Sunday, November 16, 2014

एमाले धनुषामा समानान्तर कमिटी

एमाले धनुषाको पार्टी कार्यालय ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेकपा एमाले धनुषाको जिल्ला कमिटिमा दुईवटा समानान्तर कमिटि गठन भएपछि उत्पन्न भएको विवादलाई अन्तय गरी योगनारायण यादवको संयोजकत्वमा ९० सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको ५ महिना नवित्दै धनुषामा फेरी समानान्तर कमिटि गठन भएको छ । एकातर्फ योगनारायण यादवको संयोजकत्वमा ९६ सदस्यीय कार्यसमिति गत १४ जेष्ठ देखि  अस्तित्वमा छ भने अर्को तर्फ एमाले नेता रघुविर महासेठ पक्षधरहरुले २२ कार्तिकमा रामचन्द्र पंडितको संयोजकत्वमा १ सय २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । महासेठ पक्षधर नेताहरुले सुरुमा महासेठकै प्रमुख आतिथयमा धनुषा जिल्ला एमाले अन्तरपार्टी संघर्ष समिति गठन गरेको थियो भने २३ कार्तिकमा पुनः विस्तारित वैठकबाट संघर्ष समितिको नाम परिवर्तन गरी धनुषा जिल्ला अधिवेशन आयोजक कमिटि राखेको छ । यति मात्र होइन  पंडित संयोजक रहेको आयोजक कमिटिले आउँदो मंसिर ५ गतेसम्म ७ वटै क्षेत्रको क्षेत्रिय भेला तथा गाउँ भेलाहरु सम्पन्न गरी मंसिर २१ र २२ गते जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरिसकेको छ । दुवै पक्षले अहिले छुट्टा छुट्टै गाउँ भेलाहरु गरिरहेका छन् । संस्थापन पक्षका कार्यसमितिका सह संयोजक राजकिशोर यादव भन्छन,“महासेठ पक्षधर नेताहरुले गठन गरेको आयोजक कमिटि एमालेको विधान विपरितको कार्य हो । केन्द्रिय महाधिवेशनमा महासेठ पराजित भएपछि आफ्नो अस्तित्व जोगाउन विचलित भई गठन गरिएको कमिटि पार्टीको लागि घातक र पार्टीको हित विपरित रहेकाले कारवाहीको भागिदार छन् ।” तर, महासेठ पक्षधर संयोजक रामचन्द्र पंडित भन्छन,“पहिलेको निर्वाचित जिल्ला कमिटि विना कारण पुर्वाग्रही ढंगले विघटन गरियो, त्यसलाई पुनसर््थापित गरिनु पर्दछ । यदुवंश झा प्रवेश गर्दा ७ सय ५० जनालाई संगठित सदस्यता वितरण गरियो, सुन चाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष अमरनाथ गुप्ताकी श्रीमति जो कम्यूनिष्ट हुँदै होइन, तिनीहरुलाई एकातर्फ सदस्यता वितरण गरियो भने अर्को तर्फ जिविसका पुर्व सभापति रामचरित्र साह लगायतका दर्जनौं नेताहरुको सदस्यता नविकरण गर्नबाट षडयन्त्रपुर्वक वञ्चित गराइयो ।”
गत १४ जेष्ठमा एमालेको केन्द्रीय कमिटिको बैठकबाट धनुषाको विवाद साम्य पार्न ३ दिन भित्र केन्द्रिय संगठन विभागलाई सम्पुर्ण अधिकार सहित जिम्मा दिइएपछि संगठन विभागले १६ जेष्ठमा  योगनारायण यादवको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो । संगठन विभाग प्रमुख समेत रहेका एमाले केन्द्रिय सचिव युवराज ज्ञवाली, सचिव शंकर पोखरेल, विष्णु पौडेल, नेताहरु धर्मनाथ साह, सुरेन्द्र पाण्डे, भानुभक्त ढकाल, ज्ञानबहादुर भुजेल लगायत १७ जना सदस्यहरुको सर्वसम्मत निर्णयले धनुषामा जिल्ला अधिवेशनबाट निर्वाचित भएको हरिनारायण महत्तोको कमिटी विघटन गरी यादवको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो ।
संगठन विभागको वैठकमा जनकपुर अञ्चल कमिटिले सिफारिस गरेको राजकिशोर यादव नेतृत्वको ८९ सदस्यीय कमिटि र जिल्ला अधिवेशनबाट निर्वाचित भएको महत्तो नेतृत्वको कमिटिका लागि नेताहरु विभाजित भएका थिए । केही नेताहरु राजकिशोरको नाउँमा आवाज उठाइरहेका थिए भने केही नेताहरु महत्तोको पक्षमा आवाज उठाउँदा सर्वसम्मत नभइरहेको अवस्थामा योगनारायण यादवको नाउँ सिफारिस भएपछि सबै जना सर्बसम्मत भएको थियो । 
महत्तो अञ्चल कमिटिको सदस्य हुने र राजकिशोर यादवलाई अहिले जिल्ला कमिटिको सदस्यमा राखिएपनि कार्यकारी अधिकार दिएर सह संयोजक बनाइएको थियो ।उक्त कमिटिले पछि महासेठ पक्षधरहरु गुरुदेव यादव, उमाशंकर साह, केदार कुमार अधिकारी, धनबहादुर साढु मगर, लिला मानन्धर र सूर्या पन्जियारलाई मनोनित गरेर ९६ सदस्यीय कार्यसमिति बनाइएको थियो ।
 यता २७ असोजमा योगनारायण यादवको अध्यक्षतामा जनकपुरको रौनियार धर्मशालामा वसेको वैठकबाट कार्तिक ९ गते चियापान कार्यक्रम गर्ने, कार्तिक मसान्त भित्र १ सय १ गाविसहरुमा गाउँ सम्मेलन गर्ने, ५ मंसिर सम्ममा क्षेत्रिय सम्मेलनहरु गर्ने र आउँदो मंसिर २४ देखि २६सम्म जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त वैठकमा महासेठ पक्षधर कार्यसमितिका सदस्यहरु समेत सहभागी भएको थियो । उक्त वैठकले पार्टी भित्र देखिएको विवादहरुलाई सामाधान गर्नका लागि योगनारायण यादवको संयोजकत्वमा राजकिशोर यादव, राजकिशोर चौधरी, सहदेव मुखिया र रामचन्द्र पंडित समेतको आयोग नै गठन भएको थियो । तर, पछि अलग अलग कमिटि बनेको छ ।
विवादको कारण
संविधान सभाको चुनावका दौरान आफ्नो पार्टीको उम्मेदवारहरुलाई सहयोग नगरी विपक्षी उम्मेदवारहरुलाई सहयोग गरेको कारण एमालेको केन्द्रिय कार्यसमितिले क्षेत्र नं. १ का तत्कालिन इन्चार्ज जयप्रकाश सुनरैत, २ नम्बरका तत्कालिन इन्चार्ज किशोरी साह, ७ नम्बरका तत्कालिन इन्चार्ज रामसागर महत्तो, जिल्ला कमिटि सदस्यहरु सोभित महत्तो, राजकुमार महत्तो, जिल्ला विकास समितिका पुर्व सभापति रामचरित्र साह लगायतलाई साधारण सदस्य समेतबाट निलम्बन गरिएको थियो । त्यसैगरी तत्कालिन अध्यक्ष हरिनारायण महत्तोलाई पछि अञ्चल कमिटिमा सदस्य बनाई वढुवा गरि पाँचौ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटिलाई विघटन गरी योगनारायण यादवको संयोजकत्वमा कमिटि गठन गरेको थियो ।
चुनावकै दौरान एमाले पार्टी प्रवेश गरेका यदुवंश झा र रत्नेश्वर लाल गोइत पार्टीमा प्रवेश गर्ने बेला करिब ७ सय जनालाई संगठित सदस्यता वितरण गरेको थियो । लगतै एमालेको केन्द्रिय महाधिवेशन हुँदा धनुषाका नेताहरु पनि उम्मेदवारी दिएका थिए । केप ीओलीको समुहमा केन्द्रिय सचिवमा रघुविर महासेठ, केन्द्रिय सदस्यहरुमा योगनारायण यादव, श्रीप्रसाद साह, ज्ञान बहादुर भुजेल, बैकल्पिक सदस्यमा हरिनारायण महत्तो र माधव नेपाल समुहमा सदस्यमा शत्रुधन महत्तो, रत्नेश्वर लाल गोइत र यदुवंश झाले उम्मेदवारी दिएका थिए । उक्त महाधिवेशनमा योगनारायण, श्रीप्रसाद, ज्ञानबहादुर र शत्रुघन विजयी भएपनि महासेठ र उनका पक्षधर हरिनारायण पराजित भए ।
त्यसपछि महासेठ पक्षधरहरु जिल्ला देखि केन्द्रसम्म पराजित भएपछि, संविधानसभाको चुनावमा समेत पराजित भएपछि आफ्नो अस्तित्व जोगाउन र पार्टीमा खास गरी जिल्लामा पुनः वर्चश्व स्थापित गर्न समानान्तर कमिटि गठन गरेको जिल्ला कमिटि सदस्य राजकुमार मण्डलको भनाई छ । हुन त महासेठ पक्षधर करिब ३ सय जना कार्यकर्ताहरुले गत जेष्ठ महिनामा केन्द्रिय कार्यालयमै गएर धर्ना दिएको भएपनि केन्द्रले कुनै सुनुवाई गरेको थिएन ।
 २०७१ कार्तिक ३० गते आईतबार

No comments:

Post a Comment