Tuesday, June 17, 2014

गोपाल धर्मशालालाई महल खाली गर्न गुठीको निर्देशन, धर्मशालाद्वारा अटेरी

गोपाल धर्मशाला
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
गुठी संस्थानको स्वामित्वमा रहेको गोपाल धर्मशालाको आम्दानी एक जना भारतीय नागरिक राजकुमार झाले अनधिकृत तरिकाले वर्षौै देखि असुल गरिरहेको खुलासा भएको छ । अचम्म लाग्न सक्छ, प्राचीन मिथिलाको राजधानी जनकपुरको एक ऐतिहासिक धर्माशालाको आम्दानी भारतीय नागरिक झाले साढे आठ दशकअघिदेखि असुली गर्दै आएको भएपनि सम्बन्धित निकायले केही पनि गर्न सकेका छैनन् ।
जनकपुरमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वका मठमन्दिर र धर्मशालाहरु मध्ये गोपाल धर्मशाला पनि एक हो । बिक्रम सम्बत १९ सय ८३ सालमा  स्थापना भएको यो धर्मशाला मर्मत सम्भारको अभाबमा जिर्ण बन्दै गएको छ ।  साढे आठ दशकअघि स्थापना भएको यो धर्मशाला भारत कलकताका दुदवेबाला परिवारले सञ्चालन गर्दै आएको नाथानी चैरिटेवल टूस्टको नाउँमा रहेको छ । यस धर्मशालाको सञ्चालक स्थापनाकाल देखिनै भारतीय नागरिक रहेको र यसको आम्दानी एक जना व्यक्तिको गोजीमा गइरहेको छ । सुन्दा अचम्मै लाग्छ, जग्गा नेपाल सरकार अधिनस्त रहेको गुठी संस्थान शाखा कार्यालय जनकपुरको भएपनि उक्त जग्गामा निर्माण भएका धर्मशालाको आम्दानी, व्यवस्थापन र रेखदेख भारतीय नागरिकले गर्दै आएको छ ।
नेपाल र भारतका बिभिन्न स्थानबाट आउने पर्यटकहरु राति यस धर्मशालामा विश्राम गर्दै आएका छन् । धर्मशालाको  हाताभित्र रहेका ५० वटा भन्दा बढी पसल र टहराको आम्दानी पारदर्र्शी गर्नुपर्ने, यसैको मर्मत, सम्भारमा खर्चिनुपर्ने माग राखेर  जनकपुरका गणेश युवा क्लब, रामानन्द यूवा क्लब, राम यूवा कमिटि, महाबीर यूवा कमिटिका युवाहरुले २०६४ सालमा जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दर्ता गराएका थिए । तत्कालिन प्रमुख जिल्ला अधिकारी माधव प्रसाद रेग्मीले धर्मशालाका व्यवस्थापक राजकुमार झालाई थुनामा राखि तारेखमा छोडेका थिए । धर्मशालामा रहेका सम्पुर्ण कागजातहरु प्रशासनले आफ्नो कब्जामा लिएर जफत गरेका थिए । प्रशासनले गोपाल धर्मशालाको नाउँमा खाता खोलाई सम्पुर्ण आर्थिक कारोबार बैंक मार्फत गर्न र टूस्टका अध्यक्षलाई समेत झिकाई हर हिसाव पारदर्शी गर्न पत्र पठाएको थियो । तर, झाले त्यो बेला पनि उक्त पत्रलाई कुनै वास्ता गरेनन् ।
धर्मशालालाई भवन खाली गराउन गुठी संस्थान जनकपुर कार्यालयले गरेको पत्राचार ।

जनकपुरको  मध्य भागमा रहेको यो धर्मशाला करिब ३ बिघा जग्गामा फैलिएको छ ।ं अर्बौं रुपैयाँको सम्पत्ती रहेको यस धर्मशालालाई अन्य मठमन्दिर र गुठिका जग्गा जस्तै बेच्ने प्रयास पनि पटक पटक हुँदै आएको छ । धर्मशाला बेच्ने प्रयास गरिएपछि बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले गुठी संस्थानको मातहतमा रहेको उक्त जग्गा कसैलाई पनि हस्तान्तरण नगराउन जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत मालपोत कार्यालयमा रोक समेत लगाइएको परिषदका कार्यकारी निर्देशक उमेश कुमार यादवले द एक्सक्लुसिभलाई बताए । धर्मशालाको प्रवन्धक राजकुमार झा पनि विगतमा भारतीय नागरिक नै रहेको तर पछिल्लो समयमा नेपाली नागरिकता प्राप्त गरिसकेको स्रोतको दावी छ । यस अघि उनका बुवा काशिनाथ झा र बाजे चन्देश्वर झा धर्मशालाको प्रवन्धक भई आम्दानी उठाउँदै आएका थिए ।
गोपाल धर्मशालाका व्यवस्थापक राजकुमार झा । उनले नै धर्मशालाको सम्पुर्ण आय आफ्नो गोजीमा राख्दै आएका छन् । उनको बाजे र बुबाले समेत धर्मशालाको व्यवस्थापन गरी आय राख्दै आएका थिए ।
धर्मशाला निर्माण गर्ने कलकताका रायबहादुर बलदेव दास रामेश्वर नाथानी का नाति जोगेन्द्र बहादुर नाथानी ले वर्षमा एक पटक आएर भारतमा धर्मशाला निर्माण गर्ने नाउँमा धर्मशालाका प्रवन्धक झाले केही मानिसहरुलाई बताउँदै आएपनि बास्तवमा सम्पुर्ण रकम झा आफैले राख्ने गरेको स्रोतको दावी छ । धर्मशालामा तल १९,माथि १० वटा कोठा संचालित छन भने दुई वटा कोठा लाई भण्डार घर बनाइएको छ । धर्मशालामा जम्मा १८ वटा शौचालय पनि छन् । धर्मशालाको करिब ५० भन्दा वढी वटा सटर तथा बास कोठाहरु पनि भाडामा लगाइएको छ तर त्यसमा पनि अधिकांश भारतीय व्यापारी नै छन् । अति नै कम दरमा तिनीहरुलाई भाडा दिइएको छ । धर्मशालाको आम्दानी कति हुन्छ भन्ने कुराको हालसम्म पारदर्शी गरिएको छैन ।  विवाह जस्ता कार्यका लागि समेत धर्मशालाले आफ्नो भुमी भाडामा लगाउँदै आएको छ । धर्मशालामा आउने पर्यटकहरुको सबारी साधन पार्किङ गरे वापत प्रति गाडी भारु. ५ सय लिने गरेको भएपनि नेपाली ५ सय रुपैयाँको रसिद दिने गरिएको छ । उक्त रसिदहरु मध्ये कतिपय रकमको हिसाव किताव नै छैन । धर्मशालामा मोटो कमाई हुने गरेको छ तर त्यसको कुनै लेखा जोखा वा हर हिसाव नै छैन । त्यसैको आडमा नगरका केही यूवा क्लव, राजनीतिक दल समेतले धर्मशालाबाट अनुचित लाभ उठाउँदै आएका छन् । यति मात्र होइन, दशैंको अवसरमा धर्मशालामा लाग्ने गरेको सस्तो बजार बापत जनकपुर उद्योग वाणिज्य संघले समेत भाडा दिँदैनन्, विजुलीको पैसा मात्र दिने गरेको छ । राजनीतिक दलहरुले समेत आफ्नो कार्यक्रम गर्दा धर्मशालालाई शुल्क नदिने गरेका कारण झाको हालसम्म राजनीतिक रुपले नै संरक्षण हुँदै आएको छ ।
गुठी संस्थान कार्यालय जनकपुरका प्रमुख राजबाबु पाण्डे भन्छन्,“गुठीको पुर्ण स्वामित्वमा रहेको तैनाथी जग्गामा अनधिकृत रुपमा अनाधिकृत मानिसले हक(भोग गरिरहेकाले ती व्यक्तिहरुको हकभोग खाली गराउनका लागि आवश्यक प्रक्रिया तत्कालै अगाडि बढाइएको छ । भवन खाली गर्न धर्मशालालाई पत्र पनि लेखिसकिएको छ ।”पाण्डे भन्छन,“धर्मशालालाई व्यवस्थित पार्न गुठी कार्यालय, जनकपुर नगरपालिकाको कार्यालय, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जिल्ला प्रशासन कार्यालय र नागरिक समाज समेतको प्रतिनिधि सम्मिलित संचालक समिति गठन गरी समिति मार्फत धर्मशाला संचालन हुनुपर्दछ र गुठीको जग्गा रहेको कारण कुथ स्वरुप रकम गुठी संस्थानले पाउनु पर्दछ ।”
हालसम्म धर्मशलाले जनकपुर नगरपालिकालाई समेत कुनै कर बुझाएको छैन र गुठी संस्थानलाई पनि कुनै रकम दिएको छैन ।
गोपाल धर्मशाला भित्र गोपाल मन्दिर ।

गुठीद्वारा धर्मशाला खाली गर्न पत्राचार
गुठी संस्थान शाखा कार्यालय जनकपुरले भवन खाली गर्न दिएको ३५ दिने म्याद वितिसक्दा पनि गोपाल धर्मशालाले भवन खाली गरेको छैन । २२ बैशाख २०७१ मा गुठी संस्थानको पुर्ण स्वामित्वमा रहेको (गुठी तैनाथी) जनकपुर नगरपालिका वडा नं. ४को सिट नं. १३९५(०५ कित्ता नं. ४६ क्षेत्रफल ०(१३(० घर जग्गा संस्थानलाई आवश्यक भएको हुँदा उक्त जग्गामा रहेको भवन तथा अन्य सर साम्रगीहरु पत्र प्राप्त मितिले ३५ दिन भित्र खाली गरी यस कार्यालयलाई जानकारी दिनुहोला अन्यथा कानुन बमोजिम हुने पत्र जनकपुर ४ मा अवस्थित गोपाल धर्मशालालाई पत्राचार गरेको थियो । जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा, गुठी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वर र वृहत्तर जनकपुर क्षेत्र विकास परिषद जनकपुरलाई समेत उक्त पत्रको बोदार्थ गरिएको थियो ।
गोपाल धर्मशालाको गुठीलाई जवाफ
११ जेष्ठ २०७१ भवन खाली गर्नुको सट्टा गोपाल धर्मशालाले गुठी संस्थान शाखा कार्यालय जनकपुरधामबाट गैरकानुनी र अमर्यादित शव्द प्रयोग गरि हास्यास्पद किसिमको वाक्यांश प्रयोग गरि धर्म संस्था प्रति अनास्था प्रकट गरेकोे जवाफ सहितको पत्र फर्काएको थियो । गोपाल धर्मशालाको नाउँमा लेखिएको उक्त पत्र गुठी संस्थान ऐन २०३३ को कानुनी परिभाषा विपरित रहेको हुँदा सो पत्रलाई बदर बातिल गरी गोपाल धर्मशाला धार्मिक संस्था तिर्थ यात्री, पर्यटकको सेवा सुविधा निमित रहेको हुँदा धार्मिक कार्यमा सहयोग गर्न धर्मशालाका प्रवन्धक राजकुमार झाले लिखित जवाफ दिएका छन् ।गुठी संस्थान शाखा कार्यालय धनुषा जनकपुरलाई यस किसिमको पत्र लेख्नु गुठी संस्थान ऐनको कानुनी व्यवस्था नै बन्धेज लगाएको हुनाले कानुनले रोक लगाएको अधिकारलाई हक अधिकार भनी प्रयोग गर्नू कानुनको मर्यादा विपरित र साह्रै अन्यायपुर्ण रहेको धर्मशालाका प्रवन्धक झाले जवाफ दिएका छन् ।
१९९० साल अषाढ १० गतेका दिन तत्कालिन नेपाल सरकारबाट हुकुम प्रमांगी भै नेपाल सरकारको खडग निशानाद्वारा तत्कालिन मैनेजरी अड्डाको नाउँमा गोपाल धर्मशाला जनकपुरको नाउँमा ३ विघा जग्गा वकस भै सो बमोजिम उक्त ३ विघा जग्गा १९९० साल अषाढ १० गतेमा तत्कालिन मैनेजरी अड्डाबाट खडग निशानाद्वारा जग्गा प्राप्त भै गोपाल धर्मशाला जनकपुरलाई धर्म सदावर्त गर्न दिनु भन्ने समेत हुकुम प्रमांगीबाट वकस भै आए बमोजिम उक्त ३ विघा जग्गा गोपाल धर्मशालाको निर्माण भै मानव सेवा गर्दै आई रहेको झाद्वारा गुठीलाई पठाइएको जवाफमा उल्लेख छ ।
गोपाल धर्मशालाको निर्माण विदेश भारत कलकत्ता निवासी गुरु विडी ब्रम्हचारीले वकस पाए बमोजिम धार्मिक कृति गरि धार्मिक भावनाले मानव सेवा हुँदै आइरहेको छ । गुरु विडी ब्रम्हचारीको स्वर्गारोहण पश्चात निजको उत्तराधिकारीको रुपमा विदेश भारत कलकत्ता अन्तर्गतको श्री राम बहादुर वलदेव दास रामेश्वर नाथानि टूष्टद्वारा यो गोपाल धर्मशाला संचालित भै आइरहेको हुन । गोपाल धर्मशाला जनकपुरधाममा मानव सेवाको भावना र उद्देश्यले कार्य गर्दै आइरहेको अवस्थामा कुनै पनि धार्मिक कार्य वा समाजिक कार्यमा गोपाल धर्मशाला सेवा दिँदै आइरहेको हुन । उदाहरण स्वरुप विजयादशमी , दशहरा पर्वका १६ दिनसम्म गोपाल धर्मशालामा सस्ता बजार र दशै मेला लाग्दै गर्दै आइरहेको हुन । समाजिक कार्यक्रममा प्रत्येक महिनाको १५ दिन नै सो समाजिक कार्यमा गोपाल धर्मशालानै सेवा दिँदै आइरहेका हुन । जनकपुरधाममा एक मात्र गोपाल धर्मशालानै जो कि धार्मिक, समाजिक कार्यमा सघाउ पु¥याइरहेको झाद्वारा पठाइएको जवाफमा उल्लेख छ ।
    गोपाल धर्मशालाले पठाएको जवाफपछि २६ जेष्ठ २०७१ मा गुठी संस्थानले धर्मशालालाई पुनः ताकेता गरेको छ । उक्त पत्रमा धर्मशालालाई व्यवस्थित गर्ने सिलसिलामा धर्मशाला रहेको कित्ता र त्यसको सँगैको अन्य कित्ता समेतलाई ३ विगाहा जग्गा हुकुम प्रमाङ्गीबाट प्राप्त गरेको खड्ग निशाना आदि उल्लेख भएको देखिँदा सो प्रमाणहरु पेश गर्न ११ जेष्ठ २०७१ मा नै ७ दिनको समय राखि पत्र लेखिएकोमा उक्त प्रमाणहरु प्राप्त नभएकोले पुनः ताकेता पत्र लेख्ने कार्य भएको, पत्र प्राप्त भएको मितिले ३ दिन भित्र प्रमाणहरु पेश गर्नु होला अन्यथा कानुन बमोजिम कारवाही अघि वढ्ने पत्र २६ जेष्ठमा धर्मशालालाई संस्थानले लेखेको छ ।
वृहत्तरलाई पनि धर्मशालाले टेरेनन
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद २३ पुष २०६९ मा परिषदको निर्णय कार्यान्वयन तथा लिखित जवाफ पेश गर्न गोपाल धर्मशालाका व्यवस्थापक राजकुमार झालाई पत्राचार गरेको थियो । पत्रमा उल्लेख भएको व्यहोरा जस्ताको त्यस्तै प्रस्तुत छ ।
    वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको कार्यकारिणी समिति र सर्बोच्च निकायको रुपमा रहेको संचालक परिषदको १५ पुष २०७० मा बसेको बैठकले परिषदको क्षेत्र भित्रको धार्मिक, ऐतिहासिक वा पुरातात्विक दृष्टिले महत्वपुर्ण मानेको १७ स्थललाई संरक्षित स्थल तोकेको छ । ती तोकिएको स्थलहरुमध्ये गोपाल धर्मशाला र त्यसले चर्चेको परिसर पनि पर्दछ । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद ऐन, २०५५ द्वारा स्थापित यो संस्था आफ्नो उद्देश्य परिपुर्तिका लागि क्रियाशिल रहेको छ । सोही क्रममा संचालक परिषद तथा कार्यकारिणी समितिको निर्णयानुसार यस क्षेत्र भित्रको धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका स्थानहरु र सोही क्षेत्र भित्र रहेका विभिन्न सम्पदाहरुको संरक्षण र व्यवस्थापन गर्ने सिलसिलामा गोपाल धर्मशाला र सोले चर्चेको परिसरको संचालक र रेखदेख गर्ने जिम्मेवारी यस परिषदलाई दिने निर्णय भएको छ । सोही निर्णय अनुसार ताहाँ धर्मशाला संचालन व्यवस्थापन के कस्ता प्रक्रिया पुरयाई भइआएको हो ? कुनै कानुनी आधार प्रमाण भए सो को प्रतिलिपी राखि वा सो नभए वार्षिक कार्ययोजना विगतमा भएको लेखापरीक्षण प्रतिवेदन भए सो समेत राखि वा सो पनि नभए आय श्रोत, व्यय, कर्मचारी संख्या, भुक्तानी गरी रहनु परेको मासिक विवरण, बैंक मौज्दात, दाखिला गरी आएको आयकरको विवरण स्पष्ट खुल्ने गरी १५ दिन भित्र लिखित जवाफ पेश गर्न हुन जानकारी गराईन्छ । अन्यथा प्रचलित नेपाल कानुन बमोजिम हुनेछ ।
गोपाल धर्मशालाले वृहत्तरलाई दिएको जवाफ
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले लेखेको पत्रको जवाफ गोपाल धर्मशालाका व्यवस्थापक राजकुमार झाले ५ माघ २०७० मा पठाएका थिए । उक्त पत्रमा भएको व्यवहोरा जस्ताको त्यस्तै प्रस्तुत छ ।
    वृहत्तर जनकपुर विकास परिषदको क्षेत्राधिकार भित्र श्री गोपाल धर्मशाला र यस धर्मशालाले चर्चेको जग्गा घर मन्दिर समेत पर्दैन । वृहत्तर जनकपुर विकास परिषद वा परिषदको कुनै पदाधिकारीलाई कुनै निर्णय गरेर यस गोपाल धर्मशालामा हस्तक्षेप गर्न पाउने अधिकार कुनै पनि कानुनले प्रदान गरेको छैन । मिति १९९० साल अषाढ १० गतेको दिन तत्कालिन समयमा खडग निशान बमोजिम यस धर्मशालाको लागि ३ विगाहा जग्गा दर्ता हुने गरी वकस पाएको हो । यसको जग्गा तत्कालिन मैनेजरी अड्डाले छुटयाइदिएको हो । तत्पश्चात यस धर्मशालाको निर्माण भई निर्विवाद रुपमा भोगचलन भई गोपाल धर्मशाला स्वायत्त संस्थाको रुपमा संचालित रहेको छ ।गुरु विडी ब्रम्हचारीले धर्मशाला तैयार गरी धर्म कीर्ति गर्दै आउनु भएकोमा निज गुरु परलोक भए पश्चात मर्मत सम्भार गर्दै गुरु विडी ब्रम्हचारीले बहन गर्ने सम्पुर्ण कार्य राय वहादुर बलदेव दास रामेश्वर नथानी टूष्टबाट अहिलेसम्म निर्विवाद रुपमा हुँदै आएको छ । यस धर्मशालामा कार्यरत कारिन्दाले यसको रेखदेख गर्दै आएकोमा सो कारिन्दाहरुको तलब समेत यस गोपाल धर्मशालाले नै निर्विवाद रुपमा खुवाउँदै आएको छ । यो धर्मशाला व्यवस्थित र सफा भएकोले यहाँ देश तथा विदेशमा भारतबाट टुरिस्टहरु आउने जाने र बस्ने भएको तथा पानी एवम विद्युत महसुल समेत आफैले तिर्दै आएको छ । लोडसेडिङमा पनि यस धर्मशालाले ठुलो जेनेरेटर चलाई पंखा र बत्तीको सुविधा समेत दिँदै आएको छ । मुल भवन परिसरमा श्री गोपालजी भगवानको आधुनिक मन्दिर निर्माण गरी दैनिक पुजा अर्चना समेत भइआएको छ ।
    यसको आधुनिक फुलवारी रही यस गोपाल धर्मशालामा टुरिस्टको रुपमा भ्रमणमा आएका टुरिस्टहरुलाई यसले टेलिफोन सुविधा समेत दिँदै आएको छ । यस धर्मशालाले बाह्य सहयोग विना नै तल्ला थप्ने कार्य समेत गरि यो धर्मशाला स्वायत्त एवम उत्तराधिकारवाला स्वायत्त संस्था समेत भएकोले गोपाल धर्मशाला र यसले चर्चेको जग्गा, मन्दिर समेतमा कानुन विपरित निर्णय गरी हस्तक्षेप गर्न अधिकार कुनै पनि निकाय वा पदाधिकारीलाई नभएको, नरहेकोले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद समेतलाई हस्तक्षेपकारी निर्णय गर्ने र हस्तक्षेप गर्न अधिकार नरहेको नभएको प्रष्ट हुँदा जानकारीको लागि अनुरोध छ । म राजकुमार झा गोपाल धर्मशालामा व्यवस्थापन कारिन्दा मात्र रहेको हुँदा यसको सम्पुर्ण कागजातहरु तत्कालिन महोत्तरी सर्लाही गोश्वारा एवम जनकपुर मैनेजरी अड्डामा रहे भएकाले सोही कार्यालयबाट सक्कल बुझि पाऊँ वा यस गोपाल धर्मशाला जनकपुरधामको संचालक रायबहादुर बलदेव दास रामेश्वर नथानी टूष्टको जिम्मामा हुँदा संचालकबाट यसको कागजात लिन भारतीय राजदुतावास मार्फत टूष्टलाई बुझी आवश्यक कागजात लिन हुन तथा संचालकको अनुमति बेगर हस्तक्षेपकारी निर्णय एवम पत्राचार समेत नगरिदिन हुन जानकारीको लागि सादर अनुरोध छ ।
    गुठीले दिएको जवाफका सम्बन्धमा बृहत्तरका कार्यकारी निर्देशक उमेश यादव भन्छन,“ धर्मशालाले बृहत्तरलाई पठाएको जवाफ गैरकानुनी र गैर जिम्मेवार हो । हामी विधिवत तरिकाले कानुनी कारवाही गर्न प्रक्रिया अगाडी वढाई सकेका छौं । हामीले जवसम्म धर्मशालाका व्यवस्थापक झाले आर्थिक कारोबारको हिसाव किताव दिँदैनन वा बर बुझारत गर्दैनन तब सम्म आफ्नो संरक्षणमा लिँदा धर्मशालाले गरेको आर्थिक अनियमितता समेत लुक्ने हुनाले हामी पर्खिरहेका छौं ।”



  २०७१ अषाढ ०१ गते आईतबार

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete