Thursday, December 31, 2015

मधेस आन्दोलनको समर्थनमा भारतका पुर्व मन्त्रीको जनजागरण अभियान

२ पौषमा महोत्तरीको सिमावर्ती क्षेत्र भारतको भिठ्ठामोडमा आयोजित गोष्ठीमा बायाँबाट दोस्रो भारत सरकारका 
पुर्व केन्द्रिय मन्त्री हरिबंश प्रसाद सिंह र तेस्रो विहार 
सितामढीका विधायक सुनिल कुमार कुशवाहा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेस आन्दोलनलाई मजबुति प्रदान गर्न र भारत सरकारलाई समेत जनदवाव सिर्जना गर्ने उद्देश्यले भारत सरकारका पुर्व मन्त्री डा.रघुबंश प्रसाद सिंहले नेपाल भारतको सिमाबर्ती क्षेत्रमा जनजागरण अभियान संचालन गरिरहेका छन् । भारतको विहारमा भर्खरै सम्पन्न विधानसभाको चुनावमा ठुलो दल बनेर सत्ता संचालन गरिरहेको प्रमुख घटक राष्टिूय जनता दलका राष्टिूय उपाध्यक्ष समेत रहेका डा.सिंहले नेपाल भारतको करिब १८ सय किलोमिटर सिमावर्ती क्षेत्रमा बैठक, गोष्ठि र अन्तरक्रिया गर्दै मधेस आन्दोलन प्रति नैतिक समर्थन जनाईरहेका छन् । भारत नेपाल मैत्री यात्राको नाउँले उनले भारतको नेपालको सिमानासँग जोडिएको राज्यहरु विहार, उत्तर प्रदेश, पश्चिम बंगाल, सिक्किम र उत्तराञ्चलमा उक्त जनजागरण अभियान संचालन गरेका छन् । डा. सिंहको नेतृत्वमा रहेको उक्त टिमले नागरिक स्तरबाट अभियान संचालन गरेको बताएका छन् । अहिलेसम्म बैरगनिया, रक्सौल, मोतिहारी, कठबेनमा, गोरखपुर, सितामढी, मुझफ्फरपुर, पटना, गोरखपुर, जयनगर, मधुवनी, भिठ्ठामोड, सोनबर्षा लगायत १७ वटा स्थानहरुमा कार्यक्रम गरिसकेको उनले जनाएका छन् । त्यसैगरी सुपौल, अररिया, फारविसगञ्ज, सिलिगुडी, जलपाईगुडी, बस्ती, बहराइच, पिलिभितसम्मको कार्यक्रमहरु तय गरिएको उनले बताएका छन् । सोही क्रममा १ पौषमा भारत विहारको परिहार नौचामा, २ पौषमा सुरसन्डको भिठ्ठामोडमा र ३ पौषमा सोनबर्षामा गोष्ठी सम्पन्न गरेका छन् ।
२ पौषमा सिमाबर्ती भारतको भिठ्ठामोडमा आयोजित कार्यक्रमलाई उनले सम्बोधन गरेका पुर्णपाठ ः
नेपाल र भारत बीच रहेको करिब १८ सय किलोमिटर लम्बाई रहेको सिमा क्षेत्रमा भारत विहारको ७ सय ९ किलोमिटर र उत्तर प्रदेशको करिब ८ सय किलोमिटर र ३ सय किलोमिटरमा पश्चिम बंगाल, सिक्किम र उत्तराखण्डको भुभाग पर्दछ । भारत र नेपाल बीचको सम्बन्ध विश्वको अन्य मुलुकहरु भन्दा फरक किसिमको सम्बन्ध रहेको छ । विश्वमा थुप्रै देशहरु छन् । करिब २ सय ६ वटा देशहरु छन् । सबै देशहरुको एक आपसमा सम्बन्ध रहन्छ । ती देशहरुका बीचमा कुटनीतिक सम्बन्ध रहन्छ । कतिपय देशहरुका बीच कुटनीतिक सम्बन्ध पनि रहँदैन । तर, भारत र नेपाल बीचको सम्बन्ध भनेको हाम्रो शरिरको हड्डी र मासुको टुक्रा हो । बैवाहिक सम्बन्ध छ । सांस्कृतिक सम्बन्ध छ । आज आएर त्यो सम्बन्ध बनेको होइन, धेरै पुरानै जमाना देखि राम जानकीको जमाना देखि वा भनौं त्यो भन्दा पनि पुरानो राजा जनकको जमाना देखि नेपाल र भारत बीच गहिरो सम्बन्ध रहँदै आएको छ । तर, अहिले आएर त्यो सम्बन्धमा खतरा उत्पन्न भएको छ । मैले त्यो देखिरहेको छु । त्यो सम्बन्ध विगार्ने बातावरण बनाइँदैछ । उक्त सम्बन्धलाई न त म टुट्न दिन्छु, न कमजोर हुन दिन्छु । त्यही उद्देश्यका साथ नेपाल भारत मैत्री यात्रा मैले चलाएको छु । जब लोकतन्त्रमा खतरा हुन्छ, जनतन्त्रमा खतरा हुन्छ, बराबरीमा खतरा उत्पन्न हुन्छ, अधिकारमा खतरा हुन्छ तब तब ठुलो आन्दोलन हुन्छ । नेपालमा अहिले त्यही भएको छ ।
    मधेसीसँग भेदभाव भएको छ । विवाह पञ्चमीका दिन जनकपुर मेला र उत्सव हेर्न गएका हाम्रा देशका श्रद्धालु भक्तजनहरु माथि लाठी प्रहार गरियो । भारतका हजारौं श्रद्धालु तिर्थयात्रीहरु राम जानकी दर्शन नगरिकनै फर्किनु पर्यो । धेरै भारतीयहरु घाइते भए । अझै पनि अस्पतालमा भर्ना भएका छन् । जनकपुरमा कोलाहल मच्चाइएको छ । नेपालमा अशान्ति मचेको छ । मधेसीहरु भुखमरीको अवस्थामा आईपुगेका छन् । मान्छे भोकभोकै मर्न सक्ने अवस्था छ । को हो त्यसको लागि जिम्मेवार ? को हो कसुरवार ? कसुरवार नेपाल सरकार हो । आन्दोलनको १ सय ३२ दिन नाघिसक्दा पनि नेपाल सरकारले आन्दोलनरत मधेसीहरुको मागलाई किन स्वीकार गरिरहेको छैन । जब कि मधेसमा पहिले पनि कतिपय आन्दोलनहरु विगतमा भईसकेका छन् । यति मात्र होइन राज्यले सम्झौता समेत गरेको पाइन्छ । तर, त्यो सम्झौता कहिल्यै लागु भएन । यो अन्याय हो कि होइन ? अन्धैर्य हो कि होइन ? त्यसैले मधेसीहरुले गरेको आन्दोलन अन्यायको विरुद्धको आन्दोलन हो । त्यो प्रमाणित पनि भईसकेको छ । अब कहिले समाधान गर्ने हो । धेरै ढिलो भईसक्यो । मधेसीहरुलाई धेरै पीडा छ । कतिसम्म कि बर्णन गर्न सकिन्न । मलाई धेरै मानिसहरुले कुटनीति सिकाउन आउछ । अन्तर्राष्टिूय सम्झौता र मापदण्डको कुरा गर्छ । म त्यो सबै केही जान्दैन । के मात्र जान्दछु भने गाउँमा मेरो घरको छिमेकमा बसेका बासिन्दाहरुले आफ्नो घरका महिलालाई दुवर््यवहार गर्दा वा आक्रमण गर्न खोज्दा वा हिंसा गर्दा वा घरमा आगो लाग्दा वा छिमेकीको घरमा डाकु आउँदा वा कोई बदमास आउँदा वा हल्ला उठ्दा म आफुलाई यो भनेर कसरी बस्न सक्छु कि त्यो मेरो घरको मामिला होइन, छिमेकीको हो । मानवता र व्यवहारले के भन्छ ? केही पनि कोलाहल हुँदा म दौडेर पुग्नु पर्छ । र, अहिले जसरी मधेसमा अन्याय भएको छ त्यो कुरा पटना सम्म पनि पुगेको छैन ।
    धेरै मानिसले अहिले के भनिरहेका छन् भने नेपालमा भारतले हस्तक्षेप गर्यो । तपाईहरु नै भन्नुस नेपालमा अहिले भईरहेको मधेस आन्दोलन विश्व मै कहिँ भएको छ । जसरी नेपाल सरकारले त्यहाँ दमनकारी नीति अपनाएको छ कुनै सरकारले अपनाउछ । सर्लाहीको नवलपुरको सभामा त्यहाँको सरकारले अख्तियार गरेको दमनकारी नीति हाम्रो देशमा व्रिटिश शासकले जलियाबाला बागमा जसरी दमन गरेको थियो, ठिक त्यस्तै झझ्ल्को दिन्छ । त्यहाँ सभामै मानिसहरुलाई पुलिसले गोली चलाएको थियो । मलाई फोटोहरु देखाएको थियो । एक जना महिला मरेका थिए र १७ जना घाइते भएका थिए । हामै्र सितामढीमा उनीहरुको उपचार भईरहेको छ । तर, तिनीहरुको हौसला त हेर्नुस के भनिरहेका छन् भने कति चाँडो ठिक हुन सकिन्थ्यो र फेरी पनि आन्दोलनमा सहभागी हुन सकिन्थ्यो । मलाई तपाईकै मधेसी नेताहरु राजेन्द्र महत्तो, महेन्द्र यादव, जंगीलाल यादव लगायत करिब ८÷१० जना नेताहरुले भेट गर्नुभएको थियो ।
मैले के बुझेको छु भने मधेसमा भईरहेको अहिलेको यो आन्दोलन स्वाधिनता, स्वतन्त्रतता र स्वाभिमानका साथ बराबरीको लागि आन्दोलन भएको हो । मधेसीहरुको जनसंख्या ५१ प्रतिशत रहेको छ । तर, संसदमा ६५ वटा सिट मात्र दिइएको छ । तर, बाँकी रहेको ४८.५ प्रतिशत जनसंख्यालाई १ सय सिट । कहाँ गयो बरावरीको सिद्धान्त । त्यसैले यो संविधानमा कति बदमासी गरिएको छ भन्ने पुष्टि हुन्छ । त्यसैगरी राज्यसभामा पनि बराबरकै आधारमा सिटको वितरण गरिनुपर्दछ । यति मात्र होइन संघीयताका लागि प्रान्तको विभाजन गर्दा उत्तर र दक्षिण गरी प्रान्त बनाइएको छ । अरे भाई मधेसको भुगोल पुर्व देखि पश्चिम हो न कि उत्तर देखि दक्षिण । त्यसैले पहिले अन्तरिम संविधानमा दिइएको दुई प्रदेशको मान्यताका आधारमा प्रान्त निर्धारण गरिनुपर्दछ । अहिलेको संविधान प्रतिगामी संविधान बनेको छ । अन्तरिम संविधान भन्दा पनि पछि हटेको छ । तपाईहरुले जुन भन्नु हुन्छ खस बर्ग त्यसैको संविधान बनेको छ । कहाँ गए प्रचण्ड ? के माकर््सवाद यही हो ? माकर््सवादले त दुनियाँका मजदुरहरु एक हौं भन्छन । तर, यहाँ संविधानमा खोई त बराबरी ?
    त्यसैले मैले अहिले नेपाल सरकारको तीन वटा कसुर देखिरहेको छु । पहिलो, जारी मधेस आन्दोलनमा दमनकारी कारवाही, दोस्रो नेपाल सरकारले माग सम्बोधन नगरी आन्दोलनलाई लामो धकेलेको छ । र, तेस्रो भनेको तस्करी हो । तस्करी कसले बन्द गराउने ? सरकारले होइन । त्यसैगरी भारत सरकारको पनि दुई वटा कसुर मैले देखेको छु । भारत सरकार पनि कम बदमास होइन । नेपाल सरकारले गलत संविधान बनायो र भारत सरकार बेखवर रह्यो , मधेसी नागरिकहरु मारिए भारत सरकार उदाशिन रहे । दोस्रो भनेको नेपाल सरकार र भारत सरकार दुवै देशको शासन प्रशासनको मिलेमतोमा तस्करीलाई बढावा दिएका छन् । त्यसको उद्देश्य के मात्र हो भने मधेस आन्दोलनलाई कमजोर बनाउन सकियोस । २० अगस्तमा नेपालमा गलत संविधान जारी हुन्छ । तर, १८ तारिकमा भारत सरकारले आफ्नो विदेश सचिव एस जयशंकरलाई प्रधानमन्त्री मोदीको दुत बनाएर पठाउँछ । यति ढिलो किन ? पठाए पनि त्यो दुतले के संविधानलाई ब्रेक गर्न सक्यो र ? कहाँ गयो तपाईको रिसर्च एण्ड एनालेसिस विङ्ग (रअ) ? कहाँ गयो तपाईको डिप्लोमेसी ? कहाँ गयो खुफिया तन्त्र ?
 त्यसैले जब जनताको अधिकारको हरण हुन्छ तब शुकरात, प्रल्हाद, ध्रुव जस्ता आन्दोलन हुन्छ । जयप्रकाश नारायण, मार्टिन लुथर किंग, नेल्सन मन्डेला जस्ता नेताले गरेको आन्दोल नझैं अहिलेको मधेस आन्दोलन अधिकार प्राप्तिका लागि आन्दोलन हो । त्यसैले यो कुरा मैले दुवै देशमा बुझाउनु छ । खास गरेर भारतमा बढी बुझाउनु छ । त्यसैले मैले यो बोर्डरको १८ सय किलोमिटर भुभागमा गएर हल्ला उठाएपछि मेरो देशै भरीको मान्छेले जान्न सक्छ भनेर जनजागरण अभियान थालेको हो । त्यो जनजागरण अभियानका कारण मेरो देशको १ सय २५ करोड जनसंख्या भएको मानिसले पनि थाहा पाउन सक्नेछ । त्यसैले म के भन्न चाहन्छु भने मधेसी भाईहरु तपाईहरुको आन्दोलनमा हामी १ सय २५ करोड भारतीय नागरिक पनि साथ छौं । तपाईहरुको आन्दोलन सम्बोधन हुनमा अवस्य नै केही वढी समय लागिरहेको छ । १ सय ३२ दिनको आन्दोल नभईसकेका छन् । ५४ जना जति निर्दोष मधेसी नागरिकहरुले सहादत दिईसकेका छन् । तपाईहरुले लगाउनु भएको नाकाबन्दी ८२ दिन भन्दा वढीको भईसकेको छ । तपाईहरु अत्यन्तै कष्ठमा हुनुहुन्छ । त्यसको लागि कसुरवार त नेपाल सरकार हो । किनभने उसले सम्बोधन नै गरेन । त्यसको कारण के भयो भने हाम्रो ध्यान पनि त्यता जान सकेन । किनभने हामी पनि आन्तरिक चुनावमा व्यस्त थियौं । तपाईहरुलाई थाहै छ विहारमा विधानसभाको चुनाव भएको थियो । बल्ल आएर ४ तारिकमा फ्रि भएको छु । जब कि चुनावकै क्रममा दुई दिन सितामढी र मुझफ्फरपुरमा मैले हल्ला उठाएकै हुँ । तर तपाई सोच्न सक्नु हुन्छ कि हाम्रो चुनावको लडाई साधारण लडाई थिएन । नरेन्द्र मोदी कुदी कुदी ४० वटा सभाहरुमा भाषण गरेका थिए । के बिजुली पाउनु भयो भनेर प्रश्न गर्थे ? मिलेन । पाउनु भएन । उनको प्रस्तुतीलाई लिएर आम जनताले पनि के गुनासो गर्यो भने देशको प्रधानमन्त्री जस्तो व्यक्तिले कसरी बोलेको होला । हाम्रै देशको प्रधानमन्त्री जवाहरलाल नेहरु देखि लाल बहादुर शास्त्री हुँदै डा.मनमोहन सिंह सम्मका प्रधानमन्त्रीहरु दुई चार वटा सभामा आएर उच्च स्तरिय भाषण गरेर जाने गर्थे । तर, मोदी त गाली गलौजमा ओर्लिए । त्यसैले हामीलाई धेरै ठुलो चुनौती थियो । हामी त्यसमा व्यस्त थियौं । त्यसैले तपाईहरुलाई धेरै लामो आन्दोलन तान्नु पर्यो । तर पनि बीच बीचमा म छटपटाई रहेको थिएँ । मान्छेलाई म भन्ने गर्थें कि नेपालमा मधेसी सँग अन्याय भईरहेको छ । अब बिहारमा सरकार बनिसकेको छ । उत्तर प्रदेशको गोरखपुरमा पनि मलाई ढिलाई गरेर जानु पर्यो । किनभने त्यहाँ पनि बाध्यता थियो । त्यहाँ पञ्चायतको चुनाव चलिरहेको थियो । १० तारिकमा चुनाव थियो र १३ तारिकमा त्यहाँ गणना थियो । गणनाकै दिन म त्यहाँ पुगेको थिएँ । अब त्यहाँ पनि चुनाव छैन र विहारमा पनि चुनाव सकिएको छ । अब हामीलाई सहज भएको छ । यो खरमास (पुष महिना) भन्दा बढी नाघ्दैन तपाईहरुको आन्दोलन । गत महिना मंसिरमा विहेको लगन पनि धेरै तेज भईसकेको थियो । तर, अब तपाईहरुको लडाई बढी जाँदैन । त्यसैले अब अलि अरु बल लगाउनु छ लडाईमा । एक दिनमा  जब मेरो यो १८ सय किलोमिटर दुरीको यात्रा पुरा हुन्छ तब एक दिन तपाईहरुलाई सत्याग्रही बनाउँदै काठमाण्डौ सम्मको यात्रा तय गर्नेछु । त्यसैको तयारी हो यो नेपाल भारत मैत्री यात्रा । दुवै देशका बीचमा जुन खटास उत्पन्न भएको छ, त्यसलाई अन्त्य गर्न पनि यो यात्रा गरिएको हो । मैले देखिरहेको छु चीनले पनि षड्यन्त्र गरिरहेको छ । जब एक समयमा चीनले तिब्बतलाई हत्याउन लागेको थियो तब भारतकै कारण विफल भएको थियो । त्यहाँ भारत चुकेको कारण चीनले तिब्बतमाथि कब्जा जमाउन सक्यो ।
    त्यसैले भारतले त्यस्तो चुक फेरी नगरोस, यही सभाका माध्यमले भारत सरकारलाई सावधान गराउन चाहन्छु । कुन खुफिया तन्त्रका मानिसहरु छन् यहाँ तिनीहरुले लेखापढी गरेर भारत सरकारलाई भने हुन्छ । गएर भन कि भारत सरकारले चुक नगरोस । डा. राममनोहर लोहिया साहवले गर्नुभएको थियो हिमालय बचाऊ आन्दोलन । सन् १९६२ मा एउटा नेपाली कविले कविता लेखेका थिए । शंकरपुरीमा चीनको आक्रमण भयो, ४४ करोडलाई हिमालयले पुकारेको छ । त्यतिबेला हाम्रो जनसंख्या ४४ करोडकै थियो । अहिले त १ सय २७ करोडमा पुग्दैछौं । यदि चीनले नेपालमा उत्पात सुरु गर्छ भने १ सय २७ करोडलाई हिमालयले पुकारेको छ भन्ने मौका नआवोस भन्दै भारत सरकारलाई पहिले नै म सचेत गराउन चाहन्छु कि नेपाललाई बचाउनु छ । त्यो नेपाल जो हाम्रो नातेदार पनि हो । यो देश स्वतन्त्र रहोस । लोकतन्त्र झन् बलियो होस । स्थायित्व होस । समानता सहितको अधिकार हरेक नागरिकलाई प्राप्त होस । जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र निर्धारण होस । राज्यको पुर्नसंरचना गर्दा मधेसीको अधिकार सहितको पहिचान सहितको प्रान्त बनोस । मधेसी आन्दोलन मलाई जायज लाग्दछ । त्यसैले हिन्दुस्तानको मिडियाको पनि अहम भुमिकाको आवश्यकता छ । किनभने त्यहाँको मिडिया राज्यको पक्षमा छ । त्यसकारण सिंगो भारतलाई जानकारी गराउन पनि भारतको मिडियाको ठुलो भुमिकाको खाँचो छ । मधेसीहरु माथि जति जोर जुलुम भईरहेको छ त्यो कुरा हिन्दुस्तानका मानिसहरुलाई अहिलेसम्म थाहा नै भएको छैन । अत्याचार भएको छ । गोली चलेको छ । मान्छे मारेका छन् । यत्रो ठुलो आन्दोलन भईरहेको छ । यी सबै कुराहरु भारतमा थाहा नै हुन सकेको छैन । त्यसैले यो यात्रामा मिडिया फर बोर्डर हार्मनी पनि आवद्ध छ । मैले धेरै ठाउँमा बैठक गरिसकेको छु । मैले ती पाँच वटै प्रदेशका मुख्य मन्त्रीहरुको पनि बैठक गरिसकेको छु ।
    ती मुख्य मन्त्रीहरुले पनि भारत सरकारलाई लेखापढी गरोस । यहाँको सबै पार्टीहरुलाई मैले अनुरोध गरिसकेको छु । जुन छिमेकीको दुखबाट हामी दुःखी हुन्छौं र खुशीबाट खुशी हुन्छौं, त्यहाँ अहिले पनि भुकम्पको पीडा कम हुन सकेको छैन । त्यहीबेला यो मधेसीहरु माथि धेरै ठुलो पीडा आएको छ । ती सबै पीडाहरु अन्त्य हुन सकोस । हाम्रो लक्ष्य हो । अहिलेसम्म तपाईहरुको आन्दोलनमा नैतिक समर्थन मात्र रहेको छ । र, अब आवश्यक पर्यो भने सक्रिय सहभागी पनि हुन सक्छौं । त्यसैले अन्तिम विजयी मधेसीको हुन्छ नै । किनभने जनताको आवाजलाई कसैले दवाउन सक्दैन । खाली के ध्यान दिनुस भने तपाईको लडाई हिंसक नहोस । किनभने त्यसको परिणाम राम्रो हुँदैन । महाभारतको लडाई त भएको थियो । मारकाटको लडाई भएको थियो ।
    तर त्यसको परिणाम राम्रो भएको थिएन । धेरै मानिसहरु मारिएका थिए । त्यसैले म के भन्छु भने महात्मा गान्धीको बाटो अपनाउनुस । भारतीय नागरिक आशिषरामको पनि सहादत भएको छ मधेस आन्दोलनमा । मैले भारत सरकार र विहार सरकारलाई त्यस बारेमा लेखिसकेको छु ।  ती सबै सहिदहरुको सहादत बेकार जाने छैन । मधेसको अधिकार प्राप्ति गराई छाड्छु यही मेरो संकल्प पनि हो । मधेसको जित सुनिश्चित छ । अन्तिम धक्का दिनुस ।

२ पौषमा महोत्तरीको सिमावर्ती क्षेत्र भारतको भिठ्ठामोडमा
 आयोजित गोष्ठीमा बायाँबाट दोस्रो भारत सरकारका 
पुर्व केन्द्रिय मन्त्री हरिबंश प्रसाद सिंह र तेस्रो विहार 
सितामढीका विधायक सुनिल कुमार कुशवाहा ।


२०७२ पौष ०५ गते आईतबार

No comments:

Post a Comment