Monday, March 23, 2015

अमरनाथ गुप्ताको घर भत्किने निश्चित

जानकी मन्दिरको उत्तर तर्फ मन्दिर भन्दा पनि 
वढी उचाई सम्म सुनचाँदी व्यवसायी संघ धनुषाका
 अध्यक्ष अमरनाथ गुप्ताले बनाईरहेको होटेल ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर उपमहानगरपालिकाले २१ औं नगरपरिषदबाट गरेको निर्णयले सुन चाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष अमरनाथ गुप्ताले बनाएको मापदण्ड विपरितको भवन अब भत्किने पक्का भएको छ । जानकी मन्दिर वरपरको घर भवन निर्माण गर्दा ३१ फिट भन्दा बढी उचाईको घर बनाउन नपाउने नगरपालिकाको मापदण्ड विपरित जानकी मन्दिरको दक्षिण तर्फ गुप्ताले जानकी मन्दिर भन्दा बढी उचाईमा होटल निर्माण गर्न थालेपछि जनकपुर उपमहानगरपालिकाले नगर परिषदबाट ठोस निर्णय लिएको छ । जानकी मन्दिर वरपरको घर भवन निर्माण गर्न नक्सा पास गर्दा ३१ फिट उचाई सम्मको मात्र नक्सा पास भन्ने गरी गत बर्ष २७ पौष २०७० मा नगरपालिकाको २० औं नगरपरिषदबाट निर्णय भएको थियो । त्यसपछि व्यापक जन गुनासो आएकोले उक्त निर्णय पश्चात जानकी मन्दिर वरिपरी ३१ फिट भन्दा माथि हुने गरी पास भएको घर भवनको नक्सा तथा म्याद थपको निर्णयहरु बदर गर्ने तथा २० औं नगरपरिषदको निर्णय विपरित गलत कार्य भएको पाइएमा आवश्यक कानुनी प्रक्रिया समेत अवलम्बन गर्ने २१ औं नगरपरिषदबाट निर्णय गरिएको छ । उक्त निर्णय भईसकेपछि अब गुप्ताको संगसँगै जानकी मन्दिर वरपर निर्माण भएका ३१ फिट भन्दा वढी उचाईका घरहरु भत्किने भएका छन् । ११ पुष २०७० मा जनकपुर नगरपालिकाका अमिन बालेश्वर साह र सव इन्जिनियर सरोज कुमार यादवलाई नगरपालिकाले चिठ्ठी लेखी जानकी मन्दिरको वरिपरीको सम्बन्धमा प्रतिवेदन पेश गर्न कार्यकारी अध्यक्ष लामिछानेले पत्र पठाएको थियो । त्यसपछि १२ पुषमा उनीहरुले आफ्नो प्रतिवेदन नगरपालिकामा पेश गरेको भएपनि १४ पुषमा मात्र नगरपालिकाले दर्ता गरेको थियो । 
गुप्ताले नक्सा पास गराउन के–के गरे ?
 जनकपुर नगरपालिकाले जानकी मन्दिरको वरिपरीको घर भवन निर्माण गर्न नक्सा पास गर्दा ३१ फिट उचाई सम्मको मात्र नक्सा पास गर्नै २७ पुष २०७० मा निर्णय भए अनुसार तत्कालिन कार्यकारी अधिकृत जगन्नाथ लामिछानेले सार्वजनिक सूचना संचार माध्यमहरुमा प्रकाशित गरेका थिए । उक्त सूचनामा जानकी मन्दिरको वरिपरी १२ विघा रंगभुमि मैदान देखि दक्षिण तर्फ दशरथ मन्दिर, रामजानकी पेठिया बजार, महाविर चौक, भैरव चौक, राम चौक, जनक चौक, शिव चौक, गंगासागर मार्ग, धनुषा पथ, दुरसंचारको उत्तर तर्फको बाटो हुँदै अस्पतालको पश्चिम उत्तर कुना तर्फबाट दक्षिण नयाँ निर्माण भएको सडक हुँदै अस्पताल सडक सम्मको क्षेत्र भित्र ३१ फिट उचाई सम्म मात्र भवनको नक्सा पास गरिने तथा नक्सा पासको प्रक्रियामा रहेका नक्साहरुलाई समेत ३१ फिट उचाई सम्मको इजाजत दिइने साथै नक्सा पास भई हालसम्म निर्माण नभएका घर धनीहरुलाई ३१ फिट उचाई सम्म मात्र भवन निर्माण गर्नु भनेर उल्लेख    गरिएको थियो । 
उक्त सूचना प्रकाशित भएपछि २८ पुष २०७० मा जनकपुर नगरपालिकाको कार्यालयले अमरनाथ गुप्तालाई निर्माण कार्य  रोक्काको प्रष्ट विवरण खोली निर्माण कार्य रोक्का गर्न चिठ्ठी पठाएको थियो । गुप्ताले ९ साउन २०६८ मा नक्सा पास गराई १० साउन २०७० सम्म पाएको दुई वर्ष अवधिको म्याद त्यतिन्जेलसम्म सकिसकेको थियो । अनि परिषदको निर्णय र उक्त निर्णयको सूचना सार्वजनिक भएपश्चात गुप्ताले १२ पुष २०७० मा भवन निर्माणको पुनः म्याद थप गरिपाउँ भनी निवेदन पेश गरेको र १६ पुष २०७० मा नगरपालिकाले उक्त निवेदन दर्ता गरेको देखिन्छ । सोही दिन कार्यकारी अधिकृत लामिछानेले योजना शाखाको नाउँमा राय पेश गर्न सिफारिस गरेको थियो । र, थप म्याद नक्सामा २६ पुष २०७० मा लामिछानेले कानुनी राय समेत मागेको देखिन्छ । २६ माघ मै अभिलेख शाखाका प्रमुख वैद्यनाथ दासले टिप्पणी उठाई म्याद थपको निर्णय गरी कार्यकारी अधिकृत लामिछानेलाई निर्णयार्थ पेश गरेको देखिन्छ । फेरी सोही दिन लामिछानेले कानुनी राय पेश गर्न कानुनी राय मागेपछि २७ माघमा कानुनी सल्लाहकारले म्याद थपले कानुनी राय दिएपछि २८ माघमा लामिछानेले उक्त रायलाई सदर गरेको देखिन्छ । तर, राय सदर हुनु अगावै २७ माघ मै नक्सा पास म्याद थप दस्तुर रु.५ हजार २ सय २७ नगरपालिकाले लिएको नगरपालिकाको रसिद नम्बर ६८९७३ बाट देखिन्छ । २८ माघमा नक्साको म्याद थपको जानकारी लामिछाने र अभिलेख शाखा प्रमुख दासले संयुक्त हस्ताक्षर गरी अमरनाथ गुप्तालाई म्याद थपको चिठ्ठी चलानी नम्बर ५३०६÷०७०÷०७१ मार्फत पठाएको देखिन्छ । यसरी यी सबै कार्यहरु गर्दा नक्सा शाखा र अभिलेख शाखा दुवैको राय आवश्यक परेपनि नक्सा शाखाको राय विना नै म्याद थप सदर गरेको देखिन्छ । जब कि यस अघि नक्सा पास गर्दा भवन निर्माण अनुमति पत्र, दुवैमा सब इन्जिनियरको दुवैको सहमति अनुसार नक्सा पास र भवन निर्माण अनुमति पत्र दिएको देखिन्छ जब कि म्याद थप गर्दा सव इन्जिनियरको सहमति देखिँदैन ।
उक्त विषय उठाउन गौ संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष तथा सदभावना पार्टीका बरिष्ठ उपाध्यक्ष जगदीश महासेठले जनकपुर नगरपालिकामा निरन्तर निवेदन दिएर गुप्ता लगायत जानकी मन्दिर वरपरका मापदण्डका विपरित बनेका भवनहरु विषयमा कारवाही गर्न ध्यानाकर्षण गराउँदै आएका थिए । महासेठ भन्छन,“अब जनकपुर उपमहानगरपालिकाको कार्यालयले अहिले भएको नगरपरिषदको निर्णय अनुसार गुप्ता लगायत अन्य घरहरु जो मापदण्ड विपरित छन् तिनीहरुलाई भत्काउनु पर्छ । एकातर्फ हामी जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्न चाहन्छौं अर्को तर्फ जानकी मन्दिरको सौन्दर्यतालाई ओझेलमा पार्न निर्माण गरिएका भवनहरु नगरपालिकाले भत्काउँदैन भने हामीहरु त्यसका विरुद्ध सशक्त आन्दोलन गर्नु परे पनि त्यसबाट पछि हट्दैनौं ।”
हुन त यस अघि गुप्ताले आफ्नो होटेल भत्किनबाट जोगाउनको लागि एकातर्फ नगरपालिकाका कार्यकारी अधिकृत लामिछानेलाई आफ्नो प्रभावमा पारेकै थिए भने अर्को तर्फ उनले राजनीतिक संरक्षण पनि पाइरहेको देखिन्छ । माले समाजवादी पार्टीबाट परित्याग गरी नेकपा एमालेमा पुर्व मन्त्रि यदुवंश झा प्रवेश गरे तब पुर्व मन्त्रि झाले गुप्ताकी श्रीमतिलाई समेत समाजवादीको कार्यकर्ता बनाई एमालेमा प्रवेश मात्र गराएनन् उनलाई सक्रिय सदस्यता समेत दिलाए । यति मात्र होइन एमालेको भर्खरै सकिएको जिल्ला अधिवेशनको वन्द सत्र समेत आफ्नै निवासमा गराएका गुप्ताले होटेललाई जोगाउन राजनीतिक संरक्षण खोजेको प्रष्ट देखिन्छ । अब गुप्ताले होटेल भत्किनबाट जोगिन कुन कुन हतकन्डा अपनाउने हुन र कुन कुन शक्ति केन्द्र धाउने हुन त्यो भने हेर्न बाँकी नै छ ।

२०७१ चैत्र ०८ गते आईतबार

2 comments: