Sunday, November 16, 2014

प्रहरीको ‘अपराध आचरण’

प्रहरीको हिरासतमा बायाँ देखि क्रमशः पुर्णचन्द चौधरी,
 मृत्युञ्जय सिंह, हैदर मंसुरी, प्रहरी हवलदार संजय झा र
 प्रहरी राजेश कुमार सिंह ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सर्लाही डुमरिया(४ का ३५ वर्षिय संजय झा पेशाले नेपाल प्रहरीका प्रहरी हवलदार हुन । २२ जेष्ठ २०६९ मा अञ्चल सशस्त्र प्रहरी गुल्म, जनकपुरमा उनको पोष्टीङ भएको थियो । अपराधिहरुलाई पक्राउ गरी शान्ति र व्यवस्थालाई कायम राख्नु, राख्न लगाउनु, कानुन बमोजिम पक्रन पर्ने व्यक्तिहरुलाई र पक्रनुपर्ने पर्याप्त कारण भएका व्यक्तिहरुलाई पक्रनु उनको कर्तव्य हो ।  उनले गरेको कार्य सम्पादनको मुल्याङ्कनकै परिणाम हुनुपर्दछ, १ कार्तिक २०७१ का दिन नेपाल प्रहरी संगठनले अञ्चल प्रहरी कार्यालय जनकपुरमा प्रहरी दिवसको अवसर पारेर उनलाई पुरस्कृत गरेको थियो । तर, कस्तो संजोग पनि पर्यो भने विहान आफ्ना प्रहरी अधिकारीहरुको समक्ष उनी न्यायाधिशको हातबाट पुरस्कार थापेका थिए भने सोही दिन बेलुका उनलाई धनुषा प्रहरीले गिरफ्तार ग¥यो । उनीसँगै सोही कार्यालयमा कार्यरत महोत्तरी पुल्टा पड्कौली(९ का २५ वर्षिय प्रहरी जवान राजेश कुमार सिंह पनि पक्राउ परे । पक्राउ परेका ती दुवै जना प्रहरी कर्मचारीलाई धनुषा प्रहरीले ठगी र डाँका मुद्दाको अभियोग लगाएर धनुषा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।
२५ माघ २०५७ मा प्रहरी सेवामा प्रहरी जवान पदमा नियूक्त भई नोकरी गर्दै आएको संजय झा नोकरीको सिलसिलामा पहिलो पटक काभ्रेपलाञ्चोक, दोस्रो पटक धनुषा र तेस्रो पटक हेटौडामा दरबन्दी परेको अनुसार उनी सबै स्थानमा काम गरे । करिब १८ महिना पहिले हेटौडाबाट अञ्चल सशस्त्र प्रहरी गुल्म जनकपुरमा उनी सरुवा भएर आएका थिए । उनी आफ्नो गाउँकै ओम प्रकाश सिंह भनिने मृत्युन्जय कुमार सिंह समेतको गिरोहमा आवद्ध भई मान्छेलाई लुटने आरोपमा अहिले पक्राउ परेका छन् ।
ठगी गर्ने तरिका
कैलाली टिकापुर नगरपालिका(४ बाघमारा बस्ने २५ वर्षिय पुर्णचन्द्र चौधरी, सर्लाहीको डुमरिया ३ बस्ने ३० वर्षिय ओम प्रकाश भन्ने मृत्युञ्जय सिंह, सर्लाहीको मलंगवा नगरपालिका ४, विश्वकर्मा टोलका ६० वर्षिय हैदर मंसुरी लगायतको गिरोहले मान्छेलाई सक्कली नेपाली नोट लिएर आयो भने त्यसको तीन गुणा बढी नक्कली रुपैयाँ दिन्छु भनेर मान्छेलाई प्रलोभनमा पारी ठगी गरि लुट्ने काम गर्थे ।
रौतहटको चन्द्रपुर नगरपालिका ४ का मानबहादुर थिङ्गलाई शिकार बनाउन खोजेकै बेला उनीहरु पक्राउ परे । ओम प्रकाश भन्ने मृत्युञ्जय सिंह तीन वर्ष जति बैदेशिक रोजगारीका लागि मलेसियामा काम गरेर घर फर्किएपछि अरु मानिसहरुलाई वैदेशिक रोजगारीका लागि विदेश पठाउनु एजेन्टको रुपमा काम गर्थे । एजेन्टको काम गर्ने क्रममा कैलाली टिकापुरका पुर्णचन्द्र चौधरीसँग उनको चिनजान भयो । तर, एजेन्टको काम गर्ने क्रममा ओम प्रकाशलाई घाटा भएपछि मानसिक तनावमा आई सकेका थिए । ओम प्रकाशले पठाएका मानिसले विदेशमा  राम्रो काम नपाई फर्केको कारण उनले आफ्नो जग्गा विक्री गरेर ती व्यक्तिहरुलाई पैसा तिरेका थिए । सोही क्रममा पुर्णचन्द्रले ओम प्रकाशलाई मलंगवाका हैदर मंसुरीसँग चिनजान गराएको थियो । हैदर मंसुरीले पैसा कमाउने तरिका छ, सँगै मिलेर काम गर्यो भने राम्रो पैसा कमाई हुन्छ भनेपछि तीनै जना तयार भए । नक्कली पैसा जस्तो बनाई मानिसलाई भ्रममा पार्ने तरिका आफुसँग रहेका हुनाले वढी पैसा हुने मानिसको खोजी गर्न पुर्णचन्द्र चौधरीलाई लगाएका थिए । सोही क्रममा पुर्ण चन्द्रले नदरमान थिङ्ग वढी पैसा बाला व्यक्ति रहेको भनि खोजी गरेका थिए । उनीहरुले नदरमानलाई १२ लाख रुपैयाँको तीन गुणा वढी नक्कली रुपैयाँ दिने भन्ने प्रलोभनमा पारेका थिए । जनकपुरको सिता प्यालेसमा उनीहरुले वसेर योजना बनाएका थिए । जब नदरमान सिता प्यालेसमा आई रुपैयाँ देखाउ भनेर भन्दा उनीहरुले १ हजारको सक्कली नोटलाई नक्कली नोट बनाएर देखाई भ्रममा पार्न खोजेका थिए । वृक्षणी नामक पशु चिकित्सामा प्रयोग हुने ट्यावलेट सादा पानीमा घोली नयाँ नोट डुवाई सुकाएर राख्ने र त्यस पश्चात चुना मिसिएको पानीमा सो नोट भिजाएपछि नोटमा चुनाको प्रतिकृयाबाट गुलावी कलर जस्तो भई नोट नक्कली जस्तो देखिने तरिकालाई उनीहरुले अपनाएका थिए । हैदर मंसुरीले उक्त तरिका भारतको लुधियानामा सिकेका थिए । उक्त योजना साकार पार्नका लागि उनीहरुलाई पुलिसको आवश्यकता पथर््यो । पुलिस नै आइसकेपछि नक्कली नोटको कारोबार गरिरहेको भन्दै उनीहरुलाई पक्रेर लगेको नाटक जस्तो गर्ने र बाटोमा छोडिदिने कामको लागि उनीहरुले पुलिसलाई प्रयोग गर्थे । यो घटनामा पनि अनिल कुमार सिंह, हैदर मंसुरी समेतले नदरमान थिङ्गको रु. १२ लाख खोसी बाहिर निस्की संजय झा र राजेश सिंहको मोटरसाईकलमा चढी फरार हुन लाग्दा नदरमानले धनुषा प्रहरीलाई जानकारी गराई पिछा गरी पक्राउ गर्न सफल भएको थियो । उक्त घटनामा प्रहरीले पक्राउ परेका हवलदार संजय झाको प्यान्टको खल्तीबाट नगद रु. ३ लाख ९२ हजार र निजले चलाएको बा.२४प. ८७९४ नम्बरको मोटरसाईकल बरामद गरेको थियो । पक्राउ परेका प्रहरी हवलदार संजय झाको मोवाईल ९८४४०२०८५१ र अर्को अभियुक्त मृत्युञ्जय सिंहबाट बरामद भएको ९८१९८२८१५७ नम्बरको मोबाइलमा असोज २९ देखि ३१ सम्म विभिन्न समयमा २२ पटक फोन सम्पर्क भएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
यसरी अपराधमा प्रहरी नै संलग्न रहेको भन्ने घटना नौलो होइन । यसअघि नेपाल प्रहरीमा कार्यरत हरेशिव यादव अपराधमा संलग्न भएपछि प्रहरीकै इन्काउन्टरमा मारिएको थियो । इलाका प्रहरी कार्यालय धोविडाडा, रामेछाप दरबन्दी भई सशस्त्र प्रहरी गुल्म जनकपुरमै कार्यरत रहेका धनुषाको तारापट्टी सिरसिया घर भएका प्रहरी जवान हरेशिव यादव रहजनी चोरी मुद्दामा अभियुक्त देखिएपछि १९ मंसिर २०६३ मा निलम्बन भएका थिए । ६ अषाढ २०६८ मा उनले पुनरावेदन अदालत जनकपुरबाट सफाई पाएर पनि हाजिर नभएका कारण  १६ जेष्ठ २०६९ मा उनलाई जागिरबाट हटाइएको थियो । त्यसपछि आफ्नै गाउँका सुरेश यादवको हत्या गरी सशस्त्र समुह संचालन गरिरहेका हरेशिव यादवलाई ६ साउन २०६९ मा प्रहरी इन्काउन्टरमा उनी मारिएका थिए । यसरी हेर्ने हो भने धनुषामा कार्यरत कतिपय प्रहरी कर्मचारीहरु आपराधिक गतिविधिमा   संलग्न भएको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले २०६८ देखि २०७० सालसम्म तीन वर्षमा मात्र १ सय २० जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ भने ६३ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही समेत गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय धनुषाले उपलब्ध गराएको तथ्याङक अनुसार १ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी गरी ३ जनालाई नोकरीबाट नै हटाइएको छ । त्यसैगरी ९ जना प्रहरी जवानलाई तल्लो टाइम स्केलमा कारवाही, २ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी हवलदार र ३ जना प्रहरी जवान गरी ६ जनालाई निलम्बन नै गरेको छ । त्यसैगरी १ जना प्रहरी हवलदारको ग्रेड रोक्का, ३ जना प्रहरी जवानको वढुवा रोक्का, १ जना प्रहरी निरीक्षक, ९ जना प्रहरी हवलदार र ३१ जना प्रहरी जवान गरी कुल ४१ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही स्वरुप नसिहद दिइएको छ ।
त्यसैगरी अञ्चल प्रहरी कार्यालय जनकपुरले आर्थिक वर्ष २०७०÷०७१ मा मात्र २ सय ७४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ भने १ सय ६५ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही समेत गरेको देखिन्छ । अञ्चल प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङक अनुसार १ जना प्रहरी सहायक निरीक्षक, १४ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी गरी १६ जनालाई नोकरीबाट नै हटाइएको छ । त्यसैगरी  १ जना प्रहरी नायव निरीक्षक, २ जना प्रहरी हवलदार र १६ जना प्रहरी जवान गरी १९ जनालाई तल्लो टाइम स्केलमा घटुवा गरेको छ । त्यसैगरी १ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी हवलदार र १२ जना प्रहरी जवान गरी कुल १५ जनालाई निलम्बन गरेको छ । त्यसैगरी १ जना प्रहरी निरीक्षक, २ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी हवलदार र २ जना प्रहरी जवान गरी कुल ६ जनाको ग्रेड रोक्का, १ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी हवलदार र ४ जना प्रहरी जवान गरी कुल ६ जनाको वढुवा रोक्का गरेको छ । त्यसैगरी  १ जना प्रहरी निरीक्षक, ७ जना प्रहरी नायव निरीक्षक, १५ प्रहरी सहायक निरीक्षक, २५ जना प्रहरी हवलदार र ५४ जना प्रहरी जवान गरी कुल १ सय २ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही स्वरुप नसिहद  दिइएको छ ।
त्यसैगरी १ जना प्रहरी हवलदारलाई तल्लो दर्जामा घटुवा समेत गरिएको छ । यसरी हेर्ने हो भने अञ्चल प्रहरी कार्यालय जनकपुरले २ जना प्रहरी निरीक्षक, १ जना प्रहरी नायव निरीक्षक, २० जना प्रहरी सहायक निरीक्षक, ३१ जना प्रहरी हवलदार, १ सय २ जना प्रहरी जवान र १ जना कार्यालय सहयोगी गरी कुल १ सय ६५ जना प्रहरी कर्मचारीहरुलाई १ वर्षमा मात्र विभागिय कारवाही गरिनुले पनि प्रहरीको आचरण कति हदसम्म गलत रहेको बुझ्न सकिन्छ ।
प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार केसीका अनुसार अपराध भनेको मनोवृति हुन्छ, प्रहरी संगठनमा काम गर्ने प्रहरी कर्मचारीहरुको सांगठनिक चरित्र र केही प्रहरी कर्मचारीहरुमा अपराधिक मानिसिकताको जन्मजात चरित्र देखिएको छ । मौकामा नपर्दासम्म प्रहरी हवलदार संजय झाको चरित्र ठीक थियो तर, व्यक्तिगत चरित्र सधै देखिँदैन । यस्ता प्रहरी कर्मचारीहरुकै कारणले गर्दा प्रहरीको छवि समाजमा धुमिलिन जान्छ । एसएसपी केसी भन्छन,“ कानुनको अगाडी कोही पनि ठुलो सानो छैन, प्रहरीले अपराध गरेको भएपनि सामान्य नागरिक सरह नै कारवाही गरेर प्रहरीले आफ्नो कर्तव्यको पालना नगरेको भए प्रहरी संगठन प्रतिको विश्वासमा कमि आउन सक्थ्यो । तर, हामीले ती दुवै जना प्रहरी कर्मचारीलाई कारवाही गरेका छौं ।”
प्रहरी आचरणको तालिम
नेपाल प्रहरी संगठनमा नियमित रुपमा प्रहरी आचरणका लागि तालिम दिने गरिएको हुन्छ । अञ्चल प्रहरी कार्यालय जनकपुरले बार्षिक क्यालेन्डर अनुसार मानव अधिकार, अपराध अनुसन्धान, सामुदायिक प्रहरी सेवा अनुशिक्षण, महिला तथा बालबालिका विरुद्धका अपराध अनुसन्धान प्रशिक्षण, मानव वेच विखन तथा ओसार पोसार र यौन शोषण विरुद्धका अनुसन्धान अनुशिक्षण लगायतका तालिमहरु नियमित रुपमा दिने गरेको छ । १ वर्षमा करिब २३ वटा तालिमहरु दिने गरिएको अञ्चल प्रहरी कार्यालय जनकपुरका तालिम शाखाका असई रामकुमार शर्माले जानकारी दिए ।
आचरण र व्यवहार तर्फ मातहतका जिल्ला भरिका सम्पुर्ण यूनिट इन्चार्जहरुलाई बोलाएर प्रत्येक महिनाको आइतवार अनुशासन, आचरण सुधार लगायतका विभागिय नीति निर्देशन अनुसार प्रहरी वरिष्ठ उपरीक्षकले तालिम दिने गरेका छन् । असई शर्माका अनुसार बेला बेलामा एसएसपी आफैले छडके जाँच समेत गर्छन् । प्रहरीको आचरण र व्यवहार सुधारका लागि प्रत्येक प्रहरी कार्यालयको मुलद्वारमा टोल फ्रि नम्बर समेत सार्वजनिक गरिएको हुन्छ । यति मात्र होइन, गुनासोको लागि उजुरी पेटिका साथै कार्यालय प्रमुखको नम्बर समेत राखेको हुन्छ । त्यसैगरी अहिले देशैभरीमा प्रहरीको आचरण कस्तो छ भन्ने अनुगमन गर्नका लागि केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) ले सादा पोशाकमा प्रहरी कर्मचारी सूचना संकलनको लागि खटाएको हुन्छ ।
यस अघि कुबेर सिंह राणा प्रहरी महानिरीक्षक भएका बेला डिआईजी समेतलाई कारवाही गर्न सकिने अख्तियारी दिएर पाँच वटै मध्यमाञ्चल क्षेत्रका लागि एसएसपीको कमाण्डमा छुट्टा छुट्टै टोली खटाएको थियो । उक्त समयमा जनकपुरमा एसएसपी रमेश खरेलको कमाण्डमा आएको टोलीले जनकपुरका विभिन्न पक्षहरुसँग अन्तरक्रिया गरी प्रहरीको आचरणबारे अनुगमन गरेको थियो । 


२०७१ कार्तिक ३० गते आईतबार

No comments:

Post a Comment