Wednesday, August 3, 2016

गाउँमा गाई पालनबाट लाखौंको मासिक आम्दानी

चाँदनी गाई फारमका संचालक सुरेन्द्र कुमार यादव ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
स्वदेशमा काम नपाएर रोजगारीका लागि मधेसी नेपाली नागरिकहरु प्रत्येक दिन हजारौंको संख्यामा विदेशिदै छन् । खाडी मुलुकमा प्रायः मधेसीहरु रुपैयाँ आर्जन गर्ने उद्देश्यले विदेशिने गरेको छ । प्रायः मानिसहरुको भनाई के रहेको हुन्छ भने स्वदेशमा कामै छैन, खेतीपाती गर्दा फाइदा नै हुँदैन । स्वदेशमा बेरोजगार भइयो र बाँच्नै गाह्रो भयो । त्यसकारण विदेश नगई कुनै उपाई नै छैन । जिल्ला प्रशासन कार्यालय धनुषाबाट पछिल्लो आर्थिक बर्ष २०७२÷०७३ मा ८ हजार ३ सय ७८ जनाले बैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाएको पाइन्छ । राहदानी बनाए बापत जिल्ला प्रशासन कार्यालय धनुषाले ४ करोड ६७ लाख ८५ हजार रुपैयाँ त राजश्व नै संकलन गरेको छ । यसले के पनि पुष्टि गर्छ भने यहाँका यूवाहरु काम र दामको खोजीमा कतार , मलेशिया, दुबई, साउदी अरेविया जस्ता देशहरुमा गएर पसिना बगाउनु परेको छ । तर, स्वदेशमै अर्थात आफ्नो गाउँमै पनि श्रम गरेर महिनाको लाखौं रुपैयाँ आर्जन गर्न सकिन्छ भन्ने उदाहरणहरु पनि प्रसस्त छन् । धनुषाको बहेडाबेला ७ बइरिया टोलका २८ बर्षिय यूवा सुरेन्द्र कुमार यादव आफ्नो गाउँबाटै गाई पालन गरेर लाखौं रुपैयाँ प्रति महिना आर्जन गरिरहेका छन् । विदेश जाने यूवाहरुका लागि उनले के गतिलो जवाफ दिन सकिरहेका छन् भने गर्यो भने गाउँमै थुप्रै कुरा गर्न सकिन्छ । केही बर्ष अगाडीसम्म उनले आफ्नै गाउँमा एउटा किराना पसल संचालन गरेका थिए । तर, उक्त पसलबाट उनको मनग्य आम्दानी भने भईरहेको थिएन । 

दुध किन्ने ग्राहकहरुको भिड ।
उनले विहे गरिसकेपछि जन्मिएको सन्तानलाई सुद्ध दुध खुवाउनु पर्यो भन्दै एउटा देशी (देहाती) गाई करिब २० हजार रुपैयाँमा किनेर गाई पाल्न थाले । पछि उनले ५० हजार रुपैयाँमा एउटा जर्सी गाई किने । गाईको दुध बेचेर घरको गुजारा चल्न थाल्यो । अनि सोही आम्दानीबाट बचेको रकम र घरबाट थप पुजी लगाउँदै थप जर्सी गाईहरु किन्न थाले । ५० हजार देखि ७० हजारसम्म पर्ने जर्सी गाई अहिले जम्मा २० वटा उनले पालिरहेका छन् । गाउँमा र सिमावर्ती भारतको उभगाउमा गाईको दुध बेच्ने गर्थे । कतिपय अवस्थामा दुध फाल्नुपनि पथर््यो । त्यति राम्रो कमाई भईरहेको थिएन । तर पछिल्लो चैत्र महिना देखि उनले जनकपुरकै मुरली चौक स्थित एउटा सटर किनेर दुध बेच्न थालेका छन् । ७० रुपैयाँ प्रति लिटर दुध बेच्न सुरु गरेका उनलाई ग्राहकको यति भिड छ कि उनी बेच्न सकिरहेका छैनन् । आफ्नै गाईको १ सय लिटर र अन्य विक्रेताहरुबाट ५० रुपैयाँ प्रति लिटरको दरले ५० लिटर किनेर जम्मा डेढसय लिटर प्रति दिन दुध बेचिरहेका छन् । गाउँमा एक कठ्ठाको जग्गामा गाईको गोठ बनाइएको छ भने १० धुर जग्गामा भुस्सा घर बनाइएको छ । विरगञ्जबाट ट्रक मार्फत उनी भुस्सा किन्ने गरेका छन् । प्रति बर्ष ५ ट्रक जति भुस्सा उनले किन्ने गरेका छन् । १ ट्रक भुस्साको ३२ देखि ३४ हजार रुपैयाँ पर्ने गरेको छ । त्यसैगरी ३ विघा जग्गा लिजमा लिएर उनले घाँसको खेती गरेका छन् । घाँस काट्नका लागि मेसिन राखिएको छ । जर्सी गाईलाई नुहाउन तथा शितलता प्रदान गर्न जेनरेटरको व्यवस्था गरिएको छ । चारा खुवाउन चाराको मेसिन राखिएको छ । चाराका लागि आवश्यक दानाहरु, चौकर मकै, मिठ्ठा, खरी, जनकपुरबाट किन्ने गर्छन् । एउटा गाईले १२ देखि २० लिटरसम्म प्रति लिटर दुध दिने गर्छ । उनले गरेको कामलाई हेरेर जिल्ला पशु सेवा कार्यालय धनुषाले यूवा लक्षित कार्यक्रम अन्तरगत २ लाख २५ हजार रुपैयाँ अनुदान पनि दिएको छ ।
जर्सी गाईको मुल्य धेरै भएका कारण जोखिम रहित बन्नका लागि उनले एनएलसी इन्सयोरेन्स कम्पनीमा विसवटै गाईको विमा गराएका छन् । १ हजार २ सय ५० रुपैयाँका दरले प्रति गाई प्रति बर्ष विमाको प्रिमियम उनले तिर्नु पर्छ । उक्त रकम प्रिमियमको २५ प्रतिशत मात्र हो जब कि ७५ प्रतिशत नेपाल सरकारले नै भुक्तानी गरिदिने गरेको सुरेन्द्र बताउँछन् । दुईवटा गाई मरेपछि एउटा गाईको ९० हजार रुपैयाँ विमा बापत उनले प्राप्त गरिसकेका छन् भने अर्कोको प्रक्रियामा छन् । गाउँमा २ जना स्टाफ नियूक्त गरेका छन् । मोटरसाइकल चढेर सधै जनकपुरबाट गाउँ दुई पटक जाने आउने गर्छन् । मोटरसाइकलमै उनले आफै दुधको ढुवानी गर्ने गर्छन् । ३ लाख १५ हजार रुपैयाँ प्रति महिना आम्दानी हुने गरेकोमा करिब २ लाख जति सबै खर्च भइरहेको चाँदनी गाई फारमका संचालक सुरेन्द्रका अनुसार १ लाख भन्दा वढी रुपैयाँ बच्ने गरेको छ । जनकपुरमा दुधको माग यति वढी छ कि अब आउने २ महिना भित्रै उनले १५÷२० वटा भैसी पनि पाल्ने योजना बनाएका छन् ।

२०७३ श्रावण १६ गते आईतबार

No comments:

Post a Comment