Monday, March 23, 2015

अवैध बस्ती ‘धनेश्वर नगर’को कथा


अजय अनुरागी
जनकपुरधाम............
साविकमा धनुषाको विन्धी गाविस वडा नं. २ मा अवस्थित तथा हाल जनकपुर उपमहानगरपालिका वडा नं. २३ को चौरीमा एउटा नयाँ बस्ती बसेको छ । करिब १ सय ३० घर जति रहेको उक्त बस्ती बसेको धेरै समय भएको छै्रन । विगत ७÷८ वर्षको अन्तरालमा एउटा दुईटा गरी कच्ची र पक्की घरहरुको बस्तीको नाउँ हो ‘धनेश्वर नगर’ । धनेश्वर नगर नाउँ पर्नुको मुख्य कारण के हो भने जुन जग्गामा अबैधानिक तरिकाले अनधिकृत व्यक्तिहरुले त्यहाँ बस्ती बसाएका छन्, त्यो जग्गा कुनै बेला श्रीराम जानकी दुलहा भगवान बेला कुट्टीको अधिनमा रहेको थियो । उक्त कुट्टीका महन्थ धनेश्वर दास भनिने धनेश झाको नाउँमा उक्त बस्तीको नामाकरण गरिएको हो । ती अतिक्रमणकारीहरुले उक्त जग्गामा अबैधानिक तरिकाले बनाएका घरहरुलाई बैधता दिलाउने मनसायका साथ धनेश्वर नगर नामाकरण गरिएको हो ।
जनकपुर उपमहानगरपालिका वडा नं. २३ स्थित 
रामजानकी दुल्हा दुल्हीन बेला निकास कुटी 
अन्तरगतको जग्गामा अतिक्रमण गरी अवैधानिक
 तरिकाले बनाइएको बस्ती धनेश्वर नगर ।
धनेश्वर दासले आफुहरुलाई मनखपमा दिएको भन्दै आफुहरुसँग कागज तथा प्रमाणहरु रहेको भन्दै एउटा व्यक्तिले जग्गा छापेर घर बनाउन थालेको देखेपछि अन्य मानिसहरुले पनि धमाधम उक्त स्थानको जग्गा कब्जा गर्दै त्यहाँ वस्ती नै बसाईसकेका छन् । एमाओवादी सभाषद प्रतिक्षा तिवारी मुखिया, राष्टिूय मधेस समाजवादी पार्टीका स्थानीय नेता सुरेन्द्र मण्डल, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी हबलदार सुजित पासवान र सुरेन्द्र पासवान, कतिपय निजामती कर्मचारीहरु लगायतले घर बनाएका छन् । प्रायः जसो मानिसहरुले लाठी, पाबर, पहुँच र बाहुबलको दम्भमा त्यहाँ घर बनाएको बताइन्छ । कुनै पनि घरको नक्सा छैन । हुन त विगतमा त्यो ठाउँ गाविस अन्तरगत पर्ने भएपछि विना नक्साको घर बनाएको भएपनि अब उपमहानगरपालिकामा गाभिएपछि त्यहाँ निर्मित घरहरुको नक्सा अनिवार्य छ । यति मात्र होइन त्यहाँ विद्युत प्राधिकरणले ती अनधिकृत घरहरुलाई मिटर पनि उपलब्ध गराईदिएका छन् ।
उक्त स्थानका महन्थ धनेश्वर दासको ४ माघ २०६१ मा रहस्यपुर्ण तरिकाले निधन भएको थियो । जति बेला उनको निधन भयो त्यतिबेला उनका शिष्यले नै त हत्या गरेको होइन भनेर हल्ला पनि चल्यो । तर, त्यसपछि खासै अनुसन्धान हुन सकेन । धनेश दास भन्ने धनेश्वर दास महन्थ हुँदा पनि विभिन्न समयमा उक्त कुट्टी निजी हो वा सरकारी हो भन्ने विषयमा विवाद उठ्दा जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयले २१ माघ २०४८ मा जारी गरेको पत्रबाट उक्त कुट्टी निजी भेषधारीको अधिनमा कुट्टी सम्पति रहेको भन्ने देखिन्छ । हुन त धनेश्वर दास जिवित नै हुँदा उक्त कुटी गुठीले आफ्नो स्वामित्वमा लिईसकेको पनि देखिन्छ ।
उक्त वस्तीमा एमाओवादी सभाषद
प्रतिक्षा तिवारी मुखियाको घर ।
धनेश्वर दासको निधन भएपछि साधु परम्परा एवम मुलुकी ऐन गुठीको महलको १२ नम्बर बमोजिम साधु समाजद्वारा १५ माघ २०६१ मा सरजमिन भई गाविस कार्यालय विन्धीबाट १७ माघ २०६१ मा गुरु चेलाको नाता प्रमाण पत्र लिई तथा विषकोबरा भनिने राम एकबाल दासले गुरु धनेश दासको मृत्यु दर्ता गराई १८ माघ २०६१ मा उनलाई महन्थको चादर पगरी दिइएको थियो । लक्ष्मीनारायण मठ मटिहानी स्थानका मान महन्थ जगन्नाथ दास बैष्णवले पनि १८ माघ २०६१ मा राम एकवाल ठाकुर भनिने राम एकवाल दास बैष्णवलाई महन्थको चादर पगरी प्रदान गरिएको पत्र देखिन्छ । तर, पछि आएर लक्ष्मीनारायण मठले उनलाई प्रदान गरिएको चादर पगरी बदर गरिएको पत्राचार गरेपछि राम एकवालले सर्बोच्चमा मुद्दा गरी महन्थ कायमै रहेको आदेश भएको पाइन्छ । कतिपय व्यक्तिहरुका अनुसार धनेश्वर दासको निधन भएपछि विषकोबरालाई महन्थ बनाउनुमा मानमहन्थ र विषकोबरा बीच जग्गा बेच्ने सम्झौता भएको हुन सक्छ तर, जब विषकोबराले मान्न इनकार गरेपछि उनलाई हटाएको हुन सक्ने बताउँछन् ।
 महन्थ राम एकवाल दास वैष्णव । 
उनी आफुलाई उक्त कुटीको महन्थ दावी गरेपनि
 गुठी संस्थानले उनलाई महन्थ मानेको छैन ।

महन्थ राम एकवाल दास बैष्णवका अनुसार कुट्टीको जग्गामा बनाइएको अबैध वस्तीका कारक भनेको त्यतिबेला गठन गरिएको समिति र समितिमा बस्ने व्यक्तिहरु हुन । पहिलो पटक गठित समितिमा मटिहानी स्थानको महन्थ जगन्नाथ दास, बसहिया स्थानको महन्थ सत्यनारायण दास बसहिया, विन्धी गाविसका निवर्तमान अध्यक्ष शत्रुधन पाण्डे, भुपु सचिव छेदी ठाकुर  र रामआश्रय पाण्डे रहेको छ । त्यसैगरी दोस्रो पटक गठित कमिटिमा दिगम्बर झा, सन्तोष साह र पुजारी अवधेष चौधरी रहेको छ । तेस्रो पटक गठित कमिटिमा बेचन मण्डल, दिनेश मण्डल लगायतका व्यक्तिहरु रहेका छन् । राम एकवाल दासका अनुसार गुठी संस्थानको कार्यालय प्रमुखले तत्कालिन प्रहरी निरीक्षक पशुपति नाथ डोटेललाई आफ्नो प्रभावमा पारी आफु माथि झुठा मुद्दामा फसाउने स्थिति सृजना गरी प्रमाण नै नरहेको व्यक्तिहरुबाट उक्त मन्दिरको जग्गा कब्जा गर्न लगाउने तथा भवन निर्माण गर्न लगाउने कार्य गरिएको हो ।
गुठी संस्थानले भर्खरै नियुक्त गरेको पुजारी उपेन्द्र तिवारी ।
यसै सन्दर्भमा वास्तविकता के हो भनेर विन्धी गाविसका पुर्व गाविस अध्यक्ष शत्रुधन पाण्डेलाई सोध्दा उनी भन्छन,“ आफुलाई समितिमा कसले र कसरी राख्यो त्यसबाट पुर्णतः अनभिज्ञ छु । उक्त कुटी साविक देखि नै नीजि कुटी रहेको प्रमाण के पनि हो भने सतीले दिएको उक्त कुटीको सम्पति अहिले पनि भारत विहारको मधुवनी जिल्ला अन्तरगत चन्द्रशेनपुरमा करिब १० विघा जग्गा छन् । धनुषाको बहुअर्वामा पनि कुटीको १३ कठ्ठा जति जग्गा छ । कुटीका महन्थ धनेश्वर दासले मानिसहरुलाई मनखपको कागज गरेको केही मानिसहरुसँग प्रमाण पनि छ ।”
१५ विघा जग्गा, १ विघा बगैचा र मन्दिर सहित १६ विघा १ कठ्ठा १३ धुर कुल जग्गा रहेको उक्त कुट्टीको सम्पति १३ कार्तिक २०६०मा गुठी संस्थान केन्द्रिय कार्यालयको आदेश अनुसार राजगुठीमा दर्ता भएको हो । विन्धी गाविस अन्तरगत किता नं. ३०९ मा ७ विघा १ कठ्ठा १० धुर, किता नं. ४८६ मा ३ धुर, किता नं. ५६८ मा ८ विघा र किता नं. १०६ मा १ विघा गरी कुल १६ विघा १ कठ्ठा १३ धुर क्षेत्रफल सहितको बेला कुट्टीको जग्गा अहिले गुठी संस्थानको अधिनमा रहेको देखिन्छ । गुठी संस्थान शाखा कार्यालय जनकपुरका सहप्रशासक नवराज पौडेलका अनुसार अहिले उक्त कुटीमा महन्थ पद रिक्त रहेको भएपनि त्यहाँ गुठी संस्थानले पुजारीको रुपमा उपेन्द्र तिवारीलाई १३ माघ २०७१ मा नियूक्त गरेको छ । उक्त कुटीमा पुजारी भई काम गर्न नियुक्त भएका व्यक्तिले काम नगरी छोडी रिक्त हुन आएको पुजारी पदमा नियुक्त हुन पाऊँ भनी तिवारीले दिएको निवेदनको आधारमा गुठी संस्थान ऐन तथा विनियममा व्यवस्था भएअनुसार १ वर्ष परिक्षणकालमा रहने गरी वढीमा ५ वर्षको लागि पुजारी पदमा नियुक्त गरिदिने भनी १३ माघ २०७१ मा निर्णय भएको हुँदा उक्त मन्दिरमा साविक परम्परा अनुसार गर्नु, धार्मिक, सांस्कृतिक पर्व तथा दैनिक नित्य पाठ पुजा, भोगरागको कार्य गर्न हुन र उक्त कुटीको चलअचल श्री सम्पतिको संरक्षण सम्वद्र्धन गर्न गुठीको कार्यालय प्रमुख राजबाबु पाण्डेले महोत्तरीको मनरा गाविस २ का उपेन्द्र तिवारीलाई पुजारी पदमा नियुक्त गरेको देखिन्छ ।
अतिक्रमण हटाउन नसकेपछि गुठीले प्रहरी प्रशासनलाई जग्गा विक्री गर्दै
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषालाई प्रति कठ्ठा 
५ लाखको दरमा ७ कठ्ठा १५ धुर जग्गा उपलब्ध 
गराई दिनु भनेर गुठी संस्थान केन्द्रिय कार्यालयले
 शाखा कार्यालय जनकपुरलाई उपलब्ध 
गराई दिनु भनेर लेखेको पत्र ।
गुठी संस्थानले ती अतिक्रमित घरहरु खाली गराउन नसकेपछि त्यहाँ रहेको जग्गाहरु सशस्त्र प्रहरी र जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषालाई विक्री गरेर अतिक्रमण प्रहरी प्रशासनबाटै हटाउन लगाउने दाउमा देखिन्छ । १० अषाढ २०७० मा जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाले गुठी संस्थान सँग जग्गा किन्न पत्राचार गरेको थियो । सोही पत्राचार अनुसार गुठी संस्थान संचालक समितिले बेला कुटीको कित्ता नं. ५६० को ८ विघा जग्गा मध्ये ७ कठ्ठा १५ धुर रु. ५ लाख प्रति कठ्ठाको दरले टूाफिक प्रहरी कार्यालयलाई उपलब्ध गराउने भनेर ११ कार्तिक २०७१ मा निर्णय ग¥यो । उक्त निर्णय कार्यान्वयन गर्न भनि २ चैत्र २०७१ मा गुठीले पुनः निर्णय ग¥यो । ३ चैत्र २०७१ मा गुठी संस्थान केन्द्रिय कार्यालयका उपप्रशासक अच्युतानन्द पोखरेलद्वारा शाखा कार्यालय जनकपुरलाई पठाइएको पत्रमा उक्त निर्णय कार्यान्वयन गर्न भनिएको छ ।
त्यसैगरी अहिले उक्त जग्गामा जहाँ बस्ती बसाइएका छन्, सिमा सुरक्षा बल सशस्त्र प्रहरी कार्यालयलाई प्रति कठ्ठा ५ लाख रुपैयाँको दरले ७ विघा १ कठ्ठा १० धुर जग्गा विक्री गर्ने भनेर २८ मंसिर २०७१ मा गुठी संस्थान केन्द्रिय कार्यालयले निर्णय गरेको छ । ती अबैध वस्ती आफै खाली गराएर आफ्नो कार्यालय स्थापना गर्नुपर्ने सर्तमा सशस्त्र प्रहरीलाई उक्त जग्गा दिलाउने गुठीले निर्णय गरेको भएपनि सशस्त्र प्रहरीले अहिले त्यो जग्गा किन्नका लागि कुनै खास चासो लिएको पाइँदैन । गुठी संस्थान शाखा कार्यालय जनकपुरका कार्यालय प्रमुख राजबाबु पाण्डे भन्छन,“ सहुलियत दर रु. ५ लाखको कठ्ठामा सशस्त्र प्रहरीलाई जग्गा दिए बापत त्यहाँको अतिक्रमण सशस्त्र प्रहरीले आफै हटाएर लिनु पर्ने सर्त गुठीले राखेकोमा सशस्त्र प्रहरीले भत्काएर आफु विवादमा नजाने भनेकाले सशस्त्र प्रहरीले अहिले सम्म जग्गा किनेको छैन ।” तर, जब त्यो जग्गा सशस्त्र प्रहरीलाई नै दिने हो भने हामीहरुलाई पनि दिए हुन्छ भनेर अतिक्रमण गरी बस्ती बसेका मानिसहरुको भनाई रहेको छ । पाण्डे भन्छन,“ अतिक्रमण गरेर बसेका मानिसहरुले हामी पनि रकम दिन तयार छौं ती जग्गा हामीहरुलाई नै विक्री गर्नुपर्छ भनेर म कहाँ पटक पटक मानिसहरु आएका छन् । त्यसैले मैले पनि गुठी संस्थान ऐन अनुसार गुठीको जग्गामा अतिक्रमण गरी बनाइएका घरहरु कि त भत्काउनु पर्छ नत्र भने अर्को विकल्प भनेको मालपोतको डब्बल दस्तुर लिएर ती अबैध घरजग्गालाई बैधानिकता प्रदान गर्नुपर्छ भनेर मैले गुठी संस्थान केन्द्रिय कार्यालयलाई राय सहितको प्रतिवेदन पेश गरिसकेको छु ।” गुठी संस्थान ऐन अनुसार २०४६ साल चैत्र २६ गते अगाडी गुठीको तैनाथी पुर्ण जग्गामा व्यक्तिले यदि घर बनाएको छ भने मालपोतको बर्तमानको दरको सत प्रतिशत थप गरेर अर्थात डब्बल दस्तुर तिरेर व्यक्तिको रैतान नम्बरमा दर्ता गर्न सकिन्छ । तर, त्यसको लागि नक्सामा हुनु प¥यो । गुठी प्रमुख पाण्डे भन्छन,“ तर, ती अतिक्रमित जग्गाहरुको नक्सा २०४४ सालको मात्रै छ । २०४६ साल भन्दा अघि करिब ८÷१० वटा घर २०३९ साल तिर बनेको भएपनि प्रमाण देखिँदैन ।” २०३८÷०३९ साल तिर उक्त कुट्टीका तत्कालिन महन्थ धनेश्वर दासले नै विक्री गरेको बताइन्छ ।
साविकमा उक्त कुट्टी (मन्दिर) अधिनस्थ रहेको जग्गाको संरक्षक महन्थ धनेश्वर दास नै रहेको बताइन्छ । उनी जिवितै छँदा, उनीसँगै उनका शिष्य रामप्रताप दासको नाउँमा दर्ता रहेको जग्गा मध्ये ४ विघा जग्गा २०५७ साल भाद्र ८ गते बस पार्कको लागि धनेश्वर दासले नै बस व्यवसायी संघलाई भाडामा दिएको बताइन्छ । १ लाख ६० हजार रुपैयाँ बार्षिक भु बहाल तिर्ने गरी ३१ वर्षको लागि बस व्यवसायी संघलाई महन्थ धनेश्वर दासले भाडामा लगाएको थियो ।
श्री राम जानकी दुल्हा भगवान बेला निकास कुटीको मन्दिर ।

तर, बस व्यवसायी संघले कुटीलाई दुई÷तीन महिनाको भाडा दिएपनि त्यसपछि हालसम्म कुटीलाई भु बहाल बापतको रकम नबुझाएको महन्थ राम एकवाल दासको भनाई छ । बस व्यवसायीले कुटीलाई भु बहाल नतिरेपछि कुटीका तत्कालिन महन्थ रामएकवाल दासले सर्बोच्च अदालतमा बस व्यवसायी संघ विरुद्ध धनुषा जिल्ला अदालतमा मुद्दा दर्ता ग¥यो । सर्बोच्च अदालतमा मुद्दा टुङ्गो नलागुन्जेलसम्म यो मुद्दा मुल्तवीमा राखिएको छ भनी धनुषा जिल्ला अदालतले आदेश गरेपछि अहिले उक्त मुद्दा विचाराधिन छ । त्यसैगरी समाजको कल्याण हुनुको साथै मन्दिरमा पूजा आजा तथा भोग राग समेत होस भन्ने उद्देश्यले १ माघ २०६५ मा इन्डो नेपाल समुहको सामाजिक सेवा एकाई गैरसरकारी संस्था विश्व भारत फाउण्डेशनको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र कुमार रायलाई ३ विघा जग्गामा लिजमा दिइएको बताइन्छ ।  उक्त जग्गामा अनाथ आश्रम तथा वृद्धा आश्रम संचालन गर्नुस, आयबाट १५ प्रतिशत रकम कुटीलाई दिने सर्तमा उक्त फाउण्डेशनलाई जग्गा दिएको भएपनि  उक्त फाउण्डेशनले पछि गएर थप जग्गाहरु अतिक्रमण गरेर घर बनाउन थालेपछि आफुले उक्त सम्झौता रद्द गरेको महन्थ रामएकवाल दास बताउँछन् । 
यता अहिले आएर गुठी संस्थानले समेत जनकपुर अञ्चल यातायात व्यवसायी संघसँग मासिक २५ हजार रुपैयाँ भुबहाल बुझाउने गरी ४ विघा जग्गा माघ २०७० मा सम्झौता गरेको हो । प्रति वर्ष १० प्रतिशत रकम बृद्धि हुने गरी गुठी संस्थानले बस व्यवसायी संघसँग २०८० पौष मसान्तसम्मको लागि सम्झौता गरेको हो । गुठीका सह प्रशासक नवराज पौडेल भन्छन,“ सुरुमा बस व्यवसायी संघले गुठीलाई पनि भु बहाल बुझाईरहेको थिएन । तर, अहिले आएर विगत ३÷४ महिना देखि बुझाइरहेको पाइन्छ ।” विन्धी गाविसका पुर्व गाविस अध्यक्ष शत्रुधन पाण्डे भन्छन,“ उक्त कुटीको जग्गा यदि अतिक्रमण भएको छ भने त्यो गुठीले नै गराएको हो । यदि अतिक्रमण गुठीले साँँच्चै हटाउने हो भने गुठीले सबै भन्दा पहिले बस पार्कमा बस व्यवसायीले निर्माण गरेको घरहरु भत्काओस । बस पार्क भत्कियो भने विन्धी गाउँका मानिसहरु आएर आफै सबै अतिक्रमित घरहरु भत्काईदिने छन् । तर, गुठी अतिक्रमण हटाउनै चाहँदैन ।” समग्रमा हेर्ने हो भने गुठी संस्थान कै कारण उक्त कुटीको जग्गाहरु अतिक्रमण भएका छन् र थप पनि अतिक्रमण भईरहेका छन् ।
गुठी संस्थान शाखा कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार गुठी संग अहिले कुल १० हजार ७ सय ८८ विघा १० धुर १ कन्मा जग्गा रहेको छ । कुनै प्रकारको मोही नभएको गुठीको पुर्ण स्वामित्वमा रहेको तैनाथी जग्गा ९ सय ९ विघा १५ कठ्ठा १७ धुर, जोतहा मोही भएको, मोहीले गुठी संस्थानलाई जिन्सी तिरो बुझाउनु पर्ने गुठी अधिनस्थ जग्गा ३ सय ६४ विघा ४ कठ्ठा १ कन्मा, सम्बन्धि देवताको नाम सिरानमा उल्लेख गरी मालपोत सरहको पोत गुठी संस्थानमा सम्बन्धित जग्गा धनीले बुझाउनु पर्ने रैतान नम्बरी जग्गा १० हजार ६ सय ६३ विघा ४ कठ्ठा १३ धुर १ कन्मा रहेको छ । २०४३ साल देखि २०६३÷०६४ सम्म पछि रैतान नम्बरी भएको जग्गा १ सय २४ विघा १५ कठ्ठा १७ धुर रहेको छ ।



२०७१ चैत्र ०८ गते आईतबार

No comments:

Post a Comment