Sunday, November 16, 2014

मातवर हत्या प्रकरण पण्डितलाई सर्वस्व सहित जन्म कैद, एकलाई जन्मकैद र चारलाई १० वर्षको कैद

बायाँ देखि क्रमशः श्रीचन मुखिया, धर्मनाथ खत्वे र
 मुकेश कुमार पण्डित । फाइल फोटो
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मातवर मुखियाको हत्या गर्ने कसुरमा सर्लाही मलंगवा नगरपालिका १० मा वस्ने कामेश्वर पण्डितको छोरा मुकेश पण्डित भन्ने मुकेश कुमार पण्डितलाई धनुषा जिल्ला अदालतले सर्वश्व सहित जन्मकैदको सजाय तोकेको छ । धनुषा जिल्ला अदालतका न्यायाधिश लोकजंग शाहको इजलासले २७ कार्तिक २०७१ मा सो आदेश गरेको हो । पण्डित मुखियालाई गोली प्रहार गर्ने व्यक्ति हुन् ।
त्यसैगरी उक्त हत्यामा संलग्न रहेका मातवरकै छिमेकी समेत रहेका जनकपुर नगरपालिका १२, कुवा रामपुर टोलमा बस्ने गुलावचन खत्वेको छोरा धर्मनाथ खत्वेलाई जन्मकैदको सजाय तोकिएको छ । खत्वेले सुराकी दिने, पण्डितलाई हतियार उपलब्ध गराई गोली हानी मार भनि बचन आदेश दिने व्यक्ति हुन् । त्यसैगरी उक्त हत्यामा संलग्न रहेका अन्य ४ जना व्यक्तिहरुलाई १० वर्ष कैदको सजाय तोकिएको छ । धनुषाको अन्दुपट्टी कटरैत ८ मा घर भई धनुषाको विन्धी २ मा बस्ने राजदेव मुखियाको छोरा श्रीचन मुखिया भन्ने श्रीचन्द मुखिया, धनुषाको लक्ष्मीपुर बगेवा ३ मा वस्ने सत्यनारायण यादवको छोरा पृथ्वी सिंह भनिने श्याम यादव, जनकपुर नगरपालिका ३ मा वस्ने हाल जनकपुर नगरपालिका २ मा वस्दै आएका अशोक साहका छोरा विनय कुमार शिवहरे भन्ने राजकपुर साह र जनकपुर नगरपालिका १२ वस्ने सुकदेव महत्तो कोइरीको छोरा रामबाबु महत्तो कोइरीलाई जनही १० वर्षको कैद सजाय गरिएको हो ।
२३ साउन २०६८ का दिन विहान अन्दाजी ११ बजेको समयमा कुवारामपुरबाट जनकपुर आउनको लागि घरबाट निस्की सडकमा रहेको मोटरसाइकल स्टार्ट गर्न पुगेको बेलामा मातवर मुखियालाई धर्मनाथ खत्वेको आदेशमा मुकेश पण्डितले ताकि गोली हानी हत्या गरेको थियो । पण्डितले प्रहार गरेको गोली मातवरको छातिमा लागी रक्तपिच्छ भई सडकमा लडेका थिए । घटना हुने वित्तिकै वरपरका मानिसहरुले पण्डितलाई लखेटदा पण्डितले अर्को गोली फायर समेत गरेको थियो ।
मुकेश कुमार पण्डितको रिसइवी
सर्लाही मलंगवा नगरपालिका १० वस्ने मुकेश कुमार पण्डितले २३ साउन २०६८ मा जनकपुर नगरपालिका १२ स्थित कुवा रामपुर गाउँमा माथवर मुखियालाई गोली प्रहार गरी हत्या गरेको थियो । पण्डितले गरेको गोली प्रहारबाट तत्कालै उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि पठाइए पनि उपचारकै क्रममा मुखियाको मृत्यु भएको थियो । उता गोली प्रहार गरेको खबर पाए लगतै जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक हरि खतिवडाको कमाण्डमा गएको टोलीले पण्डितलाई धेरा हालि पक्राउ गरेको थियो । उता गोली प्रहारको आवाज सुन्ने वित्तिकै गाउँका स्थानीयवासीहरुले पण्डितलाई पक्राउ गर्न लखेटन थाले पछि पण्डितले गाउँलेहरुलाई तर्साउनका लागि एक राउण्ड फायर पनि गरेको थियो । त्यतिकैमा प्रहरीले पण्डितलाई पक्राउ गरेको थियो ।
प्रतिशोधको कारण
जतिबेला मुकेश कुमार पण्डितले मुखियाको गोली प्रहार गरी हत्या गरेको थियो, त्यतिबेला उनको उमेर २२ वर्ष मात्र थियो । सर्लाही क्याम्पस, मलंगवामा वि.वि.एस. दोस्रो वर्षमा अध्ययनरत पण्डितले मुखियाको हत्याको कारण व्यक्तिगत रिसइवि नै रहेको प्रहरी र अदालतमा पनि उनले वयान दिएका थिए । घटना हुनु २ वर्ष अगाडी मोडेल क्याम्पस, जनकपुरमा मुकेश अध्ययनरत रहेको बेला माथवर मुखियाले कुटपिट गरेका कारण रिसइवी भएको बताएका छन् । हुन त, मुकेश पहिले पनि आकाश त्यागी भनिने राम यादवको नेतृत्वमा रहेको तराई राष्टिूय मुक्ति सेनामा आवद्ध थिए । आकाश त्यागी प्रहरी इनकाउन्टरमा मारिए पछि उक्त समुह त्यागी आकाश त्यागीकै दाजु पृथ्वी सिंह भनिने श्याम यादव आवद्ध रहेको अखिल तराई मुक्ति मोर्चा, गोइत समुहमा पृथ्वीसिंह सँगै काम गर्न थाले ।
भारतको उभगाँवमा बनेको योजना अनुसार मातवरको हतियार गर्ने उद्देश्यले २३ साउन २०६८ का दिन विहान ९ बजे विन्धी स्थित श्रीचन मुखियाको घरमा पुगेर वारदातलाई अन्जाम दिने विषयमा कुराकानी गरी श्रीचनकै मोटरसाईकलमा चढेर धर्मनाथ खत्वेको कुवा रामपुर पुगे । यता मातवरलाई हत्या गर्ने र मुकेशलाई भगाउन तयार रहने अवस्थामा रा.रा.ब. क्याम्पस नजिक सडक खण्डमा मोटरसाईकल स्ट्याण्डबाट राख्न श्रीचन तयार भएर वस्ने कुरा भयो ।
उत्ता धर्मनाथको घरमा विहान ९÷१० बजे तिर आउने र धर्मनाथले आफ्नो घरमा रहेको हतियार कटुवा पेस्तोल र २ राउण्ड गोली ठीक पार्नुका साथै मातवरको सुराक पता लगाएर राख्ने कार्यको जिम्मा धर्मनाथलाई दिइएको थियो । २२ साउनमा राति मुकेश, लक्ष्मण अखाडा स्थित आफ्नो साथी सन्तोष घरमा बसेका थिए । यस हत्या भन्दा अघि मुकेश हातहतियार तथा खरखजाना मुद्दामा ३१ भदौ २०६५ मा पक्राउ परी ६ महिना कारागार शाखा जलेश्वरको थुनामा रही पछि रु. १ लाख जरिवाना तिरी रिहा भएका थिए ।
मुकेशले मातवरलाई हत्या गर्न प्रयोग गरिएको कटुवा पेस्तोल र गोली भारतको खजौली भन्ने ठाउँबाट किनेका थिए । पेस्तोल चलाउने तालिम उसले घटना हुनु २ वर्ष अघि मलंगवामै एक जना प्रहरीबाट लिएका थिए ।
धर्मनाथ खत्वेको कनेक्सन
जनकपुर नगरपालिका १२ कुवा रामपुरमा वस्ने २३ वर्षिय धर्मनाथ खत्वे कतारबाट वैदेशिक रोजगारी गरि १ महिना अघि मात्र घर फर्केको थियो । आर्थिक अवस्था न्यून भएका उनको घर र ८ कठ्ठा जग्गा छ । कक्षा १० सम्म पढेका उनको परिवारको घरमा बुवा, आमा, श्रीमति, हजुरआमा, १ भाई समेतको परिवार छ ।
तराईको भुमिगत समुहमा रहेको जनकपुर ३ मा घरमै वडा नं. २ मा बस्ने विनय कुमार साह शिवहरे भन्ने राज कपुर साहले हतियारहरु राख्न उनलाई दिएको थियो । उक्त हतियारहरु राख्न दिएकोमा धर्मनाथले एउटा पिस्टल (पेस्तोल) माथवर मुखियाले लिएको फिर्ता मागेपछि बाँकी सबै हतियार उनले फिर्ता गरे । एउटा हतियार माथवर मुखियासँग छ भनेर भन्दा मागेर ल्याउ राजकपुरले भनेपछि धर्मनाथ माथवरले धर्मनाथलाई हतियार फिर्ता गर्नुको साटो उल्टै उनलाई कुटपिट गरेपछि उक्त घटना पृथ्वी सिंह भन्ने श्याम यादव र राजकपुरलाई उनले सुनाए । माथवर मुखियाले धेरै अत्यामार गर्छ निजलाई मार्नु पर्छ भन्ने उनले प्रस्ताव  राख्दा मुकेश पण्डितले यो काम गर्छ भनेर श्याम यादवले धर्मनाथलाई आश्वस्त पार्यो । श्यामले मुकेशलाई धर्मनाथको मोवाइल नम्बर दिई दुवै बीच फोन मार्फत सम्पर्क हुन थाल्यो । घटना हुनुभन्दा १ दिन अगाडी श्याम यादवले धर्मनाथलाई फोन गरी भारतको मधुवनीको उमगाँव स्थित महादेव मन्दिरमा भेट्न बोलायो । श्रीचन मुखियालाई पनि उक्त ठाउँमा भेट गर्न भन्दा श्रीचन मानेनन् । त्यसपछि धर्मनाथ आफ्नो साथी जनकपुर १२ बस्ने रामबाबु महत्तो कोइरीको स्पलेन्डर प्रो मोटरसाइकलमा चढी उमगाँवको महादेव मन्दिर पुगे । त्यहाँ श्याम यादव (पृथ्वी सिंह) , विनय कुमार साह शिवहरे भन्ने राजकपुर साह र मुकेश कुमार पण्डित थियो । त्यहाँ सवै जनाले मिलेर माथवर मुखियाको हत्या गर्ने योजना बनायो । अनुकुल समय मिलाएर मुकेश कुमार पण्डितलाई श्रीचन मुखियाले धर्मनाथको घरमा पु¥याइने र मुकेशले माथवरलाई गोली हान्ने योजना बनाइयो । योजना अनुसार माथवर मुखियालाई गोली प्रहार गरिसकेपछि मुकेश कुमार पण्डितलाई खर्चको लागि धर्मनाथले रु. २० हजार दिने कुरा भएको थियो ।
श्रीचन मुखियाको कनेक्सन
श्रीचन मुखिया भन्ने श्रीचन्द मुखियाको वास्तविक घर अन्नुपट्टि कटरैत हो । धनुषाको विन्धी २ मा उनी घर बनाई बसेको थिए । आर्थिक अवस्था भन्ने हो उनको नाउमा घर र २ कठ्ठा जमिन छ । राराब क्याम्पसबाट एम.ए. उत्तिर्ण गरेका उनी भुमिगत कालदेखि नेकपा माओवादीमा आवद्ध थिए । ६ जेष्ठ २०६७ मा उनले नेकपा क्रान्तिकारी माओवादी गठन गरी उक्त पार्टीको महासचिव थिए । धनुषाको लक्ष्मीपुर बगेवा ३ बस्ने पृथ्वी सिंह भनिने श्याम कुमार यादवसँग उनको पहिले देखि नै चिनजान थियो । एमाओवादी पार्टी छोडे पछि पृथ्वी सिंहले श्रीचनलाई फोन गरी उनको समुहमा काम गर्न प्रस्ताव गरेको थियो । माथवरको हत्या हुनु २०÷२५ दिन अघि पृथ्वी सिंहले फोन गरी मुकेश पंडित जनकपुरमा कारवाही गर्न जाँदैछ, उसलाई सहयोग गर्नु भनि श्रीचनलाई भन्दा, उनले अस्वीकार गरे । त्यसपछि पनि पृथ्वीले श्रीचनलाई ३÷४ पटक फोन गरे । घटना हुनु २ दिन अघि मुकेश पण्डितले श्रीचनलाई फोन गरेर भेट्नु छ, कहाँ हुनु हुन्छ, पृथ्वी सिंहले भनेको कारवाही गर्नुछ भनेर भन्दा श्रीचनले आफुलाई फुर्सत नरहेको भनी इन्कार गरेका थिए ।

श्रीमति र बच्चाका साथ मातवर मुखिया ।
फाइल फोटो 
को हुन मातवर मुखिया ?

जनकपुर नगरपालिका वडा नं. १२ स्थित कुवा रामपुर टोलमा बस्ने मातवर मुखिया जनकपुरका चर्चित कथित डन मध्येका एक थिए । धनुषाको वभनगामा विद्यालयमा पढन गएपनि उनी साक्षर मात्र हुन सके । तर, कराँते खेल राम्रो खेल्ने खेलाडी समेत भएका उनी कराँतेमा व्लयाक बेल्ट हासिल गरेका थिए । 
जनकपुरको मिल्स एरियामा गएर सधै कराँते खेल्ने र खेलाउने गर्दा उनी यूवाहरुका माझ लोकप्रिय हुँदै गए । त्यसपछि उनलाई तत्कालिन नेता पुन्यप्रताप मल्ल र प्रकाश राणाहरुले प्रयोग गरे । अहिले सदभावनाबाट धनुषाको निर्वाचन क्षेत्र ४ बाट निर्वाचित सभाषद समेत रहेका र हाल सिरहा कारागारमा ज्यान मुद्दाका अभियुक्त भई थुनामा रहेका संजय साह समेत उनको चेला नै थिए । वास्तवमा संजय साहलाई ‘टकला’ भनेर नामाकरण गर्ने व्यक्ति पनि मातवर मुखिया नै थिए । मातवर जहिले पनि यूवाहरुका बीचमा वस्ने र यूवाहरुको लागि जहिले पनि उभिने उनको चरित्र थियो । यूवाहरु माझ यति लोकप्रिय र ताकतवर बन्दै गए कि जहाँ गएपनि मातवर भनेको व्यक्ति तपाई नै हो भनेर यूवाहरुले उत्साहका साथ सम्मान गर्थे । विस्तारै उनी कथित डन भनेर समेत चिनिन थाले । 

मातवरको हत्या भएका बेला शोकमा 
उनको श्रीमति तथा बच्चा ।
मातवरलाई चिन्ने व्यक्तिहरुका अनुसार नेपालकै डनहरु पनि मातवरलाई एक उच्च दर्जाको डनको रुपमा लिन्थे । तर, उनी वढी शिक्षित नभएका कारण र रुपैयाँ कमाउन नसकेका कारण उनी राजनीतिक दलहरु र तिनका नेताहरुको प्यादा वा गोटी बनेर सिमित बनाइएका थिए । तर, हत्या हुनु केही वर्ष अघि देखि उनी लागु औषधको कुलतमा फसी दुवर््यशनी बनेका थिए । हत्या हुनु अघि उनी नेकपा एमालेको यूवा संगठन यूथ फोर्सका नगर इन्चार्ज थिए ।  उनी एमाले नेता रघुविर महासेठका निकट थिए । 
अदालतले गरेको फैसलालाई सम्मान गर्दै मातवरका साथी समेत रहेका रामदुलार साह भन्छन,“सत्यको एक दिन जित अवश्य नै हुन्छ । अदालतले गरेको फैसलाले मातवरलाई न्याय मिलेको भएपनि तत्कालिन प्रहरीले मातवरको हत्यामा संलग्न हुन सक्ने ठुला माछालाई कानुनको दायरामा नल्याई साना माछालाई मात्र समात्नुले मातवरलाई पुर्णतः न्याय भने हुन सकेको छैन ।” समाजमा मातवरलाई हेर्ने आ आफ्नो दृष्टिकोण हुन सक्ला तर मातवरले कसैको घरमा गएर कुनै पनि किसिमको अपराध नगरेको साहको भनाई छ । कसैलाई पिटेको झोकमा मात्रै कसैले मातवर जस्ता व्यक्तिको हत्या गर्न सक्छ भन्ने कुरा पत्याउन सकिन्न ।




२०७१ कार्तिक ३० गते आईतबार

No comments:

Post a Comment