Tuesday, April 1, 2014

फुलधारी मुखियाको भिडन्तमा मृत्यु सम्बन्धी प्रतिवेदन

फुलधारी मुखियाको मृत्यु पश्चात किरियामा
बसेका मृतक मुखियका छोरा सुरेश मुखिया ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मृतकका परिवार तथा गाउँलेहरुका अनुसार ६ सन्तानका बाबु फुलधारी गरिब परिवारका मानिस थिए । सम्पतिको नाममा उनको चारधुर जग्गामा रहेको एउटा फुसको झ्रुप्रोमात्र रहेको थियो । धनुषा मुखियापट्टी २ वस्ने उनको जेठो छोरा दिल्लीमा काम गर्दथे । उनकी श्रीमतीको आठ वर्षअघि नै मृत्यु भएको थियो । फुलधारी आफ्नो परिवारको रोजीरोटीका लागी एउटा इटाभट्टामा काम गर्दथे । 
फुलधारीका छिमेकीहरुले विजया दशमीको नवरात्रीको बेलामा उनले व्रत लिएको बताए । सोहीक्रममा नवरात्रीको आठौ दिन २०६८÷६÷१६ का दिन उनी नजिकैको जमुनी नदीमा नुहाउन गएका थिए । नुहाएर घर फर्किनेक्रममा विहान करीब ४ बजे उनलाई असई जयनारायण यादव नेतृत्वको प्रहरीको एउटा टिमले रोक्यो । प्रहरीले उनलाई लुटेरा भएको आरोप लगाउँदै उनको पैतालाको नाप लिन थाले (ताकि उनले अपराध गरेको खण्डमा उनको संलग्नता निर्धारण गर्न सकिन्थ्यो) । गाउँलेहरुका अनुसार प्रहरीले उनीसँग एक हजार रुपियाँ मागे र नदिएको खण्डमा जेल पठाइदिने धम्की दिए । त्यसपछि प्रहरीहरुले फुलधारीको बारेमा गाउँलेहरुसँग सोधपुछ गरेपछि उनलाई छाडिदिए । फुलधारीलाई मटिहानी बजारमा प्रदर्शन भैरहेको अर्केस्ट्रा हेर्ने त्यतातर्फ गइरहेको बेला मुसहरनिया प्रहरी प्रहरीले २०६८ असोज १९ गते दोस्रोपल्ट पक्राउ गरेका थिए । गाउँलेहरुले फुलधारी प्रहरी पोष्ट नजिकबाट मटिहानी बजारतर्फ गैरहेको बेला प्रहरीले उनलाई राति १०ः३० बजे गिरफ्तार गरेको बताए । स्थानिय व्यक्तिहरुले मुसहरनिया प्रहरी पोष्टका प्रहरी जवान उपेन्द्र यादवलाई केही युवकहरुले त्यस राति  कुटपीट गरेको गाउँलेहरुले उपेन्द्र यादवले फुलधारीलाई आफुलाई आक्रमण गर्ने व्यक्तिहरुमध्ये रहेको कारणले पक्राउ गरेको जानकारी दिए ।
त्यस रातको घटनाबारे स्थानीय बासिन्दाहरुले परस्परविरोधी वयान दिए । कतिपय स्थानीय व्यक्तिहरुले प्रहरी जवान उपेन्द्रले फुलधारीलाई त्यस रात जिप्रका लगिरहेको बेलामा १२ः३० बजे ढाका बरदाह चौरमा लगेर गोली हानी हत्या गरेको आरोप लगाए । कतिपय व्यक्तिहरुले प्रहरी जवान उपेन्द्र यादवलाई मोटर साइकलमा आएका दुईजनाले कुनै महिलासँग अवैध सम्बन्ध रहेको आरोपमा छुरा हानेको र फुलधारी त्यसबेला त्यो बाटोबाट गैरहेको कारण आक्रमणकारी उ पनि हो भन्ने आशंकामा प्रहरीबाट गिरफ्तार भएको बताए । एक स्थानिय व्यक्तिले त्यस रात एक प्रहरी जवान घाइते भएको र त्यसपछि आफु घटनाबारे बुझ्नका लागि प्रहरी चौकी गएको बताए ।उनले प्रहरी जवान उपेन्द्रलाई अस्पताल लगिरहेका असईसँग कुरा गरे । उनले फुलधारी मुखियालाई भुईमा लडाइएको, उनी गोप्टो परेको र उनको हात पछाडिपट्टीबाट बाँधिएको आफुले देखेको बताए । ती प्रत्यक्षदर्शीले त्यसको १५ मिनेटपछि नजिकको तुलसियाही प्रहरी कार्यलयका एक असई आएर फुलधारीलाई मोटर साइकलमा राखेर त्यस प्रहरी चौकीबाट लिएर गएको देखेको बताए ।
प्रत्यक्षदर्शीले असई जयनारायण यादवलाई समेत मटिहानी बजार हुँदै मोटरसाइकलमा गएको देखेको बताए । प्रत्यक्षदर्शी अनुसार त्यसबेला त्यस बजारमा दशै मनाउने क्रममा लोकनृत्य भैरहेको थियो । प्रत्यक्षदर्शीले त्यसबेला असई यादवको लुगामा पुरै रगत लागेको देखेको र त्यो रगत कसरी लाग्यो भनेर सोध्दा उनले मुसहरनियाका महाराजजी भनेर बोलाइने फुलधारीले प्रहरी जवान उपेन्द्रलाई छुरा हानेको बताए । ती प्रत्यक्षदर्शी असई यादवसँग तुलसीयाही गाविसमा रहेको विन्धी पुलतर्फ गएको बताए । जब ती प्रत्यक्षदर्शी बिन्घी पुलमा पुगे, त्यसबेला उनले ८(१० जना प्रहरीहरुलाई भेला भएको देखे । असई यादवले आफ्नो प्रहरी साथीहरुलाई महाराजजी कहाँ छन् भनेर सोधे । अनि एक जना प्रहरीले फुलधारीको अनुहार असई यादवलाई देखाए । त्यसपछि ती प्रत्यक्षदर्शीले त्यो व्यक्ति उनको गाउँको फुलधारी मुखिया रहेको बताए । फुलधारीले ती प्रत्यक्षदर्शीसँग पानी खान मागे । प्रत्यक्षदर्शीले उनलाई पानी दिनुअघि नै प्रहरीले उनलाई त्यहाँबाट लगिसकेको बताए ।
तर प्रहरीले दिएको जानकारी गाउँलेहरुको भनाईसँग मेल खाँदैन । असई यादवले त्यस रात फुलधारीले पहिले उपेन्द्रलाई आफ्नो गाउँमा डकैती भैरहेको र त्यहाँ प्रहरी जान अत्यन्त जरुरी रहेको भनेपछि उपेन्द्रले असईलाई जानकारी गराउन गएका थिए । त्यहीबेला जब उपेन्द्र सेन्टूीमा फर्किरहेका थिए, त्यसबेला फुलधारीले उपेन्द्रलाई छुरा हानेको असई यादवले गम्भीर घाइते भए । त्यसपछि असई यादवले उपेन्द्रलाई मोटरसाइकलमा राखेर अस्पताल लान लगेको तर जिप्रकाले गाडी पठाएको हुँदा पछि उनले उपेन्द्रलाई सोही गाडीमा राखेको बताए । 
असई यादवले उपेन्द्रलाई प्रहरीको गाडीमा राखेपछि उनले फुलधारीलाई तुलसीयाही प्रहरी पोष्टमा लिएर गएको र त्यहाँबाट उनी र प्रहरी जवान राम दिनेश यादवले फुलधारीलाई जनकपुर अञ्चल अस्पताल लगिरहँदा बाटोमा मोटर साइकल भाँचिएको थियो । असई यादवका अनुसार मोटर साइकल भाँचिएपछि फुलधारी भाग्न थालेको र आफुले उनलाई नभाग्न आदेश दिएको त्यो आदेश नमानेपछि घँुडामुनि गोली चलाएको बताए । २०६८ असोज २० का दिन धनुषाका एफएम रेडियोहरुले प्रहरीहरुसँगको भिडन्तमा फुलधारी मुखिया मारिएको समाचार प्रसारण प्रकाशन गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार फुलधारीको बायाँ आँखाको नानी बाहिर निस्किएको थियो र त्यसबाट रगत निस्किएको थियो । पीडितको खुट्टामा जहाँ गोली लागेको थियो, त्यहाँको छाला आगोले पोलेको हो कि जस्तो देखिन्थ्यो ।
राज्यको जवाफ
प्रहरी उपरीक्षक हरिबहादुर पालले उक्त घटनामा कुनै प्रहरी दोषी पाइएमा तिनीहरुका विरुद्ध कारवाही गरिने पनि बताए । अञ्चल प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षकले उक्त घटनामा कसैले कानुनको उल्लंघन गरेको प्रमाणित भए उनलाई संरक्षण नगरिने बताए । तर पनि उनले उक्त घटनामा असई यादव विरुद्ध कारवाही गर्नका लागि प्रमाणको अभाव रहेको बताए ।
यस घटनामा संलग्न रहेको भनी आरोप लागेका पाँचैजना प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा सरुवा गरिएको थियो । जिप्रकाले त्यस घटनाको छानविन गर्नका लागि प्रहरी नायव उपरीक्षक टेक बहादुर गुरुङको नेतृत्वमा एक तीन सदस्यीय टोली गठन गरेको थियो । तर त्यसको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
राष्टिूय मानव अधिकार आयोग, जनकपुरले २०६९ जेठ १ गते असई यादव विरुद्ध मुलुकी ऐनको कर्तव्य ज्यान अध्यायअन्तरगत मुद्दा चलाउन र प्रहरी जवानहरु उपेन्द्र तथा राम दिनेश विरुद्ध विभागिय कारवाही अगाडि बढाउन सिफारिस गरेको थियो । तर सम्बन्धित निकायहरुले उनीहरु विरुद्ध कुनै कारवाही गरेको छैन । राष्टिूय मानव अधिकार आयोगले अनुसन्धानमा सहयोग नगरेका कारण प्रहरी नायव उपरीक्षक गुरुङलाई पनि विभागिय कारवाही गर्न सिफारिस गरेको थियो । त्यसैगरी प्रहरी जवान साफीलाई चेतावनी पत्र दिइनुपर्ने सिफारिस पनि  राष्टिूय मानव अधिकार आयोगले गरेको थियो । यो आयोगले पीडितको परिवारलाई क्षतिपुर्तिस्वरुप तीन लाख रुपैयाँ उपलब्ध गराउन पनि भनेको थियो ।
विश्लेषण
संकलित तथ्यहरुको सुक्ष्म विश्लेषण गर्दा घाइते रहेका फुलधारीले प्रहरीको पञ्जाबाट उम्किने प्रयास गर्ने कुरा त्यसै पनि कल्पनाबाहिर छ र यदि उनले भाग्ने प्रयास नै गरेको भए पनि उनका साथमा रहेका दुई प्रहरी अधिकारीले उनलाई सजिलै पक्राउ गर्ने अवस्था पनि रहेको थियो । प्रहरीले भनेजस्तै यदि फुलधारी त्यस रात उनीहरुको कब्जाबाट भागेका थिए, र यदि प्रहरीले गोली हान्नुपर्ने अवस्था आएको थियो भने, प्रहरीले हानेको गोली फुलधारीको खुट्टाको पछाडिको भागमा लाग्नुपथ्यो तर वास्तवमा फुलधारीको खुट्टाको अगाडिको भागमा गोली लागेको छ । मुसहरनिया प्रहरी पोष्टका प्रहरी कर्मचारीको ठाउँमा जिल्ला प्रहरी कार्यालयले नयाँ प्रहरी पठाउनुले पनि मुसहरनिया प्रहरी पोष्टका कर्मचारीले गल्ती गरेको कुरा इंगित गर्दछ ।
(स्रोत ः थर्ड एलायन्सद्वारा सार्वजनिक गरिएको पुस्तक ‘तराईमा निरन्तर गैर न्यायिक हत्या)


२०७० चैत्र १६ गते आईतबार

1 comment:

  1. ghatana ko sahi chhanbinn hoss ra doshi lai sasakt karbahi hoss

    ReplyDelete