Tuesday, October 21, 2014

शोकाकुल सिमरौनगढ र आक्रोश

अजय अनुरागी
सिमरौनगढ,बाराबाट फर्केर जनकपुरधाम
स्थलगत रिपोर्ट
बारा जिल्लाको पुर्वी भागमा रौतहटसंग सीमाना जोडिएको ऐतिहासिक सिमरौनगढ गाउँ अहिले शोकाकुल बनेको छ । २५ असोज २०७१ मा सशस्त्र प्रहरीका एक जवानले चलाएको गोलीबाट बारा हरिहरपुर ७ का ४३ वर्षिय जयनारायण प्रसादको मृत्यु भएको कारण सिंगो गाउँ नै शोकमग्न भएका छन् । जयनारायणको मृत्युको कारण गोली प्रहार नै रहेको उनको मृत शवको पोष्टमार्टम रिपोर्टले पनि पुष्टि गरेको छ । कलैया जिल्ला अस्पताल, बाराका मेडिकल सुप्रिटेन्डेन्ट डा. रमेश शर्माले द एक्सक्लुसिभसँग गरेको कुराकानीमा जयनारायणको मृत्यु गोलीको प्रहारबाट नै भएको पुष्टि गरेका छन् । डा.शर्माका अनुसार गोली बायाँ पट्टीको छातीको मुटु हुने ठाउँमा लागि बायाँ पट्टीको छातीको पछाडी भागबाट निस्किएको थियो । गोली प्रहारका कारण छातीको अगाडी ३÷२ सेन्टीमिटर र पछाडी पट्टी ५÷२ सेन्टिमिटरको प्वाल बनेको पाइयो । उनका अनुसार गोली १५ देखि २० फिट सम्मको दुरीबाट चलाइएको छ । उनको मृत्युको कारण अरु केही पनि देखिएन, कारण उनको शरीरमा बाहिर वा भित्र कहिँ पनि चोटपटक देखिएन । 
सशस्त्र प्रहरीको गोली लागि मृत्यु भएका
 मृतक जयनारायण पटेल
जयनारायणको मृत्युसँगै उनका आश्रित परिवारको जनजिविका प्रत्यक्ष रुपले नराम्रो ढंगले प्रभावित हुने देखिन्छ । मृतकका एक श्रीमति र पाँच सन्तान छन् । बारा उचिडिह ४ मा जन्मिएकी ४१ वर्षिय मञ्जु देवी  आफ्नो श्रीमान्को हत्यारालाई कानुनी कारवाही गरे मात्र आफ्नो श्रीमान्ले न्याय पाउने बताएकी छिन । श्रीमान्को निधनका कारण परिवार पाल्न कठिनाई आएको उनका आफन्तहरु बताउँछन् । मृतक जयनारायणको २० वर्षिय छोरी बविताले १२ कक्षा उत्तिर्ण गरेका छन् ।
उनको विवाह भईसकेको छ । त्यसैगरी १८ वर्षिय छोरी शोभा, ११ कक्षामा अध्ययनरत छन् । १६ वर्षिय पिंकी कक्षा ८ मा, १४ वर्षिय निलम कक्षा ६ मा र ५ वर्षिय पूजा कक्षा १ मा स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत छन् । उनका एक मात्र ८ वर्षिय छोरा विवेक स्थानीय सोनी इङलिश बोर्डिङ स्कुलमा अध्ययनरत छन् । गुठीको ऐलानी जग्गा र आफ्नो नीजि ४ धुर घडेरीमा कच्ची घर बनाएका मृतक जयनारायणको स्वामित्वमा अरु केही सम्पति छैनन् । दुर्भाग्यवस उनको एक छोरा फारे रोगबाट सिकिस्त छन् । घर परिवार पाल्न र पोखरीको ठेक्का लिनका लागि जयनारायणले नेपाल बैंक लिमिटेड कलैया शाखाबाट ११ लाख रुपैयाँ ऋण लिएका थिए । मृतक जयनारायण गाउँमै रहेका पुर्व राज्य मन्त्रि सरोज कुमार यादवको जग्गा बटैया जोत्थे । प्रमुख कुरा के हो भने मारिएका जयनारायण प्रदर्शनकारी थिएनन् । उनी पानी खान कलमा गएका बेला सशस्त्र प्रहरीले गोली हानी उनको हत्या गरेको थियो ।
 बीचमा मृतक जयनारायण पटेलकी
श्रीमति मञ्जु देवी ५ छोरी र १ छोराका साथ ।
पृष्ठभूमी
सडक निर्माणको लागि विद्यार्थीहरुद्वारा आन्दोलन
 बारा जिल्लाको पुर्वी भागमा रौतहटसंग सीमाना जोडिएको ऐतिहासिक सिमरौनगढ देखी बारा जिल्लाको सदरमुकाम कलैयासम्म आउने गण्डक नहरको करिब २६ किलोमिटर बाटो अत्यन्तै जीर्ण छ । उक्त सडकमा सवारी साधन जोखिम पुर्वक यात्रा गर्न बाध्य छन् । एक दिन स्थानीय कंकाली उच्च माविका विद्यार्थीहरु बसको यात्रा गरी कलैयाबाट सिमरौनगढ आइरहेका थिए । यात्राको क्रममा सवारी दुर्घटना हुनबाट जसोतसो जोगिएको थियो । अनि बाटोको मर्मतको लागि उक्त विद्यालयका केही विद्यार्थीहरुले सडक आन्दोलन गर्ने निर्णय गरे । कंकाली उच्च माविका विद्यार्थीहरुले २०७१ आश्विन १९ गते बाटो अवरुद्ध गरि बाटो मर्मतको मांग गर्दै सिमरौनगढको पावरहाउस चौकबाट आन्दोलन प्रारम्भ गरेका थिए । 
विद्यार्थीहरुले बाटो मर्मतका लागि आन्दोलन गरिरहेको जानकारी पाएर बारा जिल्लाका प्रहरी उपरीक्षक ईश्वर बाबु कार्की र प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल र राजनीतिक दलको पहलमा बाटोमा ग्राभेल खसाउनका लागि असोज २२ गते पहल गरेका थिए । पहलको परिणाम स्वरुप दुईबटा टिपर मार्फत २०७१ अश्विन २४ गते विहान ग्राभेल खसाईएको थियो । ग्राभेल खसाईएपछि बन्दका कार्यक्रम फिर्ता लिई आन्दोलनरत विद्यार्थीहरुलाई आन्दोलन बन्द गर्न भनिएको थियो । तर विद्यार्थीहरुले जसरी जसरी काम हुँदै जान्छ, हामी आन्दोलनलाई पनि त्यसरी नै बन्द गर्दैजान्छौं भन्दै पूर्ण रुपमा बन्दको आन्दोलन फिर्ता गर्न अस्वीकार गरे । 
प्रहरी निरीक्षकद्वारा दुवर््यवहार तथा विद्यार्थी गिरफ्तारी
सडक निर्माणको लागि टायर बालेर सडक अवरोध गर्दै
 विद्यार्थी प्रदर्शनकारीहरु ।
मिति २०७१ आश्विन २४ गते बन्द रहेको बाटो खुलाउनलाई ईलाका प्रहरी कार्यालय सिमरौनगढका प्रहरी निरीक्षक निरंजन थापाको टोली आन्दोलन स्थल पुगे । आन्दोलनरत विद्यार्थीहरुले २४ गते विहान अन्दाजी ११ः०० वजे देखी केही बस र टूक रोकेर राखेको र दिउसो करिब १ बजे तिर पावरहाउस चौकमा बसि च्यूरा र दालमोठ खाईरहेका थिए । प्रहरी निरिक्षक निरंजन थापाले आन्दोलनकारीको समुदायलाई लक्षित गर्दै गाली गरेको र आन्दोलनकारीहरुले खाईरहेको च्युरा र दालमोठलाई लात्तीले मास्दै फालेका आन्दोेलनको नेतृत्व गरिरहेका कंकाली उच्च मावि सिमरौनगढको कक्षा १२ मा अध्ययनरत हरिहरपुर(७ नवका टोलका १९ वर्षिय उमेश कुमार कुशवाहाको भनाई छ । प्रहरी निरीक्षक थापाले विद्यार्थी अगुवा कुशवाहासँगै सोही विद्यालयका कक्षा १२ मा अध्ययनरत अरविन्द पटेल र अमृतगंजका स्थानियवासी रामपुकार महत्तोलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालयमा लगेको थियो ।
यसै बीचमा स्थानीय सिमरौनगढमै संचालित  रहेको बादल एफ.एम. र कंकाली एफ.एम.ले आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरि ईलाका प्रहरी कार्यालयमा लगेकोले आम जनतालाई त्यहाँ आउन सूचना सहितको समाचार सम्प्रेषण गरिएको कलैयाका पत्रकार भोला पौडेलले बताए ।  एफ.एम.को सूचना सुनेर स्थानीय सिमरौनगढ वजारबाट र वरिपरिका गाउँहरुबाट कम्तीमा २÷३ हजारको संख्यामा स्थानीयवासीहरु उत्तेजीत अवस्थामा ईलाका प्रहरी कार्यालय पुगेका थिए ।  एफ.एम.को प्रसारण सुनेपछि खजानी, कचुरवा, सिमरौनगढ, अमृतगञ्ज, हरिहरपुर, उचिडिही लगायतका गाउँहरुबाट स्थानीयवासीहरु विद्यार्थीको आन्दोलनमा समर्थन गर्न इ.प्र.का. पुगेका थिए ।
प्रदर्शनकारीद्वारा इलाका प्रहरी कार्यालयमा आक्रमण
प्रदर्शनकारीहरुले प्रतिक्षालय जलाए पछि देखिएको
इलाका प्रहरी कार्यालय सिमरौनगढ ।
आन्दोलनकारीहरु र अन्य नागरिकको भीडले ईलाका प्रहरी कार्यालयलाई चारै तिरबाट घेरेर ढुंगामुढा प्रहार गर्न थाले । यसै क्रममा आक्रोशित भीडले ईलाका प्रहरी कार्यालयको अगाडीको पर्खाल भत्काएको, प्रतिक्षालयमा आगो लगाएको, भान्साकोठामा तोडफोड गर्नुका साथै प्रहरीहरुको कपडामा समेत आगो लगाएको पाईयो । प्रहरी निरिक्षक निरंजन थापालाई कुटपिट गरिएको र ईप्रकामा रहेका १२ जना अन्य प्रहरीहरु समेत घाईते भएको इप्रका सिमरौनगढका प्रहरी निरीक्षक देवकुमार श्रेष्ठको भनाई छ ।  (श्रेष्ठलाई थापाको ठाउँमा जिल्ला प्रहरी कार्यालयले अहिले खटाएको छ ।) भीड नियन्त्रण गर्नका लागि प्रहरीले अश्रु ग्यास २२ राउण्ड, २४ राउण्ड हवाई फायर गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनका अनुसार करिब ३ हजार देखि ३५ सय सम्म प्रदर्शनकारीहरु भेला भई आक्रमण गरेका थिए । सिमरौनगढमा आन्दोलनले गर्दा अवस्था विग्रिदै गएकोले जिल्ला प्रहरी कार्यालय कलैयाबाट प्रहरी नायाब उपरिक्षक रविन्द्र रेग्मीको कमाण्डमा पुगेको टोलीले वातावरणलाई साम्य बनाएको थियो । त्यस पछि अवस्था सहज भई सबै आआफनो घरतर्फ लागेका थिए ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मी पनि घाइते
सिमरौनगढको हरिहरपुर–४ मा सशस्त्र प्रहरीको
दुईवटा सवारी साधन जलेको अवस्थामा ।
२४ गते प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय सिमरौनगढमा आक्रमण गर्दा १३ जना नेपाल प्रहरी र २ जना सशस्त्र प्रहरीका कर्मचारीहरु घाइते भएका छन् । इप्रका सिमरौनगढका कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक निरञ्जन थापाको आँखा नजिक र हातमा समेत काटि घाइते भएका छन् । प्रहरी नायव निरीक्षक छविलाल प्रसादको हातमा ढुङ्गाले लागि काटिएको, प्रहरी हवलदार महेन्द्र राय यादवको खुट्टामा चोट, प्रहरी हवलदार अरविन्द पाण्डेको गालाको भागमा काटिएको, प्रहरी जवानहरु रामचन्द्र पौडेलको कुहिनामा काटिएको, सुबोध कुमार यादवको ढाड, ओठ र हातमा काटिएको, कोमल राज बोहराको खुट्टामा चोट, सन्तोष केसीको हातमा चोट, सन्तोष खडकाको बायाँ पट्टीको एउटा दाँत भाँचिएको, मोहन लामा तामाङको खुट्टा र मुखमा काटिएको, सुनिल कुमार चौरसियाको हातमा काटिएको र गुप्ताङ्गमा चोट लागेको, मोरध्वज चौरसियाको खुट्टामा काटिएको र पुर्णमान श्रेष्ठको खुट्टाको औला भाँचिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवकुमार श्रेष्ठले बताएका छन् । त्यसैगरी सशस्त्र प्रहरीको शेरगण गोलागञ्जका सशस्त्र प्रहरी हवलदार तेज प्रसाद प्याकुरेलको खुट्टा र हातमा चोट लागेको र प्रहरी जवान लालबाबु यादवको चिउँडोमा काटिएको छ ।
विद्यार्थी रिहाई
 केही वेरको भनाभन, वादविवाद र ढुंगामुढा पछि पक्राउ गरिएका आन्दोलनकारीहरलाई प्रहरीले छाडेका थिए । (थापाको ठाउँमा २४ असोज देखि ई.प्र.का.को कमाण्ड सम्हालेका प्रहरी निरीक्षक देवकुमार श्रेष्ठको अनुसार उक्त दिन प्रदर्शनकारीले गरेको ढुङ्गामुढाबाट प्रहरी निरीक्षक निरंजन थापा सहित १३ जना प्रहरी कर्मचारी र दुई जना सशस्त्र प्रहरी घाईते भएका थिए । उनका अनुसार प्रहरी निरीक्षक थापाले विद्यार्थीहरुमध्ये १ जना उमेश कुशवाहालाई मात्र पक्राउ गरेर होइन कि छलफल र अनुसन्धानको लागि मात्र प्रहरी कार्यालयमा ल्याइएको थियो ।)
सशस्त्र प्रहरीको अत्यधिक बल प्रयोग
प्रहरीको गोली लागि घाइते भएका शाह मोहम्मद काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा उपचार गराईरहँदा तमलोपाका केन्द्रिय नेता बारा निवासी जितेन्द्र सोनल घाइतेको स्वास्थ्य स्थिति बुझ्दै ।
२०७१ असोज २५ गतेका दिन विहानै देखि आन्दोलनकारीहरुले करुवा चौक, लक्ष्मीपुर,  कोतवाली चौक, गंगानगर चौक, पावर हाउस चौक र सिमरौनगढ बजारमा टायर बालेर बाटो अवरोध गरेका थिए । बिहान अन्दाजी ९ः०० वजे तिर कलैयाबाट सशस्त्र प्रहरी बल कलैयाबाट प्रहरी नायब उपरीक्षक अर्जुन सापकोटाको कमाण्डमा ना.१ झ. ७९० नं.को प्रहरी गस्ती गाडी र ना.१ग. ५८८ नं.को सानो टिूपरमा २५ जनाको बल लिएर पुगेका थिए । सशस्त्र प्रहरीहरु गंगानगर क्षेत्रमा पुगेपछि आन्दोलनकारीहरुले चारैतिरबाट घेरेका थिए । स्थानीयका अनुसार नहर भन्दा पुर्व पटटी १०० देखी १५० जना प्रदर्शनकारी, नहर भन्दा पश्चिम पटटी पनि करिब १०० देखी १५० जना प्रदर्शनकारी र महादेवस्थान तिर ३०० देखी ४०० जना सम्म प्रदर्शनकारीहरु रहेका थिए । सशस्त्र प्रहरी बललाई प्रदर्शनकारीहरुले तीनै तिरबाट घेरेका थिए । बाराका प्रमुख जिल्ल अधिकारी परशुराम अर्यालका अनुसार प्रर्दशनकारीहरुले ढुंगामुढा गर्न थालेपछि सशस्त्र प्रहरी वलको तर्फबाट पनि लखेटने र एक अर्को पक्षलाई धपाउने र पछाडी हटाउने कार्य गरिरहेका थिए । भीड नियन्त्रण नभए पछि सशस्त्र प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुंग्यास चलाएका थिए । महादेव स्थान तर्फ रहेका प्रदर्शनकारी (जुन संख्यामा पनि बढि रहेका थिए) ले प्रहरीहरुलाई ढुंगामुढा गर्दै प्रहरीलाई पछाडी तर्फ धकेल्ने घम्साघम्सी चलिरहेको थियो । नहर भन्दा पुर्व र पश्चिम साथै महादेव स्थान तिरबाट पनि घम्साघम्सी हुने र फेरी शान्त हुने गरेको थियो । सशस्त्र प्रहरीसंग लठठी, शिल्ड, अश्रुंग्यास र एसएलआर हतियार रहेको थियो । लखेटने र पछाडी हटने, ढुंगा हान्ने कार्य करिब दिनको १२ वजे सम्म चलेको थियो । प्रदर्शनकारी र प्रहरीहरुको वीचमा मौखिक रुपमा भनाभन भईरहेको अवस्थामा एक्कासी सशस्त्र प्रहरी बलको तर्फबाट विना कुनै पुर्व जानकारी, चेतावनी एक्कासी गोली प्रहार गरिएको थियो । गोली प्रहार भए पछि एक छिन प्रदर्शनकारीहरु भागाभाग भएका थिए । प्रत्यक्षदर्शि र घटनास्थलमा उपस्थित पत्रकार भैयाराम साहका अनुसार सशस्त्रका प्रनाउले गोली चलाउने आदेश दिएको र चेतावनी दिएको आफुहरु कसैले नसुनेको वताए । त्यसै समयमा धारा निर एकजना व्यक्ति लडे र छटपटाई रहेका थिए । त्यस पछि प्रदर्शनकारहरु गोली लागेका व्यक्ति तिर आकर्षित भएका थिए । ती व्यक्ति (हरिहरपुर गाविस वडा नं. ७ नवकाटोला घरभै वस्ने वर्ष ४३ का जय नारायण पटेल कुर्मीलाई छातीमा वाया पटटी गोली लागेको थियो । उनी छटपटाईरहेका थिए । र, त्यस्तै हरिहरपुर गाविस वडा नं.५वस्ने शाह मोहमद हवारीको वाया काँधमा पछाडीबाट र अमृतगंज ३ का नागेश्वर कुशवाहा घाइते भएका थिए । गोली लागे पछि उनलाई तत्काल त्यहाबाट उठाएर छेउमा राखियो र शाह मोहमद हवारीलाई बाँया पाखुरामा गोली लागेको भागलाई छोपेर सोही हरिहरपुर गाविस मै रहेको कंकाली पोली क्लीनिकमा लगिएको थियो । पोली क्लीनिकमा लग्दै गर्दा जय नारायण पटेलको मृत्यु भईसकेको थियो । घाईते शाह मोहमदलाई हवाईजहाजबाट काठमाण्डौ पठाईएको, अर्का घाईते नागेश्वर कुशवाहाको उपचार बिरगंज उपक्षेत्रीय अस्पतालमा भईरहेको भन्ने जानकारी प्राप्त भएको थियो । कानको छेउबाट गोली गएको आवाजले सोही गाविस बस्ने प्रचण्ड जयसवाल अचेत भएको र हालसम्म पनि उनको होस नआएको स्थानीय पत्रकार रामेश्वर मेहत्ताले बताए ।
दायाँबाट क्रमशः नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा
 द एक्सक्लुसिभका सम्पादक अजय अनुरागी,
 सिमरौनगढ निवासी सदभावनाका केन्द्रिय महासचिव तथा
 पुर्वराज्य मन्त्री सरोज कुमार यादव, 
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय जनकपुरका
 प्रमुख बुद्धनारायण साहनी, 
थर्ड एलाइन्सका मानव अधिकारकर्मी दौलत झा
 मृतक पटेलको घरमा अवस्थाको बारे जानकारी लिँदै ।
आक्रोशित भिडले सशस्त्र प्रहरीलाई चारैतिरबाट घेराहालेर ढुंगामुढा गर्न थालेका थिए । त्यसैवेला त्यहाँ रहेका एभिन्यूज च्यानेलका सम्वाददाता भैयाराम साह र पत्रकार श्यामबाबु प्रसाद साह, काहुराष्टका धिरेन्द्र प्रसाद साह लगायतका व्यक्तिहरुले सहजीकरण गरि सशस्त्र प्रहरी बलका प्रहरीलाई त्यहाँबाट जान बाटो दिलाएका थिए । प्रहरीले गाडी लिएर जाने भनेपछि आन्दोलनकारीहरुले गाडी लिएर कुनै पनि हालतमा जान नदिने अडान लिएपछि सशस्त्र प्रहरीका प्रनाउ, प्र.नि. र जवानहरु गाडी छोडी पश्चिमतिरबाट कलैया तिरको बाटोमा हवाई फायर गर्दै अगाडी बढेका थिए । हरिहरपुर(४ मा सशस्त्र प्रहरीको दुईटै गाडी जलाइएको थियो । सशस्त्र प्रहरीको गोलीबाट आम सर्वसाधारणको मृत्यु भएका कारण घटनालाई दवाउन सशस्त्र प्रहरी आफैले गाडी जलाएकोे स्थानीयवासीहरुको भनाई छ भने प्रदर्शनकारीले जलाएको भन्ने प्रहरीको भनाई रहेको पाईयो । त्यसै बीचमा जिल्ला प्रशासन कार्यालय कलैयाले १२ः०० वजे देखि २ः०० वजे सम्म कर्फयू लगाएको घोषणा गरे । तर, सो कर्फयुले सिमरौनगढमा कुनै प्रभाव पारेको पाईएको थिएन । जय नारायण पटेलको मृत्यु भईसकेपछि उत्तेजीत भीडले ईलाका प्रहरी कार्यालय अगाडी शव सहित धर्ना दिएर वसेका थिए । इप्रकाको गेटमा टेन्ट गाडेर शव सहित प्रदर्शन गर्नुका साथै उक्त क्षेत्रका नेपाली कांग्रेसका निर्वाचित सभाषद रामअयोधि यादवको समेत पुतला जलाई विरोध प्रदर्शन गरिरहेका थिए ।
उक्त घटना पछि मधेस केन्द्रित राजनीतिक दलहरु त्यहाँ पुगेका थिए । एमाले कलैयाका उपसचिव बतहु यादवका अनुसार मधेसवादी दलहरुले गाउँ गाउँबाट मान्छे बोलायो । र, उनीहरुकै सल्लाहमा मिति २०७१ अश्विन २६ गतेका दिन राजनीतिक दल सहितको प्रदर्शनकारीहरु दिउसो शव लिएर बारा जिल्लाको सदरमुकाम कलैया गएका थिए । कलैया आईपुग्दा कलैया वडा नं. ६ स्थित भरत चौकमा टूयाक्टरको टूेलरमा प्लाईको बाकस बनाई सो बाकसमा बरफ राखेर जय नारायण पटेलको शव राखिएको थियो । प्रदर्शनकारीहरुलाई जिल्ला प्रशासन कार्यालय परिसर भित्र प्रवेश गर्नबाट रोक्नका लागि नेपाल प्रहरीका ३८ जना प्रहरी परिचालन गरिएको थियो । सुरक्षाकर्मीहरु बाटोमा घेरा हाली बसेका थिए । जसमा प्रहरी निरिक्षकको कमाण्ड रहेको थियो भने प्रहरीहरुको हातमा अश्रुग्यास चलाउने पेस्तोल, लठ्ठी र थ्रीनट थ्री राईफल रहेको देखियो । प्रदर्शनकारीहरु कम्तीमा १०० देखी १५० को संख्यामा रहेको पाइयो । भरत चौकमा टायर बालिएको थियो । उनीहरुले पहाडिया शासक मधेश छोड, हत्यारालाई कार्वाही गर, मधेश विरोधी गृहमन्त्री मुर्दावाद, विकासका नाममा गोली हान्न पाईदैन, मधेस विरोधी सरकार मुर्दावाद, मधेशमा दमन गर्न पाईदैन, हत्यारा एस पी, सिडियो मधेश छोड जस्ता नारा लगाई रहेका थिए । 
स्थानीय प्रशासन र सर्वपक्षिय भेलामा ११ बुँदे सहमति
विरोध र प्रदर्शनका बीच प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बाराको सभाकक्षमा बसेको सर्वपक्षिय, सर्वदलिय बैठकले प्रदर्शनकारीहरुको मागलाई सम्बोधन गर्नको लागि राती ९ वजे ११ वुँदे सहमती ग¥यो । २४ र २५ गते सिमरौनगढ बजार, हरिहरपुर क्षेत्रमा स्थानीयवासी र सुरक्षा निकाय बीच भएको घटनाको सम्बन्धमा बैठकले घटना प्रति दुःख व्यक्ति गर्नुको साथै मृतक जयनारायण पटेललाई राष्टिूय सहिद घोषणा गर्न नेपाल सरकार गृहमन्त्रालयमा अनुरोध गर्ने, मृतक पटेलको आश्रित परिवारलाई अधिकत्तम राहत रकम उपलब्ध गराउन नेपाल सरकार र गृहमन्त्रालयमा अनुरोध गर्ने, घटनाको यर्थात छानविन गरी दोषी माथि कारवाही गर्न एक उच्च स्तरिय न्यायिक छानविन आयोेग गठन गर्न नेपाल सरकार गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो । घटनामा घाइते भएका स्थानीय व्यक्तिहरुको निःशुल्क उपचार गराउन र उपचार खर्च उपलब्ध गराउन गृहमन्त्रालयमा अनुरोध गर्ने, कलैया देखि सिमरौनगढसम्मको नहरको सडकमा जिविस मार्फत भोली देखिनै ग्राभल कार्य गर्ने र उक्त सडक खण्डमा पिच गर्ने कार्यको प्रक्रिया तीन महिना भित्र प्रारम्भ गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने, कलैया सिमरौनगढको नामाकरण सहिद जयनारायण पटेल मार्ग राख्ने, मृतकको आश्रित परिवार मध्ये एक जना छोरीलाई तत्काल जागिर उपलब्ध गराउने र छोरा छोरीको उच्च शिक्षाको लागि तथा छोराको उपचारको लागि सम्बन्धित निकायमा पहल गर्ने, घटना स्थलमा स्वर्गीय जयनारायण पटेलको सालिक निर्माण गर्न जिविस र आसपासको गाविसबाट पहल गर्ने, घटनाको सम्बन्धमा आवश्यक छानविन गरी दोषीमाथि आवश्यक कारवाही गर्ने र मृतकको घरसम्म पिच बाटो जोडने गरी ११ बुँदे समहति गरेको थियो । उक्त बैठकमा प्रजिअ परशुराम अर्याल, प्रहरी बरिष्ठ उपरीक्षक मनोज न्यौपाने, प्रहरी उपरीक्षक इश्वरबाबु कार्की, सशस्त्र प्रहरी उपरीक्षक भेष बहादुर शाह, प्रमुख अनुसन्धान अधिकृत अच्युत पन्त, पुर्व मन्त्री प्रभु शाह, पुर्व मन्त्री सरोज यादव, पुर्व राज्य मन्त्रीद्वय कलावत्ती पासवान र ज्वाला कुमारी साह, पुर्व सभाषदद्वय जितेन्द्र सोनल र प्रमोद गुप्ता लगायत विभिन्न राजनीतिक दल तथा संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो । सहमति पछि जिल्ला अस्पताल कलैयाका चिकित्सक रमेश शर्माले पोष्टमोर्टम गरि शवलाई सदगतका लागि राती नै सिमरौनगढ पठाएको थियो । 
सिमरौनगढ वरिपरि अमृतगंज खजान्नी, लङ्गराचौर, कचौरवा, तेलकुवामा प्रहरी चौकीहरु रहेको र आदर्शनगर च्युटामा ख श्रेणीको ईलाका प्रहरी कार्यालय समेत रहेको, र गोलागञ्जमा सशस्त्र प्रहरी वलको समेत बोर्डर आउटपोष्ट रहेको पाईयो । प्रर्दशनका दौरान सशस्त्र प्रहरीका डिएसपी अर्जुन प्रसाद सापकोटाको परिचयपत्र समेत घटना स्थलमा पाइएको थियो । उक्त परिचयपत्र त्यहाँका स्थानीयवासी समेत रहेका सद्भावनापार्टीका महासचिव तथा पुर्वराज्य मन्त्री सरोजकुमार यादवको कब्जामा रहेको छ । सरोज कुमार यादवका अनुसार थुप्रै गोलीका खोकाहरु आफु निर रहेको र केही खोका सिडिओले लगेको हो ।
स्थलगत अनुगमनबाट प्राप्त तथ्यहरुको विश्लेषणः 
बारा जिल्लाको सिमरौनगढमा भएको सशस्त्र प्रहरीको गोली प्रहारको घटनामा बलको प्रयोगको सिद्धान्त अनुरुप बल प्रयोग भएको हो होइन भन्ने विषयमा मानवअधिकारको दृष्टिकोणले अनुगमन गर्दा स्थलगत भ्रमण, अधिकारकर्मी, सुरक्षाकर्मी, राजनीतिकर्मी, आन्दोलनकर्मी, पीडित परिवार, संचारकर्मी र स्थानीय व्यक्तिहरुसंगको छलफल र प्राप्त तथ्यहरुको आधारमा निम्न निष्कर्षहरु निकालिएको छ ।
आन्दोलनकारीहरुले अहिंसात्मक र शान्तिपुर्ण आन्दोलन गर्नु भन्दा पनि हिंसात्मक र ध्वंसात्मक क्रियाकलापतर्फ उन्मुख भएको देखिन्छ । जसले सार्वजनिक सम्पति क्षति पुरयाई अपराध गरेको ठहर्छ । नेपाल प्रहरीले मुस्कान सहितको सेवा भने पनि व्यवहारमा दमनकारी र बलको प्रयोगलाई प्रोत्साहित गरेको देखिन्छ  जसले स्थितीलाई सम्हाल्नु भन्दा पनि रवाफ र प्रभावको आधारमा स्थितीलाई नियन्त्रणमा लिन खोजेको देखिन्छ । प्रहरी निरिक्षकको बल प्रयोगको प्रवृती र समुदाय लक्षित विभेदले यो घटनाको सृजना गरेको देखिन्छ । आन्दोलनकारी र प्रहरी बीच झडप र ईप्रकामा तोडफोड हुँदा सामुदायिक प्रहरी नै परिचालन गरि स्थिती साम्य बनाउनु भन्दा पनि तत्कालै आफनो जिम्मेबारीबाट पछि हटि सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गर्नुले जिल्ला प्रहरी कार्यालय कलैयाले आफनो दायित्वलाई बुझन नसकेको देखिन आएको छ । सशस्त्र प्रहरी बलले बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्नु भन्दा पनि व्यक्तिगत मनोभाव र स्वनिर्णयको आधारमा कार्य संचालन गर्ने गरेको देखिन आएको छ जसले स्थानीय प्रशासन ऐन २०२८ लाई ठाडो रुपमा मिचेको ठहर्छ । सप्रबको अत्यधिक बल प्रयोगले नेपालको अन्तरिम संविधानको धारा १२(१) लाई उल्लंघन गरेको ठहर्छ । 
सशस्त्र प्रहरीका डिएसपी अर्जुन प्रसाद सापकोटाको 
परिचय पत्र घटना स्थलबाट प्राप्त भएको थियो ।
कुनै पनि व्यक्तिले शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउने अधिकार रहेकोमा प्रहरी निरिक्षकले गरेको बलको प्रयोगले आन्दोलनलाई समर्थन गर्नेहरुलाई आक्रोशित बनाएको देखिन्छ । प्रहरी निरीक्षक निरञ्जन थापाले वार्ताको माध्यम भन्दा पनि बल प्रयोगको माध्यमलाई अपनाएकोले शान्तिपुर्ण आन्दोलनले उग्ररुप लिएको देखिन्छ । यहाँ प्रहरी निरीक्षकले मुस्कान सहितको प्रहरी सेवा तथा प्रहरी नागरिक सहकार्य भन्दा पनि बल प्रयोगलाई नै प्राथमिकता दिईएको देखिन्छ । प्रहरीले शान्ति सुरक्षाको स्थापना गर्नका लागि आवश्यक परेमा कसैलाई पनि पक्राउ गर्न सक्ने अख्तियारी पाएकोले आन्दोलनकारीलाई पक्राउ गर्दा दवावको बाटो श्रृजना गर्नु भन्दा पनि प्रहरी उपर नै ढुंगामुढा प्रहार गर्न नहुने र ईलाका प्रहरी कार्यालयमा पर्खाल भत्काउनु, भान्साकोठामा तोडफोड गर्नु, आगन्तुक कक्षमा आगो लगाउनुले उत्श्रृङखल गतिविधीलाई बढावा दिएको देखिन्छ । स्थानीय विकासको मुद्दामा राजनीतिक दलको सहभागिता र वार्तालाई औजारको रुपमा प्रयोग गर्नु भन्दा पनि हिंसक रुपमा प्रस्तुत भएको देखिन्छ, जुन गर्न नहुने देखिन्छ ।  

उत्तेजीत अवस्थामा ईलाका प्रहरी कार्यालय भित्रको भौतिक पूर्वाधार तोडफोड गर्नुका साथै प्रहरी निरिक्षक निरंजन थापालाई कुटपिट गर्नुले आन्दोलनकारीहरुले आफनो सीमा नाघेर आन्दोलनको नाममा अपराध तर्फ उन्मुख भएको देखिन्छ । कुनै पनि अवस्थामा कसैलाई पनि कुटपीट गर्न नहुने विद्यमान कानुनी व्यवस्था हुँदाहँुदै  कानुन कार्यान्वयन गर्ने अधिकारीलाई कुटपीट गर्नुले फौजदारी अपराध गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले ईलाका स्तरमा विकासको आन्दोलनमा भएको बलको प्रयोगलाई सामुदायिक प्रहरी परिचालन गरि आफनो व्यवस्थापकीय कमजोरीलाई देखाएको देखिन्छ । साथै स्थिती मापन र विश्लेषणमा चुकेको देखिन्छ । सोही क्षेत्रमा रहेका प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयबाट स्थानीय प्रहरी परिचालन गरि स्थिती साम्य बनाउनु भन्दा पनि आन्दोलनकारीहरुलाई दमन गर्ने नीति अख्तियार गरेको देखिन्छ । 
जिल्ला सुरक्षा समितिले सिमरौनगढको अवस्थाको बारेमा स्थानीय राजनीतिक दलका नेतृत्ववर्गहरुसंग सहजीकरण गर्न गराउन र नेपाल प्रहरीलाई परिचालन गर्न भन्दा पनि तत्कालै सशस्त्र प्रहरी परिचालन गर्नुले तत्काल आतंककारीहरुसंग सामना गर्ने अवस्था भएको तर्फ ईगिंत गर्दछ । सशस्त्र प्रहरी वलको उपस्थिती पछि भएको ढुंगा हानाहानको अवस्थामा प्रहरीले वल प्रयोग गर्दा स्थानीय प्रशासन ऐन अनुरुप बल प्रयोग नगरेको देखिन्छ । त्यस समयमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बीच समन्वयको अभाव रहेको देखिन्छ । हेईन भने सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट गोलागञ्जमा रहेको प्रनाउको कमाण्डमा रहेको प्रहरीसंग समन्वय गरि स्थितीलाई सामान्य बनाउन पहल गर्न सकिने अवस्था हुँदाहुँदै त्यसो नभएको देखिन्छ । 
सशस्त्र प्रहरी शान्ति सुरक्षाको लागि गएको अवस्थामा पनि स्थिती मापन गरि नगएको देखिन्छ । सशस्त्र प्रहरीले हतियार प्रयोग गर्दा कुनै पनि पूर्व चेतावनी नदिएको, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले डिफेन्समा बसी वा अवस्था अत्यन्तै विग्रेको भएपनि गाडीलाई त्यही छोडेर व्याक हुन आदेश दिँदा पनि सशस्त्र प्रहरीका डिएसपी अर्जुन प्रसाद सापकोटाको कमाण्डमा रहेको टोलीले गोली चलाएको देखिन्छ । गोली चलाउँदा पनि पहिले हवाई फायर गर्ने, त्यस पछि अत्यावश्यक भएमा मात्र गोली चलाउन पाउने र त्यो पनि घुँडा भन्दा मुनि चलाउनु पर्ने व्यवस्था भए पनि पहिलो गोली नै जय नारायण पटेलको छातीमा दोस्रो गोली शाह मोहमद हवाडीको कांधमा लाग्नुले प्रहरीले कानुन मिच्दै आन्दोलनकारीलाई मार्ने मनसायले लक्षित गरि गोली चलाएको देखिन्छ । र, आन्दोलनकारीहरुले बाटो दिए पछि हवाई फायर गर्दै निस्किएको भन्ने तथ्यले पहिले सप्रबले गोली हानेको र पछि जाँदै गर्दा हवाई फायर गर्दै गएको देखिन्छ । यसले प्रहरीले स्थानीय प्रशासन ऐन २०२८ द्धारा दिइएको अधिकारको उपयुक्त तरिकाले उपयोग नगरेको देखिन्छ । 
 आन्दोेलनको नेतृत्व गरिरहेका प्रदर्शनकारी नेता 
कंकाली उच्च मावि सिमरौनगढको कक्षा १२ मा अध्ययनरत
 हरिहरपुर(७ नवका टोलका १९ वर्षिय उमेश कुमार कुशवाहा । 
स्थानीय रुपमा विभिन्न व्यक्तिहरुसंग कुरा गर्दा प्रहरी र आन्दोलनकारीहरुको वीचमा कम्तीमा २० मिटरको दुरी रहेको र आन्दोलनकारीहरुले ढुंगा प्रहार गर्ने बाहेक केही नगरेको अवस्थामा केही कतै कुनै पनि कारणले गोली चलाउनु पर्ने पुष्टि गर्ने आधार नरहेको देखिन्छ । यसले सशस्त्र प्रहरीको गोली चलाउने प्रहरी कर्मचारीले स्थलगत रुपमा जटिल अवस्था भन्दा पनि मनोगत अवस्थालाई नियन्त्रणमा राख्न नसकि गोली चलाएको देखिन्छ । जिल्ला प्रशासन कार्यालय कलैयाले वस्तु स्थिती नै नबुझी कफर्यु लगाउनु तर स्थानीय रुपमा कफर्युको कुनै प्रभाव नहुनुले कानुनको पालनाबाट आम नागरिक वञ्चित हुनु र यसले कानुन पालन गर्न लगाउने र पालना गर्ने बीचको समझदारी र समन्वयको अभाव रहेको देखिन्छ । साथै प्रशासन र नागरिक एक अर्काको परिपुरक भन्दा पनि एक वर्ग शासक र अर्कोवर्ग शासित रहेको अनुभुति दिने वातावरण सृजना गरे नागरिक अवज्ञा बढने सम्भावना तर्फ ध्यान दिनु आवश्यक रहेको देखिन्छ । 










२०७१ कार्तिक ०२ गते आईतबार

No comments:

Post a Comment