Tuesday, July 14, 2015

जनकपुरमा विद्युत आपुर्तिको समस्या र सुधारका प्रयास

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा जिल्लामा अनियमित लोडसेडिङ र लो भोल्टेजको समस्याका कारण सेवाग्राहीहरु दिनप्रतिदिन मर्कामा परिरहेका छन् । उक्त समस्यालाई लिएर जनकपुर उद्योग बाणिज्य संघका पदाधिकारीहरुले आमरण अनशननै गरेका थिए । पछि नेपाल विद्युत प्राधिकरण र अनशनकारी बीच सहमति भएर अनशन तोडिएको थियो । तर, सहमति भईसक्दा पनि समस्या समाधान हुन सकेको छैन । यद्यपि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरले भने केही सुधारका कार्यहरु थालिएको दावी गरेका छन् ।
के हो समस्या ?
जनकपुर विद्युत प्राधिकरण वितरण केन्द्र अन्तरगत धनुषा जिल्लाको ७० वटा गाविस एउटा नगरपालिका र एउटा जनकपुर उपमहानगरपालिका पर्दछ । यस अघिसम्म जनकपुरको विजुली भारतीय सिस्टमसँग जोडिएको थियो । जसले गर्दा सिस्टम फेल भएर धनुषामा विद्युत आपुुर्तिमा समस्या हुने गथर््यो । सट डाउन र टिूपिङ दुईवटा मुख्य समस्या रहँदै आएको छ । भारतीय सिस्टम भएका कारण सिस्टम फेल भएर धनुषामा विद्युत आपुर्ति हुँदैनथ्यो । आपुर्ति भएर पनि विजुलीको मर्मत कार्य गर्दा प्राधिकरणले जानी जानी पनि सट डाउन लिएर काम गर्दा विद्युत आपुर्ति काटिने गरिएको छ । त्यसैगरी हावाहुरी चल्दा, काग चरा वा पंछि पोलको तारमा वस्दा फल्ट आएर टिूपिङ हुने हुँदा पनि विद्युत आपुर्ति रोकिने गरिन्छ । खास गरी भारतीय विद्युतको लाइन १ हजार किलोमिटर दुरी सम्म हुने हुनाले अधिकांश समय सिस्टम फेल भएर विद्युत आपुर्तिमा समस्या हुने गरेको छ । यसरी यी समस्याहरुका कारण लोडसेडिङका अतिरिक्त धनुषामा विद्युत आपुर्तिमा कटौति हुने गरेको वितरण केन्द्र जनकपुरका प्रमुख जितेन्द्र झाको भनाई छ ।
उपाय
विद्युत आपुर्तिमा देखिएको उक्त समस्याहरु समाधान गर्नको लागि टूान्सफर्मरको क्षमता अभिवृद्धि गर्न आवश्यक छ । एकातर्फ दिनप्रति दिन ग्राहकहरुको संख्या वढेर लोड बढ्दै गएको छ भने विगत ३ बर्ष देखि टूान्सफर्मर थपिएको छैन । जवकी १ बर्षमा ३० देखि ३५ वटा टूान्सफर्मरहरु थपिने गथर््यो । टूान्सफर्मर जल्ने समस्या पनि वढ्दै गएको थियो । जसले गर्दा लाइन टिूप हुने र उक्त टूान्सफर्मरको फिडर लाइन रहेको सहर अन्धयारो हुन्थ्यो । टूान्सफर्मर खरिदमा व्यापक भ्रष्टाचार भएको पाइएपछि देशैभरी टूान्सफर्मर खरिदको कार्य रोकिएको थियो । तर, नेपालमा गत बैशाख महिनामा आएको विनाशकारी भुकम्पले गर्दा विदेशबाट राहत कोटामा १ हजार थान टूान्सफर्मर नेपालमा आएको छ । उक्त कोटा मध्ये १५ वटा टूान्सफर्मर जनकपुरमा पनि भित्रिएको छ । हुन त जनकपुरमा २२ वटा टूान्सफर्मरको आवश्यकता रहेकोमा १२ वटा भित्रिसकिएको र साउन महिनामा थप ३ वटा भित्रिने वितरण केन्द्र प्रमुख झा बताउँछन् । भित्रिएका १२ टूान्सफर्मर मध्ये एउटा टूान्सफर्मर जनकपुर उपमहानगरपालिकाको कार्यालय अगाडी, एउटा मिल्स एरिया स्थित शक्ति निकेतनको अगाडी, एउटा पेठिया रोडमा, एउटा महाविर चौकमा जडान गरिसकिएको छ । अब ती ठाउँहरुमा फ्यूज नउड्ने प्राधिकरणको दावी छ । त्यसैगरी जनकपुरको कटैया चौरीमा २ सय केभीको टूान्सफर्मरलाई अपग्रेड गरेर २ सय ५० केभी पु¥याइएको छ । कटैया चौरीमा लो भोल्टेजको समस्या नरहने वितरण केन्द्रका प्रमुख झाको दावी छ । कटैया चौरीमा ५० घण्टामा ३ पटक तार नै चुँडियो । अब तार पनि ठिक गरिएको छ । जनकपुरको बलवा टोल स्थित पनि लोड ब्यालेन्सको समस्या थियो । अहिले त्यहाँ लोड व्यालेन्स गरिएको छ । र विगत २ महिना देखि टूान्सफर्मरको फ्यूज उडेको छैन ।
लो भोल्टेजको कारण
जनकपुरमा ३३ हजार भोल्टेजको विद्युत आपुर्ति हुने ठाउँमा २३ हजार भोल्टेजको मात्र विद्युत आयात भएका कारण लो भोल्टेजको समस्या भएको झा बताउँछन् । लो भोल्टेज समस्या हटाउन मुझ्फ्फरपुर आयोजना पुरा हुनु आवश्यक छ । ७३ एमभिए को ठाउँमा अहिले ३० एमभीएको मात्र हुनुले पनि समस्या भएको हो । त्यो आयोजना १ बर्ष भित्र जसरी पनि पुरा गर्नै पर्ने हुन्छ । नत्र भने १ सय मेगावाटको रकम नेपाल विद्युत प्राधिकरणले तिर्नुपर्ने हुन्छ । उक्त आयोजना पुरा भएपछि १३२ हजार भोल्टेज आपुर्ति हुने जसमध्ये १ सय मेगावाट विजुली जनकपुरलाई आपुर्ति हुनेछ । उक्त परियोजना सम्पन्न भएपछि जनकपुरमा भोल्टेजको स्थाई समाधान हुने प्राधिकरण प्रमुख झा बताउँछन् ।
विद्युतमा अनियमितता
विद्युतमा सबै भन्दा ठुलो अनियमितता हुनुको कारण प्राधिकरण र उपभोक्ता विचको मिटर खुल्ला छ । 
जनकपुरमा उपभोक्ताहरुले कति विद्युत आपुर्ति गरिरहेका छन् भन्ने कुराको सहि रेकर्ड प्राधिकरण सँग पनि छैन । उपभोक्ताले विद्युतको मिटर खरिद गर्दा उल्लेख गरेको विद्युत क्षमता भन्दा वढी नै विद्युत आपुर्ति गर्ने गरेको पाइएको छ । जस्तै, मिटर खरिद गर्दा ५ एमपियरको मिटर लिने तर १० एमपियर उपभोग गर्ने गरेकाले प्राधिकरणलाई समस्या भएको प्रमुख झा बताउँछन् । त्यस्तो काम गर्नका लागि उपभोक्ता मात्र जिम्मेवार छैन । प्राधिकरणका कर्मचारीहरु पनि जिम्मेवार छन् । केही रुपैयाँको प्रलोभनमा परेर प्राधिकरणका कर्मचारीहरुले क्षमता अभिवृद्धि गरिदिने गरेका छन् । तर, त्यसको अभिलेख प्राधिकरण सँग हुँदैन ।
त्यसैले उक्त समस्या समाधान गर्नका लागि प्राधिकरणले अहिले जनकपुर सहरमा मिटरको रिसिलिङ अभियान चलाएको छ । प्रारम्भिक चरणमा प्राधिकरणले जनकपुरको मिल्स एरिया, देवी चौक, भानु चौक आदि ठाउँमा कुल ७५ वटा मिटरहरुलाई रिसिल गरेको छ । विना स्वीकृति नै क्षमता वृद्धि गरेको ७५ वटा उपभोक्ताहरुलाई कारवाही स्वरुप जरिवाना वापत कुल २ लाख ५० हजार रुपैयाँ प्राधिकरणले विद्युत चुहावट वापत असुल गरेको छ । एमसिवी चेन्ज गरिदिने कर्मचारी पक्राउ नपर्नुको कारण सिल ओपन रहेको झा बताउँछन् । यसरी अनुसन्धान गर्दा सिल नै नक्कली समेत पाइएको भन्दै वितरण केन्द्र प्रमुख झा भन्छन,“ प्राधिकरणका कर्मचारीहरुको मिलेमतोमा मिटरको क्षमता वढाइनुका साथै के पनि पाइयो भने बाहिरका मानिसहरुले समेत मिटर सिल गरेका रहेछन् ।

जनकपुर नगर क्षेत्रमा मात्रै अनधिकृत व्यक्तिहरुले पनि विद्युत चोरी गरिरहेको पाइएको छ । ग्रामिण क्षेत्रमा उक्त समस्या त छदै छ तर सहर भित्र यसरी विद्युत चोरी भईरहँदा पनि प्राधिकरणले तिनीहरुलाई कारवाही गर्नका लागि हालसम्म कुनै कदम चालेको पाइँदैन । खास  गरेर गुठीको जग्गामा अनधिकृत तरिकाले घर बनाएका व्यक्तिहरुले विद्युत चोरी गरिरहेका छन् । ती मध्ये केहीले त प्राधिकरणलाई आफ्नो प्रभावमा लिएर मिटर समेत जडान गरिसकेका छन् । जब कि २०६६ सालमा जिल्ला प्रशासन कार्यालय धनुषाले गुठीको जग्गामा अनधिकृत तरिकाले घर बनाएकाहरुलाई मिटर नदिन औपचारिक पत्र मार्फत नै निर्देशन दिइसकेको छ । प्राधिकरण प्रमुख झा भन्छन,“ अब हामी केही दिन भित्रै सहर भित्र त्यस्ता अनधिकृत व्यक्तिहरुले विद्युत चोरी गरिरहेको कार्यलाई निरुत्साहित गर्ने छौं । चाँडै तिनीहरुलाई कारवाही गरेर चुहावट नियन्त्रण गर्नेछौं ।

विद्युत हुकिङ गर्ने ३२ जना व्यक्तिबाट ४ लाख २४ हजार रुपैयाँ पछिल्लो ६ महिनामा असुल उपर गरिएको छ । जसमध्ये ३० जनाले मिटर जडान गरेर पनि विद्युत चोरी गरेको पाइएको थियो । जिल्लाको ग्रामिण क्षेत्रमा ६५ प्रतिशत चुहावट छ भने सहरी भेगमा चुहावटको प्रतिशत ४० रहेको छ । कुल ६६ हजार मिटर वितरण गरिएको मध्ये ४० हजार मिटर जनकपुर उपमहानगरपालिकामा मात्र वितरण गरिएको छ । जसमध्ये ४५ हजार मिटर डोमेस्टिक रहेको तथ्याङक छ । 

अहिले २१ अषाढ देखि मिटर वितरण बन्द गरिएको छ । मिटरको निवेदकलाई वितरण गरिसकेपछि मात्र वितरण गरिने हुनाले अहिले तत्कालका लागि मिटर वितरण बन्द गरिएको भएपनि साउन २० गते पछि मिटर आपुर्ति हुने झा बताउँछन् ।
विद्युत महसुल असुलीमा ढिलाई 
नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल असुली गर्नमा समेत ढिलासुस्ती गरेको पाइएको छ । अहिले सम्ममा २१ करोड रुपैयाँ विद्युत महसुल असुल उपर गर्न बाँकी छ । डोमेस्टिक तर्फ १ लाख रुपैयाँ सम्म, उद्योग तर्फ ८ लाख रुपैयाँ सम्म प्रति व्यक्ति रकम बाँकी छ । वितरण प्रमुख झा भन्छन,“ गत माघ ६ गते यता ७ सय २५ जना व्यक्तिको विद्युत सप्लाई कारवाही स्वरुप काटिएको छ । २ करोड २४ लाख रुपैयाँ असुल उपर पनि गरिएको छ । अब चाँडै बाँकी बक्यौता असुल गर्न ध्यान दिइनेछ ।” अहिले १ महिनामा करिब ३ करोड रुपैयाँ प्राधिकरणले विद्युत महसुल बापत असुल उपर गरिरहेको छ ।
नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख जितेन्द्र झा ।

२०७२ अषाढ २७ गते आईतबार

No comments:

Post a Comment