Wednesday, August 3, 2016

तिलाठी झड्प र सहमति

एस के शान
तिलाठी............
सप्तरीको तिलाठी गाविसमा विहीबार भारतीय पक्षको लाठी प्रहारबाट पूर्व्जिविस सदस्य देवनारायण यादवसहित १० नेपाली घाइते भएका छन् । दुईको अवस्था गम्भीर छ । उनीहरुलाई भेट्दा भारतीय थिचोमिचो सहँदै आए पनि सरकारले वास्ता नगरेको बताए । आफूहरुले दशकौंसम्म भारतसँग भिडेर सीमाको रक्षा गरिरहेको उनीहरुले बताए । यति हुँदा पनि सरकारले सहयोग नगरेको र उल्टै सरकारले मधेसीहरुलाई ‘भारतीय’ र ‘विहारी’ भनेको सुन्दा मन दुख्ने गरेको घाइते सप्तरीबासीले गुनासो सुनाए ।
१० नेपाली घाइते, बालकसहित दुईको अवस्था गम्भीर
भारतीय विधायक बैद्यनाथ यादव अनसन बसेर आफ्नो भूमिमा ०७१ सालमा बाँध बनाउन लगाए । तर, हाम्रा सांसदहरु यसबारेमा चासोसमेत राख्न सकेका छैनन् । हाम्रै राज्यले हाम्रो समस्या समाधान नगरिदिँदा हामी आफैं लड्न बाध्य भएका छौं, यादवले भने ।
सप्तरीको तिलाठी गाविस र भारतीय गाउँ कुनौलीका बासिन्दाबीच वर्षौंदेखि विवाद हुँदै आएको छ । पछिल्लोपटक बिहीबार तिलाठी र भारतको बिहार राज्यअन्तर्गत कुनौलीका बासिन्दाबीच झडप नै भयो । एकले अर्कालाई बाँसको भाटा लिएर जथाभावी कुट्ने काम दुबै पक्षबाट भयो ।  प्रहरीका अनुसार यो झडपमा ६ जना नेपाली र १० जना भारतीय घाइते भएका छन् । यद्यपि तिलाठीका बासिन्दाका अनुसार १४ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये एक बालकसहित दुईजनाको अवस्था गम्भीर छ ।
घाइतेको उपचारमा सरकारले चासो नदिएको स्थानीयको गुनासो छ । यी दुईजनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा र बाँकीको स्थानीयस्तरमा उपचार भइरहेको छ । पूर्वजिविस सदस्य देवनारायण यादवको टाउकोमा १२ वटा टाँका लगाइएको छ भने तिलाठी(१ का १४ वर्षीय हर्षबन्दन कर्णको पनि टाउकोमै चोट लागेको छ ।
यसरी भयो झडप
भारतीय पक्षले आफ्नो भूमि कुनौलीमा बनाएको बाँध नेपालीहरुले बिहीबार दिउँसो भत्काइदिए । सप्तरीसँगै सीमा जोडिएको कुनौलीमा भारतीय पक्षले बुधबारदेखि बाँध बनाउन शुरु गरेको थियो । भारतीय पक्षले एकतर्फीरुपमा बनाएको बाँधले नेपालतर्फको आधा दर्जन गाविस जलमग्न हुने भएपछि नेपालीहरुले बाँधलाई भत्काएका हुन् । यो बाँधले सप्तरीको रम्पुरा मल्हनियाँ, तिलाठी, लौनियाँसहितका गाविसहरु जलमग्न हुँदै आएका छन् ।
भारतले केही वर्ष अगाडि नै यो बाँध एकतर्फीरुपमा बनाएपछि यी गाविसहरु डुबानमा पर्दै आएका थिए । यसैक्रममा अविरल वर्षाका कारण गत शनिबार आफैं यो बाँध भत्कियो । बाँध भत्केपछि भारतीय पक्ष र नेपाली पक्षबीच तत्काल यो बाँध नबनाउने सहमति भयो । तर, बुधबारदेखि भारतीय पक्षले पूर्वसहमति विपरीत यो बाँध बाँध्ने काम शुरु र्गयो ।
विहानैदेखिको तयारी
नेपालीहरुले बिहीबार बिहानैदेखि बाँध भत्काउन गए पनि भारतीय पक्षका बासिन्दा धेरै भएपछि त्यत्तिकै फर्केका थिए । दिउँसोतिर नेपाली पक्षको संख्या धेरै भयो । त्यसपछि बाँधमा राखिएको बाँस र बालुवाका बोरा झिकेर नेपालीहरुले फालिदिए । त्यसपछि घटना केहीबेर साम्य भयो । साँझ ५ बजेतिर नेपाली पक्षका बासिन्दाहरु आ(आफ्नो घरतिर लागे । दशगजा क्षेत्रमा थोरै संख्यामा मात्रै नेपालीहरु थिए । त्यही मौका छोपेर दर्जनौं भारतीयहरु त्यहाँ आए र पूर्व जिविस सदस्य यादव सहितका नेपालीमाथि अन्धाधुन्ध कुटपिट गर्न थाले ।
यादवलाई कुट्दै भारततर्फ लग्न खोजेपछि नेपालीहरु पनि जम्मा भए र दुबै पक्षबीच बाँसको भाटा तथा ढुंगा हानाहान भयो । तिलाठीका निरज झा भन्छन्, “यादवलाई कुट्दै भारततर्फ लग्न खोजेपछि हामी बचाउन गयौं, तर भारतीयहरु हामीमाथि जाइलागे ।”
आफ्नै सरकारको छैन साथ
बिहीबार भारतीयहरुले नेपालीमाथि आक्रमण गर्दा भरपूर भारतीय सुरक्षाकर्मी उपस्थित थिए । तर, नेपाली सुरक्षाकर्मीको उपस्थिति न्यून थियो । ‘हामीले पटक(पटक आफ्ना प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखदेखि लिएर मन्त्रिस्तरसम्म कुरा राखिसकेको छौं । तर, हाम्रो समस्या कसैले सुनेको छैन’ यादवले भने ।
‘भारतीय विधायक बैद्यनाथ यादव अनसन बसेर आफ्नो भूमिमा २०७१ सालमा बाँध बनाउन लगाए । तर, हाम्रा सांसदहरु यसबारेमा चासोसमेत राख्न सकेका छैनन्’ यादव थप्छन, “हाम्रै राज्यले हाम्रो समस्या समाधान नगरिदिँदा हामी आफैं लड्न बाध्य भएका छौं ।” ‘बिहीबार झडप हुँदा भारतीय पक्षका धेरै सुरक्षाकर्मी उपस्थित थिए, तर हाम्रो सुरक्षाकर्मीको त्यत्ति उपस्थिति देखिएन्’ उनले प्रश्न गरे, “यसले हाम्रो सरकारले हामीसँग बेइमानी गरिरहेको ठहरिँदैन् ?” प्रमुख जिल्ला अधिकारीदेखि वर्तमान गृहमन्त्रीसम्म गुहार लगाउँदा पनि आफूहरुको समस्या सुनुवाइ हुन नसकेको बताउँदै उनी भन्छन्, “के हाम्रा प्रशासक र सरकार भारतकै ‘एस म्यान’ बन्न खोजेका हुन् त ?”
भारतसँगै लड्दा हामी भारतीय कसरी भयौं ?
सप्तरीको तिलाठीसहित आसपास क्षेत्रका बासिन्दाहरु भारतबाट पीडित हुने नै भए । तर, उनीहरुले आफ्नै सरकारबाट अपहेलित भएको महसुस गरेका छन् । ‘हामीलाई सुरक्षा नदिने, हाम्रो समस्या नसुनिदिनेजस्ता समस्या आफ्नो ठाउँमा छँदैछ’ घाइते बनेका पूर्वजिविस सदस्य यादव भन्छन्, “मधेसीहरु भारतीय नागरिक हो, बिहारबाट आएका हुन्, भारतका चम्चा हुन् जस्ता शब्दको प्रयोग गर्दा हामीलाई एकदमै पोल्छ ।”
‘एक त भारतको जस्तो आफ्ना जनतालाई सहयोग नगरिदिने, समस्याको समाधान नगरिदिने र अर्कातर्फ शब्दरुपी बाण प्रहार गर्दा हामी न घर न घाटका भएका छौं’ यादवले भने, “हामी नेपाली हौं र नेपाली नै रहनेछौं, हामी मधेसीहरुलाई काठमाडौंमा बसेर त्यस्तो शब्दको प्रयोग नगर्न सबैसँग आग्रह गर्दछु ।”
सीमा स्तम्भ नै गायव
दुबै देशका बासिन्दाबीचको विवाद लगाताररुपमा भइरहेको छ । तर, यी विवादका कारण दशगजा क्षेत्रमा रहेको सीमा स्तम्भ विलीन भइसकेको छ । र, कसैले पनि ध्यान दिएको छैन । खाँडो खोलाको बालुवाले पाँच वर्षअघि नै सीमा स्तम्भ पुरिएको छ, तर त्यो मिलाउन पनि कसैले ध्यान नदिएको तिलाठी गाविसका बासिन्दाले बताएका छन् । सीमास्तम्भ हराउँदा अहिले नेपाल र भारतको ठाउँ कहाँसम्म छ भन्ने कुराको जानकारी पाउन मुश्किल छ’ स्थानीय निरज झाले भने, “यसबारेमा पनि हामीले पटक(पटक सरकारको जानकारी गराइसकेका छौं ।” ‘हो सीमा स्तम्भ बालुवामा पुरेको छ’ सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम भन्छन्, “यसैले त भारतलाई अहिले कुनै किसिमको बाँध निर्माण नगर्न हामीले आग्रह गरेका छौं ।” गौतमका अनुसार शनिबारको बाढीले उक्त बाँध भत्काउँदा भारतीय पक्षले पुनः बनाउन लागेका थिए । ‘तर त्यस क्रममा दुबै पक्षबीच नबनाउने सहमति भएको थियो । तर, एक्कासी आएर भारतीय पक्षले बनाउन लागेपछि हामीले विरोध गरेका हौं ।’
प्रत्येक वर्ष निकासको विवाद
यहाँ पानी निकासको विवाद प्रत्येक बर्ष हुने गरेको छ । प्रत्येक पटक नेपालीले भारतीय पक्षबाट गाली गलौज र कुटाइ पनि सहनुपरिरहेको छ’ स्थानीय सञ्चारकर्मी पंकज झा भन्छन्, “बारम्बार हामीले आफ्नो प्रशासनलाई भन्दा पनि कुनै सुनुवाइ हुन सकेको छैन ।”
झाको भनाइमा भारतसँग बोल्न नसक्ने नेपाली प्रशासनले कुनै किसिमको ध्यान नदिँदा स्थानीय बासिन्दाले प्रत्येक बर्ष दुःख झेल्नुपरिरहेको छ । ‘२०६४ सालमा भारतीय सुरक्षाकर्मीले झण्डै हामीमाथि गोली चलाएका थिए’ पूर्वजिविस सदस्य यादव भन्छन्, “त्यतिबेला जल उत्पन्न प्रकोप नियन्त्रणमार्फत आफ्नो भूमिमा बाँध बनाउने काम गरिरहँदा भारतीय सुरक्षाकर्मी आएर बन्दुक देखाउँदै आफ्ना ओभरसियर र इन्जिनियरलाई समातेर लगेका थिए ।” धेरै दिनको छलफल र सहमतिपश्चात भारतीय पक्षले आफ्ना मान्छेलाई छाडेको र आफूहरुले जसोतसो बाँध बनाउने काम पूरा गरेको यादव बताउँछन् । पछिल्लो १५ बर्षयता लगातार रुपमा दुबै देशका बासिन्दाबीच झडप भइरहेको स्मरण सुनाउँछन् यादव । यादवको भनाइमा पहिला केही वादविवाद हुँदै आए पनि तीन वर्षयता झडप नै हुँदै आएको छ । भारतीय पक्षले कुनौलीमा ०७१ सालमा एकतर्फी बाँध बनाएपछि झड्प हुन थालेको हो ।


बाँध निर्माण तत्काललाई रोक्ने दुई पक्षीय सुरक्षा अधिकारीबीच सहमति


नेपाल र भारतका स्थानीय सुरक्षा अधिकारीहरुले बाँध निर्माणको विषयलाई लिएर सप्तरीको सीमा क्षेत्रमा उत्पन्न तनाव साम्य पार्न तत्काललाई बाँधको निर्माण रोकने सहमति गरेका छन् ।
सीमापारी कुनौलीमा सीमावारी पारीका सुरक्षा अधिकारीहरुको शुक्रबार बसेको बैठकले उक्त सहमति गरेको सप्तरीका एसपी भीमप्रसाद ढकालले बताए । सिमापारी कुनौलीका भारतीयले दशगजा क्षेत्रमै नदीको बहाव रोक्न तटबन्ध निर्माणलाई तिव्रता दिएपछि सीमावारी तिलाठीका नेपालीहरुले त्यसको तिव्र बिरोध गर्दै आएका छन् । त्यस विषयमा दुई पक्षका स्थानीयबीच झडप समेत भएर कयौं व्यक्ति घाइते समेत भएका छन् । सीमा क्षेत्रको स्थिति तनावपूर्ण भएपछि  दुवै देशका स्थानीय स्तरका सुरक्षा अधिकारीले बैठक गरेका हुन् ।
नेपाल भारत सुरक्षा अधिकारीहरुको बैठक
नेपालबाट जल उत्पन्न प्रकोक व्यवस्थापन विभाग र भारतका जनसंशाधन विभागका प्रतिनिधीहरु रहेको संयुक्त टोली गठन गर्ने र त्यसले यथासिघ्र विवादित स्थलको अध्ययन गरी निकासको सुझाव सहितको प्रतिवेदन दिने सहमति समेत भएको छ । ’समितिको प्रतिवेदन नआउन्जेलसम्मका लागि बाँध निर्माण रोक्ने कुरा भएको हो,’ एसपी ढकालले भने । सहमति भने मौखिक मात्र भएको छ । 
समस्याको दीर्घकालीन समाधानका लागि दुई देशका केन्द्र स्तरका अधिकारीबीच छलफल गर्ने र त्यसले सीमा स्तम्भ सहित दशगजाको दुरी लगायतका विवादित विष समेत टुंग्याउने छलफल भएको ढकालले बताए ।  दुई पक्षीय वार्तामा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम र भारतबाट सुपौल जिल्लाका डिएम वैजनाथ यादव सहितका अधिकारीहरु सहभागी थिए ।
विवादित दशगजा क्षेत्र नेपाली र भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा
भारतीयले दशगजा मिचेर सप्तरीको तिलाठीमा बाँध निर्माण गरेपछि दुईदिनदेखि तनावपूर्ण बनेको बाँध निर्माणस्थललाई नेपाल र भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । भारत तर्फबाट सीमा सुरक्षा बल एसएसबी र बिहार प्रहरी र नेपाल तर्फवाट सशस्त्र र जनपद प्रहरीले विवादित बाँधस्थल नियन्त्रणमा लिएका हुन् ।
दुबै तर्फका सुरक्षाकर्मीले अहिले विवादितस्थलमा सर्वसाधारणलाई जान दिएका छैनन् । बाँध निर्माण रोकिएको छ । हिजो एकतर्फी रुपमा भारतीय पक्षले दसगजा मिचेर बाँध निर्माण गर्न थालेपछि रोक्न गएका नेपालीमाथी आक्रमण गरिएपछि आक्रोशित नेपालीहरुले भारतीयले बनाएको बाँध भत्काएका थिए । त्यसपछि भएको झडपका क्रममा १२ जना घाइते भएका छन् । जसमध्ये ६ जनाको टाउको फुटेको छ । हिजो अबेर राति त्यहावाट भारतीय र नेपालीपक्ष गएपछि स्थिती सामान्य भएपनि आज बिहानैवाट भारतीय पक्षले पुन बाँध निर्माणको कार्यलाई तिब्रता दिएको थियो । भारतले बाँध बनाउन सुरुगरेपछि फेरी नेपालहरु प्रतिकारमा उत्रेका थिए ।
नेपाल र भारतीय नागरिकबीचको विवादका कारण अहिले नेपाल भारत सीमाको कुनौली नाका आज बिहानैवाट ठप्प छ । बिहान आफन्तका घर जान भन्दै सिमावर्ती कुनौली बजार गएका ४ जना नेपालीलाई भारतीयहरुले दुर्व्यहार गरेर फर्काइदिएपछि नेपालीहरुले पनि भारतीयलाई नेपाल आउनमा रोक लगाएको छ । नेपाली ग्राहकले चल्ने गरेको भारतीय बजार कुनौलीका पसलहरु सुनसान छन् । दशगजा दुबै तर्फका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर त्यहाँ रहेका नागरिकलाई हटाएपनि सीमा नजिकै दुई तर्फकै नागरिकको ठूलो संख्यामा उपस्थिति छ । भारतीयहरु पनि छरछिमेकका गाउँबाट सीमामा भेला भएका छन् भने नेपाल तर्फ पनि विभिन्न गाउँबाट सर्वसाधारण र जिल्ला स्थित राजनैतिक नेतृत्वहरु सीमा क्षेत्र पुगेका छन् ।
नेपाली र भारतीय अधिकारीबीच वार्ता सुरु
दसगजामा भारतले एकतर्फी रुपमा बाध निर्माण गरेपछि उत्पन्न बिवादको समाधानको लागि नेपाली र भारतीय अधिकारीबीच वार्ता सुरु भएको छ । बिबादितस्थलको निरीक्षणपछि दुई देशका स्थानीय प्रशासनका अधिकारीहरु समस्या समाधानका लागि वार्तामा बसेका हुन् । सीमावर्ती कुनौली सितकोसी प्रोजेक्टको भवनमा वार्ता भइरहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट तिलाठीका सशस्त्र प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए । वार्तामा नेपाल तर्फवाट सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेब गौतम नेतृत्वको टोली सहभागी छन् भने बिहहारको सुपौल जिल्लाका डीएम बैधनाथ यादबको नेतृत्वको नेतृत्वमा भारतीय भारतीय टोली सामेल छ ।
तिलाठी समस्या ः परराष्टूले कूटनीतिक पहल गर्ने
 भारतीय पक्षबाट दसजगामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछि बढेको तनावलगायत समस्या समाधान गर्न कूटनीतिक पहल गरिने भएको छ । परराष्टू मन्त्रालयका अधिकारीहरूका अनुसार सप्तरीको तिलाठी घटना स्थानीय स्तरमा साम्य पारिए पनि दीर्घकालीलन समाधानको पहल गरिनेछ ।
‘हामी पनि जानकार छौं । स्थानीय स्तरबाट समाधान भएको छ । तर, त्यसको विभिन्न उच्चसंयन्त्रमा छलफल हुनेछ,’ परराष्टूको दक्षिण एसिया महाशाखा हेर्ने प्रकाश सुवेदीले कान्तिपुरसंग भने । दशगजा क्षेत्रलाई अन्तराष्टिूय मापदण्ड अनुरुप राखेर अघि बढाउने अवस्था छ । पूर्व परराष्टू सचिव मधुरमण आचार्यले यस्ता विषयलाई ’बोर्डर फ्रेमवर्क’ मा राखेर माथिल्लो स्तरमा छलफल गर्दै टुंगो लगाउनुपर्ने बताए । ’हुन त स्थानिय तहदेखि नै संयन्त्रहरु छन ति सबैले त्यही स्तरबाट काम गरेर यस्तो समस्या आउन दिन भएन,’ उनले भने, ‘सीमामा बस्नेहरु छिमेकीजस्तै हुन् । उनीहरुको सदभाव खलवलिन दिनु हुदैन । यसलाई कूटनीतिक तवरमै रहेर समाधान गर्नुपर्छ । सानो विषयले कहिलेकाही उग्र रुप लिनसक्छ बेलैमा त्यसलाई समाधान गर्नुपर्छ ।’ अर्का पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतको एकतर्फि हेपाह मानसिकतामा परिवरर्तन आउनपर्ने त्यो विषय सरकारको उच्च तहले स्थानियस्तरमा जानकारी गराउन आवश्यक रहेको बताए । उनले भने, ’दशगजा भनेको दशगजा हो । यो क्षेत्रमा मात्र होइन, सपासमा समेत पुर्वाधार बनाउन दुईपक्षीय सहमति हुनुपर्ने अन्तराष्टिूय प्रावधान छ ।’ उनले भारतले पुर्वाधारका नाममा बाध बनाएर अन्य धेरै क्षेत्र डुवाइरहेको अवस्थामा सरकारले कुनै प्रतिक्रिया नजनाएको बताए । ’त्यहाँ स्थानीय स्तरको प्रतिरोधपछि घटना बाहिर आएको हो । अन्य स्थानमा पनि यस्तो समस्या छ,’ उनले भने । चीनका लागि पूर्वराजदूत डा. महेशकुमार मास्केले पनि यस्ता समस्याको दिगो समाधान दुवैतर्फबाट खोजिनुपर्ने र दुवै मुलुकका प्रशासनले आपसी सल्लह गरेर सल्टाउनपर्ने बताए ।’ बर्खामा देखिने यो समस्या बुझेर अर्को वर्खा अगावै टुंगोमा पुग्नुपर्छ । अन्तर्राष्टिूय नियम र परिधि छन, तिनको पालना हुनुपर्छ । यो वा त्यो भन्नुभन्दा पनि अभ्यास र नियम कानुन प्रमुख हुन्,’ उनले भने ।

२०७३ श्रावण १६ गते आईतबार

No comments:

Post a Comment