Tuesday, July 14, 2015

प्रसुति सेवामा सबै भन्दा वढी लापरवाही

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुर अञ्चल अस्पतालको प्रसुति सेवा राम्रो छ भन्ने कुरा देश व्यापी रुपमा प्रचार प्रसार गरियो । तर, बास्तविकता भने प्रचार भन्दा विलकुल फरक पाइन्छ । सबैभन्दा ठुलो विडम्बना के हो भने प्रसुति फाँटमा नर्स नै डाक्टर  हुन्छन् । डाक्टरले गर्नुपर्ने सबै कामहरु त्यहाँ नर्सद्वारा गराइन्छ । तालिम प्राप्त नर्स भन्दा पनि विभिन्न कलेजका इन्टर्न गर्ने विद्यार्थीहरु नै प्रसुतिको डेलिभरी गराउँछन् । परिणाम स्वरुप सुत्केरी महिला र जन्मिने नवजात शिशु दुवैको ज्यान खतरामा रहन्छ । 

२०७२ सालको साउन देखि बैशाख सम्म कुल १० महिनामा ८ हजार ५ सय ९५ जना सुत्केरीले त्यहाँ सेवा लिँदा कुल १ सय ३४ जना नवजात शिशुको मृत्यु भएको अस्पतालको तथ्याङ्क छ । जसमध्ये ६ हजार ६ सय ३४ जनाको सामान्य, ५ सय २८ जनाको कम्पलीकेटेड र १ हजार ४सय ५३ जना सुत्केरी महिलाको डेलेभरी गराइएको छ । 

प्रति प्रसुतिलाई यातायात खर्च वापत नेपाल सरकारले रु.५सय उपलब्ध गराउने गर्छ । र, सामान्य प्रसुति सेवा वापत रु. १ हजार ५ सय, कम्पलीकेटेड बापत रु. ३ हजार र शल्यक्रिया वापत रु.७ हजार नेपाल सरकारले औषधि उपचार वापत अनुदान दिने गर्दछ । नेपालमा मातृ मृत्युदर र नवजात शिशु मृत्युदर घटाउन नेपाल सरकारले यस्तो अनुदान दिने गरेको भएपनि जनकपुर अञ्चल अस्पतालमा मातृ र शिशु मृत्युदर घटनुको साटो वढ्दै गएको पाइन्छ । त्यसको प्रमुख कारण त्यहाँ चिकित्सकहरुले ड्यूटी नगर्नु नै हो । अप्रेशन गर्नु परे मात्र त्यहाँ चिकित्सकहरु आउने गरेको सुत्केरी महिलाहरुको गुनासो रहँदै आएको छ । 

यदि चिकित्सक आईहाले पनि सुत्केरी महिलालाई त्यहाँ उपचार गर्नुको साटो  सोही चिकित्सक काम गर्ने बाहिरको नर्सिङ होममा पठाउने गर्छन् । त्यसो गर्नुको कारण के हो भने अञ्चल अस्पतालमा सामान्य, कम्पलीकेटेड वा शल्यक्रिया गरेर पनि प्रति प्रसुति रु. ३ सय मात्र इन्सेन्टीभ दिइने गरिन्छ । सोही रकममा चिकित्सक सँगै नर्स, कार्यालय सहयोगी, स्वीपर र लेखा प्रशासन सबैमा वितरण गर्नुपर्ने हुन्छ । तर, आफ्नै नीजि नर्सिङ होममा लगेर प्रसुति गराउँदा प्रति प्रसुति १० हजार देखि २५ हजार रुपैयाँ सम्म कमाउने गरेका हुन्छन् ।

 अञ्चल अस्पतालमा वढी शल्यक्रिया नभएपनि बाहिर लग्ने सामान्य प्रसुतिलाई पनि शल्यक्रिया गराउन बाध्य पारिन्छ । अञ्चल अस्पतालमा पुग्ने वित्तिकै नर्सहरुले प्यासेन्टलाई काउन्सिलिङ गर्नुको साटो डराउने काम गर्न थाल्छन् । प्रसुतिको अवस्था गम्भीर छ, बच्चा र आमा दुवैको अवस्था सिरियस छ भनेर सुरुमा नर्सहरुले प्यासेन्टलाई डराउँछन् । त्यसपछि अप्रेशन गर्नुपर्छ नत्र दुवै मर्न सक्छन् भन्ने वित्तिकै प्यासेन्ट पार्टी त्यसो भए अप्रेशन गराईदिनुस भनेर भन्दा यहाँ डाक्टर छैन भनेर जवाफ दिन्छन् । डाक्टरलाई अनकलमा बोलाउँदा डाक्टरको मोवाईल स्वीच अफ छ भनेर नर्सले भन्छन् । त्यसो भए अब के गर्ने, कहाँ जाने भनेर प्यासेन्टले सोध्दा बाहिर नर्सिङ होममा पठाउँछन् । त्यो कार्य वापत नर्सले मोटो रकम कमिशन पाउँछन् । एम्बुलेन्सले पनि कमाई गर्छन् । र नर्सिङ होम मालामाल हुन्छन् । 

यसरी अस्पतालमा आउने प्रसुतिलाई बाहिर पठाउने कार्य नर्स, एम्बुलेन्स चालक, कार्यालय सहयोगी र स्वीपरले मात्र गर्दैनन्, चिकित्सक पनि सक्रिय हुन्छन् । कम्पलीकेटेड र शल्यक्रियाको केशमा यदि चिकित्सक अस्पतालमा आईहाल्दा उपचारमा संलग्न चिकित्सकले नै प्यासेन्टलाई डराउने काम गर्छन् । 

यहाँ अस्पतालमा बेहोस पार्ने एनेस्थेसिया छैन, अप्रेशन गर्दा जोखिम वढी हुन्छ भनेर चिकित्सकले भन्ने वित्तिकै प्यासेन्टलाई बाहिर जान बाध्य पार्छन् । अस्पतालमा अप्रेशन नगर्ने चिकित्सकले बाहिर आफ्नै वा कार्यरत बाहिरको नर्सिङ होममा अप्रेशन गर्छन् । 

यति मात्र होईन, ठुलो गोरखधन्दा कहाँ हुन्छ भने त्यही प्यासेन्टलाई फेरी अञ्चल अस्पतालमा फर्काएर सोही डाक्टरले निशुल्क उपचार गरेको कागजात बनाउँछन् । यसो गर्दा डाक्टरलाई दोहोरो फाइदा हुन्छ । एक त बाहिर पैसा कमाएकै हुन्छन् अर्कोतर्फ अञ्चल अस्पतालमा रेकर्ड देखाएमा इन्सेन्टीभ पनि प्राप्त हुन्छ । अञ्चल अस्पतालको २०७१ साउन देखि २०७२ बैशाख सम्ममा रु.२५ लाख ७८ हजार ५सय इन्सेन्टीभ दिन बाँकी रहेको अस्पतालको लेखा प्रशासनले जानकारी दिएको छ । जसमध्ये सबै भन्दा वढी इन्सेन्टीभ पाउने चिकित्सकमा डा.कल्पना बछाडको नाउँ अग्रपंक्तिमा रहेको छ । डा.धिरेन्द्र साह, डा.विजय कुमार सिंह, डा.रामजी यादव, डा.सुस्मिता झा, डा. भगवान सहनी, डा. मितु झा, डा. रहिना बानो, डा.किरण यादव र डा. रुवी सिंह आदि चिकित्सकहरुको इन्सेन्टीभ बाँकी रहेको छ ।


२०७२ अषाढ २७ गते आईतबार

1 comment:

  1. In every zonal hospital the normal delivery is conducted by the nurses and docs are called for complicated and surgical cases.
    If you see the trends of child death from asoj when new management came the no of death has decreased than before. no incentive has been paid for fake registrations of private cases.these information written in the paper are false.
    Dr sanjay thakur
    Ms

    ReplyDelete