Monday, November 24, 2014

वढ्दो सवारी दुर्घटना

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पुर्व पश्चिम राजमार्ग अन्तरगत धनुषाको नक्टाझिज ८ स्थित एउटा वसले ट्याक्टरलाई ठक्कर दिँदा नक्टाझिज ८ निवासी २३ वर्षिय गोपाल महत्तोको मृत्यु हुनुका साथै ११ जना दुर्घटनामा परि घाइते भएका थिए । जसमध्ये ९ जना सख्त घाइते भएका थिए । पुर्वबाट काठमाण्डौ जाँदै गरेको ना ४ ख ३४४ नम्बरको बसले विपरित दिशा तर्फबाट आइरहेको ज १ त ४५८३ नम्बरको ट्याक्टरलाई गत शनिवार अवेर साँझ ठक्कर दिँदा दुर्घटना भएको थियो । तिव्र गतिका कारण बस र ट्याक्टर पुर्णतः क्षतिग्रस्त भएको थियो ।
सवारी ज्यानमा फरक फरक सजाय
सवारी दुर्घटनाले धनुषामा विकराल समस्याको रुप लिँदैछ । पछिल्लो ३ वर्षमा  र ४ महिनामा मात्रै सवारी दुर्घटनामा परेर धनुषामा १ सय ४५ जनाले ज्यान गुमाउनु परेको छ भने ३ सय १५ जना गम्भीर घाइते भई अंगभंग समेत हुनु परेको छ । ३ सय ७ वटा सवारी दुर्घटना हुनुले पनि अब यो समस्या झनै भयावह हुँदै गएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६८÷०६९ मा ५२ जना, २०६९÷०७० मा ४५ जना, २०७०÷०७१ मा ३० जना र चालु आ.ब. २०७१÷०७२ को कार्तिक मसान्तसम्म मात्र १८ जना गरी १ सय ४५ जनाले सवारी दुर्घटनामा परि अकालमै ज्यान गुमाउनु परेको छ । यस आर्थिक वर्षमा मात्रै ४ वटा यात्रुबाहक बस नै पल्टियो ।
सवारी साधनको बढ्दो उच्च चाप, सडक विभागले राजमार्गमा सडक रेखा विभाजन नगर्नु, राती अँध्यारोमा सवारी चालक निदाउनु मादक पदार्थ सेवन गरी चालकद्वारा सवारी साधन चलाइनु, क्षमता भन्दा अधिक यात्रु सवारी साधनमा चढाउनु, सडकको अवस्था जीर्ण हुनु आदि सवारी दुर्घटनाका प्रमुख कारण रहेको जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रमुख समेत रहेका प्रहरी निरीक्षक ज्ञान कुमार महत्तोको भनाई छ ।
२१ जेष्ठ २०७१ मा जनकपुर ७ स्थित माछा बजार सडक खण्डमा ना. २ ख. ११९५९ नं. को टूकले किच्दा भईमा लडेकी ३० वर्षिया रेणु देवी झाको मृत्यु भएको थियो । टूकको पछाडी चक्काले किची टाउको समेत कचाककुचुक भईसकेको अवस्थामा उनको मृत्यु भएको थियो । 
प्रहरीले टूकको चेकजाँच गर्दा चालक बसेको सीट मुनि औफिसर्स च्वाइस लेखिएको सिसाको बोतल १, रोयल स्टाग ७५० एम एल सिसाको बोतल १ बरामद भएको थियो । सर्लाही सिसौटका रामदयाल महरा चालक रहेको थियो । किरिया खर्च वापत रु. २५ हजार मृतकका पति डा.विवेकानन्द झालाई उपलब्ध गराए पनि क्षतिपुर्ति रकम उपलब्ध गराईएको छैन ।
१८ अषाढ २०७१ मा धनुषा जिल्ला अदालतले चालक महरालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो भने २४ कार्तिक २०७१ मा न्यायाधिश कृष्ण बहादुर थापाको इजलासले २ वर्षको कैद सजाय तथा मृतकका परिवारलाई क्षतिपुर्ति समेत उपलब्ध गराउन आदेश गरेको छ । अदालतले गरेको फैसलाबाट आफु संतुष्ट नरहेको पीडित डा.विवेकानन्द झाले द एक्सक्लुसिभ सामु गुनासो व्यक्त गरे । अभियोग दावी गरिए अनुसार दुई वर्ष देखि दश वर्ष सम्म कैद सजाय माग दावी गरिएको थियो । पहिलो चक्का हातमा र त्यसपछि दायाँ काटेर टाउकोमा टूकको चक्काले किचेको थियो । त्यसकारण अधिकत्तम सजाय नगरी न्यूनत्तम सजाय गर्नुले आफुलाई न्याय नमिलेको पीडित झाले बताए ।
२० असोज २०७१ मा कजरा रमौलका भोला यादव अन्दाजी १० बजेको समयमा आफ्नो घरबाट निस्की आफ्नो साइड भई किराना पसलमा सामान खरिद गर्न गइरहेको थियो सार्वजनिक सडकमा विपरित दिशा तर्फबाट धनुषाको हरिहर ७ बस्ने नरेन्द्र पासवानले ज १ त ६७०८ नम्बरको ट्याक्टरमा बालुवा र सिमेन्ट लोड गरी लापरवाही पुर्वक चलाउँदै गरेको अवस्थामा ट्याक्टरले भोलालाई किच्दा आन्द्रा समेत निस्किए पछि उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा लैजाँदै गर्दा यादवको मृत्यु भएको थियो ।
ट्याक्टर लिएर गईरहेको बेलामा पछाडी तर्फबाट अचानक गाई भैसी दौड्दै आउँदा भोला यादव अस्तिएर एक्कासी दौडेर बाटो काट्न खोज्दा ट्याक्टरको दायाँ पट्टीको चक्का लागेर मृत्यु भएको चालक पासवानले प्रहरी समक्ष बयान गरेका थिए । किचिए पछि गाउँलेले लखेटेर कुट्ने डरले आफु ट्याक्टर घटनास्थलमै छोडी   फरार भएको उनले बताए ।
धनुषा जिल्ला अदालतमा सवारी ज्यान मुद्दा चलाइए पछि सवारी धनीको तर्फबाट मृतक यादवका हकदार महन्थी यादवलाई किरिया खर्च र क्षतिपुर्ति वापत जिल्ला प्रशासन कार्यालय धनुषाको मार्फत रु. ५ लाख प्रदान गरियो । 
१६ कार्तिक २०७१ मा धनुषा जिल्ला अदालतका न्यायाधिश भरत लम्सालको इजलासले पासवानलाई १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकेको छ । उनी जरिवाना र कैद सजाय काटी अहिले रिहा भइसकेका छन् । 
१४ जेष्ठ २०७१ मा महोत्तरीको गौरीवाण २ बस्ने सोम बहादुर विकको सवारी दुर्घटनामा परि मृत्यु भयो । चियापसलबाट चिया खाई निजले काम गरिरहेको स्थान निर्मानाधिन स्लाइन पानी फैक्टूी तर्फ आफ्नो साइडमा गइरहेको अवस्थामा ज ५ प ३२२० नम्बरको मोटरसाइकलले अचानक ठक्कर दिँदा विकको घटनास्थलमै मृत्यु भएको थियो । सुनसरीबाट घर फर्कि आउने क्रममा विपरित दिशाबाट एकिन नम्बर नाम थाहा नखुलेको गाडीको लाइट आँखामा पर्दा आँखा अचानक बन्द भई देखिएन  र सोही समयमा अचानक विक आएपछि मोटरसाइकल अनियन्त्रित भई ठक्कर लागि विकको मृत्यु भएको र आफु पनि घाइते भई बेहोस भएको प्रहरी समक्ष महोत्तरी सिंगयाही १ का मोटरसाइकल चालकले बयान दिए ।
१५ जेष्ठ २०७१ मा मृतकका भाई रामबहादुर विकले किरिया खर्च वापत रु. २५ हजार, २६  जेष्ठमा क्षतिपुर्ति वापत मोटरसाइकल धनीको तर्फबाट रु. ४ लाख ७५ हजार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत मृतककी श्रीमति चन्द्रकला कामीलाई दिइएको थियो । धनुषामा जिल्ला अदालतको न्यायाधिश भरत लम्सालको इजलासले ५ दिन कैद र ५ सय जरिवाना आदेश गरेको थियो । उक्त सजाय काटेर अहिले चौधरी रिहा भइसकेको छन् । यसरी हेर्दा कसैलाई वढी र कसैलाई कम सजाय किन भएको हो भन्ने सवालमा धनुषा जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद श्रेष्ठ भन्छन,“ सवारी तथा यातायात व्यवस्था ऐन अनुसार लापरवाही पुर्वक जानी जानी सवारी चालकले दुर्घटना गराएको छ र कसैको मृत्यु भएको छ भने जन्मकैद, मनसाय जानी जानी नभएपनि लापरवाही पुर्वक चलाइएको छ भने दुई देखि दश वर्षसम्म कैद र यदि लापरवाही पनि छैन र मनसाय पनि छैन र पनि कसैको मृत्यु भएको छ भने एक महिनासम्म कैद र २ हजार सम्मको जरिवाना गरिने प्रावधान छ ।” अदालतमा आउने मुद्दाहरुमा अभियोग दावी, अपराधको प्रकृति, चालकको उमेर, नियत लगायतका कुराहरुलाई आधार बनाई न्यायाधिशहरुले स्वविवेकको आधारमा दण्ड र सजाय दिने गरिएको श्रेष्तेदार श्रेष्ठले बताए ।
हुन त जिल्ला प्रहरी कार्यालय धनुषामा सवारी ज्यान मुद्दा अन्तरगत आर्थिक बर्ष २०६८ मा ५५, २०६९ मा ४७, २०७० मा ४८ र चालु आर्थिक वर्षको कार्तिक सम्म १६ थान मुद्दा दर्ता भएको छ । त्यसैगरी अंगभंगमा विगत ३ वर्षमा ७ वटा मुद्दा मात्र दर्ता भएको छ । सवारी ज्यान मुद्दाको अनुसन्धान प्रहरीले राम्रो ढंगले सम्पन्न गर्दै गर्दैनन्, सवारी अंगभंगको मुद्दा त प्रहरीले बाटोमै रफ्फा दफ्फा गरिदिने प्रवृति  रहेको वताउँछन, अधिवक्ता विमल कुमार मिश्र । अधिवक्ता मिश्र भन्छन,“ हुन त धनुषामा कुनै पनि मुद्दामा प्रहरीले विज्ञान सम्मत र बस्तु परक अनुसन्धान गरेको पाइदैन । सवारी ज्यान मुद्दामा सवारी धनीबाट प्रलोभनमा पर्ने गुन्जाइस हुनाले पनि सवारी ज्यान मुद्दाको दुर्घटना जाँच प्रतिवेदन तथा अनुसन्धान खुकुलो हुने गरेको छ । यसका अतिरिक्त सवारी अंगभंगको मुद्दा नै प्रायः दर्ता हुँदैन । किनभने ती मुद्दा बाटो मै प्रहरीले मिलापत्र गराई रफादफा गरिदिने गरेका छन् ।” हुन त सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले जे जस्तो प्रयास गरेपनि दुर्घटना न्यूनिकरण हुन सकेको छैन ।

२०७१ मंसिर ०७ गते आईतबार

No comments:

Post a Comment