Tuesday, April 1, 2014

दीपेन्द्र झाको ‘भिडन्तमा मृत्यु’ सम्बन्धि प्रतिवेदन


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरी जिल्लाको बनौली दनौली गाविसका बासिन्दा दिपेन्द्र झा हुनेखाने परिवारका व्यक्ति थिए । उनका पिता जिल्ला शिक्षा कार्यलय, धनुषामा कार्यरत थिए । पीडित एक समयमा नेपाली काग्रेसको भगिनी संस्था नेपाल विद्मार्थीसँग आबद्ध थिए र २०६३ मा उनी रारा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्मार्थी युनियनका उपसभापति भएका थिए । उनले सो पदमा तीन वर्ष अर्थात २०६६ सम्म काम गरेका थिए ।
स्थानिय व्यत्तिहरुसँग अन्तर्वार्ता गर्दा उनीहरुले दीपेन्द्र झाले २०६६ देखि जनतान्त्रिक तराई मुक्ति मोर्चा, राजन मुक्ति समुह७६ नामक सशस्त्र समुहका लागि काम गरेको बताए । स्थानिय बासिन्दाहरुले धनुषालगाएतका स्थानिय क्षेत्रमा भएका कतिपय अपराधको जिम्मेवारी झाले उक्त समुहका तर्फबाट लिएको पनि बताए । झा राजन मुक्ति समुहको विद्मार्थी फ्रन्टको प्रमुख रहेको विश्वास गरिएको थियो । जबरजस्ती चन्दा असुली तथा अपहरणका घटनाहरुमा उनी संलग्न रहेको आशंका गरिएको थियो । 
तर जनतान्त्रिक तराई मुक्ति मोर्चाका प्रमुख राजन मुक्तिले २०६८ माघ १५ गतेका दिन एक प्रेस विज्ञप्ति जारी गरेर दीपेन्द्र आफ्नो समुहसँग कुनै पनि तरिकाले सम्बद्ध नरहेको स्पष्टीकरण दिएका थिए । नायव प्रहरी उपरीक्षक दिनेश अमात्यले दिपेन्द्रको मृत्यु प्रहरीसँगको भिडन्तमा भएको कुरा मानव अधिकारवादीहरुलाई बताएका थिए । उनले महुवामा प्रहरीमाथि गोली चलाइएको र त्यसको जवाफी कारवाहीमा प्रहरीले गोली चलाउँदा दीपेन्द्रको मृत्यु भएको बताए । उनले त्यस दिन प्रहरीहरुले त्यस क्षेत्रमा सदाझै गस्ती गरिरहेको पनि उल्लेख गरे । त्यो गस्ती टिम एक असईको नेतृत्वमा ९(१० प्रहरी गरेको तर अमात्यले भिडन्तको क्रममा नेतृत्व गरिरहेको प्रहरी अधिकारीको नाम भने दिन चाहेनन् । अमात्यले आत्म रक्षामा प्रहरी टोलीले १०(११ राउण्ड गोली चलाएको पनि बताए । उक्त भिडन्तपछिमात्रै पीडितको पहिचान राजन मुक्ति प्रमुख रहेको सशस्त्र समुहसँग आवद्ध उज्वल मुक्ति अर्थात दीपेन्द्रको रुपमा भएको थियो । मानव अधिकारवादीहरुले राखेको जिज्ञासामा अमात्यले दीपेन्द्रलाई कहाँ गोली लागेको थियो भन्ने बताउनका लागि उनले पोष्टमार्टम रिपोर्ट हेर्नुपर्ने हुन्छ भनेका थिए ।
 वि.सं. २०६७ माघ १३ का दिन धनुषा जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा घटनास्थलबाट एक कटुवा पिस्तोल, एक खोका तथा १० थान गोली बरामद भएको कुरा उल्लेख थियो । त्यसैगरी नम्बर प्लेटविनाको एउटा नीलो रंगको हिरोहोण्डा मोटरसाइकल, दुई मोबाइल फोन, चार नेपाली सिम कार्ड तथा एक भारतीय सिम कार्ड पनि घटनास्थलबाट फेला परेको कुरा उल्लेख गरिएको थियो । तर परिवार र प्रत्यक्षदर्शीहरुले दिएको जानकारी भने प्रहरीको जानकारीसँग मेल खाँदैन । माघ १२ का दिन दीपेन्द्र झा दिनको करीव १२ः३० बजेतिर आफ्ना भाईका सालासँग जनकपुर गएका थिए र त्यहाँको एउटा पसलमा महोत्तरीको भडई गाविसका एकजना अनन्य मित्रसँग मिलेर खाजा खाएका थिए । परिवार तथा प्रत्यक्षदर्शीहरुका अनुसार दीपेन्द्रले जनकपुरमा खाजा खाएपछि साथी दिनेश (नाम परिवर्तन) सँग बाहिर गएका थिए । जव साँझ ७ः४५ बजे दीपेन्द्रका भाई पंकजले उनीसँग फोनमा सम्पर्क गरे, त्यसबेला दीपेन्द्रले आफु जिरोमाइलमा रहेको र १० मिनेटभित्र घर फर्किने कुरा गरेका थिए । दीपेन्द्रको भाईले आफ्नो दाजुसँग कुरा गर्न फोन सम्पर्क गरेका तर फोन नउठेको बताए । परिवारले दीपेन्द्र ‘भिडन्त’ मा मारिएको कुरा भोलीपल्टमात्रै एफएम रेडियोहरु मार्फत थाहा पाए । दीपेन्द्रका पिता मारिएको व्यक्ति आफ्नै छोरा हो कि होइन भन्ने कुराको पुष्टि गर्न भोलीपल्ट जनकपुर अञ्चल अस्पताल पुगे । दीपेन्द्रको परिवारले उनलाई त्यस दिन घुमुवा प्रहरीले जनकपुरको जिरोमाइलबाट गिरफ्तार गरेर महुवा गाविस जोड्ने सडकमा लिएर गएको र त्यहाँ सात गोली हानिएको बताए । परिवारका अनुसार दीपेन्द्रलाई छातीको दुवैतर्फ गोली लागेको, दुवै तिघ्रा, टाउको तथा कन्चटमा गोली लागेको थियो । एउटा गोली छाती तल पेट नजिक हानिएको थियो । ‘यदि यो भिडन्त थियो भने मेरो मान्छेलाई सातवटा गोली लाग्दा पनि प्रहरी तर्फ भने किन कोही पनि हताहत भएन ?’  दीपेन्द्रका परिवारका सदस्यहरुले प्रश्न गरे । परिवारले दीपेन्द्र अन्तिपटक दिनेश(नाम परिवर्तन) नामक साथीसँग देखिएको कारण उनको मृत्युमा त्यही साथीको कुनै न कुनै भुमिका हुनसक्ने बतायो ।
स्थानीय व्यक्तिहरुका अनुसार दिनेश त्यस घटना अघि र पछि पनि प्रहरीबाट गिरफ्तार भएका थिए । दीपेन्द्रका पिता गोविन्दले यदि प्रहरीले दावी गरेजस्तो उनका छोराले प्रहरीविरुद्ध गोली प्रहार गरेको भए त्यो गोली या त प्रहरीहरुलाई लाग्थ्यो या प्रहरीको गाडीमा या अन्य कुनै चीजमा त्यो गोली लाग्थ्यो होला तर त्यहाँ गोली प्रहार भएको कुनै प्रमाण फेला परेन । गोविन्दले दीपेन्द्रको तिघ्रामा देखिएको गोलीको घाउ हेर्दा गोलीले उनको पाइन्टमा प्वाल परेको थिएन र गोली लागेको स्थानमा छाला डढेजस्तो देखिन्थ्यो, जसले गर्दा उनलाई नजिकबाट गोली हानिएको अनुमान गर्न सकिन्छ । परिवारजनले दीपेन्द्रलाई गोली हानेपछि प्रहरीले घरमा खानतलासी गरेको बताए । दीपेन्द्रका एक साथी (सुरक्षाको कारण नाम गोप्य राखिएको) जो प्रको महुवा गाविस २ का निवासी हुन, ले घटनाको रात आफु राति करिव साढे आठबजेतिर घर आएको बताए । उनले त्यसबेला सशस्त्र प्रहरीले रोकेर खानतलासी गरेपछि जान दिएको पनि बताए । उनले त्यस रात कोही उनलाई खोज्दै घर आएको उनकी श्रीमतिले बताएको जानकारी गराए । उनले भोलीपल्ट भोइलमा प्रहरीले एकजनालाई गोली हानी मारेको तर त्यो व्यक्ति को हो भन्नेबारेमा आफुलाई त्यसबारे थाहा नभएको बताए । उनले आमाले त्यस रात दुई जनालाई मोटर साइकल कुदाएको देखेको एकजनाले तीव्र गतिमा र अर्काले ठीकठीकैको गतिमा मोटर साइकल कुदाएको आफुले देखेको बताइन । गाउँलेहरुबाट मृतकको हुलिया सोधेपछि मात्रै ती व्यक्तिले मृतक दीपेन्द्र हुनसक्छ र राति आफुलाई खोज्ने व्यक्ति पनि उनै हुनुपर्छ भन्ने लख काटेको बताए । 
उनले दीपेन्द्रलाई जनकपुरबाट बाइकमा भोइल ल्याएर त्यहाँ उनलाई गोली हानेको हुनसक्ने बताए । उनले १०, १०ः३० बजेतिर बत्ती गएको र त्यसबेला गाउँलेले गोली चलेको आवाज सुनेको हुँदा दीपेन्द्रको मृत्यु पनि त्यही बेला भएको हुनसक्ने उनले बताए ।
दीपेन्द्र प्रको महुवा गाविस ८ को ठाकुर पोखरी क्षेत्रको जनकपुर परवाहा सडक खण्डमा मृत फेला परेका थिए । स्थानीय बासिन्दाहरुले प्रहरीसँगको कथित भिडन्तको समाचार फैलिएपछि उनीहरुले दीपेन्द्रको लाश त्यस क्षेत्रमा देखेको बताए । उनीहरुले दीपेन्द्रको कन्चटमा गोली लागेको र उनको लाशबाट दुई मीटर पर भुईमा लडेको एउटा मोटरसाइकल देखेको बताए । गाउँलेहरुले मृतकको शरीर उतानो परेको र उनको खुट्टा उत्तरतिर फर्केको देखेको बताए । गाउँलेहरुले गाउँमा विवाह भएको र त्यस अवसरमा पटाका पडकिएका कारण आफुहरुले गोली चलेको आवाज भने नसुनेको बताए । केही गाउँलेले मृतकको शरीरमा एकमात्र गोली लागेको देखेको बताए । ती गाउँलेले दीपेन्द्रको कन्चटमा गोली लागेको बताए । प्रहरीले विहान करीव ७, ७ः३० बजेतिर लाशलाई घटनास्थलबाट हटाएका थिए ।
स्थानीय मानव अधिकारकर्मीहरु तथा राष्टिूय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय, जनकपुरका अधिकारीहरुले अस्पतालको शव गृहमा लाशको अवलोकन र अनुसन्धान गरेका थिए । एउटा गोली दीपेन्द्रको कन्चटको कान तथा आँखाको बीचबाट छिरेर दायाँ कन्चटको कानमाथि छेडेर निस्किएको थियो । पीडितले  निलो जिन्स तथा सर्ट, निलो गन्जी, कालो अण्डरवेयर तथा कालो ज्याकेट लगाएका थिए । पीडितको एउटा खुट्टामा खेलकुदका लागि प्रयोग गरिने जुत्ता थियो भने अर्को खुट्टामा कुनै जुत्ता थिएन । मानव अधिकारकर्मीहरुले दीपेन्द्रको पोष्टमार्टम रिपोर्टको एक प्रति माग्दा प्रहरीले पोष्टमार्टम रिपोर्ट काठमाण्डौ पठाइसकिएका कारण त्यहीँबाट प्रति लिन भने । तर मानव अधिकारवादीहरुको समुहले पोष्टमार्टम रिपोर्टको कपी प्राप्त गर्न सकेनन् ।
राज्यको जवाफ
स्थानीय कलेजका विद्यार्थीहरुले उक्त घटनाको विरोध गर्न कलेज बन्द गराए त्यसपछि सहायक प्रमुख जिल्ला अधिकारी खङगराज शर्माको नेतृत्वमा एक पाँच सदस्यीय छानविन टोली जनवरी माघ १३ गतेका दिन गठन भयो । उक्त टिममा राष्टिूय मानव अधिकार आयोग, पत्रकार महासंघ तथा स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधिहरु तथा पीडित परिवारबाट एकजना सदस्य रहने भनिएको थियो तर राष्टिूय मानव अधिकार आयोगले पछि त्यस छानविन टोलीमा नबस्ने जनायो । त्यही दिन पीडित परिवारले घटनाको निष्पक्ष छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । त्यस दिन प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भने त्यस दिन कार्यालयमा उपस्थित थिएनन । एउटा विद्यार्थी समुहले दीपेन्द्रको हत्याको विरुद्धमा बजार बन्द गराएको थियो । प्रहरीले बजार बन्द गराएको आरोपमा विद्यार्थी नेता नरेश यादव, शम्भु यादव तथा रन्जितकुमार झालाई त्यस दिन पक्राउ गरे तर साँझ तिनीहरुलाई छोडिदिए । पीडित परिवारले उक्त घटनामा जिम्मेवार प्रहरीविरुद्ध कारवाहीको माग गर्दै प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, राष्टिूय मानव अधिकार आयोग, राष्टिूय मानव अधिकार संघसंस्थाहरु तथा इन्सेकमा ज्ञापन पत्र दिएका थिए ।
(स्रोत ः थर्ड एलायन्सद्वारा सार्वजनिक गरिएको पुस्तक ‘तराईमा निरन्तर गैर न्यायिक हत्या)

२०७० चैत्र १६ गते आईतबार

No comments:

Post a Comment