Tuesday, July 14, 2015

अस्पताल सुधारका लागि १५ बुँदे सहमति

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुर अञ्चल अस्पतालमा चिकित्सकहरुको लापरवाही वढ्दै जानु तथा त्यहाँ सेवाग्राहीहरुको मृत्यु हुनु सामान्य बन्दै गएपछि द एक्सक्लुसिभका सम्पादक समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजय अनुरागी अनशनमा बसेका थिए । धनुषाको ठाढी झिझा(१ का सतिश मिश्रको नवजात शिशुको चिकित्सकको लापरवाहीका कारण १९ अषाढमा मृत्यु भएपछि २० अषाढमा अनुरागी उक्त नवजात शिशुको लास लिएर अस्पताल सुधारको माग राखि अनशनमा बसेका थिए । 

त्यसपछि मेडिकल सुप्रिटेन्डेन्ट डा.संजय ठाकुर, विकास समितिका अध्यक्ष डा.नागेन्द्र प्रसाद यादव, प्रमुख जिल्ला अधिकार काली प्रसाद पराजुली, प्रहरी उपरीक्षक गणेश बहादुर थापा, पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र र विभिन्न संचारकर्मी, यूवा तथा मानव अधिकारकर्मी बीच अस्पताल सुधारका लागि अस्पताल प्रशासनले १५ बुँदे सहमति गरेको थियो ।

अस्पतालको सबैभन्दा ठुलो समस्याको रुपमा रहेको अस्पतालको हातावरिपरी २ सय मिटर दुरीमा अस्पताल भित्र कार्यरत रहेको चिकित्सक, प्याथोलोजि, एक्स रे, अल्टूासाउण्ड आदि संचालन गर्न नपाउने र त्यसका लागि आवश्यक पहल गर्न जिल्ला प्रशासन कार्यालय सँगै अन्य निकायमा पत्राचार गर्ने सहमति भएको थियो । स्वास्थ्य निर्देशिकामा यसरी सरकारी अस्पतालका कर्मचारीले २ सय मिटर वरिपरी निजी व्यवसाय संचालन गर्न नपाउने व्यवस्था रहेको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीले पनि त्यसका लागि आफु पहल गर्न तयार रहेको बार्तामा बताएका थिए । 

त्यसैगरी अञ्चल अस्पतालमा विशेषज्ञ पद रिक्त भई सेवा प्रदान गर्न गाह्रो हुने हुँदा उक्त पद पुर्तीका साथै प्राविधिक लगायत सम्पुर्ण सेवा सुविधाका लागि रिक्त पद पुर्ति गर्न तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरिएको थियो । अस्पतालबाट प्रदान भईरहेको सेवाहरु सम्बन्धमा सर्वसाधारणले देख्ने गरी सेवा, सुविधा, शुल्क, निशुल्क वितरण गरिने औषधिका नामहरु, औषधिका कम्पनीहरु, वितरकका नाम, दुई पटक चिकित्सकको राउण्डको समय र नाम विवरण सहितको नागरिक वडा पत्र ७ दिन भित्र व्यवस्थापन गर्ने निर्णय गरिएको थियो ।

प्रसुति सेवा निशुल्क भएपनि अञ्चल अस्पतालले प्रसुतिहरुबाट खरिद गराउँदै आएको ग्लब्स लगायत सम्पुर्ण सामग्रीहरु अस्पतालबाटै उपलब्ध गराउने, अस्पताल अन्तरगत रहेको विभागमा कार्यरत सम्पुर्ण चिकित्सकहरुको ड्यूटी रोस्टर सर्वसाधारणलाई हेर्ने गरी राख्नुपर्ने, आइसियू, एनआईसियू सेवा तत्कालै चाँडै संचालन गर्नुपर्ने, अस्पतालमा दैनिक ३ पटक फिनेल छर्कने तथा सर सफाई व्यवस्थापन गर्नुपर्ने, अस्पतालमा कार्यरत चिकित्सक, पारामेडिक्स, नर्सिङ लगायत सम्पुर्ण कर्मचारीहरु आफ्नो ड्यूटीभर बस्नुपर्ने, एमरजेन्सी डूप सहुलियत दर रेटमा अस्पतालमा २४ घण्टा उपलब्ध हुनुपर्ने लगायतका निर्णयहरु गरिएको छ ।

त्यसैगरी अस्पतालमा पानी, विजुली, पंखा लगायत प्रत्येक वेडमा बेडसिट, लकर, स्लाइनस्टेन्ड, कुरुवाको लागि टुल लगायतका आधारभुत सुविधाहरु उपलब्धताको लागि अबिलम्ब व्यवस्था गर्नुपर्ने, कुरुवाको लागि बाहिर खानेपानी, शौचालय, कुरुवा घर, क्यान्टिनको व्यवस्था अबिलम्ब गर्ने, एम्बुलेन्सको भाडा दर नागरिक वडा पत्रमा सर्वसाधारणले हेर्ने गरी राख्नुपर्ने निर्णय गरियो । 

सहमतिमा गरिएका उक्त निर्णयहरु अस्पताल विकास समिति र मेसुद्वारा अबिलम्ब कार्यान्वयन गर्नुपर्ने, सो अनुसार कार्यान्वयन भए नभएको सम्बन्धमा नेपाल पत्रकार महासंघको अगुवाईमा नेपाल चिकित्सक संघ सहितको टोलीले अनुगमन गर्ने र उक्त अनुगमनको रेकर्ड राख्नुपर्ने निर्णय गरियो ।

२०७२ अषाढ २७ गते आईतबार

1 comment:

  1. Most of the things which were within our capacity have been done.patient visitors management cannot be done without money.
    Maintenance of duty hour for staff and docs needed support and monitoring of all stakeholders including the society and medoa.

    ReplyDelete