Tuesday, October 21, 2014

अस्ताए समाजसेवी ‘हेमचन्द्र चौधरी’


स्वर्गीय हेमचन्द्र चौधरी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
लोकतन्त्रवादी तथा समाजसेवी हेमचन्द्र चौधरीको ७८ वर्षको उमेरमा २४ असोज शुक्रबार निधन भएको छ । धनुषाको जटही निवासी तथा हाल जनकपुर नगरपालिका ४ निवासी चौधरीको हृदयघात का कारण शुक्रबार राति साढे ११ बजे काठमाण्डौमा निधन भएको थियो । जनकपुर नगरपालिका वडा नं.४ बाट वडा अध्यक्षको रुपमा उहाँ निर्वाचित भएपछि जनकपुरको विकास निर्माणका लागि धेरै ठुलो योगदान पु¥याउनु भएको थियो । 
२०४९ सालमा वडा अध्यक्षको हैसियतले उहाँले जनकपुरमा विवादित रहेका सडकहरुको  विकास गर्नुका साथै थुप्रै नयाँ सडकहरु खोलाई निर्माण गर्न लगाउनुभएको थियो । जनकपुरको मुरली चौकमा विद्यापति स्मारक निर्माण गराउन उनले महत्वपुर्ण भुमिका निर्वाह गर्नुका साथै योगदान समेत पु¥याउनु भएको थियो । उनी विद्यापति स्मारक निर्माण समितिका सदस्य सचिव समेत थिए । त्यसैगरी उहाँले जनकपुरको विद्यापति चौकमा विद्यापति स्मृति पर्व मनाउने कार्यलाई भव्यता प्रदान गर्नुका साथै निरन्तरता दिनु भएको थियो । त्यसैगरी उहाँले जनकपुरको विद्यापति चौकमा म्युजिकल टावर क्लक समेत लगाउनु भएको थियो । राजा महेन्द्रलाई लक्षित गरी बम प्रहार गर्ने उनकै गाउँका दुर्गानन्द झाले बम प्रहार गरेपछि झालाई उक्त राति चौधरीले नै शरण दिनु भएको थियो । वि.ए.मा अध्ययनरत रहेको बेला जनकपुरको सरन्चिया कुट्टीमा डेरा लिई बसेका चौधरीले दुर्गानन्द झालाई रातभरी आफ्नै कोठामा सुताएका थिए । दुर्गानन्दलाई पक्राउ गर्न पुलिसले डेराको छापामारी गर्दा दुर्गानन्दलाई चौधरीले सिरकले ओढाई गाउँबाट विरामी भाई उपचार गराउन आएको भन्दै पुलिसलाई झुक्याएर चौधरीले झालाई गिरफ्तार हुनबाट जोगाएका थिए । भोली पल्ट दिसा गर्ने बहानामा दुर्गानन्दलाई लोटा दिएर उनले चौरीको बाटो हुँदै इन्डिया तर्फ विदावारी गरेका थिए ।
स्वर्गीय चौधरीको पार्थिव शरीरलाई अन्तिम विदाई दिन 
कन्धा थाप्दै उनको कान्छो छोरा राजु चौधरी (बायाँ) ।
जनकपुर चुरोट कारखानामा उनी जागिरे हुँदा उनको छोरा ललन चौधरी पञ्चायतका विरुद्ध र प्रजातन्त्रका लागि क्रान्तिको बाटोमा लागेका कारण उनलाई जागिरबाट पनि हटाइएको थियो । उनको छोराको क्रान्तिकै कारण उनीसँगै उनका परिवारजनलाई प्रहरीले पटक पटक दुःख दिनुका साथै मानसिक यातना समेत दिने गथर््यो । २०४६ सालको पञ्चायत व्यवस्था विरुद्ध नेपाली कांग्रेसले गरेको आन्दोलनमा उनका छोरा ललन चौधरीले जनकपुरको जानकी मन्दिरमा आयोजना गरिएको पञ्चहरुको सभामा पञ्चलाई कालो झण्डा देखाएका थिए । उनको एक श्रीमति इन्दिरा देवी चौधरी, एक छोरी रेखा रानि झा, तीन छोराहरु ललन चौधरी, चन्द्रमोहन चौधरी र राजु चौधरी सँगै नाति नातिनाहरु छन् । 
स्वर्गीय चौधरीको दाहसंस्कारमा सहभागी
 नेपाली कांग्रेसका पुर्व सभापति तथा सांसद स्मृति नारायण चौधरी र
 बर्तमान सभापति रामसरोज यादव ।

स्वर्गीय चौधरीको पार्थिव शरीरलाई मुखाग्नि दिँदै 
उनका जेठो छोरा ललन चौधरी ।
उनको पार्थिव शरीरलाई उनका जेठो छोरा ललन चौधरीले मुखाग्नि दिएका थिए । दाह संस्कारका बेला जनकपुरको स्वर्गद्वारीमा नेपाली कांग्रेसका पुर्व सांसद स्मृति नारायण चौधरी, नेपाली कांग्रेसका सभापति रामसरोज यादव, पुर्व मेयर बजरंग साह, नेपाली कांग्रेसका सचिव कोमलकान्त झा, नगर सभापति धिरेन्द्र मोहन झा, जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिरा, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कुमार मिश्र, निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष विवेक मिश्र, जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजय अनुरागी, विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानु, राष्ट्रिय मधेस समाजवादी पार्टी धनुषाका अध्यक्ष महाशंकर ठाकुर लगायत जटही गाउँ र जनकपुरका बुद्धिजिवी, यूवा, पत्रकारहरुको सहभागिता थियो ।







स्वर्गीय चौधरीको दाह संस्कारमा सहभागीहरु ।













२०७१ कार्तिक ०२ गते आईतबार

No comments:

Post a Comment