Tuesday, April 1, 2014

हरेशिव यादवको भिडन्तमा मृत्यु


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

वि.सं. २०६९ साउन ७ गते रेडियो तथा अखबारी सञ्चार माध्यमहरुले अघिल्लो दिन प्रहरीसँगको भिडन्तमा एक डाँका मारिएको समाचार प्रकाशित ग¥यो । समाचारअनुसार डाँकाहरुको समुहले दुहवी गाविस ५ मा गस्ती गरिरहेको प्रहरी टिममाथि गोली प्रहार गर्दा प्रहरीले जवाफी कारवाही गरेको थियो ।
२०६९ श्रावण ८ गतेको स्थानीय पत्रपत्रिकाहरुमा निज मृतक मिति २०६९÷२÷१६ गते नेपाल रेल्वेका प्रबन्धक सुरेश यादवको हत्या घटनाको अभियुक्त धनुषा जिल्ला तारापट्टी सिरसिया वडा नं. १ वस्ने हरेशिव यादव रहेको र निजको दोहोरो भिडन्तमा मृत्यु भएको घटना पनि शंकास्पद रहेको आशयको समाचार प्रकाशित भएको थियो ।
राज्यले कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको संलग्नता रहेको उक्त घटना शंकास्पद रहेको समाचार वाहिर आएपछि उक्त घटनाको प्रारम्भिक अनुगमन गर्न आवश्यक ठानी मानवअधिकारकर्मीहरुको एक टोली अनुगमनको लागि खटि गएको थियो । यस घटनाबारे जानकारी लिन जब जिल्ला प्रहरी कार्यालय धनुषामा सम्पर्क गरियो, तब उक्त, कार्यालयले धनुषा औरहीबाट सई अयोध्याशरण यादवको नेतृत्वमा खटिएको प्रहरी टीमले दुहवी गाविस ५ नजिकको सडकमा राति १०ः३० बजे आत्मरक्षाको लागि पाँच राउण्ड गोली प्रहार गरेको बतायो । जिल्ला प्रहरी कार्यालयले सशस्त्र डाँकाहरुले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाको लागि गोली चलाएको दावी गरे । जिप्रकाले मारिएका व्यक्ति तारापट्टी सिर्सिया गाविस वार्ड नं. १ बस्ने महेन्द्र यादवको छोरा हरेशिव यादवको भएको पनि पुष्टि गरे । जिप्रका धनुषाले हरेशिव यादव नेपाल रेल्वेका पुर्व प्रवन्धक धनुषा निवासी सुरेश यादवको हत्याको आरोपी रहेको पनि बतायो । जिप्रका धनुषाले हरेशिव जनतान्त्रिक तराई मुक्ति मोर्चा, समाजवादी नामक सशस्त्र समुहसँग पनि सम्बद्ध रहेको बतायो । प्रहरी घटनास्थलबाट एक कटुवा पिस्तोल, गोलीको एउटा खोका, दुईवटा गोलीहरु, तीन सिमकार्ड दुईहजार भारतीय रुपैयाँ र १ हजार नेपाली रुपैया पनि फेला पारेका दावी गरे । 
हरेशिवका पिता महेन्द्र यादव (हाल मृत्यु भइसकेको)ले छोराको मृत्यु सुरेश यादवको परिवारसँगको झगडासँग सम्बन्धित रहेको बताए । सुरेश यादवको परिवारले सार्वजनिक जग्गा दख्खल गरेको जसले गर्दा छर छिमेकीहरुसँग वैमनश्यता रहेको र उनले पछि अदालतमा मुद्दा पनि दायर गरेको महेन्द्रले बताए ।
उनले प्रहरी उपरीक्षक दिनेश अमात्यले जमिन्दार सुरेश यादवको प्रभावमा आएर बारम्बार आफ्नो घरमा खान तलाशी लिएर आफ्ना दुवै छोराहरुलाई हैरान पार्ने काम गरेको आरोप लगाए । सुरेशले सार्वजनिक जग्गा हड्पेका थिए, जसका विरुद्ध गाउँलेहरुले अदालतमा मुद्दा दायर गरेका थिए । महेन्द्रका अनुसार जब सुरेश यादव मारिए, तब सरकारले उनको परिवारलाई ४० लाख रुपैयाँ दियो र उक्त परिवारले झगडाको जग्गामा पर्खाल बनाउनमा उक्त रकम खर्च गरयो । सुरेश यादवको हत्या पछि एक हवल्दारको नेतृत्वमा एक प्रहरी टोलीलाई सुरेश यादवको परिवारको सुरक्षाको लागि चौविसै घण्टा तैनाथ गरियो ।
प्रहरीहरुका साथै सुरेशका भाई नरेश यादवका छोरा कृष्ण यादवले सुरेश यादवको हत्यामा संलग्न रहेको आरोपित व्यक्तिका श्रीमतिहरुलाई दुरव्यहार गर्न थाले र धम्की दिन थाले । सुरेशका भाई, छोरा तथा भतिजाहरु प्रहरीलाई लिएर उनको हत्याको आरोप लगाइएको व्यक्तिको घरमा राति जाने र तोडफोड गर्ने कार्य गर्ने गर्दथे । उनीहरुले गाउँका महिलाहरुलाई ज्यानको धम्की दिने र उनीहरु विरुद्ध फौजदारी मुद्दा लगाउने धम्की पनि दिएका थिए । महेन्द्र यादवले आफ्ना छोरा हरेशिवलाई पक्राउ गरेर गोली हानिएको आशंका आफुलाई लागेको बताए । उनी भारतमा बसेको ठाउँबाट नै षड्यन्त्रपुर्वक जालमा पारेर छोरा हरेशिवलाई पक्राउ गरिएको बताए । हरेशिवको परिवारसँगको सम्पर्क विच्छेद भएको चौविस घण्टा भित्र उ मारियो । परिवारले हरेशिवलाई गिरफ्तार गरेर मारिएको आरोप लगाएको छ ।
हरेशिवकी पत्नी शैलदेवीले पतिको मृत्युपछि प्रहरीहरुले आफुलाई हैरान पारेको गुनासो गरिन । उनलाई प्रहरीले २०६८ चैत्र महिनामा पक्राउ गरेको थियो, र जब उनलाई छुटाउन उनका देवर गए, प्रहरीले उनलाई पनि पक्राउ गरयो । शैलदेवीले आफुलाई आफ्नो पतिको शव हेर्न नदिएको बाताइन । त्यसरात उनलाई पेट दुखिरहेको तर प्रहरीको डरले औषधि किन्न बाहिर औषधि पसल सम्म जान नसकेको बताईन । प्रहरीहरुले गाउँलेहरुलाई आतंकित बनाउन आफ्नो परिवार प्रति सहानुभुति देखाउने सँग अपराधिको मतियारको रुपमा व्यवहार गर्ने र त्यसको सजाय दिने धम्की दिएको कारण कोही पनि आफ्नो घरबाट बाहिर ननिस्केको कुरा पनि उनले उल्लेख गरिन । उनले सुरेश यादवका छोराले आफ्नो श्रीमानलाई मार्नका लागि २५ लाख रुपैयाँ खर्च गरेको सुनेको बताईन । विधवा बनाइएकी शैल देवीका तीन छोरी र एक छोरा छन् । उनीहरुको उमेर ४ देखि १६ वर्ष रहेको छ । हरेशिवको आमा संजोगिया देवी यादवका अनुसार जनकपुर अञ्चल अस्पतालका इन्चार्ज सुधिर यादवले मृतकलाई साउन ८ गते विहान २ बजे अस्पताल ल्याइएको बताए । उनको शरीरमा रहेको गोलीको घाउको विश्लेषण गरियो । हरेशिवको छातीको दायाँ साइडमा गोली लागेको थियो , जसबाट गोली अगाडिबाट हानिएको प्रष्ट हुन्थ्यो । उक्त गोली हरेशिवको शरीरको पछाडिबाट निस्केको थियो । गोली पिठ्युँको  दायाँ साइडमा १० इन्च माथिबाट निस्केको थियो । छातीको बायाँ साइडमा काँखी मुनि तीन वटा गोलीको घाउ लागेको थियो । (स्रोत ः थर्ड एलायन्सद्वारा सार्वजनिक गरिएको पुस्तक ‘तराईमा निरन्तर गैर न्यायिक हत्या)


२०७० चैत्र १६ गते आईतबार

No comments:

Post a Comment