Thursday, December 31, 2015

माफ गर्नुहोला राष्ट्रपतिज्यू, बिनानिम्तो आउँदा स्वागत हुँदैन : रोशन झा

सुस्ताएको मधेस आन्दोलनलाई पुनः प्राणवायु दिएकोमा धन्यवाद छ, प्रथम महिला राष्टूपति एवं गणतान्त्रिक नेपालका द्वितीय राष्टूपति विद्यादेवी भण्डारीलाई । नेताहरूको दिल्ली दौडाहापछि शिथिलतातिर गएझैँ देखिएको मधेस आन्दोलनलाई पुनः गतिशील बनाउन उनले शान्त पोखरीमा ढुंगा फालेकी छिन् । अहिले त उनी स्वतन्त्र छिन् र हुनुपर्छ पनि । तर, हिजो उनी एमाले नेतृ थिइन् ।
आज जसरी मधेस आन्दोलनमा छ, यो एकैपटक सतहमा देखिएको आन्दोलन होइन । यो सतहमा आउनुमा ठूला पार्टीहरु र सत्ताधारी पार्टीको भूमिका छ नै । वास्तवमा मधेस आन्दोलन आज जुन उचाइमा पुगेको छ, यसमा उपेन्द्र, महन्थ वा राजेन्द्रको राजनीतिभन्दा एमालेका शीर्षस्थ नेता केपी ओली, माधव नेपाल, झलनाथ खनालहरुको बोलीले बढी काम गरेको देखिन्छ । त्यस्तै, मधेस आन्दोलन यो उचाइमा पुग्नुमा सबैभन्दा ठूलो पार्टी कांग्रेसका नेता सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरु पनि जिम्मेवार हुने नै भए । र, एमाओवादी नेता प्रचण्ड, नारायणकाजी श्रेष्ठको भूमिका छ नै ।
परापूर्व कालमा हिमालय ऋषिकी छोरी तथा महादेवकी पहिलो पत्नी सती बिनानिम्तो उनको बाबाले आयोजना गरेको यज्ञमा गएको र त्यो यज्ञ विध्वंश भएको इतिहास छ । त्यही इतिहासलाई दोहोर्याउँदै मधेसी जनताले राष्टूपतिको रुपमा ‘नचिनेको’ तथा बिनानिम्तो आएकी भूतपूर्व क. विद्यादेवी भण्डारीले राम जानकी विवाह महायज्ञलाई ध्वंश गरेकी छन् । देशको नागरिक देशभरि घुम्नु, तीर्थ जानु, मन्दिर, मस्जिद, चर्च लगायतमा जानु सामान्य हो । तर, देशको उच्च पदमा आसिन व्यक्तित्व बिनानिम्तो कुनै पनि समारोहमा जानु हुँदैन, गए सम्मान पाइँदैन । यो कुरा देशको सर्वोच्च पदमा आसीन व्यक्तिले बुझ्नुपर्ने हो । उनलाई सल्लाह दिने सल्लाहकारले पनि उनलाई सम्झाउनुपर्ने हो । तर, न त राष्टूपति र उनका सल्लाहकारहरूले नै उचित निर्णय गरेको देखिन्छ ।
सैन्य बलको भरमा जानकी मन्दिरलाई छाउनीमा परिणत गरी भण्डारीले जुन ताण्डव प्रस्तुत गरिन्, त्यसलाई जनकपुरले वर्षौं स्मरण गरिरहनेछ । विवाह पञ्चमीको इतिहासमा पहिलोपटक श्रद्धालुले प्रहरीको लाठी खाएका छन् । राम जानकीको डोली नगर परिक्रमा गरेको छैन । उत्सव कर्मकाण्डीय हिसाबमा मात्र मनाइएको छ, त्यो पनि अन्तिम समयमा युवा क्लबहरूको अगुवाइमा, जसले जनकपुरको अस्मिताप्रति चिन्ता गर्छ र त्यसको रक्षाका लागि सधैंभरि प्रयत्नशील रहन्छ ।
भूतपूर्व कमरेड भण्डारीलाई विवाह महोत्सवको मूल आयोजक जानकी मन्दिरले आमन्त्रण गरेको होइन । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास चिच्याइचिच्याई कसैलाई पनि निम्तो नगरेको बताउने गरेका छन् । उनी निर्वा्चित हुँदै गर्दा ब्लाक आउट गरेका मधेसी जनताले उनलाई ‘राष्टूपति’को रुपमा चिन्दैनन् । उनलाई थाहा हुनुपर्ने हो, अब उनी एमालेको कार्यकर्ताभन्दा पनि देशको राष्टूपति हुन् । उनका व्यवहार, विचार, बोलाई तथा गराईले बृहत राष्टिूय एकतालाई परिलक्षित गर्नुपर्छ । तर उनी मधेसी जनताको व्यापक विरोधका बाबजुद हठजोडले जनकपुर आइन् । उनले पूर्वराष्टूपति डा. रामवरण यादवबाट केही सिक्न सकिनन् । प्रथम तथा द्वितीय मधेस आन्दोलनलाई व्यापक विरोध गरेका यादव राष्टूपतिको रुपमा सधैं सन्तुलित भाषा प्रयोग गरे र सन्तुलित व्यवहार प्रदर्शन गरे, विद्वताको महत्त्व यहाँनेर झल्किन्छ ।
हुन त राष्टूपति भएपछि भण्डारी स्वतन्त्र भएकी छिन्, हुनु पनि पर्छ । कम्युनिस्टहरू भगवानलाई मान्दैनन् । उनीहरू भौतिकवादमा विश्वास गर्छन् । अझ अहिले गणतन्त्रमा गइसकेको जुन अवस्था छ, जीवनका सम्पूर्ण समय कम्युनिस्ट आन्दोलनमा बिताएकी, कम्युनिस्ट विचार र व्यवहारबाट दीक्षित उनीमा जानकी माताको दर्शनको उत्कट लालसा कसरी जागृत भयो ? के नेपालका कम्युनिस्ट ढोंगी हुन्छन् ? होइन भने उनी एमालेको एजेन्ट भएर आन्दोलनको पारो नाप्न उत्रेकी हुन् त ? यस्ता प्रश्नलाई पनि नकार्न सकिँदैन ।
जानकी मन्दिरभित्र चप्पलजुत्ता लगाएर जानु निषेध छ । तर, उनको सुरक्षामा खटिएका सेना जुत्ता लगाएर मन्दिरको गर्भ गृहभित्र पनि प्रवेश गरे । मूल्य(मान्यताका दृष्टिले अपवित्र मानिने कुकुरसमेत जानकी मन्दिरको छतहरूमा देखियो । झाँकी प्रदर्शनका क्रममा राम जानकीको प्रतीक बनेकाहरूलाई उठाएर भण्डारी उनीहरूको आसनमा बसिन् । राष्टूपतिजस्तो व्यक्तिमा यतिको समान्य शिष्टाचार त हुनुपर्ने हो । के उनी कुमारीलाई हटाएर उनको आसनमा बस्न सक्छिन् ? उनको कुकृत्यबाट जानकी मन्दिर स्तब्ध छ, जनकपुरवासी स्तब्ध छ । त्यसैले उनीहरू जानकी मन्दिरलाई चोख्याउन पूरै मन्दिरलाई सफा गरेका छन् । गंगाजल छर्केका छन् र क्षमापूजा पनि गरेका छन् । राष्टूपतिको आगमनले विवाहोत्सव बिथोलिएकाले जनकपुरवासीले जानकी मातासँग क्षमा मागेका छन् ।
त्यसैले यो पंक्तिकार अनुरोध गर्न चाहन्छ । राष्टूपतिज्यू, तपाईंलाई मिथिलाको त्यत्तिको परवाह छ भने, यहाँको जनताको भावनालाई सम्मान गर्नुपथ्र्यो । विगत चार महिनामा चार बुलेट ग्यास आएको छैन । जनता त्राहिमाममा छन, दानापानीको अभाव भएको छ । बैंकहरू खुलेका छैनन, कठ्याङ्ग्रिदो जाडोमा सानासाना बालबालिका बिहानबिहानै स्कुल जान बाध्य छन् । काठमाडौंमा आपूर्ति सहज गर्न दिल्ली तथा बेइजिङ धाउने सरकारलाई जनकपुर त्राहिमाममा छ भनेर भन्दिनुस् न । तपाईंकै पूर्वपार्टीको सरकार छ, तपाईंले भनेको कसो नसुन्ला र ? तर, परिस्थितिले यस्तो देखाउँछ( तपाईंलाई त शक्ति परीक्षण गर्नु थियो, गर्नुभयो र जनकपुरका जनताबाट लखेटिनुभयो । राष्टूपतिज्यू, जनताको तागत अगाडि कसैको तागत चल्दैन, तपाईंको सुरक्षामा खटिएका सेनाले जनआक्रोशलाई थाम्न सकेन । कालो झन्डाले स्वागत गरेका जनकपुरवासीले तपाईंलाई ढुंगा हान्दै बिदाइ गरे ।
तर, यसबाट मधेस आन्दोलनलाई बल पुगेको देखिन्छ । धान भित्र्याउन गाउँ पसेका आन्दोलनकारी यसै मेसोमा सदरमुकाम फर्केका छन् । आन्दोलनको स्वरुप फेर्न बल गर्न थालेका व्यापारी बन्दलाई अझ कडा बनाउन उद्घोष गर्न थालेका छन् । पठनपाठनमा सक्रिय हुन थालेका विद्यार्थी पढाइ र आन्दोलनलाई सँगै लैजाने ‘मुड’ बनाउन थालेको देखिन्छ । महिलाहरू झाडु लिएर र युवाहरू लाठी लिएर आन्दोलनमा होमिएका छन् । आन्दोलन फेरि उत्कर्षमा पुग्ने वातावरण बनिसकेको छ ।
तर, तपाईंहरूको जठजोड र शक्ति परीक्षणले घाइते भएका दर्जनौँ दर्शनार्थीलाई उनको घाउको हिसाब चाहिन्छ । अंगभंग भएका मानव पिण्डले आफ्नो हरेक रगतको कतराको हिसाब माग्दै छ । निर्दोष दर्शनार्थीले पक्कै पनि तपाईंलाई श्राप दिएका होलान् । जानकीले हिसाब माग्नेछिन, जनकले हिसाब माग्नेछ, भनिन्छ कि अन्यत्र गरेको पापबाट जनकपुरधाममा मुक्ति पाइन्छ, तर जनकपुरमा गरेको पापबाट मुक्ति पाउने स्थान अन्यत्र कहीँ छैन ।


२०७२ पौष ०५ गते आईतबार

No comments:

Post a Comment