![]() |
जनकपुरका प्रसिद्ध सरोबर गंगा सागर । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरलाई वावन कुटी र बहत्तर कुण्डहरुको नगर भनिए पनि यहाँ कुटीहरुको संख्या यस भन्दा निकै रहेको पाइन्छ । पहिले यस ठाउँमा कुटीहरुको संख्या बाउन्न मात्र रहेकोले यस प्रकारको भनाई प्रचलित भएको हुन सक्दछ । तर धार्मिक एवम आध्यात्मिक महत्व भएको यस पुण्यभुमिमा कुटी र पोखरी निर्माण गराउँदा पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेकोले पनि यस ठाउँमा विभिन्न समयमा कुटीहरु निर्माण गर्ने यहाँको प्राचीन परम्परा अनुरुप अधिकांश कुटीहरु पोखरीको डिलमा निर्माण गरिएका छन् । यी कुटीहरु प्रायः वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेका छन् । जसमा राम, लक्ष्मण, सिता र हनुमानका मुर्तीहरु प्रतिष्ठापित गरेर पूजा गर्ने परम्परा रहेको छ । कुटीको सुसंचालनका लागि कुटीका संस्थापकले कुटीको नाममा सम्पतिको रुपमा जमिन दिने चलन समेत रहेको छ । जनकपुरका पवित्र पोखरीहरुको किनारामा रहेका कुटीहरु निम्नानुसार रहेका छन् ः
विहार कुण्डक्षेत्रका कुटीहरु
विहार कुण्ड एक प्राचीन पवित्र पोखरी हो । जनकपुर नगरपालिका वडा नं. ८ मा रहेको यो पोखरी फराकिलो र सुन्दर छ । पोखरीको चारैतर्फ विभिन्न प्रकारका मन्दिर र कुटीहरु निर्मित छन् । यी मठमन्दिर र कुटीहरुले पोखरीको सुन्दरतालाई वृद्धि गरेका छन् । किवदन्ती अनुसार देवी सिता आफ्ना सखीहरुका साथमा यस पोखरीमा जलविहार गर्ने गर्थिन रे । विवाह पञ्चमी र रामनवमीमा यहाँ विशेष उत्सवको आयोजना गरिन्छ भने श्रावण महिनामा नौका विहार गराउने प्रचलन पनि छ । यस पोखरीको चारैतर्फ किनारमा रहेका मठमन्दिरहरु निम्नानुसार रहेका छन् । श्री विजय राधव कुञ्ज, श्री युगल विनोद कुञ्ज, श्री शृगार कुञ्ज, श्री परौल कुटी, श्री लक्ष्मण शरण कुटी, श्री राम विहारी कुञ्ज, श्री सिया रघुनाथ सदन, श्री सिता विहारी कुञ्ज, श्री चारुशीला कुञ्ज, श्री जानकी जीवन कुञ्ज, श्री खखना कुटी, श्री सिया रघुवर कुञ्ज, श्री युगल जोडी कुटी, श्री राम जानकी कुञ्ज र श्री जानकी विहार भवन (बनिया कुटी) ।
दुधमती क्षेत्रका कुटीहरु
यो एक पौराणिक एवम पवित्र नदी हो । यो नदी जनकपुर भन्दा पश्चिमतर्फ पर्दछ । जनविश्वास अनुसार देवी सीता बालिका छदाँ उनलाई दुध ख्वाउने आमा नभएकीले कामधेनु गाईले उनलाई आफ्नो दुध ख्वाएकी थिइन । दुध ख्वाउँदा दुधका केही थोपा पृथ्वीमा झरेर यसबाट दुधको नदी नै बन्यो । त्यसैले यसलाई दुधमती नदी भनिएको हो । यस नदी क्षेत्रमा निम्नानुसारका कुटीहरु रहेका छन् । श्री बैदेही रसिक प्रिय कुञ्ज (परशुरामको दुलभ मुर्ती रहेको) र श्री विमला विहारी कुञ्ज ।
अग्निकुण्ड क्षेत्रका कुटीहरु
यो पनि एक प्राचीन एवम पवित्र पोखरी हो । जनकपुर उपमहानगरपालिका वडा नं. ८ मा यो पोखरी रहेको छ । सीताराम विवाह यज्ञको अग्नि यस स्थानमा सधै प्रज्वलित भै रहन्थ्यो भन्ने भनाई रहेको छ । फाल्गुन पुर्णिमाका दिन यस पोखरीमा नुहाउँदा विशेष फल प्राप्ति हुने विश्वास गरिन्छ । यो पोखरी रत्न सागरभन्दा आधा किलो मिटर उत्तर तथा मध्यमासर देखि पश्चिममा रहेको छ । यसका वरिपरि अनेक कुटी मठमन्दिरहरु रहेका छन् जुन निम्नानुसार छन् । श्री युगल किशोर कुञ्ज, श्री झुलन कुञ्ज, श्री सुन्दर सदन, श्री रामलला निवास, श्री रामाधिनशरण कुटी, श्री अग्नि कुण्ड बडास्थान र श्री ज्ञानकुप कुटी ।
मध्यमासर क्षेत्रका कुटीहरु
रत्नसागर देखि पश्चिम जनकपुर उपमहानगरपालिका वडा नं. ८ मा रहेको यो पनि एक प्राचीन र पवित्र पोखरी हो । रत्न सागर र अग्नि कुण्डको मध्यमा रहेको हुनाले नै यस पोखरीलाई मध्यमासर भनिएको हो भन्ने भनाई रहेको छ । अन्र्तगृही परिक्रमाका क्रममा भक्तजन अग्निकुण्ड पुगेपछि यस ठाउँमा आई रत्नसागर जाने परम्परा थियो । यस क्षेत्रमा रहेका मठमन्दिर र कुटीहरु निम्नानुसार रहेका छन् । श्री काल मोचन हनुमान मन्दिर, श्री राम किशोर कुञ्ज र श्री खाँकी अखाडा कुटी ।
रत्नसागर क्षेत्रका कुटीहरु
जनकपुर उपमहानगरपालिका वडा नं. ८ मा भोलासिंह मिथिला लायन्स स्कुल तथा जानकी वृद्धाश्रमभन्दा उत्तरतर्फ रहेको यो एक अत्यन्त पवित्र पौराणिक र महत्वपुर्ण पोखरी हो । क्षेत्रफलको दृष्टिले समेत जनकपुरका ठुला पोखरीहरु मध्ये यो पनि एक हो । यस पोखरीका सम्बन्धमा अनेकौं भनाईहरु प्रचलित रहेका छन् । राजर्षी जनकको रत्न भण्डार भएको स्थानमै पछि रत्न सागर भएको हो भन्ने समेत विश्वास गरिन्छ । वि.सं. २०३८ सालमा यस ठाउँमा एउटा अत्यन्त भव्य महायज्ञको आयोजना गरिएको थियो । यस पोखरीको दक्षिणी किनारमा रत्नसागरको मुख्य मन्दिर छ । यस ठाउँको मुख्य ९० वर्षभन्दा वढी पुरानो हो भन्ने विश्वास गरिन्छ । मिथिला महात्म्य अनुसार चैत्र शुक्ल नवमीका दिन यस पोखरीमा स्थान गरेमा पुण्य प्राप्ति हुन्छ । यस पोखरी क्षेत्रमा मठमन्दिर र कुटीहरु निम्नानुसार रहेका छन् । श्री वेरई कुटी, श्री उत्तरवारी कुटी, श्री विडरम कुटी र श्री पिपरा कुटी ।
रानीपाटी क्षेत्रका कुटीहरु
श्री दक्षिणवारी कुटी, श्री रसिक निवास, श्री सीता कुञ्ज, श्री पुसा कुटी, श्री धानुक कुटी, श्री मधुकर कुटी, श्री राममुकुट शरण कुटी, श्री कुथा कुटी, श्री तपसी कुटी, श्री शत्रुधन भवन, श्री श्रृगार कुञ्ज, श्री रामानन्द आश्रम( दल्हा दुल्हन मन्दिर), श्री श्रृगार कुञ्ज, श्री राघवेन्द्र कुञ्ज, श्री मेडिहर कुटी, श्री राम किंकर शरण कुटी, श्री राम चरित्रद्वारा रामायणी कुटी,, श्री हनुमत दरबार, श्री मिथिला प्रमोद भवन, श्री रघुविर शरण कुटी, श्री विमला शरण कुटी, श्री रत्न भवन, श्री रघुनाथ दास कुटी, श्री निम्ककि आश्रम, श्री साकेत सदन, श्री दोनवार कुटी, श्री रेवासी कुटी, श्री युगल किशोर कुञ्ज र श्री चन्द्रकला कुञ्ज ।
वार्ड नं. ८ क्षेत्रका कुटीहरु
श्रीराम जानकी आश्रम कुटी, श्री तपसी कुटी, श्री संत तुलसी स्मारक भवन र श्री संकट मोचन मन्दिर ।
रुक्मिणीसर क्षेत्रका कुटीहरु
जनकपुर उपमहानगर पालिका वार्ड नं. १ मा कन्या माध्यमिक विद्यालयभन्दा पश्चिम तर्फ यो पोखरी रहेको छ । यस पोखरीको किनारमा निम्नानुसार मठमन्दिर र कुटी रहेका छन् । श्री रुक्मिणीसर कुटी, श्रीराम जानकी मन्दिर र श्री सीताराम शरण कुटी ।
महाराज सागरक्षेत्रका कुटीहरु
महाराज सागर दशरथ तलाउको नामले समेत प्रख्यात रहेको छ । यो पोखरी वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको कार्यालयभन्दा दक्षिणतर्फ अवस्थित छ । यो पनि एक प्राचीन पवित्र पोखरी हो । मिथिला महात्म्यका अनुसार दशैभरी र मंसिर महिनामा उक्त सागरमा स्नान गरेमा पुण्य प्राप्ति हुने उल्लेख भएको पाइन्छ । यस पोखरी क्षेत्रमा रहेको मठमन्दिरहरु निम्नानुसार छन् । रामसीताको विवाहको ज्यन्तीसँग राजा दशरथलाई उक्त ठाउँमा राखिएको थियो ।
यस सागरको उत्तरतर्फ वृहत्तर जनकपुर विकास परिषद र यात्री निवास तथा दक्षिणतर्फ सीतामाता सेवा सदन धर्मशाला रहेका छन् । श्री मणिराज दास कुटी, श्री स्वर्ण मण्डप, श्री केशव कुटी, श्री राम विहारी दास कुटी, श्री कुम्हार कुटी, श्री बिन कुटी, श्री मुसहर कुटी, श्री सुडी कुटी, लगायतका थुप्रै कुटीहरु छन् ।
रुक्मिणीसर क्षेत्रका कुटीहरु जनकपुर उप महानगर पालिका वडा नं. ५ मा कन्या माध्यमिक विद्यालय भन्दा पश्चिम तर्फ यो पोखरी रहेको छ । यस पोखरीको किनारमा निम्नानुसारका मठमन्दिर र कुटी रहेका छन् । श्री रुक्मिणीसर कुटी, श्री रामजानकी मन्दिर र श्री सीताराम शरण कुटी ।
महाराज सागरक्षेत्रका कुटीहरु
महाराज सागर दशरथ तलाउको नामले समपेत प्रख्यात रहेको छ । यो पोखरी वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको कार्यालयभन्दा दक्षिण तर्फ अवस्थित छ । यो पनि एक प्रख्यात पोखरी हो । दशैभरी र मंसिर महिनामा यस पोखरीमा स्नान गरेमा पुण्य प्राप्ति हुने बताइन्छ । यस पोखरी क्षेत्रमा रहेका कुटीहरु र मठमन्दिरहरु निम्नानुसार रहेका छन् ।
अंगराजसर क्षेत्रका कुटीहरु
यो एक अत्यन्त महत्वपुर्ण प्राचीन एवम पवित्र पोखरी हो । यो पोखरी जानकी मन्दिरभन्दा उत्तरतर्फ रहेको छ । यस स्थानमा देवी सीतालाई विवाहको उपलक्ष्यमा बेसार, तेल र नौनी मिसाई बनाइएको बुकुवा यसै स्थानमा तैयार गरिएको थियो भन्ने विश्वास गरिन्छ । यस पोखरीमा स्नान गर्नाले सबै प्रकारको चर्मरोग निको हुन्छ भन्ने विश्वास गरिन्छ ।
गंगा सागर र धनुष सागर क्षेत्रका कुटीहरु
गंगासागर धनुष सागर जनकपुरका महत्वपुर्ण र पवित्र पोखरीहरु हुन । यी दुवै पोखरीहरु जनकपुर न.पा. वार्ड नं. ४ मा रहेका छन् । यी दुवै पोखरीहरु राम मन्दिरभन्दा पुुर्वतर्फ जोडिएर रहेका छन् । ऋषि वशिष्ठको श्रापबाट देहरहित भएका महाराज निमिको मंथन गरेर वंश चलाउन पुत्ररत्न उत्पन्न गराउन पवित्र जलको आवश्यकता ग¥यो । त्यसै आवश्यकता पुर्ति गर्न सप्त समुन्द्रलाई आह्वान गरियो र सबै पवित्र नदीहरु यहाँ आई गंगासागरमा संगम भएका कारण यो गंगा सागर भएको कुरा पुराणमा समेत उल्लेख छ । यस पोखरीमा जेष्ठ शुक्ल सप्तमीका दिन स्नान गरेमा पुण्य प्राप्ति हुने विश्वास गरिन्छ । यस पोखरीको दक्षिण किनारमा जनकपुरको शमशानघाट रहेको छ र उत्तर पश्चिम कुनामा भव्य शिव मन्दिर निर्माण गरिएको छ ।
धनुष सागर पनि जनकपुरका एक पवित्र सरोवर हो । भगवान रामले सीता स्वयंम्बरका अवसरमा भाँचेको धनुषको एक टुकडा यसै ठाउँमा खसेकोले यस पोखरीलाई धनुष सागर भनिएको हो । यस पोखरीको दक्षिणी पुर्वी किनारमा नागाबाबाको समाधी रहेको छ । गंगासागर र धनुष सागर क्षेत्रको कुटीहरु निम्न अनुसार छन् । गंगासागर कुटी, रामजानकी कुटी, बरही कुटी, खाक चौक सनकादी मन्दिर, कुशवाहा कुटी, बहुअर्वा कुटी ।
पाकवतीसरका कुटीहरु
यो तलाउ जानकी माध्यमिक विद्यालयको पश्चिममा पर्दछ । राजा जनकको दरबारको भोजन यसै तलाउको पानीले बनाइन्थ्यो भन्ने विश्वास रहेको छ । खत्बे कुटी, सोनार कुटी, थारु कुटी र मौनी बाब कुटी यस कुटी अन्तरगत पर्दछन् ।
विषहरासरका कुटीहरु
यो जनकपुरमा अवस्थित एक प्राचीन एवम पवित्र पोखरी हो । यस पोखरीमा स्नान गरेपछि सबै किसिमको विषबाट मुक्त हुने र सर्प योनीमा जन्म लिनु नपर्ने विश्वास गरिन्छ । रामजानकी कुटी, बेलदार चौभान कुटी, गोपाल सेवा समिति, ठाकुर कुटी, मण्डल कुटी, सोनार कुटी र महापात्र कुटी आदि विषहरासरका प्रमुख कुटी हुन ।
रामसरका कुटीहरु
राममन्दिर देखि दक्षिण जनकपुर वडा नं. ४ मा यो पोखरी रहेको छ । भगवान रामको जनकपुर आगमनको समयमा स्नानका लागि यसै पोखरीमा विशेष व्यवस्था गरिएको थियो भन्ने जनविश्वास रहेको छ । रामजानकी नुनिया कुटी यही परिसरमा रहेको छ ।
गुठी संस्थान शाखा कार्यालय जनकपुरका अनुसार जनकपुर नगरपालिका भित्र रहेका कुटीको विभिन्न जग्गाहरु कुटीका महन्थहरुले विक्री वितरण गर्ने गरेका छन् । यति मात्र होईन कतिपय जग्गा साविक श्रेष्तामा गुठीको नाममा दर्ता भएपनि अहिलेको नापीमा व्यक्तिको नाममा नापी भएको वा साविक व्यक्तिको नाममा दर्ता रहेको जग्गा अहिले गुठीको नाममा नापी भएको देखिन्छ । कतिपय कुटीहरु लोप हुने अवस्थामा छन् भने कतिपय लोप नै भईसकेका छन् । यसो हुनुमा गुठी संस्थान, कुटीका महन्थ तथा पुजारी र कतिपय ठाउँमा संचालक समिति मुख्यतः जिम्मेवार देखिन्छन् ।
२०७१ चैत्र ०८ गते आईतबार
No comments:
Post a Comment