Tuesday, September 17, 2013

शिक्षा कार्यालयमा काज फिर्ताले ल्याएको भुइँचालो



अजय अनुरागी
जनकपुरधाम............
काज सरुवा गराई शिक्षा कार्यालय धनुषामा वर्षौ देखि डेरा जमाएका ४ जना शिक्षकहरुलाई धनुषाका शिक्षा अधिकारी उपेन्द्र मण्डलले अन्ततः काज फिर्ता गरेका छन । माओवादीको सशस्त्र द्वन्दकालमा असुरक्षित भई ज्यान रक्षाका निम्ति भन्दै मा.वि. कुवा रामपुर जनकपुरका निमावि शिक्षक इन्द्रदेव ठाकुर, राप्रवि सिसमपुरका प्रधानाध्यापक वुधन साह र जानकी मावि जनकपुरका प्रावि तहका अस्थायी शिक्षक राजेश चौधरी वर्षौ देखि शिक्षा कार्यालयमा कर्मचारी सरह कार्य गर्दै आएका थिए । इन्द्रदेव करिव ४ वर्ष देखि परीक्षा फाँटमा, चन्द्रलाल र वुधन करिव ८ वर्ष देखि लेखाफाँटमा लेखापालको सहयोगीको रुपमा र राजेश विद्यालय भवन निर्माणको निरीक्षण कार्यमा करिव ४ वर्ष देखि कार्य गर्दै  आएका थिए ।
शिक्षा विभाग विद्यालय व्यवस्थापन शाखा प्राथमिक तह सानो ठिमी भक्तपुर चलानी नं. ३०५/०६८/१२/२९ को प्राप्त पत्रबाट जिल्ला शिक्षा कार्यालयमा काजमा रहेका शिक्षकहरुलाई विद्यालयमा काज फिर्ता गर्ने भनि लेखि आएको निर्देशन तथा सो बारे शिक्षा विभाग सानो ठिमी भक्तपुरबाट आयोजित जिशिअ गोष्ठिमा समेत निर्देशन भए बमोजिम तपाईलाई हाल काजमा रहेको जिशिका धनुषाबाट साविक देखि काजमा रहेको विद्यालयमा २०७०/०५/१८ देखि अध्ययन अध्यापन सम्बन्धि काम काज गर्न काज फिर्ता गरिएको भनि जिशिअ उपेन्द्र मण्डलद्धारा हस्ताक्षरित पत्र १७ भाद्रमा चारै जना शिक्षकको नाउमा काटिएको थियो । जिशिकाका कार्यालय सहयोगी शम्भुनाथ झा का बुझाउन जाँदा इन्द्रदेव ठाकुरले मात्र बुझेका छन । झा भन्छन,“ ठाकुरले त सहजताका साथ काज फिर्ताको पत्र बुझे तर बाँकी तीन जनाले पत्र बुझेनन, यद्यपि मैले त्यो पत्र बोदार्थ गर्न भनिएको माथिल्लो निकायहरु क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौडा, जिल्ला प्रशासन कार्यालय धनुषा, शिक्षा विभागमा पठाइसकेको छु ।” बाँकी तीनजना शिक्षकले उक्त पत्र बुझ्न अटेरी गरेको भए पनि फाँटवालाले उनीहरुलाई फाँटमा काम नगराउने भनेर निर्देशन समेत जिशिअ मण्डलले दिइसकेका छन ।
जिशिअलाई शिक्षक प्रतिनिधिद्धारा धम्की
 शिक्षा कार्यालयमा वर्षौदेखि कार्यरत शिक्षकहरुलाई सम्बन्धित विद्यालय काज फिर्ता गर्न शिक्षा विभागद्धारा पटक पटक निर्देशन दिइए पनि यस अघिका जिशिअहरुले उक्त कार्यलाई प्राथमिकतामा लिएको थिएन । तर धनुषा जिल्लावासी समेत रहेका जिशिअ मण्डलले उक्त कार्यका लागि पत्राचार गर्दा नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष मेघनाथ यादवले काम फिर्ता नगर्न, गरे सरुवा समेत गराईदिने भनेर धम्की दिएको जिशिअ मण्डलले एउटा सार्वजनिक कार्यक्रममा बताए पछि शिक्षा कार्यालयले जुन सुकै निर्णय गर्दा शिक्षक प्रतिनिधिहरु कति सम्म हावी हुन्छन, पुष्टि गरेको छ । यसै सम्बन्धमा द एक्सक्लुसिभले मेघनाथ यादवसँग जिशिअलाई तपाईले किन धम्की दिनु भएको हो भनेर सोध्दा यादव भन्छन,“ मैले जिशिअलाई धम्की दिएको होइन । निर्वाचन आचारसंहिता लागु भएको बेला काम फिर्ता गर्न उपयूक्त नहुने, काम फिर्ता गर्ने परे अन्य शिक्षकहरुको पनि काम फिर्ता गर्नु पर्ने, एकातर्फ केही शिक्षकलाई शिक्षा कार्यालयबाट काम फिर्ता गर्ने र अर्को तर्फ केही शिक्षकलाई राख्ने दोहोरो रणनीतिको मात्र विरोध गरेको हो ।” यादवले जे जस्तो सफाई पेश गरे पनि खास गरी शिक्षक संघ संगठन सँग आवद्ध रहेका र शिक्षा कार्यालयको लेखा फाँटमा काम गर्दै आएका चन्द्रलाल यादव र बुधन साह खास गरी ती संघ, संगठनका लागि गुप्तचरीको काम गर्दै आएको, शिक्षा कार्यालयका गोप्य सूचनाहरु लिक गर्दै आएकोले संघ संगठनहरुले काज फिर्ताको विरोध गरेको शिक्षा कार्यालयका एक जना कर्मचारीले बताएका थिए ।
अन्य शिक्षकहरुको काज फिर्ता कहिले ?
जिशिअ मण्डलले शिक्षा कार्यालयमा कार्यरत रहेका शिक्षकहरुको काज फिर्ता नगर्नु सकारात्मक भए पनि जिल्लामा वर्षौ देखि अन्य विद्यालय कार्यरतलाई काज फिर्ता कहिले गर्ने भन्ने प्रश्न उठेको छ । 
जिशिका धनुषाका अनुसार २०७० अषाढ मसान्त भित्र सामुदायिक तर्फ उच्च मावि सहित ४ सय ५१ माविका लागि राहत, पिसिएफ कोटा वाहेक १ हजार ८ सय ४ जना शिक्षक शिक्षिकाहरुको दरबन्दी स्वीकृत गरिएको छ । मावि र निमावि तर्फ प्रशासन फाँट तर्फ ९३ जना शिक्षकहरु एउटा विद्यालयबाट तलब भत्ता खाने तर अर्को विद्यालयमा काम गर्ने गरेका छन । कतिपय शिक्षकहरु स्रोत केन्द्रमा काम सरुवा गराई कुनै कामै नगरी तलब भत्ता खाँदै आएका छन । 
जनकपुर स्रोत केन्द्रमा मावि वसहियाका प्रावि शिक्षिका चन्द्रकलादेवी ठाकुर, ढल्केवरमा दरवन्दी रहेको प्रावि शिक्षिका कुमारी गिता साह र महुवा खेस्राहाका प्रावि शिक्षक मोहन पासवान काज सरुवा गराई कार्यरत छन । जनकपुर स्रोत केन्द्रका कार्यरत ती शिक्षक÷शिक्षिकाहरुको स्रोत केन्द्रलाई कुनै आवश्यकता नै छैन । समस्याग्रस्त ती शिक्षकहरुलाई शिक्षा कार्यालयले विना काम तलब भत्ता खुवाउन जवरजस्ती बोझको रुपमा थोपारेपछि आफुले राख्नु परेको हो ।”
त्यसै गरी वेल्ही स्रोत केन्द्रका स्रोत व्यक्ति किरण कुमार गौतम भन्छन,“ ६ महिना अघि प्रावि वधचौडा खत्वेटोलका प्रावि शिक्षक कामेश्वर यादव काज सरुवाका लागि चिठी लेखेर आएका थिए, तर मैले हाजिर गराइनँ ।” माथिका दुई स्रोत केन्द्रलाई उदाहरण स्वरुप पनि हेर्ने हो भने कतिपय शिक्षकहरु स्रोत केन्द्रमा काज सरुवा गराई कामै नगरी तलब भत्ता खाने गरेको कुरा पुष्टि हुन्छ । धनुषामा कुल कति जना शिक्षकहरु काज सरुवामा खटेका छन भन्ने सवालमा धनुषाका निम्ति जिशिअ शशि कुमार यादव पनि जवाफ दिन समर्थ छैनन । यसले पनि यो कति जकडिएको समस्या हो सहजै बुझ्न सकिन्छ ।
दरवन्दी मिलान आवश्यक
धनुषामा कुनै विद्यालयमा एउटै तहको एकै विषयका चार जना भन्दा वढी शिक्षकहरु छन भने अर्को तर्फ कतिपय विद्यालयहरुमा विषयगत शिक्षक नै छैनन । घरभन्दा पायक पर्ने विद्यालयमा काज सरुवा गराउने शिक्षकमा प्रवृति वढदै गएपछि उक्त समस्या देखिएको हो । एक जना मावि का अवकाश प्राप्त प्रधानाध्यापक भन्छन,“ जिल्लामा दरवन्दी मिलान नहुनु घोर निराशाको कुरा हो, कुन विद्यालयमा कुन शिक्षक चाहिन्छ, कुन विषयको शिक्षक फाजिल छ भन्ने कुरालाई शिक्षा कार्यालयले कहिल्यै महत्व नै दिएनन । शिक्षा अधिकारीले जिल्लामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अविलम्ब दरवन्दी मिलान र काज सरुवामा रहेका शिक्षकहरुको काज फिर्ता गर्नु पर्दछ ।” निम्ति शिक्षा अधिकारी शशि कुमार यादव भन्छन,“ काजमा शिक्षकहरु खटेपछि सम्बन्धित विद्यालयमा शिक्षकको अभाव हुनु यथार्थ कुरा हो । नेपाल सरकारको दरबन्दी जुन विद्यालयमा तोकिएको हुन्छ त्यही अनुसार शिक्षक खटाइन्छ र शिक्षकहरु काज आयेपछि पठनपाठनमा अवरोध त हुन्छ नै ।”

१० झोले विद्यालयको नाउँ खुलासा



जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु नै धनुषामा झोले विद्यालय सञ्चालन गर्दै आएको रहस्य सार्बजनिक भएको छ । स–साना बालबालिकाहरुलाई कखरा पढाई शिक्षाको बाटोमा डो¥याउने नाममा लामो समयदेखि सरकारी अनुदान र सेबा सुविधा लिदै आएका त्यस्ता विद्यालयमाथि अहिले सम्म जिल्ला शिक्षा समिति र स्थानीय प्रशासनले कुनै कारबारी गरेको छैन । 
धनुषाका जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलको भान्से तथा कार्यालय सहयोगी बिल्टु मण्डलले बिद्यालय नै सञ्चालन नगरि दुई वटा बिद्यालयको नाममा सेबा सुबिधा लिदै आएको खुलासा भएको छ । जनकपुरमा नगरपालिका बडा नम्बर–४ स्थित जानकी गुरुकुल बिद्यालय र वडा नम्बर –१२ स्थित रामजानकी गुरुकुल विद्यालयले २०६५ सालमा स्वीकृत प्राप्त गरे  पनि अहिले सम्म कुनै प्रकारको शैक्षिक गतिविधि सञ्चालन गरेको छैन ।  
एक सय एक गाविस र एउटा नगरपालिका रहेको धनुषामा शिक्षा कार्यालयका कर्मचारीले अतिरिक्त आम्दानी लिएर कुनै किसिमको भौतिक पूर्वाधार र शैक्षिक गतिविधि सञ्चालन नगरेका डेढ दर्जन भन्दा अधिक  विद्यालयहरुलाई अनुमति दिएको अनुमान छ  । शैक्षिक गतिविधि सञ्चालन नै नगरी लामो समयदेखि ती विद्यालयका शिक्षकले सरकारी धनराशि कुमल्याउदै आएका छन् । त्यस्ता विद्यालयका शिक्षकमाथि अहिलेसम्म कुनै  कारबाही भएको छैन । 
धनुषाका निमित्त शिक्षा अधिकारी शशि यादव भन्छन,“ जिल्लामा भोले विद्यालयहरु संचालनमा रहेको भनेर जनगुनासो हामी कहाँ पनि आएको छ । जिल्ला भरीका स्रोत केन्द्रहरुका स्रोत व्यक्तिहरुलाई झोले विद्यालयको अनुगमनका लागि खटाइसकिएको छ । स्रोत व्यक्तिहरुले दिने प्रतिवेदनको आधारमा यकिन गरिएको झोले विद्यालयका संचालकहरुलाई कारवाही गरिने छ ।” जिल्ला शिक्षा समिति धनुषाका अध्यक्ष तथा स्थानीय विकास अधिकारीले जिल्लामा १६ वटा झोले विद्यालयहरु रहेको आशंका रहे पनि १० वटा विद्यालयहरुको नामावली सार्वजनिक गर्दै तिनीहरु विरुद्ध कारवाहीको प्रक्रिया अगाडी वढाउने प्रतिवद्धता जाहेर गरेका छन । सुवेदीका अनुसार रामजानकी प्रावि जनकपुर–४ सरस्वती नगर, जानकी गुरुकुल विद्यालय जनकपुर–४, गिरनारी प्रावि वसहिया–७, सरस्वती तुल्सी मेहर प्रावि तुल्सीयाही निकास, आदर्श प्रावि रमदैया–९, डिहवार बाबा प्रावि रमदैया–५, प्रावि रमदैया –२, सोनाई मैया नागेश्वर साह प्रावि भतही, सरस्वती प्रावि बरमझिया –५ र ज्ञानज्योती प्रावि कनकपट्टी गरी १० वटा विद्यालयहरु झोले विद्यालय हुन । अरु थप विद्यालयहरुको खोजी कार्य भइरहेको सुवेदीले बताए ।
 लामो समयदेखि विद्यालय स्थापनाका साथै कुनै किसिमको शैक्षिक गतिविधि नै सञ्चालन नगरी झोलामा विद्यालयको नाम र शिक्षकको नाम बोकेकोभरमा सरकारी रकम निकासा गरी दुरुपयोग गर्ने शिक्षक र जिल्ला शिक्षाअधिकारी लगायत अनुमति दिने तत्कालिन जिल्ला शिक्षा समितिका पदाधिकारीलाई समेत कानुनको दायरामा  ल्याउन आवश्यक छ । 

 मिति ः २०७०/५/३०

No comments:

Post a Comment