Sunday, November 16, 2014

तराईवासीहरु नै नेपाल राष्ट्रका संस्थापक-रामचन्द्र झा

रामचन्द्र झा

हालै डा.सिके राउतद्वारा ‘मधेसका इतिहास’ नामक पुस्तक लेखी वास्तविक इतिहास प्रति हस्तक्षेप गरिएको महसुस गरि आफ्नो केही भनाई राख्न आवश्यक ठानेको छु । अन्यथा इतिहास जस्तो गम्भीर विषय प्रति मौन धारणा गर्नु आफ्ना गौरवशाली इतिहास प्रति अन्याय गर्नु हो । 
डा.सिके राउतका तथ्यहरु, तथ्यसंगत भन्दा पनि भावनामा वगेर इतिहासमा हुँदै नभएका विषयहरु काल्पनिक रुपमा उल्लेख गरिएको छ । र, नेपाल राज्यको निर्माणमा मधेसीहरुको भुमिकालाई झन उहाँले संकुचित गरी तराई सम्म सिमित गरेको देखिन्छ ।
२०६२÷०६३ को दोश्रो जनआन्दोलन पश्चात अन्तरिम संविधानमा संघीयता, गणतन्त्र र समावेशिता लगायतका जनआन्दोलनका गणतव्यहरुलाई मुख्य दलहरुले वेवास्ता गर्दा ‘मधेश विद्रोह’ द्वारा आफु प्रति हुँदै आएको विभेद प्रति आक्रोश व्यक्त गर्दै तराईवासी जनताले आधाशतक भन्दा वढी होनहार आफ्ना सपुतहरुलाई शहादत दिएका थिए । आज पनि आफु प्रति हुँदै आएको अपमान उपेक्षा र वहिष्करण प्रति विद्रोही मानसिक्ता शान्त हुन सकेको छैन । दोश्रो संविधानसभा पछि उपरोक्त विभेदमा कमि आएको छैन वरु त्यो उन्मत भएर अझ कुतर्कहरुद्वारा अभिजात्य राष्टूवादी आकांक्षालाई व्यक्त गर्न थालेका छन् । यस परिपेक्षमा तराईवासी जनसमुदाय आक्रोशित हुनु स्वाभाविक छ । विगतमा आफुप्रति अपमानको मनसाय साथ प्रयोग गर्ने गरिएका ‘मदिसे’, ‘मधेशीया’, ‘मर्सिया’ शव्दावली प्रति समतल मैदानी इलाकाका वासिन्दाहरु ‘मधेशी’ नामावली गर्वसाथ स्वीकार गरी अपमानितहरु बीच वृहत्तर एकताको सन्दर्भमा उक्त ‘मधेशी’ शव्दावली एकखालको राजनीतिक अर्थ राख्द छ र सम्पुर्ण तराईवासी जनसमुदायका लागि ‘मधेशी’ सर्वनाम सुपाच्य भई सक्या छ ।
तर हालै डा.सिके राउतद्वारा मधेसका इतिहास नामक पुस्तक लेखी वास्तविक इतिहास प्रति हस्तक्षेप गरिएको महसुस गरि आफ्नो केही भनाई राख्न आवश्यक ठानेको छु । अन्यथा इतिहास जस्तो गम्भीर विषय प्रति मौन धारणा गर्नु आफ्ना गौरवशाली इतिहास प्रति अन्याय गर्नु हो । शासकवर्ग सदा जनताका वास्तविक इतिहासलाई ढाकछोप गरी इतिहासमा आफ्नो सानो भुमिकालाई वढाई चढाई आफ्ना स्तुतिकर्ताहरु मार्फत मिथ्या यशोगान गाउन लगाउन काम हुने गरेको सर्वविदित नै छ ।
नेपाली इतिहासका लेखकहरु पनि पृथ्वी नारायण साहको वि.सं. १८०१ देखिको राज्य विस्तार यात्रालाई विशेष जलप लगाई मानौं, नेपाल राज्यको जन्म नै यहीँबाट प्रारम्भ भएको हो कि भान पार्ने गरी तिनकै यशोगानमा सम्पुर्ण सामर्थ खर्चेका छन् । र, उक्त काल भन्दा पुर्वका ऐतिहासिक घटनाहरुलाई नेपथ्यामा पन्छयाउने प्रयास गरेका छन् जवकि उक्त काल भन्दा हजारौं वर्ष पुर्व नेपाल नामक राज्य अस्तित्वमा आई सकेको थियो । गोपालराज वंशावली नामक पुस्तकका अनुसार नेपालको पहिलो राजवंश गोपालबंशीहरु थिए । यद्यपि उक्तकाल भन्दा पुर्व पनि वस्तीहरु थियो, तर राज्यव्यवस्थाको प्रारम्भ ‘नेपाल’ नामाकरण पशपतिनाथको स्थापना र नयाँ वस्ती वसाल्ने काम गोपालवंशीहरुद्वारा नै भएको मानिन्छ । किम्वदन्ति जे जस्ता भए पनि पशुपालन युगको प्रारम्भ सँगै ‘नेपाल’ भन्ने राज्य तत्कालिन खाल्डोलाई उपयुक्त चरण क्षेत्रको खोजी गर्दै गण्डक र कोशी नदीहरु किनार किनारै तराई क्षेत्रबाट आफ्ना पशुहरु लिई ती पशुपालकहरु काठमाण्डौ छिरेका थिए । र, त्यही क्रममा ‘नेपाल’ अस्तित्वमा आएको हो ।
यद्यपि यस सम्बद्धमा कुनै ठोस अभिलेख न हुँदा समयको ठ्याकै किटानी गर्न गाह्रो छ तर विभिन्न पुस्तकहरुमा व्यक्त अनुमानहरुको आधारमा लगभग इ.पु. सोरह सय वर्ष पुर्व भुक्तमान भन्ने भुमि गोप नामक पहिलो व्यक्ति गोपालवंशका संस्थापक रहेका थिए । यो वंशले लगभग पाँच सय वर्ष शासन संचालन गरेका थिए । भुमिगोप पछि क्रमशः जय गोप, धर्म गोप, हर्ष गोप, भीम गोप, मणि गोप, विष्णु गोप, जीत गोप, (यक्षगोप) लगायतले नेपालमा शासन संचालन गरेका थिए । गोपालवंशी तराईको मिथिला क्षेत्रबाट गएका थिए र तिनीहरुको नेपालको इतिहासमा ठुलो महत्व रहेको छ । विभिन्न पुस्तकमा ‘गोप’ लाई भ्रमवंश गोप लेखिएको गुप्त वैश्यहरुको थर हुने गरेको यादवहरुको घर गोप नै थियो ।
महिषपालहरु गोपालवंशका अन्तिम राजा जीत गोपलाई पराजित गरी ‘वर सिंह’ नायक प्रथम महिषपालवंशको राजाले नेपालको शासन सत्ता आफ्नो हातमा लिएका थिए । महिषपालहरुको वारेमा विभिन्न खाले वंश सम्बन्धी अनुमान गरिए पनि पेशागत हिसावले गोपालक समुह एवं महिषपालक समुह अलग अलग रहे पनि जातिय हिसावले यादव समुदाय नै गोपालक महिषपालक एवं अहिरको नामले तराईको विभिन्न क्षेत्रमा रहने गरेको हामी पाउँछौं । वर सिंह, जय सिंह, भुवन सिंह लगायतले नेपालमा शासन गरेका थिए । महिषपालवंशीहरु लगभग १५ वर्ष सम्म शासन गरेको तथ्य हामी पाउँछौं । महिषपालवंशीहरु पछि अहिरहरुको शासन पनि ६०(७० वर्ष जति चलेको अनुमान गरिन्छ । भुवन सिंहको शासनकालमा पुर्वतिर किरातहरुको आक्रमण हुँदा तिनी किराँतद्वारा पराजित भई सत्ताच्युत भएका थिए ।
किराँतहरुको उदय
किराँतहरु शासनको प्रारम्भ इ.पु. लगभग हजार वर्षको सेरोफेरो रहेको हुनु पर्दछ । गोपालराज वंशावली, कर्कपेटिूक र राइटस इत्यादी इतिहासकारहरुले २९ देखी ३२ सम्म किराँती राजाहरुको नाम उल्लेख गरेका छन्, जो क्रमशः यसरी छ( यलम्वर पवि, स्कन्दर, बलम्ब, हुति, हुमाति, जितेदास्ती, गलि, पुस्कर, सुर्यमा, पर्व, बुङ्ग, स्वनन्द, थुको जिघ्र नाने, लुक, थोर थाको, वर्म, गुज, पुस्क, केशु,सुग, संस, गुणन, खिम्ब, पटुक र गस्ति ।
किराँतकालिन शासन व्यवस्था तुलनात्मकरुपमा प्रवन्धको हिसावमा राम्रो थियो । शासनको स्वरुप राजतन्त्रात्मक भएपनि अड्डा अदालतहरु, कुथर, सुल्ली, लिग्वत्न, माप चोक जस्ता कार्यालयहरु स्थापना गरी राज्य संचालनको सोपानहरुद्वारा शासनलाई विकेन्द्रित रुपमा व्यवस्था गरिएको थियो । परराष्टू सम्बन्धको शुरुवात पनि सर्वप्रथम गरियो । दक्षिणतिर मगध साम्राज्य सँग राम्रो सम्बन्ध कायम गरी विम्वसार र अजात शत्रु जस्ता भारतीय शासक सँग राम्रो सम्बन्ध किराँतहरुले स्थापना गरेका थिए । व्यापारको सवालमा पाटलीपुत्रसँग नेपालमा निर्मित कपडाको लोकप्रिय व्यापार संचालन गरेको विषय कौटिल्यको अर्धशास्त्रमा उल्लेख भएको थियो । मुर्तिकलाको विकास किराँतकालदेखि प्रारम्भ भएको विषय जो अद्यावधि यथावत छ । किराँतकालमा किलिच, लिच्छिवि, मल्ल, शाक्यहरुको शरणस्थल थियो भन्ने विषय उल्लेख भएको छ । सामाजिक आर्थिक प्रशासन सुदृढ रहेको विषय पनि इतिहासमा उल्लिखित छ ।
किराँतहरुले झण्डै आठ सय(नौ सय वर्षसम्म शासन संचालन गरेका थिए । कला साहित्य, संगीतका साथै राजनीतिक पद्धतिको सुरुवात पनि किराँत कालमा व्यवस्थित रुपमा भएको थियो । किराँतहरुको शासन अन्ततः आन्तरिक अव्यवस्थाका कारण पतन भएको थियो ।
लिच्छवीहरुको नेपालमा उदय
किराँतहरु भन्दा पछि नेपालमा लिच्छवीहरुले शासन संचालन गरेका थिए । “वज्जी महासंघ” भित्र लिच्छवी, विदेह, शाक्य, मल्ल, काशी, कौशल रामग्राम (कोलिय) संघहरु संघीय गणतन्त्रात्मक व्यवस्थामा आवद्ध भई सह अस्तित्वको आधारमा सबै शासन गरेका थिए । उता चन्द्र गुप्त मौर्यकै शासनकाल देखि मगधको शक्ति वढेर उदित भएको थियो । अजातशत्रु आक्रामक स्वभावको शासक थिए । र, उसले लिच्छवी माथि आक्रमण गरी तिनीहरुलाई पलायन हुन विवश तुल्यायो । र, उनीहरु ‘विदेह’ हरु सँगै नेपालमा शरण लिन आई पुगे । किराँतहरु त्यति बेला कमजोर भई सकेकोले लिच्छवीहरु किराँतहरुलाई पराजित गरी नेपाल माथि शासन गर्न थाले । उक्त समय इ.पु. २ सय वर्ष लगभगको समय हुने कुरा इतिहास विदहरुले अनुमान गरेको छन् ।
लिच्छिवीहरु पहिलेको मुजफ्फरपुर (विहार) को वैशालीका थिए । जसको त्यहाँको अवशेषले अद्यावधि गौरवशाली इतिहासलाई स्मरण गराउँछ । सम्राट अशोक काठमाण्डौ आउँदा आफ्नो साथमा छोरी ‘चारुमति’ लाई पनि ल्याएका थिए । जसको विवाह नेपालकै क्षेत्रिय युवक ‘देवपाल’सँग गरी दिएका थिए । सँग सँगै ‘देवपत्तनम’ नामक सुन्दर शहर पनि अशोकले नै वसाएका थिए । जो मगधको राजधानी पाटलीपुत्र भन्दा पनि सुन्दर थियो । उक्त काल भन्दा ६ सय वर्ष पछि चिनी यात्री एफाहियानले देवपतनमको सुन्दरताको चर्चा गरेका छन् । गंगा वारी पारी भएकोले लिच्छवीहरुसँग रहँदै आएको वैवाहिक सम्बन्ध नेपाल आउँदा पनि कायम रहेको बुझिन्छ ।
लिच्छवीहरु आठ सय वर्ष भन्दा बढी समय सम्म नेपाल माथि शासन गरेका थिए । यद्यपि मानदेव भन्दा पुर्व पनि जयदेव लाई पशुपतिमा लेखिएको एक अभिलेख अनुसार लिच्छवीका प्रथम शासक रुपमा लेखिए पनि मानदेवलाई नै प्रथम प्रमाणित शासकको रुपमा चाँगुनारायणको अभिलेख अनुसार मानिएको छ । वसन्तदेव अंशुवर्मा, नरेन्द्रदेव, वृषमदेव, शंकरदेव, धर्मदेव, गुणकामदेव आदिको शासकहरुले शासन गरेका थिए । 
लिच्छवी कालीन प्रशासन व्यवस्था 
केन्द्रिय प्रशासन प्रादेशिक प्रशासन, स्थानीय प्रशासन, न्यायिक प्रशासन, सैनिक प्रशासन लगायत शासन प्रवन्धहरु वैज्ञानिक र व्यवस्थित रहेको थियो । मुद्राको प्रचलन पनि सर्वप्रथम मानदेवकै शासनकालदेखि भएको हो । यति मात्र होइन उक्त कालखण्डमै ऐतिहासिक अभिलेखीकरण, भवन निर्माणहरु, मुर्तिकलाका साथै साहित्य, संस्कृति, संगीत एवं कला पनि उच्चस्तरमा विकास भएको पाइन्छ । विकास निर्माणका कामहरु पनि त्यहिबेला देखि थालनी भएको बुझिन्छ ।
चीन, तिब्बत र भारतसँग दौत्य सम्बध पनि स्थापित हुनुले कुटनीतिक सम्बन्धलाई पनि विकास गरेको पाइन्छ । त्यसैगरी आर्थिक रुपमा कृषि व्यवस्था, पशुपालन, विभिन्न खाले स्वदेशी उत्पादन लगायतको क्षेत्रमा समेत विकास गरियो । साथै नेपालमा पहिलो पटक भन्सार र करको पनि व्यवस्थाको सुत्रपात भयो । समग्रमा चाणक्यको कौटिल्यकालीन राजनीतिक अर्थशास्त्रको समग्र प्रवन्धको प्रछाया नेपाली राज्य व्यवस्था माथि परेको पाइन्छ । त्यसैलाई मोडेलको रुपमा मानिदै आएको हो ।
कनाटवंशीयहरुको तराईक्षेत्रमा उदय
भारतको उज्जैनका चालुक्य वंशीय शासक विक्रमादित्य छैठौंले आफ्नो शासनकालमा सुदुर दक्षिणसम्म आक्रमण गरी भारतको सुदुर दक्षिणी भु(भागलाई शासनको अधिनमा ल्याएका थिए । सँगसँगै उत्तरतिर तत्कालिन मगध सम्राज्यको अधिनमा रहेको गंगाभन्दा उत्तरका क्षेत्रहरु माथि आक्रमण गरेर मगध सम्राज्यबाट ती क्षेत्रलाई कनाटवंशीयहरुले आफ्नो अधिनमा ल्याएका थिए । र, उनीहरुले सम्वत ११५४ तदनुसार इस्वी १०९७ मा ‘तिरहुत’ राज्यको स्थापना गरेका थिए । जस अन्तरगत गंगा भन्दा उत्तरका तत्कालिन मुझफ्फरपुर, पुर्णिया, दरभंगा लगायतका पुराना जिल्लाहरु र नेपालको मोरंग देखि पर्सासम्मका भु भाग (जो तिन तिरले पश्चिम गण्डक नदी, पुर्व कोशी नदी र दक्षिणमा गंगा नदीले घेरिएका) कारण, नै ‘तिरहुत’ नामाकरण गरिएको थियो । ‘तिरहुत’ शासनको प्रथम शासकका रुपमा नाण्यदेव रहेका थिए । क्रमशः गंगादेव, अर्जुन देव, रामासिंह देव, र अन्तिम शासक हरिसिंह देव थिए ।
तिरहुत राज्यमा ७ कनाटवंशीय राजाहरुले राज्य गरेका थिए । उनीहरु सैन्य शक्तिको हिसावले सबल हुनुका साथै विरता र विद्धता दुवै क्षेत्रमा पनि निपुण थिए । उनीहरुका प्रकाण्ड विद्धानहरु जुदिरेश्वर, गुणेश्वर, चन्देश्वर ठाकुरहरु मन्त्री वनेका थिए । ती विद्धान मन्त्रीहरुले नै मैथिली वर्ण ‘रत्नावली’ लगायत थुप्रै पुस्तक रचना गरी मैथिली साहित्यको यात्रालाई प्रारम्भ गरेका थिए । भनिन्छ, ‘वर्णरत्नाकर’ भन्ने पुस्तक भारोपेली भाषा परिवारकै प्रथम गद्य ग्रन्थ हो । जसको रचना ज्योतिरेश्वर ठाकुरले गरेका हुन । ऐश्वर्य र वैभवको हिसावले पनि सिमरौनगढ जो राजधानी थियो, अत्यन्त सम्पन्न थियो । जस माथि गयासुद्धिन तुग्लकले १३८२ माघ तृतिया दिन आक्रमण गरी थुप्रै सम्पतीहरु लुटेर लगेका थिए । यिनीहरुको विरताको परिचय के बाट पनि झलिकन्छ भने ‘मगध’ साम्राज्य माथि आक्रमण गरी ‘मिथिला’को भुभाग आफ्नो हातमा लिएका थिए भने संगसंगै यतातिर काठमाण्डौ उपत्यकामा मल्लवंशीयहरुको आन्तरिक विग्रहमा सहयोग स्वरुप सम्बत १३०१, १३०२, १३५६, १३६७, १३७०, १३७१ गरी ६ पटक आक्रमण गरेका थिए । यस वंशको पतन गयासुद्धिन तुग्लकद्वारा गरिएको आक्रमणमा राजा हरिसिंहदेव घाइते भई दोलखाको तिन पाटनमा गएर उनको मृत्यु भएको थियो । र, मल्लवंशका पछिल्लो रुद्र मल्लकी छोरीसँग हरि सिंह देवका छोराको विहे भयो । तत्पश्चात कनाटवंशीयहरु मल्लको परिचयबाट पछिल्लोकालमा आफुलाई प्रस्तुत गर्न थालेको पाइन्छ ।
नेपालमा सेनवंशीयहरुको उदय
भारतीय प्रसिद्ध इतिहासकार राधा कुमुद मुखर्जीद्वारा लिखित प्राचिन भारत पुस्तकका अनुसार सेनवंशको संस्थापक सामन्त सेन भन्ने व्यक्ति जसको जन्म वंगालीको राढ नामक स्थानमा भएको थियो । र, उनी  ब्राह्मण क्षेत्रीय थिए । १२ औं शताव्दीमा विजय सेन नामक व्यक्तिले धेरै प्रदेशहरु जीतेर सत्ताको निर्माण गरेका थिए । र, विजय सेनले नेपाल र मिथिलाको भूभाग माथि आक्रमण गरी कब्जा गरेका थिए ।
विजय सेनका छोरा बल्लाल सेन ११६५ इस्वी देखि ११८५ सम्म शासन गरेका थिए । त्यसमा राढ, विरेन्द्र वागदी, वंग र मिथिला सँग सँगै नेपालमा पनि शासन गरेका थिए । लक्ष्मण सेनको शासनकालमा साहित्य, संगीतको निकै विकास भएको पाइन्छ । प्रसिद्ध संस्कृत गीत गोविन्दका रचयता जयदेव, कोषकार, छलायूद्ध, पवनदुत जस्ता साहित्यकारहरुले पनि योगदान दिएका थिए । 
अर्को ऐतिहासिक तथ्य अनुसार सेनवंशीहरु चितौडगढका सिसौदीया वंशीय राजपुत थिए । वंगाली सेन र सिसौटीया वंशज बीचमा कहाँनेर फ्युजन भएको हो इतिहासका पुस्तकहरुमा प्रष्ट हुन सकेको छैन ।
लोहाङसेन, राधव सेन, हारहर सेन, शुभसेन, मानिक सेन, हेमकर्ण सेन, दिगबन्धन लगायत सेनवंशीय शासकहरुले शासन गरेका थिए । र, यिनीहरुको राज्यको सीमा पुर्वमा मोरङ विजयसुर चौदम्वी, पश्चिममा अर्धाखाँची र गुल्मीसम्म, बीचको मकवानपुर लगायतका भु भाग रहेको थियो । यिनीहरुको शासन काल विक्रम सम्बत १३८१ देखि १८३१ सम्म रहेको थियो । यतातिर उपत्यकामा मल्लहरुको शासन विक्रम सम्बत १२७४ मा अरि मल्लको रुपमा सुरुवात भएको पाइन्छ । यता पृथ्वी नारायण साहको राज्य विस्तार अभियान विक्रम सम्बत १८०१ असोज १५ का दिन नुवाकोटमा आक्रमण गरी प्रारम्भ भई क्रमशः १८०३ मा कान्तिपुरमा विजय, किर्तिपुरमा विजय, १८२६ मंसिर १ मा भक्तपुरमा आक्रमण र पुर्वको एकिकरण अभियान १८२९ मा चौदण्डी विजयपुरको आक्रमण हुँदै १८३१ मा पृथ्वी नारायण शाहको मृत्यु भएको पाइन्छ ।
यसरी नेपालको समग्र ऐतिहासिक घटनाहरुको सिंहावलोकन गर्दा लगभग ३६ सय वर्षको इतिहास मध्ये शाह वंशको योगदान २ सय ६१ वर्षको २०६३ साल सम्ममा रहेको पाइन्छ । त्यस अलावा तराईवासी मधेसीहरु र आदिवासी जनजातिहरुको ३ हजार ३ सय ५० वर्षको नेपालको राष्टू निर्माणमा तराईवासी मधेसी आदिवासी जनजातिहरुको रगतले ढुङ्गा माटो रंगिएको छ । र, समग्रतामा नेपाल राष्टूको शिलान्यास देखि राज्य व्यवस्थाको प्रवन्ध तथा विस्तार सम्ममा मधेसी एवं आदिवासी जनजाति छँदैछ । तिनीहरुको नेपाल राष्टूको निर्माणमा प्रमुख भुमिका मात्र होइन स्वामित्व समेत रहेको पाइन्छ । र, यस अनुसार सम्पुर्ण राष्टू हाम्रो योगदानबाट नै बनेको हो । यसको कुनै खास भु भाग माथि मात्र हाम्रो दावी छैन । 
डा.सिके राउतले मधेसका इतिहास नामक पुस्तक लेख्दा मनुस्मृतिको अध्याय २ स्लोक ४१ अनुसार मधेसको सीमावारे उद्यरण प्रस्तुत गरेकैबाट प्रष्ट देखिन्छ । 
हिमवद्धिन्ध्ययो मध्ये यत्प्रगिवनशनदपि । 
प्रत्येक प्रयागाच्च मध्यदेश प्रकीर्तित ।
अर्थात हिमालय देखि विन्धय पर्वतको बीच तथा पुर्वमा प्रयाग, पश्चिममा विनाशन (सरस्वती नदीसम्म फैलिएको भुभाग नै ‘मधेस’ हो । जसअनुसार नेपालको वर्तमान भुमिमध्ये नयाँ मुलुकका केही भाग बाहेक कुनै ‘मधेस’ भित्र पर्दैन । जहाँ सम्म मम्झिम देशको विषय हो त्यो मल्ल गणराज्यको बारेमा उल्लेख भएको देखिन्छ । जो गोरखपुरको वरिपरि पर्छ ।
जहाँसम्म डा.सिके राउतले गण्डकभन्दा पुर्वको भुभाग वैवश्वत मनुका नाति इच्छाकुका छोरा ‘निमी’ नामक व्यक्तिलाई दिएको सन्दर्भ छ, त्यसको वास्तविकता अलग हो । निमिलाई अवध राज्यबाट निर्बासित गरी गण्डक पुर्वको भागमा जान विवश पारिएको थियो । जो भुमि खेति योग्य पनि थिएन । र, दलदल भुमि रहेको कारणले अत्यन्त कठिन प्रयास पश्चात त्यस भुमिलाई कृषि योग्य एवं वसोवास योग्य यत्रतत्र आगो बाली बनाइएको थियो । तत्पश्चात उनी एउटा विशाल यज्ञको आयोजना गरेका थिए, जसमा आफ्ना कुलगुरु बशिष्ठलाई यज्ञ सम्पादन गराईदिन अनुनय गरेका थिए । तर, उनी इन्द्रकहाँ जानु अनिवार्य भएको भनि वहाना बनाई यज्ञबाट पन्छिएका थिए । र, पछि गौतम ऋषिद्वारा त्यो यज्ञ सम्पादन गराइएको थियो । सो विषय बशिष्ठले थाहा पाउँदा उनले निमिलाई रिसाएर देह रहित हुने स्राप दिए । त्यो स्राप पाउनासाथ उनको शरीरबाट आत्मा निस्केको किम्वदन्ती छ । र, उक्त अवस्थामा गौतम ऋषिले राजा निमीको शरीर मन्थन गरी त्यसबाट एउटा बालक उत्पन्न भयो । मन्थनबाट नै उक्त बालकको उत्पति भएका कारण त्यो बालकको नाउँ ‘मिथि’ राखियो । जसबाट ‘मिथिला’ बनेको हो । विना माता पिताको बालक रहेकाले त्यो बालकको नाम ‘जनक’ राखियो । त्यहीँ देखि विदेह गणराज्य वा मिथिला र पछि तिरहुत आदि नामबाट यो भु भागलाई चिनिन थालियो । यसरी डा.सिके राउतका तथ्यहरु, तथ्यसंगत भन्दा पनि भावनामा वगेर इतिहासमा हुँदै नभएका विषयहरु काल्पनिक रुपमा उल्लेख गरिएको छ । र, नेपाल राज्यको निर्माणमा मधेसीहरुको भुमिकालाई झन उहाँले संकुचित गरी तराई सम्म सिमित गरेको देखिन्छ । (लेखक ः एकिकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य हुन ।)

 २०७१ कार्तिक ३० गते आईतबार

No comments:

Post a Comment