Monday, November 24, 2014

धुमधामका साथ विवाह पञ्चमी मनाईदै

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आजभोलि कर्णप्रिय गितहरु सुन्न पाइन्छ । विवाह, स्वागत र मङ्गल गान सहितका गितहरु अहिले घर घरमा गुन्जयमान छन् । कारण के हो भने रामजानकी विवाह महोत्सवले यति बेला मिथिला क्षेत्रको जनकपुरधाम गुन्जयमान भएको छ ।
  मिथिला संस्कृतिको प्रमुख पर्व मानिने यो उत्सवमा सहभागी हुन प्रत्येक वर्ष नेपाल र भारतका हजारौ भक्तजन र तीर्थालुहरु जनकपुरधाम आउने गर्दछन् । राजा जनकद्वारा धनुष भाँच्ने प्रस्ताव राख्नु, धनुष भाँच्नेसंग सीताको विबाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा सितासंग स्वमवयर गर्नु आदि स्मृतिमा सिताराम विबाह महोत्सब मनाईने चलन परापूर्वकाल देखि नै जनकपुरधाममा चलिआएको छ । सीतालाई छोरी र बहिनीका रुपमा मान्ने मिथिलाबासी उत्सवमा अनिवार्य सहभागी हुन्छन् । विवाहपञ्चमीमा देबीदेउताको उपस्थिति हुने विश्वासका साथ उत्सवमा  उपस्थित भएकाहरु जन्तीको आगमनदेखि बिहे नटुंगिएसम्म नै सामेल हुन्छन् । महोत्सवमा मिथिला संस्कृति अनुसार मटकोर, तिलकोत्सव, स्वयम्बर आदि गरिने चलन रहेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताएका छन्  । 
विवाहपञ्चमी महोत्सव फुलबारी प्रसंगबाट सुरु भई, स्वयमवरसम्मको आयोजनापछि देवी बिवाह महोत्सवका रुपमा रुपान्तरण  हुंँदैआएको छ । विवाह महोत्सवका अवसरमा जानकी मन्दिर , राम मन्दिर ,अग्नीकुण्ड, बिहारकुण्ड लगायतका दर्जनौ मठ मन्दिरहरुबाट निस्कने डोला शोभायात्रामा देशका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय गाउँबाट आएका श्रद्धालूहरु पनि सहभागी हुने गर्छन् । अयोध्या नरेश दशरथ पुत्र भगवान राम र मिथिलाका राजा जनक पुत्रि जानकीको स्वयमवरको अबसरमा जनकपुरको ऐतिहासिक रगंभुमि बाह्रबिघा मैदानमा प्रत्येक बर्ष लाखौं श्रद्धालुहरु सहभागि हुदै आएको छ । 
जनकपुरधाममा प्राचीन काल देखि नै रामजानकी बिवाह पञ्चमी, राम नवमी, जानकी नवमी, मध्यमा मिथिला परिक्रमा, झुलनोत्सब लगायतका उत्सबहरु भइरहेका छन् । यसमा स्वस्फूर्त धार्मिक पर्यटकहरुको लर्को पनि लाग्ने गरेको छ । सरकारले यस्ता धार्मिक पर्वलाई पर्यटन अवसरमा परिणत गर्न कुनै रुचि नदेखाउनु दुःखदायी रहेको राम मन्दिरका महन्थ राम गिरीको भनाई छ । पर्यटकको स्वागत, सत्कार र पर्यटन प्रवद्र्धनकै लागि भनेर खोलिएका संस्थाहरु पनि मौन बसेको पाइन्छ  । तिर्थाटनमा आउने श्रद्धालु भक्तजनहरुका लागि सरसफाई, विजुली, पानी, पण्डाल र बासस्थानको समस्या नै हुने गरेको छ ।   
यसवर्ष पनि भारतको अयोध्याबाट श्रीराम विवाह जयन्ती धेरै धुमधामका साथ जनकपुरधामको लागि प्रस्थान गरिसकेको छ । १ मंसिरबाट निस्केको जयन्ती मंसिर ९ गते जनकपुर आईपुग्ने छन् । मंगलबार तिलक उत्सव, बुधबार मटकोर, विहिबार विवाह महोत्सव, शुक्रबार राम कलेवा हुँदै शनिबार उक्त ज्यन्तीहरु भारत फर्किने छन् ।

२०७१ मंसिर ०७ गते आईतबार

No comments:

Post a Comment