हुन्थ्यो त्यसपछि दुर्गानन्द झाले जुन बाटो हिड्नु भयो त्यो बाटो हामी पनि हिड्न सक्छौ भन्ने उद्देश् यबोकेर सडकमा आउँथ्यौं । त्यही पार्टीमा काम गर्ने शिलशिलामा धेरै पछाडी जतिखेर नेपालको राजशाही विरुद्धको आन्दोलनलाई हामीले उठाउने चरणमा पुगेका थियौं, त्यो बेलामा हाम्रो पुस्ताले एउटा सपना देख्यो । नेपालमा कति पुस्ताले राजाका विरुद्धमा आन्दोलन गर्ने । अब यो  लडाईलाई हामीले अन्तिम लडाई बनाउनु पर्छ । नेपालमा गणतन्त्र सम्भव छ, अबको आन्दोलन प्रजातन्त्रको लागि होइन गणतन्त्रको लागि गर्नुपर्छ भनेर पछिल्लो पटक सम्भवतः जनआन्दोलन र शान्तिपुर्ण आन्दोलनमा लागेको मानिसहरु मध्ये त्यही गणतन्त्रको विषय उठाउँदै गर्दा दुई पटक राजद्रोहको मुद्दा खेपेको मान्छे हुँ म । तर, मैले त त्यो मुद्दा खेपेर त्यसबाट बाहिर निस्किएर तपाईहरुको बीचमा उभिने मौका पाएको छु । म जस्तो राजद्रोहीहरुका निम्ति त्यो प्रेरणापुन्ज भनेको सहिद दुर्गानन्द झा जस्तो व्यक्तिहरुले देखाउनु भएको बाटो, जसले त्यतीखेर साहास गर्नुभयो कि नेपालमा राजशाहीको अन्त सम्भव छ, भन्ने सपना धेरै बर्ष पहिला तन्नेरी भएको अवस्थामा उहाँहरुले देख्नुभएको पदचापलाई हामीले पन्छयाउने प्रयास गरेको मात्रै हो । त्यो आँट, त्यो हिम्मत, त्यो साहस त्यही बाट हामीले प्राप्त गरेको हो ।
यही पृष्ठभुमिमा अहिले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालिरहँदा स्वास्थ्य मन्त्रालयकै केही कार्यक्रममा आईरहेको बेलामा मलाई जनकपुर विमान स्थलमा मेरो केही साथीहरुले यो अस्पतालको बारेमा बताउनु भयो । त्यहाँ यसरी अस्पतालको घोषणा गरिएको थियो । तर, घोषणा गरेको बर्षौं वितेपनि अलपत्र ्परेर बसेको छ । त्यति भनेपछि मैले नै मेरो साथीहरुलाई अनुरोध गरेर भनेको हुँ कि म त्यो ठाउँमा एक पटक जान चाहन्छु, त्यो माटोमा एक पटक उभिन चाहन्छु, गएर आफै हेर्न चाहन्छु । किनकी नेपालको गणतान्त्रिक आन्दोलनको पहिलो सहिद दुर्गानन्द झा प्रति मेरो आफ्नो पनि कर्तव्य हो कि जसको बाटो मैले पछ्याएँ, आज मैले जिम्मेवारी पाएको बेलामा यो कुनै बेला डा. बाबुराम भट्टराई अर्थ मन्त्री हुनु भएको बेलामा घोषणा गरिएको छ । त्यस पछाडी यतिकै अलपत्र परेर बसेको अवस्था जुन रह्यो, अब यसलाई टुङ्गयाउने जिम्मेवारी मेरो हो । त्यो जिम्मेवारी बोधका साथ म तपाईहरुको बीचमा आएको छु ।
यो ठाउँ मैले हेरे । जनस्वास्थ्य कार्यालयको प्रमुखलाई लिएर आएको छु । मैले उहाँलाई तपाईहरुका बीच राखेर भन्दै छु कि १५ दिन भित्रमा यहाँ जति पनि कागजातहरु छन्, जति पनि विवरणहरु छन्, त्यो सबै विवरणहरु उहाँले मलाई स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउनु हुन्छ । त्यो विवरण मैले प्राप्त गर्ना साथै रातो कितावमा परेपनि नपरेपनि त्यो कुरा छोडदिनुस् । रातो कितावमा नछुटिएको भए त्यो छुट्याउने जिम्मा मेरो हो । तर उहाँले तत्काल मलाई कागजात उपलब्ध गराउन साथै तत्काल मैले त्यसलाई निर्माणको काममा लग्नका लागि मैले औपचारिकता पुरा गर्नुपर्ने छ । त्यसपछि सहिद दुर्गानन्द झाको नाउँमा यहाँ प्रसुति गृहको अस्पताल बनाउने जुन घोषणा गरिएको छ त्यो घोषणा मेरै पालामा अगाडी वढ्ने छ । त्यो हाम्रो जिम्मेवारी हो । यति पनि कर्तव्य पुरा गर्न सकिएन भने हामीले आफ्नो थुप्रै संस्थापक नेताहरु प्रतिको आदरभाव जनाउँदै गर्दा खेरी दुर्गानन्द झाको आफ्नै गाउँ ठाउँमा एउटा अस्पताल बनाउने जिम्मेवारी पनि यति बोलेर पुरा गर्न सकेनौं भने हाम्रो आफ्नै निम्ति पनि ठुलो लज्जा बोधको विषय हो । मेरो जिम्मेवारी मैले पुरा गर्छु । यहाँहरु सबैको परिवारको सदस्यहरुले कागजात वा विवरणहरु दिनुस । किनभने स्वास्थ्य मन्त्रालयले काम सुरु गर्नका लागि औपचारिक रुपमा यसको जग्गा हाम्रो नाउँमा आएको हुनुपर्दछ । नभए हामीले चाहेर पनि बजेट प्रयोग गर्न सक्दैनौं । यो अस्पताल जसरी पनि बनाउनै पर्छ । र, यो मेरो आफ्नै कार्यकालमा बनाउछु ।

२०७३ पौष १० गते आईतबार

No comments:

Post a Comment