Monday, November 24, 2014

जनकपुर दोस्रो पटक ‘च्याम्पियन’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
क्षेत्र नं ७ जनकपुरले यो बर्षको वाइवाइ यू–१९ महिला क्रिकेटको उपाधि जितेर जनकपुरलाई पुनः गौरवान्वित गर्न सफल भएको छ । जनकपुरले डिफेन्डिङ च्याम्पियन क्षेत्र नं १ बिराटनगरलाई २७ रनले पराजित गर्दै तीन बर्षमा दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।
शुक्रबार भएको फाइनल खेलमा त्रिबि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ममता चौधरीको ५५ रनको मद्दतमा २० ओभरमा ३ विकेट गुमाउँदै १३१ रन बनायो । उनले ५० बलमा ८ चौका प्रहार गरिन । त्यस्तै अनुराधा चौधरीले ५५ बलमा ४ चौकाको मद्दतले ३३ तथा सरस्वती चौधरीले १३ बलमा ३ चौकाको मद्दतले आक्रामक पारी खेल्दै अबिजित २३ रन बनाइन् ।
जनकपुरको सुरुवातमै दुई बलमा सवनम राईको बलमा शान्ति चौधरी खाता पनि खोल्न नपाई एलबिडवलुको शिकार भएपछि जनकपुरका लागि दुर्भाग्यपुर्ण रह्यो । शुन्य रनको स्कोरमा जनकपुरले १ विकेट गुमाईसकेको थियो । तर, अनुराधा चौधरीले पारीलाई सम्हाल्दै ममता चौधरीसँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेपछि जनकपुरको प्रदर्शन सम्हलेको थियो । त्यसपछि अनुराधा चौधरी पनि सन्झना बुढाथोकीको बलमा रोमा थापाले अनुराधालाई क्याच आउट गरिन । त्यसपछि कप्तान सरस्वती चौधरी र ममताका बीच पनि १९ रनको मात्र साझेदारी हुन सक्यो । सवनम राईकै बलमा ममता ५५ रनको निजी स्कोरमा सन्झनालाई क्याच थमाएर पवेलियन फर्केकी थिइन । अन्तिम ओभरमा खेल्न आएकी रितु भण्डारीले खेल्ने मौका पनि पाएनन् ।
बिराटनगरका लागि सबनम राईले २ विकेट लिइन् । १३२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बिराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १०४ रन मात्र बनायो । बिराटनगरका लागि रोमा थापाले अबिजित २४ तथा संगिता राईले ३२ रन बनाए पनि हार टार्न सकेनन् । संगिता राइले ४० बलको सामना गर्दै २ चौकाका मद्दतले ३२ रन बनाएकी थिइन भने रोमाले ३० बलमा एक मात्र चौका प्रहार गरि २४ रन बनाई आउट भएकी थिइन । यसका अतिरिक्त विराटनगरकी काजल श्रेष्ठले ११ बलमा ४ रन, रोशना राईले ६ बलमा शुन्य रन, सन्झना बुढाथोकीले ८ बलमा ५ रन, गिता प्रसाईले ११ बलमा ५ रन बनाई आउट भएकी थिइन । त्यसैगरी सवनम राई ९ बलमा ७ रन र सोनुकला खेतीलाई ४ बलमा २ रनको स्कोरमा क्रमशः सृजना र रितुले रन आउट गरेकी थिइन । त्यसैगरी रोमा थापा २४ रन र सुजाता क्षेत्री ३ रन बनाई नट आउट रहेकी थिइन ।
जनकपुरकी आरति चौधरीले २ विकेट, सरस्वती चौधरी, अनुराधा चौधरी र ममता चौधरीले क्रमशः १÷१ विकेट हात पारिन् । सरस्वतीले ४ ओभरमा १ मेडेन सहित ८ रन दिई १ विकेट लिएकी थिइन् । अनुराधा चौधरीले ४ ओभरमा १७ रन खर्चिएर १ विकेट, ममता चौधरीले ४ ओभरमा २२ रन दिएर १ विकेट, आरती चौधरीले ४ ओभरमा १८ रन दिएर २ विकेट लिएकी थिइन् ।  त्यसैगरी शान्ति चौधरीले दुई ओभरमा १२ रन र गिता कार्कीले २ ओभरमा २७ रन खर्चिए पनि कुनै पनि सफलता हात पार्न सकिनन् ।
जनकपुरको आक्रामक बलिङका कारण विराटनगरको कुनै पनि प्लेयर क्रिजमा टिक्नै सकेनन् । विराटनगरको दुई रनको स्कोरमा पहिलो विकेट, १० रनको स्कोरमा दोस्रो विकेट, २० रनको स्कोरमा तेस्रो विकेट, ४२ रनको स्कोरमा चौथो विकेट, ६८ रनको स्कोरमा पाँचौ विकेट, ८८ रनको स्कोरमा छठौ विकेट, ९२ रनको स्कोरमा सातौ विकेटको पतन भएको थियो । यसरी जनकपुरले निरन्तर अन्तरालमा विकेट लिएका कारण विराटनगर लक्ष्य सामु पुग्नै सकेनन् ।
 उपाधिसँगै पुरस्कार वापत जनकपुरले २५ हजार र बिराटनगरले १५ हजार रुपैयाँ पाए ।
जकपुरकी ममता चौधरी प्लेअर अफ दि टुर्नामेन्ट भइन् । उनले १० हजार नगद पुरस्कार समेत पाइन् । त्यसैगरी जनकपुरकी ममता चौधरी प्लेयर अफ दि फाइनल घोषित भईन् । उनले नगद पाँच हजार पुरस्कार पाइन् । त्यसैगरी पाँच हजार नगद पुरस्कार सहित बैतडीकी विन्दु रावल व्याट्स ओमेन अफ दि टुर्नामेन्ट र नेपालगञ्जकी रेखा विसी रु. ५ हजार नगद पुरस्कार सहित बेस्ट बलर अफ दि टुर्नामेन्ट चुनिइन् ।

२०७१ मंसिर ०७ गते आईतबार

No comments:

Post a Comment