Wednesday, August 3, 2016

रेडक्रस धनुषामा ‘अनियमितताको आशंका’



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा प्रको महुवाका प्रदिप कुमार मण्डलका ६ बर्षिय छोरा आकाश मण्डललाई प्रत्येक महिना वा १५ दिनमै रगतको आवश्यकता पर्दछ । उनी जन्मजात थाइलेसेमिया रोगबाट ग्रस्त भएका कारण उनको शरीरमा आफै रगत निर्माण हुँदैन । अर्थात प्रत्येक महिना मानिसको ताजा रगत उनलाई चढाउनुपर्छ । अहिलेसम्म नेपाल रेडक्रस धनुषाबाट रगत पाएर उनी बाँचीरहेका छन् । आकाश मण्डल जस्तै करिब २०÷२५ जना थाइलेसेमिया रोग लागेका विरामीहरुको ज्यान रेडक्रसले रगत उपलब्ध गराएर जोगाईरहेका छन् । दाताहरुले दान गरेको रगत विरामीहरुलाई उपलब्ध गराएर विरामीको ज्यान जोगाउँदै आएको छ, रेडक्रसले । यति मात्र होइन जनकपुर अञ्चल अस्पतालमा भर्ना हुने गरेको प्रसुति महिलाहरुलाई समेत रगत उपलब्ध गराई ज्यान बचाउने गरिएको छ ।
यति हुँदा हुँदै पनि अर्थात रेडक्रसले राम्रो काम गर्दा गर्दै पनि गुनासोहरु नआउने गरेको भने होइन । प्रायः रगत लिन जाँदा रगतको अभाव देखाउने, सोही बहानामा अवैध असुली गरी रगत दिने, रगतको सोध भर्ना नगरी रगत दिनै नमान्ने अर्थात दाताले उपलब्ध गराएको रगत  विक्री गरेर अवैध असुली गर्ने धन्दा नै बनेको छ रेडक्रसका कर्मचारीहरुको । यो आरोप प्रायः जसो सेवा ग्राहीहरुले लगाउने गरेका छन् । त्यसैगरी रेडक्रसमा सदस्यता वितरणको प्रक्रिया पारदर्शी नहुनु, १४ बर्ष देखि मन्त्री हुँदै अहिले सभापति भएर नरेश सिंह एउटै संस्थामा लामो समयसम्म नेतृत्व गर्नु जस्ता आरोपहरु पनि बेला बखत लाग्ने गरेको छ । यसका साथै आर्थिक अनियमितता व्यापक हुने गरेको आरोप पनि नलाग्ने गरेको होइन । तर, जे जसो भएपनि पछिल्लो समयमा मधेस आन्दोलनका दौरान घाइतेहरुलाई अस्पतालसम्म पुर्याउन रेडक्रस धनुषाले गरेको योगदानलाई जनकपुरवासीले खुलेर प्रशंसा पनि गरेको पाइन्छ ।
१२ साउन २०७३ मा नेपाल रेडक्रस सोसाइटीले रक्तसंचार सेवाको ५० बर्ष पुरा भएको अवसरमा स्वर्ण जयन्ती देशैभरी मनाएको छ । रक्तसंचार सेवाको क्रमिक क्षमता अभिवृद्धि हुँदै अहिले नेपालको ६७ जिल्लाका १ सय स्थानमा रक्त संचार सेवा केन्द्र तथा एकाईहरुको स्थापना भएको छ । रेडक्रस धनुषामा अहिले रगतको अभाव भएपछि १५ साउन २०७३ मा स्वर्ण ज्यन्तीकै अवसर पारेर रेडक्रस धनुषाले खुल्ला रक्तदानको कार्यक्रम आयोजन गरेको थियो ।
धनुषामा २०७१ माघ देखि २०७२ पुष सम्ममा २ लाख १७ हजार १ सय ६० यूनिट रगत विभिन्न सेवा केन्द्र र एकाईहरुबाट संकलन गरेको छ भने ३ लाख ११ हजार ३ सय ३० यूनिट रगत विरामीलाई उपलब्ध गराएको रेडक्रस धनुषाले दावी गरेको छ ।
तत्कालिन श्री ५ को सरकारले २४ चैत्र २०४८ बाट नेपालमा नेपाल रेडक्रस सोसाइटीलाई रक्त संचार सेवाको संचालन गर्ने अभिभारा प्रदान गरेको थियो । धनुषा जिल्ला शाखाको कुरा गर्ने हो भने अहिले रक्तसंचार सेवा रेडक्रसले जनकपुर अञ्चल अस्पतालको हाताभित्र र जानकी मेडिकल कलेज रमदैयामा समेत संचालनमा ल्याएको छ । रगत आपुर्ति गर्नेहरु मध्ये अधिकांश करिब ८० प्रतिशत रगत प्रसुति महिलाहरुलाई दिने गरिएको छ भने बाँकी रगत दुर्घटनामा परेकाहरु तथा अन्य विरामीहरुलाई दिने गरिएको छ । रेडक्रसको तथ्याङ्क अनुसार महिलाहरुको प्रसवका समयमा उक्त अवधिमा अर्थात १ बर्षमा ४ हजार ५ सय ५४ यूनिट रगत प्रसुति महिलाहरुलाई नै उपलब्ध गराइएको छ ।
उक्त १ बर्षको अवधिमा संस्थागत तर्फबाट २ हजार ७ सय ७०, व्यक्तिगत स्वयमसेवी रक्तदाताबाट २ सय ७, अन्य शाखाहरुबाट २ सय १० र सोध भर्ना रक्तदाताबाट १ हजार ३ सय ७७ यूनिट रगत गरी कुल ४ हजार ५ सय ५४ यूनिट रगत संकलन गरिएको छ । त्यसैगरी सोध भर्ना नगरी ३ हजार १ सय ५६ यूनिट, सोध भर्ना गरी १ हजार ३ सय ७७ यूनिट अन्य शाखालाई पठाएको ४३ यूनिट, पोजिटिभ रगत अन्य खराव रगत १२ यूनिट, मौज्दात रगत २० यूनिट गरी कुल ४ हजार ५ सय ४९ यूनिट रगत वितरण गरिएको रेडक्रस धनुषाले जनाएको छ । सोध भर्नाको अर्थ के हो भने रगत लिन जाँदा रक्तदान गरी रगत लिनु हो । यसरी हेर्ने हो भने उक्त १ बर्षमा १ हजार ३ सय ७७ जनाले रक्तदान गरेर रगत प्राप्ति गरेको उक्त तथ्याङ्कले देखाउँछ ।
संकलित रगतमा गरिएको गु्रपिङ परीक्षण तथा अन्य परीक्षणहरुबाट के देखिएको छ भने हालसम्म ९४ जना रक्तदाताको रगतमा एचआईभी पोजेटिभ, २ सय ४० जनामा हेपाटाइटिस बि पोजेटिभ, २२ जनामा हेपाटाइटिस सि पोजेटिभ र १० जनामा भिडिआरएल पोजेटिभ पाइएको थियो ।
२०७१ माघ देखि २०७२ पौषसम्म ४१ वटा संस्थाहरुले संस्थागत रक्तदान कार्यक्रम आयोजन गरी २ हजार ६ सय ६० जनाले रक्तदान गरेका थिए । सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुलीले १ सय ९१ जना, नेत्रगंज गाविस नबलपुर सर्लाहीले १ सय ७२ जना, बर्दिवास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ सय ६२ जना, रामानन्द यूवा क्लव रामानन्द चौक जनकपुरले १ सय ४७ जना, रेडक्रस बर्दिवास उपशाखाले १ सय ४५ जना, संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा क्षेत्र नम्बर ३ बरहथवा सर्लाहीले १ सय ४२ जना, आरईसि जनकपुरले १ सय १५ जना, शंत निरांकारी मण्डल जनकपुरले १ सय १३ जना, सशस्त्र प्रहरी बल मुजेलिया जनकपुरले १ सय १३ जना, मारवाडी यूवा मञ्च जनकपुरले १ सय २ जना, संयूक्त पेशाकर्मी संजालले ८७ जना, मलंगवा जेसिस सर्लाहीले ८५ जना गरी कुल ४१ वटा संस्थाहरुले गरेको रक्तदानबाट २ हजार ६ सय ६० जनाले रगत दान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी धनुषाको आयव्यय
रेडक्रस धनुषाका सभापति नरेश सिंह ।
आर्थिक बर्ष २०७०÷०७१ मा नेपाल रेडक्रस सोसाइटी धनुषालाई १ करोड ५ सय ९४ रुपैयाँ आम्दानी भई ९३ लाख १८ हजार ६ सय ६६ रुपैयाँ खर्च भई ६ लाख ८१ हजार रुपैयाँ आम्दानी भएकोमा ४ लाख ४१ हजार ८ सय २३ रुपैयाँको सम्पति ह्रास भई २ लाख ४० हजार १ सय ४ रुपैयाँ खुद आम्दानी भएको देखाइएको छ । रक्त संचार सेवा अन्तरगत ४३ लाख ४३ हजार ५ सय ४२ रुपैयाँ आम्दानी भई ४० लाख ३२ हजार ९ सय ३४ रुपैयाँ खर्चा भई ३ लाख १० हजार ६ सय ८ रुपैयाँ आम्दानी भएको जनाइएको छ । त्यसैगरी एम्बुलेन्स सेवा संचालन गरे बापत ३० लाख २३ हजार ३ सय ४५ रुपैयाँ आम्दानी भई २९ लाख ८६ हजार ९४ रुपैयाँ खर्चा भई ३७ हजार २ सय ५० रुपैयाँ मात्र नाफा देखाएको छ । दैवी प्रकोप अन्तरगत १८ लाख ७४ हजार ८ सय ९६ रुपैयाँ आम्दानी भई १४ लाख ६९ हजार ४ सय ४३ रुपैयाँ खर्च भई ४ लाख ५ हजार ५ सय ५२ रुपैयाँ आम्दानी भएको देखाइएको छ । नर्सरी सेवा संचालन गरे बापत ७ लाख ५८ हजार ८ सय १० रुपैयाँ आय भई ८ लाख ३० हजार १ सय ९४ रुपैयाँ खर्च भई ७१ हजार ३ सय ८३ रुपैयाँ नोक्सान भएको देखाइएको छ ।
आर्थिक बर्ष २०७१÷०७२ मा नेपाल रेडक्रस सोसाइटी धनुषाले कर्मचारीहरुको तलब भत्तामा १७ लाख २७ हजार ७ सय ६८ रुपैयाँ, संचार बापत २७ हजार १ सय ५४ रुपैयाँ, प्रयोगशाला सामग्री बापत १२ लाख २२ हजार २ सय २८ रुपैयाँ, मसलन्द तथा छपाईमा ४४ हजार ७ सय २ रुपैयाँ खर्च देखाइएको छ । त्यसैगरी एम्बुलेन्स तथा सवारी मर्मतमा ४ लाख ११ हजार २१ रुपैयाँ, भवन निर्माणमा ३ लाख ८४ हजार १ सय ८५ रुपैयाँ, अन्य मर्मत खर्चमा १ लाख १४ हजार ५ सय २३ रुपैयाँ खर्च देखाएको छ । सरसफाईमा २५ हजार ४ सय ५६ रुपैयाँ, गोष्ठी खर्चमा १ लाख १ हजार २ सय २८ रुपैयाँ, दैवी प्रकोपमा ३ लाख ८९ हजार ८ सय ७७ रुपैयाँ खर्च देखाएको छ । नेपाल रेडक्रस धनुषाले इन्धनमा १२ लाख ७४ हजार ३ सय ७४ रुपैयाँ, सामग्री खरिदमा १० लाख ८३ हजार ६ सय ३७ रुपैयाँ, एचआईभी एड्स कार्यक्रम अन्तरगत १ लाख २५ हजार ९ सय ९४ रुपैयाँ, फर्निचर तथा फर्निसिङ्गमा ४१ हजार ३ सय ४ रुपैयाँ, नर्सरी संचालनमा २ लाख ३० हजार ४ सय ९५ रुपैयाँ खर्च देखाएको छ । संचारमा २७ हजार १ सय ५४ र मोवाइलमा ७८ हजार ९ सय ७६ रुपैयाँ खर्च देखाएको छ । प्राथमिक उपचार प्रशिक्षणमा २ लाख ६ हजार १ सय ५८ रुपैयाँ खर्च देखाएको छ । यसरी हेर्ने हो भने १ बर्षमा १ करोड ४८ हजार कुल खर्च भएको जनाइएको छ । मुख्यतः रेडक्रस धनुषाको गतिविधि अपारदर्शी र आर्थिक अनियमितता समेत हुने गरेको आरोप र आशंकालाई रेडक्रस धनुषाका सभापति नरेश सिंहले चिर्न सक्नुपर्दछ ।

२०७३ श्रावण १६ गते आईतबार

No comments:

Post a Comment