Monday, March 23, 2015

फेरी अतिक्रमण

जनकपुरको विषहरासरको पश्चिमी डिल अतिक्रमण गरी
 फेरी घर बनाउँदै । उक्त डिलमा बृहत्तर जनकपुर क्षेत्र 
विकास परिषद र गुठी संस्थानले केही महिना अघि
 अतिक्रमित घर टहराहरु भत्काएकै ठाउँमा पुनः 
घर टहराहरु बनाउन थालिएको छ ।

ईश्वर चन्द्र झा
जनकपुरधाम............
नरसिंह स्थान बसहिया, धनुषाको महन्थ सत्यनारायण दास वैष्णवले २६ फागुन २०७१ मा अतिक्रमण हटाई पाऊँ भन्दै गुठी संस्थान शाखा कार्यालय जनकपुरमा निवेदन दिए । बसहिया मठ स्थानको नाउँमा दर्ता रहेको केही जग्गाहरु मुसहर समुदायले अतिक्रमण गरी घर बनाई लिएको कुरा गुठीलाई र जिल्ला प्रशासन कार्यालय धनुषालाई पटक पटक जानकारी गराउँदा पनि कारवाही नभएको उक्त मठका महन्थ सत्यनारायण दास वैष्णवको भनाई उल्लेख छ । मुसहर समुदायलाई अतिक्रमण हटाउन पटक पटक भन्दा पनि निजहरुले बनाएको घर नहटाई नयाँ घर बनाउने तरखरमा रहेकोले बनाउन लागेको नयाँ घर बनाउन नपाउने र बनाइएको घर हटाई पाऊँ भन्दै गुठीलाई महन्थले चढाएको निवेदन १ चैत्र २०७१ मा गुठी संस्थानले दर्ता समेत गरिसकेको छ । अब सबाल उठ्छ, गुठीले साँच्चै अतिक्रमण हटाउन कानुनी कारवाही वा प्रक्रिया अगाडी वढाउने छ त ?
किनभने जनकपुरको विषहरा पोखरीको डिल माथि बनाइएका टहराहरु गुठी संस्थान र बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले अभियान चलाएर अतिक्रमणहरु हटाएका थिए । तर, उक्त पोखरीमा बनेका टहराहरु भत्किएको १ वर्ष नवित्दै फेरी त्यहाँ टहराहरु निर्माण गरेर बसोबास गर्ने प्रक्रिया सुरु भईसकेको छ । अहिले नै त्यसलाई निरुत्साहित नगर्ने हो भने भोली फेरी त्यहाँ दर्जनौं टहराहरु निर्माण नहुने हो भन्न सकिन्न ।
बिक्रम सम्वत् २०२५ को नापी रेकर्ड बमोजिम ११ वडा रहेको धनुषाको जनकपुरमा ७ विग्घा नीजि जग्गा मात्रै रहेको थियो । नगर पञ्चायत हुँदै नगरपालिका र उपमहानगरपालिकाको रुपमा परिणत भएको जनकपुर शहरमा यतिबेला गुठी स्वामित्वको जग्गा पाउन गाहे छ । प्रमुख मन्दिर मातहात रहेको जग्गा निरन्तर रुपमा बेचिन थालेपछि गुठी अधिनस्थ र सार्वजनिक पोखरी समेत अतिक्रमण गरेर बसोबास गर्नेहरुको पाँती नै लाग्यो । र यतिबेला दर्जन बढी सार्वजनिक पोखरी लोप हुने अवस्थामा पुगेको छ । “५२ कुट्टी र ७२ कुण्ड” को नाउँले परिचित जनकपुरमा कुट्टी तथा मन्दिरहरु महन्थको गुण्डा पालेर कमाउने थलो तथा राजनीतिक अखाडाको रुपमा परिणत हुँदा पोखरीहरु अस्तित्व जोगाउन संघर्षरत् रहेको राराब क्याम्पस मैथिलि बिभाग प्रमुख परमेश्वर कापडी बताउँछन् । 
अतिक्रमण हटाई दिन बसहिया महन्थ 
सत्यनारायण दास  बैष्णवले गुठी संस्थानलाई दिएको निवेदन ।
बैशाख २०७१ को पहिलो साता जनकपुरको सार्वजनिक पोखरीहरुमा अतिक्रमण गरेर घर बनाएकाहरुलाई खाली गर्न गुठी संस्थानले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा खासै वास्ता नगरेका जनकपुरबासी भने अतिक्रमित जग्गा खाली गराउन बृहत्तर जनकपुर क्षेत्र बिकास परिषद् र गुठी संस्थानको संयुक्त प्रयास हेरेर आश्चर्य प्रकट गर्दै उत्साहित भएका थिए । र, अब जनकपुर निर्माण हुने सपना हेर्न थालेका थिए । एकातिर आगामी ३ वर्षभित्र सम्पन्न हुने गरी एशियाली बिकास बैंकको ऋण अनुदानमा सञ्चालन हुने झण्डै २ अर्बको एकिकृत शहरी बिकास परियोजना छ भने अर्कोतिर गुठी र बृहत्तरले सञ्चालन गरेको अतिक्रमित जग्गा खाली गराउने अभियान । बृहत्तर जनकपुर क्षेत्र बिकास परिषद्का अध्यक्ष राम कुमार शर्मा भन्छन् ( आधुनिक जनकपुर निर्माणको प्रयास भएको छ, अबको १० वर्षमा जनकपुरको स्वरुप नेपालको अन्य शहरहरुभन्दा राम्रो हुनेछ । उनले यसो भनिरहँदा झण्डै दुई दशक अघि जनकपुरको ब्यस्त र प्रमुख बजार क्षेत्र जानकी मन्दिरको उत्तरपट्टी रहेको चार तल्ले रघुपति मिष्ठान भण्डारलाई क्रेनले भत्काईन लगाईएको थियो । हालसम्म जनकपुरको पोखरीमा अतिक्रमण गरी गरेर बनाईएका ३ सयभन्दा बढी घर टहराहरु भत्काईसकिएको छ ।  
जानकी मन्दिर स्वामित्वको तेलहा पोखरीको डिलमा मन्दिरले नै गुठी सहयोगमा शटर निर्माण गरी मासिक रुपमा भाडा असुल्दै आएको थियो । त्यस अतिरिक्त जानकी मन्दिरको उत्तर पश्चिममा रहेको अरगज्जा पोखरीको पूर्बी डिलमा निर्माण गरिएको ५० वटा छतसहितको शटर समेत गुठी र बृहत्तरले भत्काएको छ । दुबैतिरको शट्टर भाडाबाट जानकी मन्दिरले मासिक २ लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको थियो । तर शट्टर तोडिएर जग्गा खाली गरिएपछि ५ सय मिटर परबाट नै जानकी मन्दिर स्पष्ट देखिन थालिएको छ । अध्यक्ष शर्मा भन्छन्,“ पोखरी र कुट्टीले चिनिएको जनकपुरमा अतिक्रमित जग्गा खाली गराई पोखरीको सँैन्दर्यीकरण गरेपछि पहिचान फेरी पनि स्थापित हुनेछ ।” तर अतिक्रमित जग्गा खाली गराउने अभियान सेलाएको छ । र अभियान यथार्थमा जनकपुरलाई अतिक्रमण मुक्त गराउने प्रयास भन्दा कुनै एक मन्दिर र त्यसका महन्थ विरुद्धको अभियान बन्न पुगेको जनउमनपा वडा नं २५ का जय कुमार चौधरीको ठम्याई छ । नभए जानकी मन्दिर वरिपरि मात्रै अतिक्रमण मुक्त गराउनु र फेरी अरगज्जा पोखरीको डिलमा बजार लगाउनु चौधरीलाई बुझिनसक्नुभएको छ । 
पोखरीहरु अतिक्रमण मुक्त गराउने अभियानका दौरान डोजरमा
 बसेका वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका 
अध्यक्ष रामकुमार शर्मा । अहिले उक्त अभियान बन्द छ ।
 किन अभियान बन्द गरेको हो भन्ने सबालमा न त शर्माले न त गुठी 
संस्थानले नै अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
गत बर्षको चैत्त दोस्रो सातामा बसेको सर्वपक्षीय बैठकले जग्गा खाली गराउन हुने प्रयासमा सहयोग गर्ने आश्वासन दिएपछि अभियानको सुरुवात भएको थियो । २६ साउन, २०६२ मा नेपाल सरकार मन्त्री परिषद्को बैठकबाट गुठीको जग्गा संरक्षण र ब्यवस्थापनका लागि गठित भोजराज घिमिरे नेतृत्वको उच्च स्तरीय कार्यदलको प्रतिवेदनलाई आधार मानेर जनकपुरको अतिक्रमित पोखरीहरुको सफाई गरियो । पौराणिक धनुष र गंगासागर सहित आधुनिक गरी हाल जनकपुरमा ४९ पोखरीहरु विद्यमान छ भने ५ वटा पौराणिक महत्वका पोखरीहरु लुप्त भईसकेको छ । बिलुप्त अवस्थामा रहेको सार्वजनिक पोखरीहरु जनक सरोवर, अमृत कुण्ड, गोपाल सर, पयस्विनी सर र बलदेव सर अझै गुठी र बृहत्तरको पहुँचबाट बाहिर रहेको छ । जनपा ३, शिवचौकमा रहेको पयस्विनी सर पुरेर हालको होटेल सिटि स्टार र मानकी ईन्टरनेशनल होटेलको परिसर निर्माण गरिएको छ । 
बिक्रम सम्वत् २०३६ को जनमत संग्रहपछि जनकपुरमा गुठी अधिनस्थ जग्गा र पोखरीको डिलमा घर निर्माण गरी बस्ने परम्पराको सुरुवात भएको हो । २०४६ पछि अतिक्रमण गरेर घर निर्माण गर्ने क्रम हवात्तै बढेको संस्थान जनकपुर शाखाका प्रमुख राजबाबु पाण्डे सुनाउँछन् । पाण्डेका अनुसार गुठीको जग्गा अतिक्रमण गरी बसोबास गर्न दिनेमा गुठीका तात्कालीन प्रमुख, पूर्बका महन्थहरु र जनकपुर नगरपालिका स्वयं दोषी छन् । उनी भन्छन् –महन्थले जग्गा बेचेपनि गुठी प्रमुखले के हेरेर बसेका थिए, नगरपालिका प्रमुखले कसरी नक्सा पास गरे, अतिक्रमित जग्गा खाली गराउने प्रयास बिगत्मा किन भएन ? गुठीको जग्गा अनाधिकृत रुपमा प्रयोग गर्नेमा बिभिन्न सरकारी कार्यालयदेखि युवा क्लबहरुको लामै फेहरिस्त छ । 
त्यसअतिरिक्त जानकी मन्दिर, रतनसागर मन्दिरका महन्थहरुले बिक्रि गरेको गुठी अधिनस्थ जग्गाहरु सयौं बिग्घामा छन् । महन्थले जग्गा बिक्रि गर्दा साबिकको क्षेत्रफलभन्दा गुठीको अहिलेको क्षेत्रफल निकै नै कम देखिएको छ । 
महन्थहरुले बिक्रि गरेको जग्गाको विवाद पटक पटक बाहिर आएपनि जग्गाबारे ठोस निर्णय हुन सकेको छैन् । १५ अषाढ २०७१ मा जनकपुर पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष लोकमान सिंह कार्कीले सार्वजनिक रुपमै गुठीको जग्गा किनबेचमा संलग्न कर्मचारी, महन्थ र ब्यक्ति बिशेषलाई कारबाही गर्न तत्पर रहेको बताएका थिए । यद्दपी बिक्रि गरिएको गुठीको जग्गा रिक्त गराउँदा जनकपुर भित्रको ५ सयभन्दा बढी घर भत्किनेछन् । कार्कीले जग्गा खाली गराउन र अतिक्रमण हटाउन भन्दा अघि पर्न सक्ने असर र ब्यवस्थापन सम्बन्धमा एक संयन्त्र गठनको आवश्यकता औंल्याएका थिए । 
एकातिर धार्मिक महत्वका यस्ता पबित्र पोखरीहरुमा दैनिक भाँडाकुडा सफा गर्ने, कपडा धुने, चौपाया नुहाउने कार्य भै रहेको छ भने अर्को तर्फ फोहर समेत फल्ने गरिएको छ । पर्यटकीय तथा स्वास्थयका दृष्टिले पोखरीहरुको संरक्षण, संबर्धन गर्नुृ पहिलो प्राथमीकता भए पनि नगरपलिका र गुठी संस्थानले यस तर्फ ध्यान दिएको छैन । र यसरी पोखरी संरक्षणका लागि अतिक्रमित घर जग्गा खाली गराईरहँदा पोखरी संरक्षण पर्यटन केन्द्रको रुपमा अग्रसर गराउनका लागि गुठी र बृहत्तरको अर्को कदम के हुने त्यससम्बन्धमा न त गुठीकै कुनै धारणा छ, न बृहत्तरले नै कुनै उपाय   खोज्न सकेको छ । 





२०७१ चैत्र ०८ गते आईतबार

No comments:

Post a Comment