Tuesday, October 21, 2014

बाराका सिडिओ भन्छन,‘गोली चलाउने आदेश थिएन’


बाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल ।
सिमरौनगढ नेपाल भारतको सिमा नाकामा पर्ने ठाउँ हो । त्यहाँ छोटी भन्सार कार्यालय पनि छ जसले ५ हजार भन्दा वढीको राजश्व काट्दैन । त्यो नाकालाई अपग्रेड गराउनु पर्छ भनेर व्यापारीहरुले विगत लामो समय देखि आवाज उठाउँदै आएका थिए । त्यही बेला त्यहाँ पुगेका इन्सपेक्टर निरञ्जन थापा र सशस्त्र प्रहरीका इन्चार्ज दुवै जना यङ्ग भएकाले नाकामा कडाई गरे । नाकामा कडा गर्न मैले पनि निर्देशन दिएको थिएँ । र सोही अनुसार उनीहरुले कडाई गरे । नाका खुकुलो पार्न व्यापारीहरुले दुई दिनसम्म आन्दोलन पनि गरेका थिए । बजार पनि बन्द गरेका थिए । अनि मैले नै लोकल प्रयोगका लागि आउने सामानहरुलाई छुट दिलाएका थिएँ । उक्त नाकाबाट गाई भैसी, गाँजा चरेस र विभिन्न खाद्य पदार्थहरु आयात हुने गर्दछ । सोही आक्रोसमा मैले पाएको जानकारी अनुसार त्यहाँका व्यापारीहरुले ३० हजार रुपैयाँ उठाई विद्यार्थीहरुलाई दिएर आन्दोलन गर्न परिचालित गरेका थिए ।
विद्यार्थीहरुले दशैको विदा परेको असोज १९ गते देखि आन्दोलन सुरु गरेका थिए । २० गते बकरिद र २१ गते काजाग्रत पुर्णिमाको विदा परेको थियो । २२ गते कार्यालय खुल्यो । म प्रमुख जिल्ला अधिकारी, दुवै एसपी बाटो निर्माण गर्न भन्नका लागि जिल्ला विकास समितिको कार्यालयमा पुगें । त्यहाँका एलडिओ इश्वर राज गिरीको ८ गते जुम्लामा सुरुवा भएका कारण नयाँ एलडिओ आइसकेको थिएन । आर्थिक कारोबार गर्ने अख्तियारी अरु कसै कर्मचारीले पाएको थिएन । तै पनि त्यहाँका कार्यक्रम अधिकृत भरत प्रसाद यादवलाई समातेर जिविसमा रहेको ५ वटा टिपर मध्ये २ वटा टिपर विग्रेको स्थिति थियो । चालु अवस्थामा रहेको त्यो २ वटा टिपर लिएर ग्राभल खसाउन भन्दा  जिविस माथि तेलको ११ लाख रुपैयाँ पहिलेकै बाँकी रहेका कारण तेल हाल्न आयल निगमले मानेन । त्यहाँबाट निर्वाचित सभाषद राम अयोध्या यादव आफै जमानी बस्नु भयो अनि मात्र निगमले तेल दियो । तेल हालेर जानका लागि ठिक्क भएपछि तीन वटा चक्का पंक्चर पाइयो । २३ गते टिपर सबै ठिक गरेर विद्यार्थीहरुले आन्दोलन गरेको सडकमा जान लाग्दा २ टिपर ग्राभल खन्याए । तर, विद्यार्थीहरुले मानेनन् । २४ गते मेरो बुवाको तरपणको तिथि परेका कारण क्षेत्रिय प्रशासकलाई जानकारी दिएर चितवन तिर गएँ । यता ७ जना विद्यार्थीहरुलाई समातेर इप्रकामा लगेको भनेर स्थानीयवासीले मलाई मोवाईल मार्फत जानकारी गरायो । मलाई खबर आइपुग्दा बेलुकीको ४ बजिसकेको थियो । मैले त्यहाँका इन्सपेक्टर निरञ्जन थापालाई पक्राउ गरेका विद्यार्थीहरुलाई रिहा गर्न आदेश दिएँ । त्यतिबेला निरञ्जन थापाले मलाई फोन गरेर बल प्रयोग गर्न आदेश माग्यो । तर, मैले मान्छेलाई रिहा गर, बल प्रयोग नगर, अति भयो भने टियर ग्यास, हवाई फायर र लाठी चार्जसम्म गर भन्ने आदेश दिँदै म भरतपुर गईसकेको थिएँ । कुनै पनि हालतमा गोली चाँही नचलाउनु भनेर प्रष्ट आदेश दिएको थिएँ । २४ गते सिडिओलाई थाहै नदिई इन्सपेक्टर थापाले पक्राउ गरेका कारण उक्त दिन कर्फयू लगाइएको थिएन ।
 विद्यार्थी रिहा भएपछि २५ गते विद्यार्थीहरुको मनोवल बढ्यो । ११ बजे तिर ठाउँ ठाउँमा विद्यार्थीहरु जुलुस प्रदर्शन गर्दै थिए । त्यतिबेला ११ बजेमा म पनि हेटौडासम्म आईसकेको थिएँ । सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा गएको गाडी प्रदर्शनकारीहरुले घेरेको छ भन्ने कुरा सशस्त्रका एसपी भेष बहादुर शाहले जानकारी गरायो । मैले डिएसपी अर्जुन प्रसाद सापकोटालाई फोन पनि गरें, तर, फोन लागेन । तीन तिर बाटो र एक तिर नहर रहेको अवस्थामा कुनै पनि बाटो खुल्ला थिएन । डिएसपी आफै पनि बुढो मान्छे, बार्ता तिर लागे । तर, इन्डिया तिरबाट आएका मान्छेहरु बार्तालाई विथोल्नका लागि सशस्त्र प्रहरीलाई लक्षित गरेर ढुङ्गा हान्न थाले । त्यसपछि प्रहरीको तर्फबाट फायर भएछ । एक जना मान्छे ढले र अरु घाइते भए । मैले कुनै पनि हालतमा थप बल प्रयोग नगर्नु, नसके गाडीलाई त्यही छाडेर फिर्ता हुनु भनेर आदेश दिएको थिएँ । तर पनि यी सब कुरा भयो । नेपाल प्रहरीको डिएसपीलाई २४ गते नै पठाइएको थियो र उनलाई थप मद्दतका लागि सशस्त्र प्रहरीको डिएसपीको कमाण्डमा टोली फोनबाटै निर्देशन दिएर पठाएको थिएँ । पुलिस टूयापमा पर्यो । प्रहरीको बुद्धि नपुगेर प्रदर्शनकारीहरुको चक्रव्युहमा फसे । हामीले धेरै संयम अपनायौं, नत्र धेरै मान्छे मर्थे । ( जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालसँग द एक्सक्लुसिभले गरेको कुराकानीमा आधारित)


२०७१ कार्तिक ०२ गते आईतबार

No comments:

Post a Comment