Tuesday, July 14, 2015

धनुषामा बलात्कार मुद्दामा ४१ दिनमै फैसला बलात्कारीलाई १० बर्ष कैदको सजाय

बलात्कारी दिपेन्द्र तिवारीलाई १० बर्षको सजाय ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रायः जसो अदालतमा मुद्दाको फैसला हुन बर्षौं बर्ष लागि रहेको हुन्छ । तर, धनुषा जिल्ला अदालतले जवरजस्ती करनी मुद्दामा ४१ दिनमै फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतको न्यायाधीश कृष्ण बहादुर थापाको इजलासले १४ अषाढ २०७२ मा एक जना नाबालिकालाई बलात्कार गरेको कसुरमा जनकपुर उपमहानगरपालिका –९ का २० बर्षिय दिपेन्द्र तिवारीलाई १० बर्ष कैद र पीडित परिवारलाई ३ लाख रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराउने फैसला गरेको हो । बलात्कारीलाई कैद हुनु सामान्य कुरा हो । अदालतको नियमित प्रक्रिया अन्तरगत भई नै रहन्छ । तर, ४१ दिनमै फैसला हुनुले अदालत प्रतिको पीडित पक्षको आस्था बढेको छ ।

८ बैशाख २०७२ मा अन्दाजी बेलुका ६ बजे ३ कक्षामा अध्ययनरत एक जना १२ बर्षिय छात्रालाई तिवारीले टयूसन पढ्ने बेलामा ढोका लगाई जवरजस्ती करनी गरेको थियो । प्रहरीले तिवारीलाई सोही पक्राउ गरेको थियो । ३ जेष्ठ २०७२ मा धनुषा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको थियो । अभियोग पत्र दर्ता भएको भोली पल्ट ४ जेष्ठमा अदालतले तिवारीलाई थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । उक्त घटनामा एक जना मात्र प्रतिवादी भएकाले प्रतिवादी चुक्ता भई फैसला गर्न सजिलो भएको कानुन व्यवसायीहरुको भनाई छ । जाहेरवाली, पीडित बस्तुस्थिति मुचुल्का, घटना विवरण, कागज गर्ने मानिसहरुले १७ जेष्ठ २०७२ मा जिल्ला सरकारी वकिल कार्यालयलाई वकपत्रका लागि उपस्थित गराउन अदालतले आदेश गर्यो । लगतै ८ अषाढ २०७२ मा पीडित जाहेरवाला समेतको वकपत्र गराएपछि १४ अषाढमा उक्त मुद्दाको ४१ दिनमै फैसला गर्न न्यायाधीशलाई सहज भएको कानुन व्यवसायी बताउँछन् ।

जनकपुर अञ्चल अस्पतालबाट पठाइएको मेडिकल रिपोर्ट अनुसार पीडित बालिकाको जनेन्द्रिय अंगका बाहिर रातोपन, सुनिएको, राँकिएको, निलडाम देखिएको, कन्याजालीमा रगतै रगत भएकोले भेजिनल स्वाव बढाउन नसकेको हुँदा हिडडुल गर्न, दिसापिसाव गर्न कठिनाई भएको, यौनाङमा रगत देखिएको, कपडा पनि रगतै रगतले भिजिएको उल्लेख थियो । प्रहरी समक्ष तिवारीले घटना गरेको स्वीकारे पनि अदालतमा इन्कारी बयान गरेको भएतापनि पीडितको बयान र मेडिकल रिपोर्टको आधारमा उनलाई कसुरवार ठहर गरिएको श्रेस्तेदार हरिकृष्ण श्रेष्ठ बताउँछन् ।

बलात्कारका कतिपय मुद्दाहरुमा बर्षौं वितिसक्दा पनि फैसला नहुनु र उक्त मुद्दामा यति चाँडो फैसला हुनुको कारण के हो भन्ने सवालमा श्रेस्तेदार श्रेष्ठ भन्छन,“ संवेदनशिल मुद्दालाई ध्यानमा राखेर फास्टट्रयाकमा फैसला गर्न निर्देशन नै छ । तर, यस मुद्दामा एक जना मात्र प्रतिवादी हुनु र सो व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा समेत ल्याउनु र अन्य प्रक्रियाहरु पनि चाँडै सम्पन्न हुनु मुख्य कारण हो । अरु कतिपय बलात्कारकै मुद्दाहरुमा धेरै मानिसहरुलाई प्रतिवादी बनाइएको हुन्छ र सबै प्रतिवादी चुक्ता हुन नसकेकाले ढिलाई भईरहेको हुन्छ ।”


२०७२ अषाढ २७ गते आईतबार

No comments:

Post a Comment