Tuesday, April 1, 2014

९ सय ९६ विद्यार्थीहरुको भविष्य अन्धकारमा


प्रहरीको गोलीबाट घाइते भएका विद्यार्थीद्वय  सन्तोष यादव ।  ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

यस वर्ष सम्पन्न भएको एसएलसी परीक्षामा सहभागी भएका धनुषाका करिब १ हजार विद्यार्थीको भविष्य अन्धकारमा परेको छ ।
परीक्षा केन्द्र तोकिएको यदुकुहाको ‘क’ केन्द्रमा मावि धवौली, मावि सिमराढी र मावि महौलिया गरी ३ वटा विद्यालयहरुको ३ सय ७८ परिक्षार्थी, यदुकाहामै रहेको परीक्षाकेन्द्र ‘ख’ मा जनता इकाइ उच्च मावि यदुकुहा तथा टिलही मावि गरी दुई वटा विद्यालयहरुको ४ सय ३५ परीक्षार्थी र प्रगतिशिल मावि हथमुण्डा र मावि टेढामोड गरी दुई विद्यालयहरुको परीक्षा केन्द्र तोकिएको धवौलीमा १ सय ८३ परीक्षार्थी गरी कुल ९ सय ९६ विद्यार्थीहरुको परीक्षा रद्द भएपछि तिनीहरुको भविष्य अन्धकारमय भएको हो । तीनवटै परीक्षा केन्द्रमा समाजिक विषयको परीक्षा विथोलिएपछि परीक्षा नियन्त्रकले उक्त विषयको परीक्षा रद्द गरेको छ ।
पुर्वी धनुषाको धवौली स्थित एसएलसी परिक्षा केन्द्रमा प्रहरीले चलाएको गोली लागेर दुई जना परीक्षार्थी गम्भिर घाइते भएका छन् । परीक्षाकेन्द्रमा चलेको गोली लागेर छिमेकी गाँउ यदुकुहाका राधेशचन्द्र हाथी र बालाबाखरका सन्तोष यादव घाइते भएका छन् । उनीहरु दुवैजना एसएलसी परीक्षा दिन परीक्षा केन्द्रमा पुगे पनि अहिले जीवन र मृत्युको परीक्षाबाट गुज्रिन बाध्य भएका छन् ।
एसएलसी परीक्षाको परीक्षाफल आउन बाँकी नै रहेपनि परीक्षा अनुत्तिर्ण भईसकेका ती दुई विद्यार्थी अहिले जीवनको परीक्षाका लागि धरान अस्पतालमा संघर्षरत छन् । 
प्रहरीको गोलीबाट घाइते भएका विद्यार्थीद्वय राधेशचन्द्र हाथी  ।
यदुकुहा ‘क’ केन्द्रका परिक्षार्थी यादवको पाखुरा र यदुकुहा ‘ख’ का हाथीको तिघ्रामा गोली लागेको छ । उनीहरुको  जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लगिएकोे हो ।    
पुर्वी धनुषाको यदुकुहा गोठकुहा स्थित राष्टिूय निमाविमा विद्यार्थी(प्रहरीबीच भएको विवाद उग्र रुप लिएपछि तनाव सुरु भएको थियो । परीक्षा सुरु हुनु अगावै विद्यालयको मुलगेटमा चेकजाँचका लागि खटेका प्रहरीले एक परीक्षार्थीलाई कुटेपछि विवाद सुरु भएको थियो । कुटिएका र अन्य परीक्षार्थीहरुले प्रहरी विरुद्ध नारावाजी गर्न थालेपछि वाहिर रहेका अभिभावकहरुले पनि उक्त केन्द्रको परीक्षा विथोलेको केन्द्राध्यक्ष सुरेशकुमार मण्डलले बताए । मण्डलका अनुसार करिब साढे सातबजे नै प्रहरी(परीक्षार्थीबीच भएको विवाद उग्र रुप लिएपछि प्रश्नपत्र वितरण गर्न नपाउँदै सबै परीक्षार्थीहरु आफै बाहिर निस्केका थिए । 
त्यहाँबाट प्रहरी विरुद्ध प्रदर्शन गर्दै परीक्षार्थी तथा तिनका अभिभावकहरुको मिश्रित समुह यदुकुहा बजारमै रहेको जनता ईकाइ उच्च मावि ‘क’ परीक्षा केन्द्रमा  पुगी त्यहाँको पनि परीक्षा विथोल्यो । परीक्षा दिन कक्षामा बसिसकेका परीक्षार्थीहरुलाई कापी वितरण गरिसकेर प्रश्नपत्र बाँड्ने तयारी गरिरहेकै बेला आएको प्रदर्शकारीहरुले ढुंगामुढा गर्न थालेपछि परीक्षार्थीहरुमा भागाभाग मचेको सो केन्द्रका केन्द्राध्यक्ष प्रदीपकुमार साहले बताए । 
त्यसपछि दुवै परीक्षा केन्द्रका परिक्षार्थी तथा तिनका अभिभावकहरुको ठूलो हुल दुई किलोमिटरको दुरीमा रहेको धवौली केन्द्र तर्फ लागेको थियो । हातमा ढुंगा, ईंटा र दाउराको चिर्पट बोकेर प्रहरी विरुद्ध प्रदर्शन गर्दै गएका आक्रोसित विद्यार्थीहरुले धवौली माविमा सुचारु रहेको परीक्षा विथोल्न सफल भए । त्यहाँ सुरक्षामा खटेको एक प्रहरीका अनुसार प्रश्नपत्र वितरण गरिएको करिब आधा घण्टा नबित्दै प्रदर्शनकारी विद्यार्थीहरुको हुल मैदान घेरिएको पर्खाल माथि हाम फाल्दै  भित्र छिरे ।  प्रदर्शनकारीहरुले विद्यालयको झ्याल ढोका, विद्यालय कार्यालय भित्रका बेन्च, टेवल फोड्न थाले । त्यसपछि शान्तिपुर्ण लेखिरहेका परीक्षार्थीहरु पनि डरले कापी(प्रश्नपत्र त्यसै छाडेर भागेको प्रहरीको भनाई छ ।  
धनुषाका प्रहरी निरीक्षक मछिन्द्र केसीका अनुसार मानविय तथा धनजनको क्षती रोक्ने उद्देश्यले  प्रदर्शनकारीको भिडलाई तितरवितर पार्न प्रहरीले १४ राउन्ड हवाइफायर समेत ग¥यो । प्रदर्शनकारीले गरेको ढुंगामुढा तथा ईटाको प्रहार बाट महिला प्रहरी जवानद्वय शशिकला मैनाली र तारा विष्ट घाइते भईन । 
प्रहरीका अनुसार घटनामा ज ४ प ७१९७, ज ६ प २८६०, ज ४ प ५७८४, ज ६ प २०१७, ज ३ प ८२१७, ज ५ प ९७२७, ज ५ प ९६७०, ज ६ प ३५७१, ज २ प ८६९२, ज ५ प ६१३३, ज ५ प ४७३७, ज ३ प ५९९१ र बा १० प २०६४ लगायत करिब तीन दर्जन मोटरसाइकल र पाँच दर्जन भन्दा बढी साइकल तोडफोड गरेको थियो ।
परीक्षाकेन्द्रको सुरक्षामा खटेका टोली कमाण्डर सई प्रभुराम बुढाथोकीका अनुसार केही अभिभावक समेत प्रदर्शनकारीको संख्या झन्डै पाँच सय भन्दा बढी थियो । अधिकांशको हातमा ली र ढुङ्गा अनि ईंटा थियो । उनले भने, ‘हामीलाई आफ्नै ज्यान जोगाउन मुस्किल थियो ।’ बाध्यात्मक परिस्थतीमा गोली चलाउन परेको उनको जिकिर छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक गोविन्द पुरी भन्छन,“ यदुकुहामा हामीले गोली चलाएको भए हाम्रो गल्ती हुने थियो तर यदुुकुहाका दुवै केन्द्रका परीक्षार्थीहरुले परीक्षा विथोलेर  स्थानियवासीहरु समेतको भिडले धबौली केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीहरुको परीक्षा विथोल्न थालेपछि गोली चलाउन हामी बाध्य भयौं । धबौलीका विद्यार्थीहरुको सुरक्षा प्रदान गर्न हामी टुलुटुलु हेरेर बस्नु पनि सक्दैनथ्यौं ।”
घटनाको चौतर्फी विरोध
एसएलसी परीक्षाका दौरान धनुषाको उक्त तीन वटा केन्द्रमा भएको विवाद, प्रहरीद्वारा गोली प्रहार, गोली लागि विद्यार्थी घाइते हुनु तथा परीक्षा नै रद्द भएको प्रसंगमा धनुषाका शिक्षक व्यानरका सम्पुर्ण संघ संगठनहरु तथा जिल्लाका अधिकांश राजनीतिक दलहरुले प्रेस विज्ञप्ति जारी गरी घटनाको भत्र्सना र निन्दा गरेका छन् । घटनाको छानविन गरी विद्यार्थीहरुको भविष्यसँग खेलवाड गर्ने व्यक्तिलाई कारवाही गर्नुपर्ने, परीक्षाबाट वञ्चित भएका विद्यार्थीहरुको पुनः परीक्षा लिनुपर्ने, घाईते भएका परिक्षार्थीको परिक्षा र भविष्यको ग्यारेन्टी, यदुकुहा इलाका प्रहरी इन्चार्ज र सशस्त्र प्रहरीका इन्स्पेक्टरलाई निलम्बन गरी कारवाही, घाइतेहरुको उपचार व्यवस्था, विद्यार्थीहरुको परीक्षा व्यवस्थापनको ग्यारेन्टी र झडपमा तोडफोड भएको धनजनको क्षतिपुर्ती माग गरेका छन् ।
छानविन गर्न समिति
परीक्षा विथोलिएपछि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको नेतृत्वमा तत्काल घटनास्थलमै बैठक बसेको थियो । मैनालीसँगै जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डल, जिल्ला प्रहरी प्रमुख  उत्तमराज सुवेदी, सशस्त्र सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक सुवर्ण थापा मगर, तीनवटै परीक्षा केन्द्रका केन्द्राध्यक्ष तथा ती केन्द्रहरुमा परेका विद्यालयका प्रधानाध्यापकहरुबीच बसेको बैठकले उक्त घटनाको छानविन गर्नको लागि सहायक जिल्ला अधिकारी मिहीलाल यादवको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालयका एक एक जना प्रतिनिधि, तीन जना स्थानीयवासी सम्मिलित नौ सदस्यीय छानविन समिति गठन गरेको थियो । उक्त समितिले र जिल्ला परीक्षा समन्वय समितिले समेत सामाजिक विषयको परीक्षा लिन परीक्षा नियन्त्रण कार्यालयलाई सिफारिस गरिसकेको धनुषाको प्रमुख जिल्ला अधिकारी एवम परीक्षा समन्वय समितिका अध्यक्ष हरिप्रसाद मैनालीले बताए । घाइते दुवै जनाको उपचार राज्यले गर्ने प्रजिअ मैनालीले बताए ।

एसएलसी परीक्षाका अनुत्तरित सबालहरु

धनुषामा एसएलसी परीक्षाको अहिलेसम्मकै इतिहास हेर्दा विगतका कुनै वर्षमा कुनै पनि परीक्षा केन्द्रको परीक्षा रद्द भएको छैन । तर, यस वर्ष धनुषाका तीन वटा परीक्षा केन्द्रका सामाजिक विषयको परीक्षा रद्द हुनुका साथै करिब १ हजार विद्यार्थीको भविष्य नै अन्धयारोमा परेको छ । परीक्षामा विद्यार्थी र प्रहरी बीचको झडप,गोली काण्ड र त्यसपछि उत्पन्न परिस्थितिले थुप्रै सबालहरु सिर्जना गरेको छ ।
पहिलो कुरा धनुषाका प्रायः जसो परीक्षा केन्द्रहरुमा परीक्षा दिन जाने छात्र छात्राहरुको परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि प्रहरीले मुलद्वारमा खान तलासी गरेको देखियो । विद्यार्थीहरुलाई लाइन लगाएर प्रहरीले खान तलासी गर्नु के उपयूक्त हो ? त्यसमा पनि कोच्चिएको दुई वटा छुट्टा छुट्टै लाइनमा छात्रलाई पुरुष प्रहरीले र छात्रालाई महिला प्रहरीले शरीरको चेक जाँच गर्ने क्रममा सरेयाम तीनका इज्जत र अस्मिताको ख्याल नै  नगरी सम्बेदनशील अंगहरुमा चेक जाँच बाहिर रहेका भिडका सामु गरिनु के न्यायोचित हो ? चेक जाँच गर्नै परे छुट्टा छुट्टै कोठामा लगेर चेक जाँच गरिनुपर्ने होइन ? चेक जाँच गर्ने जिम्मेवारी प्रहरीको हो कि परीक्षामा खट्ने निरीक्षकको हो ?
हतियार सहित प्रहरीहरु परीक्षा केन्द्रको हाताभित्र मात्र होइन परीक्षा दिइरहेको कक्षा कोठामा समेत प्रहरीहरुको प्रवेश सहजै देखियो । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको छ । विद्यार्थीले जाँच दिन पाउने प्रवेश पत्रमै प्रवेश पत्र र कलम बाहेक केही पनि भित्र लैजान नपाउने प्रष्ट लेखिएको हुन्छ । यस्तो अवस्थामा परीक्षा आचारसंहिता विपरित हतियार सहित प्रहरी प्रशासनको कक्षा कोठामा प्रवेश दिइनु के उचित हो ?
जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत कुल ५ वटा अनुगमन टोलीले जिल्लाको परीक्षा अनुगमन गर्ने जिम्मेवारी पाएको थियो । एउटा अनुगमन टोली जाँदा एउटा कक्षा कोठामा चेक जाँच गर्ने क्रममा कम्तिमा ५ मिनेटको समय खेर जाने गर्छ र, ५ वटा अनुगमन टोली एकै दिन एउटा परीक्षा केन्द्रमा पुग्दा एउटा विद्यार्थीको कम्तिमा पनि २५ मिनेटको समय चेक जाँचको नाउँमा खेर जान्छ र विद्यार्थी खेर गएको समयका कारण फेल हुन सक्ने सम्भावना पनि रहन्छ । एक पटक एउटा टोलीले अनुगमन गरेर गएपनि पुनः पुनः अर्को टोलीले अनुगमन गर्नु उपयूक्त हो वा होइन ?
अनुगमन टोलीले चेक जाँच गर्र्दा महिला प्रहरी, पुरुष प्रहरी, महिला निरीक्षक र पुरुष निरीक्षकबाट छात्र र छात्रालाइ जाँच गर्दा तिनीहरुको विद्यार्थीहरुका सामुने एक एक गरी शरीरको खान तलासी गराइन्छ । के यो उपयूक्त तरिका हो ?
अनुगमन नै गर्नुछ भने राज्यले प्रविधिको प्रयोग गर्न मुनासिव हुँदैन ? अर्को कुरा धनुषामा करिब १ हजार विद्यार्थीको भविष्य अहिले अन्धयारोमा परेको छ । यसको जिम्मेवारी कसले लिने ? 
नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष मेघनाथ यादव भन्छन,“ उक्त घटनाको जिम्मेवारी प्रहरी प्रशासनले लिनुपर्दछ । हतियार लिएर कक्षा कोठा भित्र जानु आचार संहिता विपरित हो । विद्यार्थीमाथि गोली चलाउनु निन्दनिय कार्य हो ।” दुई जना विद्यार्थी र प्रहरी बीच यदि विवाद नै भएको थियो भने प्रहरीले संयमता अपनाएको भए यति विवाद नै हुने थिएन । तर प्रहरीले यदुकुहा मै साम्यपार्नु पर्ने विवाद धबौली सम्म पु¥याए । धबौलीमा जाँच दिइरहेका विद्यार्थीको के दोष भन्दै यादवले प्रश्न उठाउँदै धबौलीका विद्यार्थीका भविष्य किन अन्धकारमय बनाइयो ?

भएन परीक्षा ‘मर्यादित’
एसएलसी परीक्षा सकिएको छ । विगतका वर्षहरु झै यस वर्ष पनि धनुषामा एसएलसी परीक्षामा चिट चोर्ने कार्य देखिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार तराईका ८ जिल्लाहरु सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा प्रत्येक दिन जसो निरीक्षकहरु निष्काशित भए । मर्यादा विपरित गतिविधि गर्ने एक केन्द्राध्यक्ष, ९४ निरीक्षक र ३ सय ९४ विद्यार्थी निष्काशित निकालिए । परीक्षा नियन्त्रक विष्णु बहादुर दवारेका अनुसार बारामा सबैभन्दा वढी ४३ जना निरीक्षक निष्काशित भए । त्यहाँ एकै दिन १२ जनासम्म निरीक्षक निकालिए । रौतहटमा १ सय २ जना विद्यार्थी निष्काशित भए । त्यहाँ एकै दिनमा ३२ जनासम्म विद्यार्थी निकालिए । 
धनुषामा यस वर्ष ६५ वटा संस्थागत, ८१ वटा सामुदायिक, एउटा गुठ्ठी र एउटा खुल्ला गरी कुल १ सय ४८ विद्यालयका  १२ हजार ३ सय ४७ विद्यार्थीहरुले जिल्लाका ३७ वटा परीक्षा केन्द्रहरुमा परीक्षा दिएका थिए । जिल्ला शिक्षा कार्यालय धनुषाका परीक्षा फाँट प्रमुख रामवृक्ष महत्तोका अनुसार यदुकुहाका दुई र धबौलीका एक गरी तीन वटा परीक्षा केन्द्रमा सामाजिक विषयको परीक्षा रद्द गरिनुका साथै धबौली केन्द्रबाट सुरक्षा निकायबाट गएका अनुगमन टोलीले २ जना विद्यार्थीलाई निष्काशित गरे । त्यसैगरी केही निरीक्षकहरु समेत निष्काशित गरिनुका साथै जिल्ला प्रशासन कार्यालय धनुषाबाट धरौटीमा रिहा भएको महत्तोले बताए । धनुषामा यस वर्ष निजी तथा संस्थागत विद्यालयका प्रअ केन्द्राध्यक्ष हुन पाएनन् ।

२०७० चैत्र १६ गते आईतबार

No comments:

Post a Comment