Monday, August 12, 2013

सम्झौताको समय सकिन लाग्दा पनि सुरु भएन हुलाकी राजमार्ग निर्माण कार्य


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
विकासको नाउंमा धेरै पछाडी परेको जनकपुर पछिल्लो समयमा पुर्वाधार निर्माणको थालनीले गर्दा भविष्यको उज्जवल सम्भावना तर्फ संकेत गर्न खोजेको देखिन्छ । भारत सरकारको सहयोगबाट हुलाकी राजमार्ग अन्तरगतका विभिन्न सडक , रेल्वेको ब्रोडगेज तथा एसियाली विकास बैंकको अनुदानबाट जनकपुर नगरपालिका भित्र समेत सडक निर्माणमा ठूलै छलाङ लाग्ने हुंदा रोजगारी सृजनाका लागि पनि आशाका किरणहरु भने देखिन थालिएका छन । तत्कालै जनकपुरमा भौतिक पुर्वाधारको विकास सम्भव नदेखिएको भए पनि आगामी ५ वर्ष पछिको जनकपुरको दृश्य भने फेरिनेमा आश्वस्त हुन सकिन्छ । तर सम्बन्धित निकायका लापरवाहीको कारण ति योजनाहरुको कार्य कछुवाको गतिमा अगाडी वढिरहेको हुँदा योजनाहरु पुरा हुने हो वा होइन भन्ने अन्यौल पनि सँगसँगै बढदै गएको छ ।

समृद्धिको पथ हुलाकी राजमार्ग  
१५ जनवरी २०१० मा नेपालका तर्फबाट उप(प्रधान तथा परराष्टूमन्त्री सुजाता कोइराला र भारतका तर्फबाट विदेशमन्त्री एस.एम.कृष्णा बीच नेपालको तराई क्षेत्रमा सडक विस्तार गर्नुका साथै मजबुती प्रदान गर्न हुलाकी राजमार्ग अन्तरगत विभिन्न सडक खण्डहरु निर्माण गरिदिने भनेर भारत सरकारले सम्झौता गरेको थियो । नेपाल सरकारले जग्गा उपलब्ध गराउनुका साथै पुल निर्माण गरेर दिने र भारत सरकारले उक्त जग्गामा राजमार्ग , नाला तथा फूटपाथ समेत निर्माण गरिदिने गरिएको द्धिपक्षीय सम्झौता भएको तीन वर्ष भन्दा बढी समय बितिसक्दा पनि सडक निर्माण हुन सकेको छैन् । तर पछिल्लो समयमा नेपाल सरकारले धमाधम पूल निर्माण गर्नुका साथै जग्गा अधिग्रहणका लागि मुआब्जा वापतको रकम समेत जग्गा धनीलाई वितरण गर्न थाले पछि हुलाकी राजमार्ग निर्माण पनि चांडै हुने आशा पलाएको छ । हुलाकी राजमार्ग आयोजना योजना कार्यालय जनकपुर अन्तरगत भारत सरकारले धनुषा , महोत्तरी र सर्लाही जिल्लाका लागि दुइवटा प्याकेज अन्तरगत कुल २०१ किलोमिटरका आठ वटा सडक निर्माण गर्ने भएका छन । प्याकेज नम्बर ४ अन्तरगत सर्लाहीमा नयारोड (वरहथवा (मधुवनी सडक , नवलपुर देखि मलंगवा सम्म सडक , जलेश्वर गरी प्याकेज नम्बर ५ अन्तरगत धनुषामा विरेन्द्रबजार देखि यदुकोहा हुदैं महिनाथपुर सम्म , जनकपुरदेखि यदुकोहासम्म जनकपुर देखि जटही सम्म र जनकपुर देखि महोत्तरीको भिढठामोड सम्म सडक निर्माण हुने भएको छ । भारत सरकारले उक्त आठ वटै सडक निर्माणका लागि हायदरावादका विश्वा वि.भि.एस.आर.जे.भि नामक कम्पनीलाई कन्टूयाक्टर समेत दिइसकेका छन तर नेपाल सरकारको ढिलासुस्तीका कारण सडक निर्माणको कार्य भने प्रारम्भ हुन सकेको छैन् । नवलपुर देखि मलंगवा सम्म र जनकपुर देखि भिढठामोड सम्म दुई सडकका लाग नेपाल सरकारले मुआब्जा तिर्नु पर्ने छैन् । सडक निर्माणका लागि भारतीय कन्सल्टैन्टलाई २२ जुलाई २०११ ,७ अगस्त २०११ र २३ अगस्त २०११ मा हैण्ड ओभर गरिसकेको र ३० महिना भित्र सडक निर्माण गर्नु पर्ने हुन्छ । अब बांकी रहेको १७(१८ महिनामा जसरी पनि उक्त कम्पनीले सडक निर्माण सम्पन्न गरिसक्नु पर्ने छ ।  ७ मीटर भन्दा तलको पुलेसाहरु भारत सरकारले नै बनाउनु पर्ने हुन्छ । मुआब्जाका लागि पहिलेको विज्ञापनमा नापी कार्यालयबाट प्रमाणित नगरेका कारण थुप्रै विवाद उत्पन्न भएको थियो तर अहिले उक्त सबै त्रुटीहरुलाई हटाई मुआब्जा रकम वितरण सुरु गरिएको छ ।
जलेश्वर हर्दी सडकको लागि नापी कार्यालयबाट प्रमाणित गरी लालपुर्जा तयार गरी मुवाब्जा वितरणको काम सुरु भईसकेको छ । त्यसैगरी महोत्तरी जिल्लाकै माईथान (गौशाला( समशीको लागत रेकर्ड त्यहाँका नापी कार्यालयले पठाइसकेको छ, मुवाव्जा रकमको वितरण कार्य अव छिट्टै सुरु हुने बताईएको छ । धनुषा अन्तरगत जनकपुर(जटही सडक खण्डका लागि पनि नापीबाट खण्ड-खण्डमा प्रमाणीत गराई  मुवाब्जा वितरणको कार्य जारी छ । यसै गरी जनकपुर यदुकोहाका लागि मुआव्जा वितरण सुरु भएको छ भने विरेन्द्र बजार(यदुकोहा(महिनाथपुर सडकका लागि नापी शाखा कार्यालयबाट लगत कार्यको रेकर्ड नआएका कारण मुआव्जा भुत्तानी हालसम्म सुरु भएको छैन । सडक खण्डमा कतिपय पुल निर्माणाधिन अवस्थामा छन भने बाग्मती र कमलाको पुल निर्माण हुन अलि बढी समय लाग्ने भएको छ । सवै पुल निर्माण गर्न १ अर्ब रुपैंया र जग्गा अधिग्रहण वापत कुल ९५ करोड रुपैंया मांगिएको छ । सडक निर्माणमा भारत सरकारले पनि मोटामोटी २ अर्ब रुपैंया जति खर्च हुने अनुमान गरिएको छ ।
    आयोजना प्रमुख सि.डि.ई. किशोरी राय भन्छन,“ हामीलाई पैसाको अभाव छैन अझैपनि कोषमा १२ करोड रुपैया राखिएकै छ र आर्थिक वर्ष २०७० मा पनि नेपाल सरकारले बजेटमा त्यसका लागि रकम छुट्याई सकेकाले आशा जागेकै छ ।” हालसम्म नेपाल सरकारले मुआव्जा बापत रु. ९ करोड ८० लाख रकम वितरण गरिसकेको छ भने आर्थिक वर्ष २०६९/२०७० मा मात्रै २ करोड ७९ लाख ५२ हजार रकम वितरण गरेको योजना प्रमुख रायले बताएका छन ।
    भारतीय कम्पनीले ठेक्का लिएको भएपनि सम्झौताहरुको म्याद सकिन अव केही महिना मात्र रहेको तथा काम कुनै पनि सडक खण्डमा ती ठेक्केदारहरुले प्रारम्भ नगरेको हुँदा जनतामा पलाएको आशा अव निराशामा परिणत हुँदै गएको छ । तसर्थ भारतीय ठेक्केदारले अव कुनै पनि वहाना नबनाई ती योजनाहरुलाई सम्पन्न गर्न काम सुरु गरिहाल्नु पर्छ । त्यो नै जनताको माग हो ।


मिति ः २०७०÷०४÷२७


No comments:

Post a Comment